भर्खरै :

इजरायलको चेतावनीका कारण आत्मसमर्पण नगर्ने हिजबुल्लाह प्रमुखको भनाइ

इजरायलको चेतावनीका कारण आत्मसमर्पण नगर्ने हिजबुल्लाह प्रमुखको भनाइ

बेरुत, २२ असार (एएफपी) । हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लडाकूलाई निःशस्त्रीकरण गर्न दबाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताउनुभएको छ ।
“यो चेतावनी हामीलाई आत्मसमर्पण स्वीकार गर्न बाध्य पार्ने छैन,” हिजबुल्लाहको गढ मानिने दक्षिणी उपनगर बेरुतमा आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै कासिमले भन्नुभयो ।
गत वर्ष इजरायल र हिजबुल्लाहबिच भएको युद्धपछि सत्ता सम्हालेका लेबनानी नेताहरूले पटक–पटक हतियार बोक्न राज्यको एकाधिकार कायम हुनुपर्ने बताएका छन् भने इजरायलले नोभेम्बरमा भएको युद्धविराम सम्झौताको पालना गर्न माग गरेको छ ।
गत सेप्टेम्बरमा इजरायलले हसन नसरल्लाहको हत्या गरेपछि लामो समयदेखि नेतृत्वमा रहेका कासिमले समूहका लडाकुले हतियार नछोड्ने र पहिले इजरायलको ‘आक्रामकता’ रोक्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी राजदूत टम ब्यारेकले सोमबार बेरुतमा सम्बोधन गर्ने अपेक्षा गरिएको बेला उहाँको यस्तो भनाइ आएको हो । लेबनानी अधिकारीहरूले इरान समर्थित हिजबुल्लाहलाई यस वर्षको अन्त्यसम्ममा निःशस्त्रीकरण गर्न ब्यारेकको अनुरोधको जवाफ दिने छन्, नाम नबताउने शर्तमा लेबनानी अधिकारीहरूले बताए ।
लेबनानी अधिकारीहरूले इजरायली सीमा नजिकै दक्षिणमा रहेको हिजबुल्लाहको सैन्य संरचना ध्वस्त पारिरहेको बताएका छन् ।
इजरायलले लेबनानमा नोभेम्बरमा भएको युद्धविरामको बावजुद पनि हिजबुल्लाहको निशानामा प्रहार गर्ने दाबी गर्दै आएको छ र बेरुतले उक्त समूहलाई निःशस्त्रीकरण गर्न पर्याप्त कदम नचालेको आरोप लगाएको छ ।
युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले आफ्ना लडाकुलाई इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लिटानी नदीको उत्तरमा फिर्ता लैजानु पर्नेछ ।
इजरायलले सम्पूर्ण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउने तयारी गरेपनि रणनीतिक ठानिएका पाँच स्थानमा आफ्नो सेनालाई तैनाथ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *