भर्खरै :

ट्रम्पको घमण्डविरूद्ध विकासशील राष्ट्रहरूको साझा लडाइँ : ब्रिक्स

ट्रम्पको घमण्डविरूद्ध विकासशील राष्ट्रहरूको साझा लडाइँ : ब्रिक्स

ब्रिक्सको (BRICS-25) हालै सम्पन्न सम्मेलनले विश्व अर्थ राजनीतिमा हलचल ल्याएको छ । विकासशील राष्ट्रहरूले डलर निर्भरता तोड्ने साहसी कदम चाल्दा अमेरिका छटपटाएको छ । ट्रम्पले १० प्रतिशत भन्सार शुल्कको धम्की दिएका छन्, मानौँ संसारलाई अझै आफ्नो मुठीमा राख्न सक्छन् । तर, अब विश्व एकध्रुवीय रहनेछैन भन्ने सन्देश ब्रिक्स राष्ट्रहरूले दिएका छन् । नेपालजस्ता साना देशको लागि पनि यो आशाको किरण हो, जहाँ आफ्नै मुद्रामा व्यापार गर्ने बाटो खुल्दै छ । ट्रम्पको घमण्डविरुद्ध ब्रिक्सको एकता विश्वासको प्रतीक बनेको छ । अब विकासशील राष्ट्रहरू केवल दर्शक होइनन्, उनीहरू आफ्नो भविष्य आफैं लेख्नेछन् । संसार बदलिँदै छ र यो परिवर्तन रोकिनेवाला छैन ।
आजको यथार्थ के छ भने, अमेरिकी डलरमा विश्व व्यापारको अत्यधिक निर्भरता विकासशील राष्ट्रहरूको लागि एक प्रकारको आर्थिक उपनिवेशवादी दासता (economic colonial slavery) जस्तै बनिरहेको छ । अमेरिका वा पश्चिमा शक्तिहरूले कुनै देशलाई सजिलै दबाबमा राख्न, प्रतिबन्ध लगाउन वा आर्थिक रूपमा पङ्गु बनाउन डलरलाई हतियारको रूपमा प्रयोग गर्छन् । त्यसैले, डलरको विकल्पमा नयाँ मुद्रा र आपसी÷/व्यापार त्यसैबाट सञ्चालन गर्नु अहिलेको आवश्यकता हो ।

ट्रम्पको अहङ्कार र विकासशील राष्ट्रहरूको विकल्प
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफैलाई संसारको मालिक ठान्ने प्रवृत्ति देखाएका छन् । उनी भन्छन्, “मलाई WTO, UN वा WHO मा कुनै विश्वास छैन । ग्लोबल वार्मिङसँग मलाई कुनै सरोकार छैन ।”
यो कथनले ट्रम्पको चरम घमण्ड र आत्मकेन्द्रित सोच प्रस्ट पार्छ । उनीजस्ता नेताले अन्तर्राष्ट्रिय संस्थाहरूको अवमूल्यन मात्र गर्दैनन्, विश्वको बहुपक्षीय शान्ति र विकासलाई पनि सङ्कटमा पार्छन् । उनी विश्वका अरु मुलुकलाई मात्र होइन, आफ्नै सहयोगी राष्ट्रहरूलाई पनि उपेक्षा गर्छन् ।
वास्तवमा, ट्रम्प अहिले मानसिक रूपमा अस्थिर, आत्ममुग्ध र अपरिपक्व निर्णयकर्ताजस्ता देखिन्छन् । उनले अमेरिका विश्वको केन्द्र हो र बाँकी सबै राष्ट्रहरूलाई आफूसामु नतमस्तक हुनुपर्ने सोच राखेका छन् । त्यसैले उनले बारम्बार ब्रिक्स राष्ट्रहरूलाई कमजोर, असफल र अमेरिकी डलरबिना टिक्न नसक्ने भनेर व्यङ्ग्य गर्छन् । तर ट्रम्पको यही घमण्ड नै अहिले ब्रिक्सलाई अझ सशक्त बनाउन प्रेरक शक्ति बन्न गएको छ ।

ब्रिक्सको ब्लकचेन प्रस्ताव : ब्राजिलको पहल
ब्रिक्स राष्ट्रहरूले आफ्नो डलर निर्भरता घटाउने प्रयासलाई सशक्त बनाउन नयाँ बाटो खोज्दै छन् । ब्राजिलले २०२५ को ब्रिक्स सम्मेलनमा एउटा महत्वपूर्ण प्रस्ताव अघि सारेको छः
एउटा ब्लकचेन–आधारित अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (Blockchain–based settlement system) निर्माण गर्ने । यस प्रणालीले हरेक ब्रिक्स राष्ट्रलाई आफ्नो स्थानीय मुद्रामा नै व्यापार गर्न सहयोग गर्नेछ । उदाहरणको लागि भारत र ब्राजिलबिचको व्यापारमा पहिले डलरमार्फत लेनदेन हुन्थ्यो । अब नयाँ प्रणालीबाट रूपैयाँ–रियल सिधा विनिमय हुनेछ† डलरको आवश्यकता पर्दैन । ब्रिक्सका ब्लकचेन भुक्तानी र स्थानीय मुद्रामा व्यापारजस्ता पहलहरूले नेपालजस्ता विकासशील देशलाई पनि सस्तो आयात, नयाँ बजार पहुँच र ब्रिक्स बैङ्कमार्फत लगानीको अवसर दिलाउँछन् । यसले विदेशी वित्तीय प्रणालीमाथिको निर्भरता घटाउँदै नेपाललाई आत्मनिर्भर र दिगो आर्थिक विकासतर्फ अघि बढ्न मद्दत गर्छ । ब्लकचेन प्रविधिको उपयोगले कारोबार सेकेन्डमै सम्पन्न हुन्छ, लागत घट्छ र लेनदेन पारदर्शी तथा सुरक्षित रहन्छ । यसले अमेरिकाजस्ता कुनै पनि बाह्य राष्ट्रलाई रोकथाम वा प्रतिबन्ध लगाउने अवसरबाट वञ्चित गर्छ ।
ब्राजिलले यो प्रणाली आफ्नो घरेलु डिजिटल पेमेन्ट प्रणाली Pix बाट प्रेरित भएर प्रस्ताव गरेको हो । Pix ब्राजिलमा अत्यन्तै सफल छ, करोडौँले दैनिक प्रयोग गर्छन् । ब्रिक्समा यस्तो प्रणाली लागु गर्न सकेमा यो वैश्विक वित्तीय सन्तुलन बदल्ने ऐतिहासिक कदम बन्नसक्छ ।
रूस र चीनको महत्वपूर्ण भूमिका
ब्रिक्सलाई सशक्त बनाउन रूस र चीनको साझा प्रयास अनिवार्य छ । रूस अहिले पश्चिमी प्रतिबन्धको चपेटामा परेको छ । उसलाई वैकल्पिक वित्तीय संरचना चाहिन्छ । चीन डलरको वर्चस्वलाई चुनौती दिन सशक्त रूपमा लागिरहेको छ । उसको आफ्नै क्रस–बोर्डर पेमेन्ट सिस्टम (CIPS) छ ।
यी दुई मुलुकको सहकार्यबाट नै ब्रिक्सले ग्लोबल साउथ (Global South) लाई एकीकृत गर्दै अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्छ । विकासशील राष्ट्रहरूले अमेरिका वा अरु कुनै एकको दास बन्नु हुँदैन । उनीहरूले आफ्नै साझा आर्थिक संरचना खडा गर्नुपर्ने बेला आएको छ ।

ट्रम्पलाई जवाफ
ट्रम्पले ब्रिक्समाथि गरेको व्यङ्ग्य र उसको घमण्डलाई विकासशील राष्ट्रहरूले केही उपायमार्फत जवाफ दिन सक्छन् । ब्रिक्स ब्लकचेन प्रणालीलाई शीघ्र कार्यान्वयन गरेर डलरको विकल्प स्थापित गर्नुपर्छ । ट्रम्पले ब्रिक्समाथि गरेको व्यङ्ग्य र घमण्डलाई विकासशील राष्ट्रहरूले अब सजिलोसँग बेवास्ता गर्नसक्नेछन् । ब्रिक्सले आफ्नो ब्लकचेन प्रणालीलाई यथाशीघ्र कार्यान्वयन गरेर अमेरिकी डलरको विकल्प खडा गर्नु अत्यन्तै महत्वपूर्ण छ, ताकि उनीहरूको व्यापारिक लेनदेन स्वतन्त्र र सुरक्षित रहोस् । साथै, अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै स्थानीय मुद्राको प्रयोगलाई व्यापक बनाउनुपर्छ, जसले लागत घटाउँछ र बाह्य दबाबलाई कमजोर बनाउँछ । ब्रिक्स नयाँ विकास बैङ्क (NDB) लाई थप सशक्त र प्रभावकारी बनाउनु अर्को प्रमुख कदम हो, जसले विकासशील राष्ट्रहरूको पूर्वाधार र आर्थिक प्रगतिको लागि स्थायी सहयोग पु¥याउनेछ ।
ट्रम्पलाई किन अलग अलग पार्नुपर्छ ?
ट्रम्प वा कुनै पनि अमेरिका केन्द्रित नेताले विश्वलाई दुई शिविरमा बाँड्न चाहन्छन् — अमेरिका समर्थक वा अमेरिकाविरोधी । तर, वास्तविकता विश्वको अधिकांश हिस्सा, विशेष गरी ग्लोबल साउथ, आफ्नो आर्थिक स्वतन्त्रता र राजनीतिक अस्मिता चाहन्छ ।
पुटिन वा सी चिङ फिङजस्तै अन्य नेताहरूले ट्रम्पको घमण्डको उचित तरिकाले प्रतिकार गर्ने प्रयास गर्दै छन् । यही कारण ब्रिक्स राष्ट्रहरूले ट्रम्पको धम्कीलाई बेवास्ता गर्न सकेका छन् । ट्रम्प एक्लिएका छन्, किनकि विश्व अहिले बहुध्रुवीयतर्फ अघि बढिरहेको छ । ट्रम्पको घमण्डपूर्ण नीति र एकपक्षीय निर्णयहरूले अमेरिका स्वयम्लाई नै सङ्कटमा पारेको छ । उनको गलत निर्णय क्षमताका कारण अमेरिका विश्वमा प्रभाव, प्रतिष्ठा र विश्वास गुमाउँदै छ ।
अन्ततः कुरा यति नै हो — ब्रिक्सको सशक्तीकरण विकासशील राष्ट्रहरूको मात्र होइन, सम्पूर्ण विश्वको शान्ति र समृद्धिको लागि अपरिहार्य छ । ब्राजिलको ब्लकचेन प्रस्तावले डलरको वर्चस्वलाई चुनौती दिने ऐतिहासिक सम्भावना बोकेको छ । यदि ब्रिक्स राष्ट्रहरूले एकता देखाए भने अमेरिका वा कुनै पनि महाशक्तिको घमण्डलाई सजिलै परास्त गर्न सकिन्छ । आजको युगमा न ट्रम्प संसारका मालिक हुन् न अमेरिका नै एक्लो महाशक्ति ! ब्रिक्सले विश्वलाई बहुधु्रवीय बनाउन महत्वपूर्ण भूमिका खेल्दै छ । यही बाटोले आर्थिक स्वतन्त्रता र समृद्धि दिलाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *