भर्खरै :

सच्चा गुरुको सम्मान गर्नु गुण सम्झनु हो

आज गुरू पूर्णिमा । गुरूलाई सम्मान गर्ने दिन । गुरूले दिएको अर्ती, ज्ञान, उपदेश सम्झेर गुरूलाई मान गर्ने दिन । गुरूकुल, विद्यालय, कलेज–क्याम्पसमा पढाउनेमात्र गुरू होइन । गुरू राजनीतिक नेता या राजनीतिज्ञ हुनसक्छ; गुरू खेल, नाच, बाजा, गीतका प्रशिक्षक हुनसक्छ । गुरू शिक्षकको पनि शिक्षक प्राध्यापक, प्राचार्य हुनसक्छ । स्वास्थ्यकर्मीहरूको गुरू डाक्टर, इन्जिनियर, पाइलट, वकिल, नर्स आदिको पनि गुरू हुनसक्छ । आफूलाई ज्ञान दिने कुनै सङ्घ संस्थामा आबद्ध अग्रज या प्रशिक्षकहरू आफ्नो गुरू हुनसक्छ । आजको दिन ती नै विभिन्न ज्ञान, सीप दिने गुरूहरूलाई सम्झने दिन हो । काव्य या साहित्यिक यात्रामा पाइला टेक्नेहरू कवि, कलाकार, निबन्धकार, उपन्यासकार आदिलाई सम्झने र सम्मान गर्ने दिन हो । बालबालिकाले माता पितालाई सम्झने दिन हो ।
हरेकले आफ्ना गुरूलाई सम्झनु र सम्मान गर्नुको अर्थ सीप, कला, ज्ञान–गुणको स्मरण गर्नुमात्र होइन पालना गर्नु पनि हो । सच्चा गुरूहरूको उपदेश, नीति आदि पालना गरेमा समाज उदाहरणीय बन्छ; चोरी चकारी हुँदैन; अनियमितता र भ्रष्टाचार हुनेछैन । राजनीतिक कार्यकर्ताहरू जनताका सेवक बन्छन्; जनताको दुःख सुख बुझ्न जनताको घरदैलो पुग्छन् र जनतालाई शिक्षित र सङ्गठित बनाउने काम गर्छन् । गुरू र गुरूको उपदेशलाई सम्झनुको अर्थ इमानदारीपूवक आज्ञा पालना गर्नु हो । सच्चा गुरूहरूको सही ज्ञान आत्मसात नगर्दा यहाँ आपराधिक क्रियाकलाप अघि बढेको हो† चोरी चकारी बढेको हो† हिंसात्मक र अराजनीतिक गतिविधि बढेको हो । सही बाटोमा नहिँड्दा नेता, मन्त्री र सांसदहरूसमेत गलत फन्दामा फसे; भ्रष्टाचार र अनियमिततामा फसे ।
सही गुरूको सच्चा आदेश आ–आफ्नो क्षेत्रका सबैले पालेका भए यहाँ पक्षपात, भेदभाव हुँदैनथ्यो । घुस खाँदैनथ्यो । जनताका दैनिक कार्यहरू बिनाअवरोध अगाडि बढेको हुन्थ्यो । एकले अर्कोलाई शोषण र दमन गर्दैनथ्यो । समाजमा जातीय द्वन्द्व हुँदैनथ्यो । हरेक सरकारी तथा गैरसकारी सङ्घ–संस्थाहरू सहज ढङ्गले अघि बढ्थ्यो । परिवार, समाज र कार्यालयहरूमा सहज वातावरण हुन्थ्यो । आपत्विपत् या सङ्कटको बेला एकले अर्कोलाई साथ र सहयोग दिन्थ्यो । आज बालबालिका बेपत्ता पार्ने, मानव अङ्ग बिक्री गर्ने, महिलालाई बेश्यालयमा पु¥याइने काम सच्चा गुरू नपाउँदा र सच्चा गुरूको कुरा नसुन्दा भएको हो । बाटो देखाउने अगुवा या गुरूहरू नै गलत भए देश सही ठाउँमा पुग्दैन । दलको नेतृत्व गर्ने, सरकारको नेतृत्व गर्ने दलका नेताहरू पनि मार्गनिर्देशक हुनुपर्ने हो । तर, शासकहरू सच्चा नेता र सच्चा गुरू हुन सकेनन् । त्यसको कारण देशमा अव्यवस्थित भएको हो† देश विखण्डन गर्ने, मधेस अलग्ग गर्ने, राजधानी काठमाडौँलाई नाकाबन्दी गर्ने चेतावनी दिइएको हो । उनीहरू साँच्चै देश बनाउने र जोगाउने अगुवा भएका भए अरू देशले नेपाली भूमि मिच्दैनथ्यो† कालापानीमा भारतीय सेना रहँदैनथ्यो; नेपाल–भारत सीमाका स्तम्भहरू फाल्दैनथ्यो, अन्त सार्दैनथ्यो ।
एक–दुई वटा राजनीतिक दलको सच्चा नेता भएर पुग्दैन । देशमा खोलेका सबै दलका नेताहरू सच्चा, सही र मार्ग निर्देशक हुनुपर्छ । आज छिमेकी देश भारतले नेपाली भूमि मिचेको कारण साँगुरिँदै छ । नेपाल–भारतको सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्ध भत्काइएको छैन; भत्काउन नेपाल सरकारले कूटनीतिक उपाय खोजेको छैन । अतः गुरूको सम्मान सच्चा र सही बाटो देखाउनेको गर्नुपर्छ । गलत बाटो देखाउने, दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने गुरूको सम्मान होइन गलत कार्यको विरोध गर्नुपर्छ । त्यसो त ‘गुरू’ भन्ने बित्तिकै असल शिक्षा र उपदेश दिने व्यक्तिलाई मानिन्छ । गुरूको शाब्दिक अर्थ पनि त्यही हो ।
तर, समाजमा असल ज्ञान दिने, छर्नेमात्र होइन परिवार, समाज र देशलाई बर्बाद बनाउने, देश देश नै ध्वस्त पार्ने, नरसंहार गर्ने पात्रहरू पनि संसारमा नभएका होइनन् । गलत बाटो देखाउने, गलत निर्णय गरेर देश र जनताको अहित गर्ने पात्रलाई समाजले राम्ररी चिन्नुपर्छ; समाजमा चिनेर जनतामाझ उदाङ्ग्याउनुपर्छ ।
आज गुरू पूर्णिमा या गुरूको स्मरणमा विद्यालय, कलेज, अस्पताल, सामाजिक सङ्घ–संस्था, खेलकुद, नाचगान, वाद्यवादन, गायन आदि क्षेत्रका गुरूलाई सम्झन्छन्; सम्मान गर्छन् । सच्चा गुरूको सम्मान गर्नु, उनीहरूको गुण सम्झनु हो; त्यो गुण समाजमा लागु गर्नु हो† लागु गर्न अघि सर्नु हो । गुरूको सम्मान गर्न जानेन, गुरूको सम्मानलाई अकै दिशामा मोडियो भने समयको दुरूपयोग मात्र होइन त्यसले गलत बाटो निम्त्याउन सक्छ । यसतर्फ सबै चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *