भर्खरै :

काठमाण्डौंमा भारतीय माक्र्सवादी लेखकहरु

काठमाण्डौं, १२ चैत्र । भारतीय माक्र्सवादी लेखक तथा राजनीतिक चिन्तक शशीप्रकाश, कवयत्री कात्यायन र सञ्चारकर्मी सत्यम काठमाण्डौं आएका छन् । राजधानीमा सोमबार आयोजित अन्तरसंवादमा विभिन्न विषयका वक्ताका रुपमा उनीहरु नेपाल आमन्त्रण गरिएका हुन् । घनश्याम ढकाल स्मृति प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शशिप्रकाशले विश्व पूँजीवादको सङ्कट र कम्युनिष्ट क्रान्तिको सम्भावना, कवयत्री कात्यायनले नारीवाद र नारी मुक्तिका समस्या र सत्यमले बुर्जुवा मिडियाको वर्चस्व र वैकल्पिक मिडियाको आवश्यकता विषयमा प्रवचन दिएका थिए ।
भारतीय लेखकहरुका विचार सुन्न प्रज्ञा प्रतिष्ठानको हलमा नेपाली लेखक, कलाकर्मी, राजनीतिक कार्यकर्ता र युवा–विद्यार्थीहरुको बाक्लो सहभागिता थियो ।
विश्व पूँजीवादको गहिरिंदो सङ्कटबारे चर्चा गर्दै शशिप्रकाशले साम्राज्यवाद शक्तिबीच एकता भएको विश्लेषण अर्थराजनीतिको आधारभूत ज्ञानका आधारमा समेत गलत हुने बताए । उनले विश्वमा बहुआयामिक अन्तरसाम्राज्यवादी दुश्मनी चर्किंदै गएको धारणा राखे । झण्डै साढे एक घण्टा लामो शशिप्रकाशको प्रवचन मूलतः विश्व पूँजीवादी सङ्कटको आर्थिक विश्लेषणमा केन्द्रित थियो । उनले पूँजीवादी उत्पादनको वित्तीयकरणले राजनीतिक क्षेत्रमा फासीवादको विकास गर्ने विचार राखे ।
शशिप्रकाशले मजदुर आन्दोलनलाई कमजोर बनाउने पूँजीवादले विगतमा एकै छानामा उत्पादन हुने वस्तुलाई आज अंश अंशमा धेरै ठाउँमा उत्पादन गर्ने गरेको विश्लेषण प्रस्तुत गरे ।
उनले चीन, इरान, भेनेजुयला, निकारागुआलगायतका देशहरुले डलरको विकल्पमा धन सञ्चयको अर्को उपायको अवलम्बन गरिरहेको तथ्याङ्क प्रस्तुत गर्दै संसारका देशहरुमा अमेरिकी डलरको प्रयोगको कमीले संरा अमेरिकी साम्राज्यवादलाई कमजोर बनाउने विचार राखे ।
उनले वैचारिक र सैद्धान्तिक स्पष्टताले नै मात्र कुनै पनि राजनीतिक आन्दोलनले आकार लिन सक्ने भन्दै संसदबाट समाजवाद आउन नसक्ने विचार राखे ।
कवयत्री कात्यायनले पूँजीवादी बन्दोबस्तले महिला आन्दोलनलाई कामदार जनताको आन्दोलनबाट अलग स्वायत्त आन्दोलनको रुपमा विकास गरी महिला आन्दोलनलाई कमजोर बनाउने चाल चालिरहेको विचार राखिन् ।
उनले बुर्जुवा नारीवादले महिलाका समस्याबारे टुक्रा–टुक्रामा सही कुरा गरे पनि महिला आन्दोलनको विरोधमा उभिने गरेको भनाई राखिन् ।
उनले उत्तरआधुनिक विचारले पहिचानको राजनीतिको नाममा महिला आन्दोलनलाई छिन्नभिन्न बनाउन खोजिरहेको बताइन् ।
सञ्चारकर्मी सत्यमले आफ्नो विश्वसनियताको लागि पूँजीवादी मिडियाले केही सन्दर्भमा पूँजीवादी सत्ताको विरोध गरे पनि पूँजीवादी राज्यसत्ताको अन्त्यबारे केही नबोल्ने विचार राखे ।
उनले क्रान्तिकारी आन्दोलनसँग जोडेर वैकल्पिक मिडियाको विकास गर्न आवश्यक भएको बताए ।
अन्तरसंवादमा समालोचक निनु चापागार्इँ र संगीतस्रोताले कार्यक्रमको उपादेयताबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *