भर्खरै :

सहकारीले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने

सहकारीले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा जिल्ला सहकारी सङ्घ लि. भक्तपुरको ४७ औँ स्थापना दिवस कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले सहकारीले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने बताउँदै बचत तथा ऋण सहकारीहरूले जनताको सामूहिक हितको लागि आदर निकेतन, स्वास्थ्य केन्द्र, शैक्षिक ऋणको व्यवस्थाजस्ता कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।
बैङ्क, फाइनान्स कम्पनीहरूले समस्या खडा गरेका कारण सहकारी संस्थाहरूको विकास भएको बताउँदै समुदायमा आधारित सहकारी संस्थाहरूले सदस्यहरूको सामूहिक हितको निम्ति राम्रो काम गर्दै आएको बताउनुभयो ।
सहकारी सञ्चालकहरूबाट जनताको पैसा सहकारी सिद्धान्तविपरीत घरजग्गामा लगानी गर्ने, करोडौँको बैङ्क ब्यालेन्स राख्ने, गाडी चढ्नेजस्ता अनियमितताहरू भइरहेको बताउँदै उहाँले यस्ता क्रियाकलापले सहकारी संस्थाहरू दिनप्रतिदिन बदनाम हुँदै गइरहेको बताउनुभयो ।
सहकारी संस्थाहरूले सदस्यहरूलाई आत्मनिर्भर बनाउन कृषिसम्बन्धी तालिम, डकर्मी, सिकर्मी, मोबाइल मर्मत, मोटरसाइकल मर्मतजस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले सरकारको नेतृत्व गर्ने नेताहरू राम्रो नभएसम्म देश राम्रो नहुने तर्क राख्नुभयो ।
कार्यक्रमका सभापति एवं जिल्ला सहकारी सङ्घ लि. भक्तपुरका अध्यक्ष धु्रवबहादुर रायमाझीले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै सङ्घले किसानहरूलाई आवश्यक मलखाद् वितरणको लागि पहल गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले जिल्ला सहकारी सङ्घ लि. देशकै जेठो सहकारी सङ्घको रूपमा रहेको बताउँदै सहकारीलाई नियन्त्रण गर्ने निकाय आवश्यक भएको तर बैङ्कलाई पोस्ने काम गर्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ लि. का सञ्चालक टेकप्रसाद चौलागाई, जिल्ला कृषि सहकारी सङ्घ लि. का अध्यक्ष सनिस लागेजु, राष्ट्रिय सहकारी महासङ्घ लि.का सञ्चालक ध्रुवराज बिष्टले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सङघका सञ्चालक सदस्य एवम् शिक्षा समिति संयोजक सुलोचना दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *