तःमुंज्या नयाँ–पुराना साहित्यकारको साहित्यमार्फत जनचेतना जगाउने विराट् मञ्च
- आश्विन १४, २०८३
भक्तपुर, १४ असोज । ४७ औँ विश्व पर्यटन दिवस– २०२६ को अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा ‘Digital Agenda and Artificial Intelligence to Redesign Tourism’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुरको पर्यटन प्रवद्र्धन, डिजिटल प्रविधिको प्रयोग, सम्पदा संरक्षण तथा एआईमार्फत पर्यटन गतिविधिको पुनर्कल्पनाबारे विभिन्न क्षेत्रका विज्ञ, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालाबिच छलफल भएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझाव तथा रायका लागि धन्यवाद व्यक्त गर्दै सहभागीहरूबाट आएका सकारात्मक सुझावलाई आत्मसात् गर्दै पर्यटन प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो ।
उहाँले भक्तपुरले पर्यटन प्रवद्र्धनलाई सकारात्मक रूपमा अघि बढाइरहेको उल्लेख गर्दै हालै आएको बाढी एक स्थानमा केन्द्रित भए पनि त्यसको प्रभाव अन्य क्षेत्रको पर्यटनमा समेत परेको बताउनुभयो । बाढी तथा विपद्का घटनाको प्रचारका कारण नेपाल नै असुरक्षित गन्तव्यजस्तो देखिने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
“विकास र विनास एकअर्कासँग अन्तरसम्बन्धित छन्,” भन्दै नगर प्रमुख प्रजापतिले एआईको विकाससँगै त्यसको अनियन्त्रित प्रयोगले नकारात्मक परिणामसमेत निम्त्याउन सक्ने बताउँदै ९९ प्रतिशत सकारात्मक काम भइरहे पनि १ प्रतिशत नकारात्मक घटनाले बढी चर्चा पाउने अवस्थाले पर्यटनमा असर पार्न सक्छ भन्नुभयो ।
पर्यटनमा एआई र डिजिटल प्रविधिको चर्चा भइरहँदा पर्यटक आगमनमा उतारचढाव देखिनु चुनौतीपूर्ण विषय भएको बताउँदै उहाँले डिजिटल युगमा पर्यटन प्रवद्र्धन पनि अझ तीव्रगतिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको हवाई सेवा, पदयात्रा, सडक सुरक्षा तथा होटल आसपासको सुरक्षाजस्ता विषयले पर्यटकको अनुभव र पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु पर्यटन विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
नेपालका प्रमुख प्राकृतिक तथा सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी केन्द्रीय सरकारको हो भन्दै अपराध तथा लुटपाटका घटनाले पर्यटकको सुरक्षासम्बन्धी धारणा प्रभावित पार्न सक्ने भएकोले त्यस्ता गतिविधि नियन्त्रणमा स्थानीय तहले आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नेपालका प्राकृतिक सम्पदाको प्रचारप्रसारमा अझै पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गर्दै डिजिटल माध्यम र एआईको प्रयोगमार्फत यस्ता सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुरको पर्यटनलाई डिजिटल प्रविधि, सम्पदा संरक्षण, सुरक्षा र स्थानीय समुदायसँग जोड्दै नयाँ पुस्ताको आवश्यकताअनुसार अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गरिरहेका गतिविधिबारे जानकारी दिँदै भक्तपुरका सम्पदा स्थानीय मात्र नभई विश्वकै सम्पदा भएको बताउनुभयो । भक्तपुरको इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउँदै त्यसलाई क्रमशः डिजिटल माध्यममा अभिलेखीकरण गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिका पर्यटन सूचना केद्रका प्रमुख गौतमप्रसाद लासिवाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल माध्यमबाट पर्यटन सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउनु आजको आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले पर्यटन कुनै एउटा क्षेत्रसँग मात्र सम्बन्धित नभई समाजका विभिन्न क्षेत्रसँग जोडिएको विषय बताउँदै भक्तपुरको पर्यटन विकासमा कलेजले पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको उल्लेख गर्दै पर्यटनसम्बन्धी वेबसाइट निर्माण तथा डिजिटल सामग्री विकासलाई समेत अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले बाढी, विपद् तथा अन्य घटनासम्बन्धी समाचार डिजिटल माध्यमबाट प्रचार हुँदा त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा पनि परिरहेको बताउँदै प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई एकीकृत गर्दै भक्तपुरलाई डिजिटल पर्यटन गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा होटल एसोसिएसन अफ भक्तपुरका अध्यक्ष कृतन अवालले भक्तपुरमा पर्यटकको सङ्ख्या अपेक्षाकृत कम रहेको र बाढी तथा विपद्का घटनाले पर्यटनमा असर पारेको बताउँदै भक्तपुर सुरक्षित गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममार्फत प्रभावकारी रूपमा प्रचार गर्नुपर्ने बताउनुभयो । पर्यटकको बसाइँ अवधि र खर्च बढाउने, पर्यटन व्यवसायलाई आत्मनिर्भर बनाउने तथा समग्र पर्यटन उद्योगलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफलमा घरेलु तथा साना उद्योग सङ्घ भक्तपुरका प्रतिनिधि प्रेम खर्बुजाले खौमामा डिजिटल सूचना डिस्प्ले तथा स्क्रिन राखी पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने र मोबाइलबाट सहजै स्क्यान गर्न सकिने प्रणाली विकास गर्नुपर्ने र नःपुखुलगायतका गन्तव्यको प्रचारलाई प्राथमिकतामा राख्नुपर्ने तथा मठ–मन्दिर र अन्य सम्पदालाई पनि डिजिटल प्रचारसँग जोड्नुपर्ने बताउनुभयो ।
पर्यटन बोर्डका चन्द्र चक्रधरले पर्यटनसम्बन्धी डिजिटल प्रणालीसँगै प्रमाणित र विश्वसनीय तथ्याङ्क आवश्यक रहेको, स्थानीय तहका वेबसाइटलाई सक्रिय र नियमित अद्यावधिक गर्नुपर्ने तथा पर्यटन प्रवद्र्धनका लागि समर्पित व्यावसायिक टोली आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका रामसुन्दर भेलेले वेबसाइट मात्र निर्माण गरेर नपुग्ने बताउँदै त्यसमा राखिने तथ्याङ्कको प्रमाणीकरण र विश्वसनीयता पनि सुनिश्चित गर्नुपर्ने र पर्यटनलाई पर्यटकको सङ्ख्यासँग मात्र नभई गुणस्तरीय पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
एआई डेभलपर गोपाल किसीले सम्पदास्थलमा क्यूआर कोडको प्रयोग गर्दै पर्यटनलाई भक्तपुरका गल्ली–गल्लीसम्म डिजिटल प्रविधि विस्तार गर्न सकिने बताउँदै पर्यटकको आवागमन र व्यवस्थापनमा समेत डिजिटल प्रविधि र एआईको प्रयोग गर्न सकिने बताउनुभयो ।
शिक्षक नवीन प्रजापतिले पर्यटकको आवश्यकता पहिचान गरी पर्यटन योजना बनाउनुपर्नेमा जोड दिँदै भक्तपुरको मुख्य आकर्षण सम्पदा र प्रकृति भए पनि साहसिक पर्यटनसँग जोड्ने सम्भावना खोजिनुपर्ने सुझाव दिनुभयो । पर्यटकको वर्गीकरण गरी उनीहरूको रुचिअनुसार प्याकेज तथा भ्रमण योजना बनाउन सकिने र पर्यटनलाई स्थानीय समुदाय तथा समाजसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाश श्रेष्ठले पर्यटनलाई दार्शनिक रूपमा हेर्दा नयाँ ठाउँ, संस्कृति र समाज बुझ्ने माध्यमका रूपमा लिन सकिने बताउनुभयो । पर्यटनसँग आतिथ्य तथा व्यवस्थापनलाई समेत प्रभावकारी रूपमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्कृतिकर्मी रमेश प्रजापतिले भक्तपुरसँग प्रशस्त प्रचार सामग्रीहरू रहेको उल्लेख गर्दै त्यसलाई डिजिटल स्पेसमा लैजान व्यवस्थित सामग्री उत्पादन आवश्यक रहेको बताउँदै संस्कृति तथा सम्पदाको प्रवद्र्धनका लागि भिडियो सम्पादन तथा डिजिटल सामग्री सिर्जनाकर्तालाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पर्यटक प्रहरी प्र.ना.नि. सरु पञ्चले स्मार्ट पर्यटनसँगै सुरक्षित पर्यटनलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै नगरका आवश्यक स्थानमा सीसीटीभीको पहुँच विस्तार, पर्यटकका समस्या तत्काल सम्बोधन गर्ने प्रणाली तथा पर्यटक सुरक्षालाई डिजिटल प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
आर्किटेक्ट चन्द्र प्रजापतिले भक्तपुरको पर्यटनसम्बन्धी सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन जोड दिँदै सम्भावित पर्यटकसम्म सामग्री पु¥याउन अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म तथा सम्बन्धित संस्थासँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
Leave a Reply