भर्खरै :

‘पवित्र गाईको मिथक’ : एक मन्थन

‘पवित्र गाईको मिथक’ : एक मन्थन

सन् २००१ को कुरा हो । भारतको हिन्दुत्ववादी शक्ति एक वृद्ध प्रोफेसरमाथि जाइलाग्यो । प्रोफेसर द्विजेन्द्र नारायण झाको पुस्तक ‘पवित्र गाईको मिथक’ बजारमा लैजाने तर्खर चलिरहेको थियो । उनीविरुद्ध हिन्दुत्ववादी शक्तिले मुद्दा हाल्यो । उनीमाथि नानाथरी आरोप लगाइयो । अन्ततः पुस्तक बजारमा जान सकेन । पछि पुस्तक लन्डनमा छापियो र विश्व बजारमा गयो । आजीवन आकाश हेरेर ‘पृथ्वीले सूर्यलाई घुम्छ’ भनी पत्ता लगाएपछि वैज्ञानिक कोपर्निकसले पनि आफ्नो पुस्तक विदेशमा छपाउनुपरेको थियो । उनलाई स्वदेशका धार्मिक कट्टरपन्थीहरूको डर थियो ।
प्रोफेसर डिएन झा सामान्य इतिहासकार थिएनन् । फासिवादीहरूले ज्यान लिने धम्की दिए । उनी झुकेनन् । मैथिली ब्राह्मण परिवारमा जन्मेका उनी दिल्ली विश्वविद्यालयमा इतिहास पढाउँथे । कामको सिलसिलामा उनी विख्यात माक्र्सवादी इतिहासकार रामशरण शर्माको सङ्गतमा रहे । उनी ‘इन्डियन हिस्ट्री कङ्ग्रेस’ का अध्यक्ष पनि थिए । इतिहासकारहरूको यो सङ्गठनका दुई मान्यता छन् । एक – इतिहासलाई धार्मिक पूर्वाग्रह नराखी तटस्थ भएर हेर्नुपर्छ । दुई –इतिहास साम्राज्यवादविरोधी हुनुपर्छ । लामो सङ्घर्षपछि सन् २००९ मा ‘पवित्र गाईको मिथक’ को दोस्रो संस्करण भारतमै प्रकाशित भयो । बजारमा यसको हिन्दी अनुवाद पनि पाइन्छ ।
पुस्तक लेख्नुका कारणहरू प्रोफेसर झाले सुरुमै खुलाएका छन् ।
साम्प्रदायिकहरू भारतमा बनावटी ‘हिन्दु पहिचान’ थोपर्न जोडतोडका साथ लागेका छन् । यो ‘पहिचान’ विरुद्ध उनीहरूले मुसलमानहरूलाई शत्रु वा ‘पराइ’ को रूपमा उभ्याएका छन् । तिनलाई ‘गाईको मासु खाने प्रथाका सूत्रधार’ भन्दै छन् र ‘गोरक्षा’ को नारा लगाइरहेका छन् । तर, यो भाष्य सही होइन भन्ने इतिहासकारहरूलाई थाहा थियो । त्यसैले, रामशरण शर्माले प्रोफेसर झालाई एउटा जिम्मेवारी दिए । जिम्मेवारी थियो – भारतमा गाई भोजनको परम्पराबारे पुस्तक लेख्ने । यसरी जन्मियो डिएन झाको पुस्तक – ‘पवित्र गाईको मिथक’ ।
यो पुस्तक मूलतः हिन्दु, बौद्ध र जैन धर्मग्रन्थहरूमा आधारित छ । वेद (१५००–६०० इपू.), धर्मसूत्र, गृहसूत्र, स्मृति, महाभारत, रामायण, पुराणलगायत तिनका टीका–भाष्यलाई प्रमाण वा साक्ष्यको रूपमा प्रस्तुत गरिएको छ । बौद्ध र जैन धर्मका पाली, प्राकृत र संस्कृत ग्रन्थबाट उद्धरण दिइएको छ । सुरु सुरुका भारतीय आयुर्वेदिक रचनाका साथै संस्कृत साहित्यबाट पनि उदाहरण दिइएको छ । यसबाहेक देशी–विदेशी विज्ञका अनुसन्धानपरक कृतिको प्रचुर उपयोग गरिएको छ ।
बङ्गाली पुनर्जागरणका सुपुत्र राजेन्द्रलाल मित्रा, भारतप्रति सदासय राख्ने बेलायती अध्येता विलियम क्रूक र एचएच विल्सन, विद्वान एलएल सुन्दर राम, भारतरत्न पदवी पाएका संस्कृतविद् महामहोपाध्यायपिभी काणे, पुरातत्वविद् एचडी साङ्कलिया, संस्कृत भाषाका प्रकाण्ड विद्वान लक्ष्मण शास्त्री जोशी जस्ता हस्तीले प्राचीन भारतमा गाई भोजनको परम्परा रहेको प्रमाण प्रस्तुत गरेका छन् । तर, ती सबै घटना विशेषमा केन्द्रित थिए । गाई भोजनलाई केन्द्रमा राखेर लेखिएको पुस्तक प्रोफेसर झाको ‘पवित्र गाईको मिथक’ नै बन्यो ।
पुस्तकको खाकाबारे छोटकरीमा चर्चा गर्छु ।
परिचयलाई छोडेर पुस्तक ६ अध्यायमा विभाजित छ । पहिलो अध्यायमा वैदिक वाङ्मय र विभिन्न उपनिषदको सेरोफेरोमा रहेर गोमांश भक्षणबारे चर्चा छ । दोस्रोमा बौद्ध र जैन परम्परामा मासु सेवनबारे चर्चा छ । तेस्रो अध्याय मनुस्मृतिजस्ता संहितादेखि, आयुर्वेदिक रचना र कालिदासलगायत साहित्यकारका विभिन्न संस्कृत साहित्यमा केन्द्रित छ । चौथोमा ‘कलियुग’ को आगमनसँगै गोमांश भोजनमा आएको कमीबारे चर्चा छ । पाँचौ अध्याय गाईको पवित्रता–अपवित्रतामा केन्द्रित छ । छैटौँ अध्यायमा समग्र पुस्तकको सार–संक्षेप छ ।
परिचय
भारतमा गाईले विभिन्न आयाम लियो । खासगरी १९ औँ शताब्दीपछि गाई राजनीतिक हतियार बन्यो ।
भारतको स्वतन्त्रता सङ्ग्राममा देखिएका कतिपय राजनीतिक र धार्मिक नेताले गाईलाई विवादित विषय बनाए । महात्मा गान्धी, विनोबा भावे, आर्य समाजका संस्थापक दयानन्द सरस्वती यही लहरमा आउँछन् ।
सन् १८७० आसपास पन्जाबमा पहिलो ‘हिन्दु गोरक्षा’ आन्दोलन चल्यो । सन् १८८२ मा गएर दयानन्द सरस्वतीले ‘गोरक्षिणी सभा’ को गठन गरे । उनले गाईलाई भारतीय एकताको प्रतीक बनाउन खोजे र मुसलमानहरूलाई गोहत्या बन्द गर्न लल्कारे । यो सिलसिलाले सन् १८८० र १८९० को दशकमा भारतमा पहिलो साम्प्रदायिक दङ्गाको रूप लियो । कतिपय विद्वान त सन् १८५७ को सिपाही विद्रोहभन्दा अगाडि भारतमा कहिल्यै साम्प्रदायिक दङ्गा नभएको तर्क राख्छन् । भारतमा साम्प्रदायिक दङ्गाको सुरुआत सन् १८८० र १८९० को दशकमा भएको थियो । यी दङ्गा गोहत्याकै सेरोफेरोमा हुन्थे । सन् १८८० मै उत्तर–पश्चिमी प्रान्तको उच्च अदालतले गाई पवित्र वस्तु होइन भनी फैसला सुनायो । तैपनि दङ्गा भइरहे । सन् १८९३ को दङ्गामा सत्न्दा बढी मानिसले ज्यान गुमाए । त्यस्तै १९१२–१३ को हिंसाले अयोध्या नै हल्लायो । सन् १९१७ मा शाहवादमा अर्को साम्प्रदायिक दङ्गा भड्कियो ।
यति हुँदाहुँदै पनि महात्मा गान्धीले आफ्नो अखबारमा गाईको प्रशंसा गर्ने र ‘गाईको रक्षा गर्नु नै हिन्दु धर्मको मूल मर्म हो’ भन्ने जस्ता विवादास्पद विचार छापिरहे । आर्थिक हिसाबले गाई बहुमत भारतीय किसानका लागि लाभप्रद छ भन्नु एउटा कुरा थियो । तर, आध्यात्मिक र धार्मिक हिसाबले नै ‘गोरक्षा’ मा जोड दिनु वैज्ञानिक थिएन । गान्धी जस्ता नेताहरू यहीनिर चुके । केही नेताले त वैदिक कालदेखि नै हिन्दुहरूले गाईलाई पवित्र मान्दै आएको दाबी गरे ।
भारत अङ्ग्रेज उपनिवेशवादबाट मुक्त भयो । सन् १९४७ मा धर्मनिरपेक्ष संविधान बन्यो । तर, स्वतन्त्रताको झन्डै दुई दशकपछि सन् १९६६ मा सबैजसो साम्प्रदायिक सङ्घसंस्था र राजनीतिक दलले मिलेर गोहत्यामाथि राष्ट्रिय प्रतिबन्ध लगाउन लाखौँ मान्छे सडकमा उतारे । यसले गर्दा हिंसात्मक दङ्गा भड्कियो । त्यस्तै, सन् १९७९ मा आचार्य विनोबा भावेले गोहत्या बन्द गराउन भोक हडताल गरे । मोरारजी देसाईको सरकारले त्यो हड्ताल रोक्यो । यसपछि गोहत्या खालि प्राज्ञिक बहसको विषय बनिरह्यो । पछिल्लोपल्ट पुनः ‘गोरक्षा आन्दोलन’ लाई हिन्दुत्ववादी शक्तिले जोडतोडका साथ अघि बढाइरहेका छन् । मानिसहरूलाई ‘गाई खाएको आरोप’ मा बिच बजारमा कुटपिट गर्ने र मार्ने क्रम बढ्दै छ । राष्ट्रिय स्वयंसेवक सङ्घ, विश्व हिन्दु परिषद्, बजरङ्गी दललगायत विभिन्न हिन्दु सङ्घ–सङ्गठनका नेता–कार्यकर्ताको अगुवाइमा यी सब हुँदै छ ।
गाईको पुजा–अर्चनालाई ‘हिन्दु पहिचान’ बनाउन खोजिँदै छ । मुस्लिम संस्कृतिमा गाई आज पनि भोज्य हुनाले पनि यो पहिचान बनाउन खोजिएको हो । तर, गाई नखाँदैमा हिन्दु हुने भए पाकिस्तानको दारिस्तानमा बस्ने मुसलमानहरूलाई के भन्ने ? दारिस्तानका शिन मुसलमानहरू गाईलाई त्यत्तिकै पवित्र ठान्छन् जसरी एक मुसलमानले बङ्गुरलाई ठान्छ । तिनीहरू गाईको सिधा सम्पर्कमा जाँदैनन् । गाईको दूध खाँदैनन् । गाईको गोबर प्रयोग गर्दैनन् । गाईको मासु खाँदैनन् । त्यसैले भारतमा गाई काट्ने प्रचलन मुसलमानहरूले बाहिर/विदेशबाट ल्याएको हो भन्ने दाबी सही होइन ।
साम्प्रदायिक सङ्घसङ्गठनले इतिहास बङ्ग्याउन खोजिरहेको परिप्रेक्ष्यमा लेखक दाबी गर्छन्, “उपलब्ध लिखित प्रमाणहरू हेर्दा गाईको मासु खाने चलन प्राचीन भारतीय मांशाहारी संस्कृतिको अभिन्न अङ्ग रह्यो । लामो समयसम्म कम्तीमा समाजको माथिल्लो तप्कामा यो चलन थियो ।”
‘मासु मिठो हुन्छ’ तर याज्ञवल्क्य गाइगोरु नै रुचाउँछन्
१५०० इपू. तिर वैदिक आर्यहरू भारत आए । तिनका आफ्नै भारोपेली विशेषता थिए । उनीहरू मूलतः घुमन्ते पशुपालक थिए । तिनको कृषितन्त्र सुरुआती खालको थियो । तिनका आफ्नै धार्मिक विश्वास र कर्मकाण्ड थिए । तिनले पशुको बलि दिन्थे । यी विशेषताले भारतीय आहारविहारमा पनि छाप पा¥यो ।
ऋग्वेदको समकालीन मानिने इरानी धर्मग्रन्थ अवेस्ताबाट पनि वैदिक आर्यहरूको मूल अर्थतन्त्र पशुपालनकै वरिपरि घुम्ने गरेको बुझिन्छ । ऋग्वेदमा १७६ पल्ट गाईको चर्चा गरिएको छ भने पशुसँग सम्बन्धित ७०० शब्द छन् । गाईलाई ठुलो धन मानिन्थ्यो ऋग्वेदको समयमा । त्यसैले घुमन्ते आर्य कबिला आफ्ना सरदारलाई गोप वा गोपति भन्थे । कबिलाहरूबिच हुने आपसी लडाइँलाई गविष्टी, गव्य वा गवेषण भनिन्थ्यो । गाईबाट जन्मेका देवताहरूको एउटा समूह नै थियो । त्यसलाई गोजात भनिन्थ्यो ।
पूर्वी युरोपका स्तेपी मैदानमा पशुवधको चलन थियो । वैदिक आर्यहरूले पशुवधको चलन लिएर आए । वेदमा यसलाई यज्ञ/जग्य भनिएको छ भने अवेस्तामा यसलाई जश्न भनिएको छ । खासगरी घोडा, साढेँ (गोरु), भेडा, बाख्रा, ऊँट, बङ्गुरको बलि दिइन्थ्यो । अवेस्तामा हजारौँ पशुहरूको बलि दिएको उल्लेख छ । अवेस्तामा इन्द्र, अग्नि, सोमजस्ता देवता छन् । यी देवतालाई वैदिक आर्यहरूले आफूसँगै भारत ल्याए । ऋग्वेदमा पनि इन्द्र, अग्नि, सोम, रुद्र, मित्र, वरुणजस्ता देवता छन् । ऋग्वेदमा आजका हिन्दु देवताहरूको नाम छैन । ऋग्वेदका देवतामध्ये इन्द्र अचाक्ली सोमरस (मध्य एसियामा पाइने जडिबुटीबाट बनेको रक्सी/जाँड) पिउँथे । इन्द्रको लागि एकैपल्ट २० वटा साँढेको बलि दिइएको ऋग्वेदमा पढ्न पाइन्छ । इन्द्रले गोरु र राँगाको मासु खाएको पनि ऋग्वेदमा ठाउँठाउँमा उल्लेख छ । इन्द्रपछि दोस्रो महत्वपूर्ण देवता अग्नि थिए । उनी ठिक्क मात्रामा सोमरस खान्थे । मासुमा उनलाई गोरु र थारो गाई मन पथ्र्यो । ऋग्वेदको तेस्रो महत्वपूर्ण देवता हुन् सोम । सोमलाई सबैखाले बलि दिइन्थ्यो ।
ऋग्वेदको समयपछि पनि सयौँ वर्ष आर्यहरूको आहारमा परिवर्तन भएन । गोपथ ब्राह्मण, तैत्तरिय संहिता, सतपथ ब्राह्मणजस्ता रचनामा तीन प्रकारका यज्ञको चर्चा छ । अश्वमेध, राजसुय र वाजपेय यज्ञमा ठुलो सङ्ख्यामा गाई, गोरु, राँगा, भैँसी, बँदेल, चराचुरुङ्ग, निलगाई, मृग, बाख्रालगायत जीवजन्तुको बलि दिइन्थ्यो । अश्वमेध यज्ञमा ६०० भन्दा बढी प्रकारका पशुपन्छीको बलि दिइन्थ्यो भनी ऋग्वेदमा उल्लेख छ । तैत्तरिय संहितामा बलि दिन मिल्ने १८० पशुपन्छीको नाम छ । तैत्तरिय संहितामै गाईको मासुलाई असाध्यै भोज्य खाना
(अथो अन्नम् वैगोः) भनिएको छ । ऐतरेय ब्राह्मणमा मान्छे, घोडा, गोरु, बाख्रा र भेडाको बलि दिन मिल्ने उल्लेख छ । वेदमा लेखेअनुसार २५० भन्दा बढी जीवजन्तुको बलि दिन मिल्थ्यो र जसको बलि दिइन्थ्यो त्यो खानयोग्य थियो ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *