भर्खरै :

‘पवित्र गाईको मिथक’ : एक मन्थन – ५

‘पवित्र गाईको मिथक’ : एक मन्थन – ५

अम्बेडकरको कोण
भारतीय संस्करणको भूमिकामा ‘पवित्र गाईको मिथक’ का लेखक इतिहासकार डिएन झाको मन्तव्य पढ्न लायक छ । उनी भारतमा यो पुस्तक छपाउनका लागि गरेको सङ्घर्षबारे उल्लेख गर्छन् । साथै, उनी जातीय छुवाछूत चर्किनुसँग गोहत्या वा गोमांश भोजन जोडिएको बताउँछन् । आफूसँग यसबारे नयाँ सामग्री भए पनि पुस्तकमा संशोधन गर्न फुर्सद नहुनाले लेखक झाले पुस्तकको अन्त्यमा प्रसिद्ध भारतीय विद्वान् भीमराव अम्बेडकरको एउटा लेख समावेश गरेका छन् । अम्बेडकरद्वारा लिखित ‘तिनीहरू को हुन् र किन अछूत भए ?’ को अध्याय १० र १४ लाई एउटै लेखको रूप दिइएको छ ।
यहाँ सङ्क्षेपमा उक्त लेखको सार दिन्छु :
१. अछूतपनको स्रोत – गाईको मासु
सन् १९१० को भारतीय जनगणनाअनुसार मृत गाई (सिनु/सिनो) अझै अछूतहरूको मुख्य भोजन थियो । यी अछूतलाई हिन्दू नै मानिन्थ्यो ।
खानाका हिसाबले हिन्दू समाज तीन भागमा विभक्त छ । एक, माछामासु नखाने (ब्राह्मण) । दुई, मासु खाने तर गाई नखाने (गैरब्राह्मण) । तीन, गाईलगायत मासु खाने (अछूत) । पहिलो दुईथरीलाई छूत जात भनिन्छ भने तेस्रो कोटीका मान्छेलाई अछूत भनिन्छ । गाईको सवालमा शाकाहारी र गाई नखाने मांशाहारी एकजुट छन् । यसको अर्थ अछूतपन गाईको सिनु खानुसँग जोडिएको छ । यिनीहरूलाई वेदव्यास स्मृतिमा ‘अन्त्यज’ भनिएको छ । वेदव्यास भन्छन्, “चर्मकार (सार्की), भट्ट (सिपाही), भिल्ल, रजक (धोबी), पुष्कर, नट (अभिनेता), व्रात, मेद, चण्डाल, दास, स्वपाक र कोलिकलगायत गाई खाने सबैलाई अन्त्यज भनिन्छ ।” यसबाट साबित हुन्छ – अछूतपनको उद्गम गाई खानुमा छ । किनभने यहाँ प्रस्ट भाषामा ‘गाई खाने सबैलाई’ भनिएको छ ।
नयाँ बुझाइअनुसार अछूतपनका दुई स्रोत छन् । पहिलो – बौद्धहरूप्रतिको ब्राह्मणहरूको आक्रोश । दोस्रो – गाईको मासु ।
२. के हिन्दूहरूले कहिल्यै गाई/गोरुको मासु खाएनन् ?
अशिक्षित ब्राह्मणले ‘खाएनन्’ भने पनि शिक्षित ब्राह्मणले ‘खाएनन्’ भन्न मिल्दैन । किनभने ऋग्वेद, तैत्तरिय ब्राह्मण, सतपथ ब्राह्मण, आपस्तम्ब धर्मसूत्रजस्ता हिन्दू ग्रन्थका साथै कुटदन्त सुत्त, सम्युत निकायजस्ता बौद्ध ग्रन्थमा हिन्दूहरूले गाई÷गोरु खाएका प्रचुर उदाहरण छन् ।
३. गैरब्राह्मणहरूले गाई/गोरु खान किन छोडे ?
कुनै बेला सबैथरी हिन्दूहरूले गाई/गोरु खान्थे । संहिताकार मनुले समेत गाईको मासुमा प्रतिबन्ध लगाएनन् । बरु, केही कर्मकाण्डमा उनले गोमांशलाई अनिवार्य पनि बनाए ।
त्यसो भए गैरब्राह्मणहरूले किन गाईको मासु खान छोडे ? किनभने, उनीहरूले ब्राह्मणहरूको देखासिकी गरे । जुनसुकै समाजमा तल्लो वर्ग वा तहका मानिसहरू उपल्लो वर्गको अनुकरण गर्न खोज्छन् । यो सामाजिक नियम हो । साथै ब्राह्मणहरूले चलाएको गाई पूजाको व्यापक प्रचारबाजीले पनि छाप पारेको देखिन्छ । जस्तो गायत्री पुराण ब्राह्मण प्रचारबाजीको एउटा नमुना थियो ।
४. ब्राह्मणहरू किन शाकाहारी बने ?
शाकाहारी बन्नुअघि ब्राह्मणहरू मांशाहारी थिए । यज्ञमा गाई/गोरु नभई हुन्थेन । ऐतरेय ब्राह्मणमा गोवधको चरणबद्ध चित्रण नै पाइन्छ । फलानो काठको मौलो बनाउनुपर्ने, खुट्टा अघि तान्नुपर्ने, फलानो दिशामा फर्काउनुपर्ने जस्ता ससाना कुराको पनि वर्णन गरिएको छ । त्यसैले अम्बेडकर कटाक्ष गर्दै लेख्छन् – ब्राह्मणहरू गोभक्षी मात्र थिएनन् अपितु कसाही नै थिए । मनुस्मृतिको सूक्ष्म अध्ययनबाट मनुले गाईलाई पवित्र पशु नमानेको पुष्टि हुन्छ । बरु एक शिक्षित ब्राह्मणले गाईलाई छुन्छ भने अशुद्ध हुन्छ भनी लेखिएको छ । याज्ञवल्क्यको पनि यस्तै धारणा छ ।
शाकाहारी बन्नुका दुई दार्शनिक तर्क दिइन्छ ।
पहिलो, गाईलाई देवत्वकरण गर्नु । चराचर जगत एउटै दिव्य आत्मा हुनाले गाई पनि मान्छे जत्तिकै पवित्र हुन्छ भन्ने अद्वैत दर्शनलाई तर्कको रूपमा अघि सारियो । यस्तो हो भने वेदान्त सूत्रमा पशुबलिमा रोक किन लगाइएन ? गाई पवित्र हुनाले त्यसको वध बन्द गर्नुपर्ने भए अन्य पशुको वध रोक्न किन भनिएन ? त्यसैले पहिलो तर्क हावादारी साबित हुन्छ ।
दोस्रो, आत्माको पुनर्जन्म । उपनिषद्मा पुनर्जन्मको कुरा आयो । तर, उपनिषद्मै गाई÷गोरुको मासु खान हुने उल्लेख छ । उपनिषद्मै बताइएको कुरा लागु गर्न मनुस्मृतिसम्म अर्थात् कम्तीमा ४०० वर्ष किन कुर्नुप¥यो ? पुनर्जन्मकै विचारले मासु खान नहुने हो भने गैरब्राह्मणहरू किन शाकाहारी बनेनन् त ? यसबाट पनि गाईको पवित्रताको तर्क फोस्रो साबित हुन्छ ।
वास्तवमा बौद्ध धर्मसँगको सङ्घर्षमा ब्राह्मणहरूले आफ्नो वर्चस्व कायम गर्न गाईको मासु खान छोडेर गाईको पूजा गर्न थालेका थिए ।
बौद्ध धर्मले ब्राह्मणवादको जसरी खण्डन ग¥यो त्यसरी कसैले गरेको थिएन । त्यही भएर बौद्ध धर्म सयौँ वर्षसम्म जनधर्मको रूपमा रह्यो । बौद्ध धर्मको विस्तारसँगै ब्राह्मणहरू रक्षात्मक बन्न पुगे । यसपछि ब्राह्मणहरूले आफ्नो उदयको तयारी गरे । बुद्धको मृत्युपछि सर्वत्र बुद्धको पूजा हुन थाल्यो । त्यही शैलीमा ब्राह्मणहरूले मन्दिरको निर्माण गरेर शिव, विष्णु, राम, कृष्णजस्ता आफ्ना (वास्तवमा नयाँ) देवताहरूको प्रचार गर्न थाले । बौद्धहरूले गोवधको विरोध गरेका थिए । त्यसबेलाका ग्रामीण किसानहरूलाई यो कुरा चित्त बुझ्यो । किनभने, राजामहाराजाहरूले गर्ने यज्ञहरूमा किसानकै पशुपन्छी खोसेर बलि दिइन्थ्यो । यसरी बौद्ध धर्म जनधर्म बन्यो भने ब्राह्मण कर्मकाण्ड हेय बनेको थियो ।
बौद्ध र जैन धर्मको प्रभावले ब्राह्मणहरूले गाईको आहारमा कमी ल्याउँदै गए । तर, पूरा त्याग्न सकेनन् । उनीहरूसँग दुई विकल्प थिए । एक – बौद्धहरूले भने जस्तो यज्ञ गर्न छोड्ने वा बलिप्रथा त्याग्ने । यो विकल्पमा जाँदा ब्राह्मणहरूले आफूलाई बौद्धभन्दा श्रेष्ठ देखाउन सक्दैनथे । त्यसैले उनीहरू दोस्रो विकल्पमा गए । त्यो थियो – फलामलाई फलामले नै काट्ने । बौद्धहरू बलिप्रथाको विरोध गर्थे तर बौद्ध विहारमा मासु चल्थ्यो । ब्राह्मणहरूले आफ्नो श्रेष्ठता सिद्ध गर्न मासु नै नखाने रणनीति अपनाए । यसरी गाई पूजाआजाको पात्र बन्यो भने गोहत्या गर्नु पाप बन्न पुग्यो । सुरुमा गोहत्या ‘उपपातक’ मात्र थियो । तर, आफूलाई हिन्दू भन्ने गुप्त राजाहरूको पालामा यसलाई ‘महापातक’ को दर्जा दिइयो । सन् ४५६ को एक ताम्रपत्रमा राजा स्कन्दगुप्तले गोहत्या र ब्रह्महत्यालाई समान दर्जा दिएको उल्लेख छ । सन् ४१२ मा पनि यस्तै फर्मान पाइन्छ । बौद्धहरूले पाँच महापातक तोकेकोमा अब दुई पातक थपियो । गोहत्या र ब्रह्महत्या पाप हुन् भनियो ।
५. गाई/गोरुको मासु खाँदैमा उत्पीडितहरू किन अछूत बने ?
यहाँ उत्पीडित (ब्रोकन मेन, दुखिया वा बर्बाद) भन्नुको विशेष अर्थ छ । आदिम समाजमा कबिलाहरूबिच भिडन्त भइरहन्थ्यो । त्यसबेलाका पराजित कबिलाहरू नै दुखिया वा उत्पीडित हुन् । तिनलाई (आवाद) समाजबाट बहिष्कार गरियो । तिनीहरू प्रायः गाउँबाहिर बस्थे । बौद्ध र ब्राह्मणहरूबिच सङ्घर्ष बढेपछि गाई खाने बौद्धहरूलाई पनि दुखियाको कोटीमा राखियो र तिनलाई अछूतलाई जस्तै तुच्छ व्यवहार गरियो ।
पहिले मानिसहरू इच्छाअनुसार गाई÷गोरु खान्थे । त्यो धर्मनिरपेक्ष विषय थियो । तर, ब्राह्मण कर्मकाण्डमा गोभक्षण अनिवार्य थियो । पछि बौद्धहरूमाथि हावी हुन तिनले गाईको मासु खान छोडे । यहाँसम्म ठिक्कै छ । तर, तिनले गोवध गर्न हुन्न भनी ‘वेदवाणी’ बोल्न थालेपछि कुरा बिग्रियो । ब्राह्मणहरूले गोहत्या निषेधलाई नयाँ धर्मको रूप दिए । गाई पवित्र पशु बन्यो । समाजमा चरम विभेद देखियो । छूत र अछूतको भेद गाढा बन्यो । मरेको गाई खाइरहने उत्पीडित दुखियाहरू अछूत बने ।
यहाँनिर आलोचकले दुई प्रश्न उठाउन सक्छन् ।
पहिलो, उत्पीडितहरूले मरेको गाई/गोरु (सिनु/सिनो) खान्थे भन्ने के प्रमाण छ ?
पहिलो तर्क जायज छ । हुन पनि उत्पीडितहरूले सुरुदेखि नै ताजा गोमांश खान्थे भन्ने हो भने सबै बराबर हुने भए । तिनलाई अछूत बनाइरहनु परेन । त्यसैले गाई खाँदैमा उत्पीडितहरू अछूत बने भन्नु अर्थहीन हुने भयो । खासमा सुरुमा उत्पीडितहरूले मरेको गाई वा सिनु खान्थे । उच्च जातिका मानिस धनी हुन्थे । ब्राह्मणहरूलाई दक्षिणाको रूपमा गोदान नै गरिन्थ्यो । त्यसैले उनीहरू गाई मारेर ताजा मासु खान्थे । उत्पीडितहरूलाई त्यो सुविधा थिएन । ज्यालाको रूपमा उत्पीडितहरूलाई मरेको मासु खान दिएको कुरा नकार्न सकिन्न । कहीँकहीँ त मरेको गाईमाथि उत्पीडितहरूको हक लाग्ने राजाज्ञा वा फर्मान नै थियो । जस्तो, महाराष्ट्रका उत्पीडित महार जातिका मानिसलाई राजाले हिन्दू गाउँलेभन्दा फरक ५२ अधिकार दिएका थिए ।
दोस्रो तर्क भन्छ – उत्पीडितहरूले ब्राह्मण र गाई नखाने गैरब्राह्मणको नक्कल गरेर गाईको मासु किन त्यागेनन् ? गाई खानु पापकर्म घोषित भएपछि पनि उत्पीडितहरूले किन गाई खाइरहे ? खान छोडेको भए समाजमा छोइछिटो वा छुवाछूत नै रहने थिएन कि ?
गुप्त राजाहरूले गाई मार्न बन्देज लगाएका थिए । तर, यो कानुन उत्पीडितहरूमाथि लागु हुन्थेन । किनभने, उनीहरू मरेको सिनु खान्थे । गाई मार्नु हिंसा थियो । तर, मरेको गाई खानु हिंसा थिएन । त्यसैले उनीहरूलाई न कानुनले छुन्थ्यो, न हिंसाको सिद्धान्तले छुन्थ्यो । जहाँसम्म तिनले किन ब्राह्मणहरूको सिको गरेनन् भन्ने प्रश्न छ, त्यो सुविधा उत्पीडितहरूलाई थिएन । सिनु नै मासुको मुख्य स्रोत थियो । अर्को कुरा, पहिले–पहिले मरेको गाईमाथि उनीहरूको हक लाग्थ्यो । त्यो एक हिसाबले एउटा विशेषाधिकार वा सहुलियत थियो । गाई मार्न नहुने कानुन आएपछि सिनो खानु उनीहरूको बाध्यता नै बन्यो । पहिले गरिरहेको काम पछि गर्न उनीहरूलाई अप्ठ्यारो पनि लागेन ।
यसरी अम्बेडकरले भारतीय समाजमा छुवाछूतको सुरुआत बौद्ध–हिन्दू सङ्घर्ष र गाईको मासु खाने परम्परासँग अटुटरूपमा जोडिएको बताए । प्राचीन भारतमा शुद्रहरूको स्थितिबारे लेखिएको प्रसिद्ध माक्र्सवादी कृति ‘प्राचीन भारतमा शुद्रहरू’ (Sudras in Ancient India) मा इतिहासकार रामशरण शर्माले अलि फरक धारणा राखेका छन् । गोमांश भोजनसम्बन्धी हिन्दू संहिताहरूले छुवाछूत चर्काएको तर यसको सुरुआत (मौर्यकालभन्दा) अगाडि नै भएको उनको निष्कर्ष छ ।
नेपाली सन्दर्भ
नेपालमा हिमाल, पहाड र तराईमा गाई÷गोरुको मासु खाने चलन छ भन्न लजाउनुपर्दैन । राँगा÷भैँसीको मासु खाने चलन छ भन्न कुनै नेपाली हिच्किचाउँदैन । काठमाडौँका चार–पाँच तारे होटलहरू गोमांशबिना चल्न सक्दैनन् । हिमाल, पहाड र तराईका सर्वसाधारण मानिसहरू गाई÷गोरु खान्छन् भन्न किन लजाउने ? तैपनि, एउटा सकस छ । नेपालमा गाईलाई राष्ट्रिय जनावरको मान्यता दिइएको छ । यो पाखण्ड किन ? गाईको संरक्षण गर्नलाई हो भने गाई दुर्लभ जनावर होइन । संरक्षण गर्ने नै हो भने एकसिङ्गे गैँडा वा हाब्रेलाई राष्ट्रिय जनावर बनाउनुपर्ने हो । ‘संरक्षणका लागि मात्र संरक्षण’ भन्ने हो भने यो तर्क होइन, कुतर्क हो ।
नेपालमा बहुसङ्ख्यक हिन्दू हुनाले उनीहरूको आस्था÷भावनाको कदर गर्न गाईलाई राष्ट्रिय जनावर बनाएको भन्ने हो भने नेपालमा को–कति हिन्दू हो भनी छानबिन गर्नुपर्ने हुन्छ । नेपाल मूलतः किराँत, खस र थारुहरूको देश हो । (पछिल्लो मानवशास्त्रीय अध्ययनअनुसार ८० प्रतिशतभन्दा बढी नेवार किराँत हुन् ।) नेपालका किराँतहरू गाई/गोरु/राँगा/भैँसी खान्छन् । (तिब्बती संस्कृतिसँग किराँतहरूको नजिकको सम्बन्ध छ । तिब्बतमा धर्मगुरुहरूलाई समेत बौद्ध धर्मले मासु खान छुट दिएको थियो ।) त्यसैले नेपालका किराँतहरूलाई कसरी हिन्दू भन्ने ? अर्को, नेपालका खसहरूलाई मनुस्मृतिमै व्रात्य (वेद नमान्ने नीच) भनिएको छ । उनीहरू हिन्दू बन्न थालेको विक्रमको १२ औँ शताब्दीपछि हो । कतिपय खसहरू आज पनि हिन्दू देवीदेवतामा भन्दा आफ्नै मस्टा र धामीमा विश्वास गर्छन् । महिष (भैँसी) र दानव (असुर) पुज्ने थारुहरूलाई ‘महिषासुर’ वध गर्ने हिन्दू कसरी भन्ने ?
२० वर्षअघि नेपाल हिन्दू अधिराज्य थियो । त्यतिबेला ‘गोरक्षा’ गर्नु ‘गोरखापति’ वा हिन्दू राजाको परम कर्तव्य थियो । ती राजा शिवजी जस्तो कलियुग अन्त्य गर्ने कल्कीका अग्रदूत थिए–थिएनन्, त्यो अर्कै विषय हो । आज नेपाल धार्मिक राज्य होइन । त्यसैले राज्यले धर्मविशेषको पक्ष लिनु एकप्रकारको विभेद नै हो । आजको राज्यलाई यो छुट छैन । ‘गोरक्षा’ को मन्त्र अङ्ग्रेज उपनिवेशवादीहरूको उक्साहटमा भारतका हिन्दूत्ववादीहरूले उन्नाइसौँ शताब्दीको अन्त्यतिर दिएका थिए । अर्थात्, यो मन्त्र ‘फुटाउ र शासन गर’ भन्ने बेलायती नीतिकै हिस्सा थियो । भारतमा हिन्दू–मुसलमान दङ्गा भड्काउनका लागि यो नारा दिइएको थियो । यस विषयमा इतिहासकार प्रोफेसर बीएन पान्डेले सन् १९७७ मा भारतीय राज्यसभामा प्रशस्त प्रमाणसहित गहकिलो मन्तव्य दिएका थिए । मन्तव्यको शीर्षक थियो – साम्राज्यवादको सेवामा इतिहासको प्रयोग । उक्त मन्तव्यमा कसरी अङ्ग्रेजहरूले हिन्दू–मुसलमानबिच मनमुटाव ल्याउन गाई र बङ्गुरलाई प्रयोग गरेका थिए भनी अङ्ग्रेज अधिकारीहरूबिच भएका पत्राचारको चर्चा गरिएको छ ।
नेपालमा गाईलाई राष्ट्रिय जनावरको रूपमा स्वीकार गर्दै गर्दा केही प्रश्न उठ्छन् । गाईलाई राष्ट्रिय जनावर बनाएर हामीले कतै उही उपनिवेशवादी सोचको सालिक बनाइरहेका त छैनौँ ? गाईलाई पुज्दै गर्दा कतै हामीले सनातन भनिने पुरातन साम्प्रदायिक ब्राह्मणवादको महिमामण्डन त गर्दै छैनौँ ? छौँ भने हाम्रो देशलाई एक्काइसौँ शताब्दीको ‘अन्तरिक्ष युग’ मा प्रवेश गरेको स्वतन्त्र देश कसरी भन्ने ? छैनौँ भने आधुनिक गणतान्त्रिक राज्यको घाँटीमा यो झुत्रो, झाम्रो, थोत्रो र मैलो दाम्लो किन बाँध्ने ? सयौँ जात, भाषा र संस्कृतिका प्रत्येक नेपालीले घोत्लिनुपर्ने प्रश्न हुन् यी ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *