भर्खरै :

२५० वर्षमा अमेरिका विवादित विगतबाट फासीवादी भविष्यतर्फ ? – २

  • असार ३०, २०८३
  • वाल्डेन बेलो
  • विचार
२५० वर्षमा अमेरिका विवादित विगतबाट फासीवादी भविष्यतर्फ ? – २

वर्गीय चेतनाविरुद्ध जातीय ऐक्यबद्धता
गृहयुद्धपछि दोस्रो प्रकारको ‘शासक नश्ल लोकतन्त्र’ को राज चल्यो । दासप्रथाबाट मुक्त भए तापनि यो व्यवस्था गोराहरूको श्रेष्ठताको भावनाले पूर्ण रूपमा ओतप्रोत थियो । जहाँ गृहयुद्धपछिको पुनर्निर्माण कालको दक्षिण क्षेत्रमा काला जातिका मानिसहरूलाई अनौपचारिक रूपमा राजनीतिक अधिकारहरूबाट वञ्चित गर्नु र राज्य तथा नागरिक समाजद्वारा निर्देशित आतङ्क सामान्यजस्तै थियो । त्यस्तै, उत्तर क्षेत्रमा काला जातिका मानिसहरूको मताधिकारप्रतिको कमजोर सहनशीलतासँगै व्यवस्थित सामाजिक र आर्थिक भेदभाव व्याप्त थियो ।
तीव्र औद्योगिकीकरणले उन्न्नाइसौँ शताब्दीको उत्तराद्र्धमा युरोपबाट करिब १ करोड ६० लाख आप्रवासीहरूलाई आकर्षित ग¥यो । जसले मुख्य रूपमा गोरा एङ्ग्लो–स्याक्सन पुँजीपतिवर्ग र एक बहुराष्ट्रिय तथा बहुजातीय श्रमिकवर्गबिच कडा तनाव पैदा गरिदियो । तथापि, पुस्तौँ पुस्ता हस्तान्तरण हुँदै आएको आधारभूत लकवादी मनोविज्ञानको दुईतर्फी प्रभाव देखियो : निम्न–पुँजीवादी चेतनाले वर्गमा आधारित ऐक्यबद्धतालाई कमजोर बनायो, जबकि स्वतन्त्रता र लोकतन्त्र आफ्ना लागि मात्र विशेषाधिकार हुन् भन्ने गोराहरूबिचको अघोषित तर वास्तविक बुझाइले नश्लमा आधारित ऐक्यबद्धतालाई अझ बलियो बनायो । सधैँझैँ लचिलो बन्दै देशको उदाउँदो पुँजीवादी अर्थतन्त्रले गोराहरूको वर्चस्वसँग सम्झौता ग¥यो, श्रम शक्तिलाई नश्लका आधारमा वर्गीकरण ग¥यो र ट्रेड युनियनहरूको सङ्गठन पनि ठुलो मात्रामा नश्लीय आधारमै अघि बढ्यो । कोरियाली युद्धको केही समय अघिसम्म सेनामा पनि रङ्गभेद नै नियमका रूपमा लागू थियो । यद्यपि, काला जातिका मानिसहरूले स्वतन्त्रता सङ्ग्रामकै समयदेखि नै प्रमाणित गरिसकेका थिए कि उनीहरू पनि गोराहरू सरह नै आफ्नो देशका लागि लड्न र मर्न सक्षम छन् । दोस्रो विश्वयुद्धका दौरान जापानी–अमेरिकीहरूले पनि ठुलो मूल्य चुकाएर यही कुरा साबित गरेका थिए ।
कमजोर वर्गीय ऐक्यबद्धता र बलियो जातीय ऐक्यबद्धता नै ती दुई ध्रुवहरू थिए, जसको बिचमा गृहयुद्धदेखि पचासको दशकको अन्त्य र साठीको दशकको सुरुवाती समयमा भएको नागरिक अधिकार आन्दोलनसम्मको अमेरिकी श्रमिकवर्गको कष्टकर इतिहास विकसित हुने थियो ।
यही अवधिमा संयुक्त राज्य अमेरिकाले उत्तर अमेरिकाभन्दा बाहिर आफ्नो पहुँच विस्तार ग¥यो र यसो गर्दा उसले आफ्नो ‘लकवादी विरोधाभास’ लाई पनि निर्यात ग¥यो । यसले फिलिपिन्स, दोस्रो विश्वयुद्धको समयमा प्रशान्त क्षेत्र, कोरिया र भियतनाममा विस्तारवादी तथा साम्राज्यवादी युद्धहरू लड्यो । यीमध्ये अधिकांश युद्धहरू आफ्नो तीव्रताको हिसाबले नरसंहारकारी थिए । तर, अमेरिकी नीति–निर्माताहरूको नश्लीय अन्धता यति बलियो थियो कि, उनीहरूले नरसंहार (जसलाई ‘प्रविधि–सघन युद्ध’ को आवरण दिइएको थियो) र अमेरिकी शैलीको लोकतन्त्र निर्यात गर्ने आफ्नो घोषित अभियानबिच कुनै विरोधाभास देखेनन् । किनभने, उनीहरूको अघोषित मान्यता के थियो भने लोकतान्त्रिक अधिकारहरूको पूर्ण प्रयोग र उपभोग गर्न गोराहरू मात्र सक्षम र हकदार छन् । लोकतन्त्र एउटा उपयोगी भ्रम थियो, जुन प्रायः तानाशाही सहयोगी र मित्रवत् सम्भ्रान्तहरूद्वारा आफ्ना जनतामाथि थोपरिएको थियो ।
‘दक्षिणी रणनीति’
सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलन ‘शासक नश्ल लोकतन्त्र’ माथिको प्रत्यक्ष प्रहार थियो । केही समयका लागि पछि हट्न बाध्य भएको यो प्रवृत्ति, १९७० र १९८० को दशकमा कुख्यात ‘दक्षिणी रणनीति’ (Southern Strategy) को रूपमा अमेरिकी राजनीतिको विकासक्रमलाई चुनौती दिन पुनः उदायो । यस रणनीतिअन्तर्गत, रिपब्लिकन पार्टीले खुला रङ्गभेद र ‘साङ्केतिक राजनीति’ (Dog-whistle politics) दुवैको प्रयोग गर्दै नागरिक अधिकार आन्दोलनसँग डेमोक्रेटिक पार्टीले गरेको गठबन्धनबाट धोका पाएको महसुस गरिरहेका दक्षिणी गोराहरूलाई आकर्षित गर्न आफ्नो छवि र चरित्रलाई बदल्यो । अति–दक्षिणपन्थी रिपब्लिकनहरूले डेमोक्रेटिक पार्टीको नेतृत्वले नवउदारवादी नीतिहरू अपनाएका कारण सिर्जना भएको उत्तरी श्रमिकहरूको आर्थिक असुरक्षाको पनि कुशलतापूर्वक फाइदा उठाए । उनीहरूले श्रमिकहरूको रोजगारी गुम्नु र आम्दानी स्थिर रहनुको दोष डेमोक्रेटिक पार्टीले अल्पसङ्ख्यक र आप्रवासीहरूलाई ‘काखी च्यापेको’ कुरालाई दिए । शताब्दीको अन्त्यतिर आइपुग्दा, रिपब्लिकन पार्टी गोरा वर्चस्ववादीको पार्टी बन्ने दिशामा निकै अगाडि बढिसकेको थियो । यस प्रक्रियाले डोनाल्ड ट्रम्पको नेतृत्वमा आफ्नो उत्कर्ष चुमेको छ, जसले २०१६, २०२० र २०२४ का चुनावहरूमा ५४–५५ प्रतिशत गोरा मतदाताहरूको समर्थन प्राप्त गर्दै गोरा मतदाताहरूको स्पष्ट बहुमतमाथि आफ्नो नियन्त्रण कायम गरे ।
रिपब्लिकन पार्टीको सन्दर्भमा जस्तै, सामाजिक प्रतिक्रान्तिले संयुक्त राज्य अमेरिकाका अन्य राजनीतिक संस्थाहरूलाई पनि यति धेरै जातीयतामा आधारित उग्र बनाइदिएको छ कि, चाल्र्स मिल्सको शब्दमा भन्नुपर्दा, ‘खुला गोरा–वर्चस्ववादी विचारधारा र कानुनी अधीनताका खुला नियमहरूको अनुपस्थितिमा पनि गोराहरूको प्रभुत्वको प्रणाली निरन्तर चलिरहेको छ ।’
गतिवर्धक तत्वहरू
हालैका वर्षहरूमा, गोरा जातिमा व्याप्त डरलाई तीनवटा उत्तेजक तत्वहरूले थप प्रज्वलित गरिदिएका छन् ।
सन् २००८ मा बाराक ओबामाको राष्ट्रपति पदमा भएको निर्वाचन सम्भवतः गोरा राष्ट्रवादका लागि सबैभन्दा ठुलो एकल गतिवर्धक तत्व थियो । यसका साथै, धेरै गोरा पुरुषहरूमा आफूहरू यस्तो संसारमा अलपत्र परेको भावना पैदा भयो जहाँ परम्परागत लैङ्गिक पदानुक्रमहरू धरमराइरहेका थिए, द्वैध लैङ्गिक वर्गीकरणलाई त्यागिँदै थियो, महिलाहरूले आफ्नो शरीरमाथि नियन्त्रण पाउन थालेका थिए र नयाँ पारिवारिक व्यवस्थाहरूका कारण ‘विषम लैङ्गिक–पितृसत्तात्मक परिवार’ (Heteropatriarchal family) को परम्परागत मान्यतामाथि प्रश्न उठिरहेको थियो ।
आप्रवासीहरूलाई सधैँ शङ्काको दृष्टिले हेरिँदै आएको भए तापनि, हालैका दशकहरूमा ठुलो सङ्ख्यामा गैरगोरा मानिसहरूको आगमनले धेरै गोराहरूलाई ‘ग्रेट रिप्लेसमेन्ट थ्योरी’ (महान् विस्थापन सिद्धान्त) प्रति संवेदनशील बनाइदियो । फ्रान्सेली अति–दक्षिणपन्थी विचारक रेनो कामु (Renaud Camus) द्वारा लोकप्रिय बनाइएको यस सिद्धान्तले ‘ग्लोबल साउथ’ बाट हुने आप्रवासन, सन् २०४० को दशकसम्ममा गोरा बहुसङ्ख्यकलाई अल्पसङ्ख्यकमा परिणत गर्न उदारवादी सम्भ्रान्तवर्गले रचेको एउटा षड्यन्त्र हो भन्ने दाबी गर्छ ।
यी सबैले डोनाल्ड ट्रम्पको उदयका लागि पृष्ठभूमि तयार पारे, जसलाई सीआईएकी राजनीतिक विश्लेषक बारबरा वाल्टरले ‘सबैभन्दा ठुला जातीय उद्यमी’ को संज्ञा दिएकी छन् । उनका अनुसार, “विगत पचास वर्षमा कुनै पनि रिपब्लिकन राष्ट्रपतिले यति धेरै नश्लभेदी एजेन्डा अगाडि बढाएका थिएनन् वा अन्य सबैको मूल्यमा गोरा, तन्जेलिकल (Evangelical) अमेरिकीहरूको यसरी वकालत गरेका थिएनन् ।”
भविष्यका लागि सङ्घर्ष
सन् १९७६ मा जब संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २०० औँ वर्ष मनाउँदै थियो, म सान फ्रान्सिस्कोमा थिएँ । त्यतिबेला चौतर्फी रूपमा एउटा राहतको महसुस गरिएको थियो† देशले नागरिक अधिकार आन्दोलनको युग, भियतनाम युद्ध र वाटरगेट काण्डका विभाजनहरूलाई पछाडि छोड्दै छ भन्ने भावना व्याप्त थियो । तर, आज जब संयुक्त राज्य अमेरिकाले आफ्नो २५० औँ वर्ष मनाउँदै छ, तब निराशा र आक्रोश हाबी देखिन्छ । ग्यालोप पोलको एक सर्वेक्षणअनुसार, सन् २०१५ मा ७८ प्रतिशतले ‘अमेरिकी हुन पाउँदा निकै वा अत्यधिक गर्व लाग्छ’ भनेका थिए, जुन सङ्ख्या घटेर अहिले मात्र ३१ प्रतिशतमा झरेको छ ।
संयुक्त राज्य अमेरिका एउटा यस्तो ‘मेल्टिङ पट’ (Melting pot हो जसले आफ्ना कमजोरीहरूका बाबजुद विश्वलाई लोकतान्त्रिक शासनको एउटा नमुना प्रदान गर्छ भन्ने उदारवादी सहमति अब वामपन्थी कोणबाट भएका आलोचनात्मक प्राज्ञिक अध्ययनहरूका सामु टिक्न सकेको छैन ।
सिनेटर क्रिस मर्फी (डेमोक्राय्ट–कनेक्टिकट) देखि अभिनेता रोबर्ट डी निरोसम्मका ठुलो सङ्ख्याका नागरिकहरूमा गम्भीर आशङ्का छ कि यदि ट्रम्प र रिपब्लिकनहरू सन् २०२८ को निर्वाचनमा पराजित भए भने उनीहरूले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने छैनन् । अन्य केही कलाकारहरू, जस्तै एलेन डिजेनेरेस र रोजी ओडोनेलले भने त्यो परिणाम पर्खेर बसेनन् र उनीहरू अन्य देशहरूमा पलायन हुने बाटो रोजिसकेका छन् (यद्यपि, धेरैजसो अवस्थामा ट्रम्पप्रतिको वितृष्णासँगै कर तिर्नबाट बच्ने चाहना पनि खुसीसाथ जोडिएर आएको छ) ।
अर्कोतर्फ, डोनाल्ड ट्रम्पले सबैभन्दा बढी घृणा गर्ने शब्द– ‘विविधता’ लाई दक्षिणपन्थीहरूद्वारा नामेट पारिँदै छ र अमेरिकाको इतिहासलाई केवल गोराहरूको सिर्जनाका रूपमा पुनः व्याख्या र परिमार्जन गरिँदै छ । यो ठ्याक्कै त्यही मुख्य भाष्य हो जुन सन् १९५० को दशकमा हाबी थियो, जुन समयमा ट्रम्प हुर्किएका थिए ।
सन् २०२० को रिपब्लिकन राष्ट्रिय महाधिवेशनमा राष्ट्रपतिका उम्मेदवारका रूपमा ट्रम्पले दिएको स्वीकृति भाषणमा यो भाष्य पूर्ण रूपमा प्रकट भएको थियो । त्यहाँ उनले भनेका थिए कि अमेरिकाको अद्वितीय विशेषता भनेको ‘पशुपालक, खानी मजदुर, काउब्वाई, सेरिफ, किसान र अधिवासीहरू’ द्वारा भूमि र पश्चिमतर्फ गरिएको विजयको भावना थियो र यो विजयी अभियान ‘वायट अर्प, एनी ओक्ली, डेभी क्रोकेट र बफेलो बिल’ जस्ता व्यक्तिहरूका कारण सम्भव भएको थियो । यसमा ‘गोरा’ शब्दको कुनै प्रत्यक्ष उल्लेख छैन, तर ट्रम्पको यो साङ्केतिक कूट–भाषा उनका ‘मागा’ (MAGA) समर्थकहरूलाई उत्साहित बनाउन पर्याप्त छ ।
तथापि, अमेरिकी गणतन्त्रले आफ्नो २५० औँ वर्षमा प्रवेश गर्दा सामना गरिरहेको सबैभन्दा ठुलो सङ्कट अति–दक्षिणपन्थीहरूद्वारा अमेरिकी ऐतिहासिक भाष्यमाथि कब्जा जमाउने खतरा मात्र होइन । बरु, यो त हरेक विद्यालयका छात्रछात्रालाई ‘अमेरिकी प्रयोग’ को सबैभन्दा अमूल्य गहनाका रूपमा सिकाइने अवधारणा– ‘शक्तिको पृथकीकरण’ लाई एक यस्तो व्यक्तिद्वारा दृढतापूर्वक कमजोर बनाइनु हो । जसले निरङ्कुश सत्ता प्राप्त गर्ने आफ्नो चाहनालाई कहिल्यै लुकाएनन् । उनलाई रिपब्लिकनहरूको वर्चस्व रहेको संसद्बाट निकै कम प्रतिरोध भइरहेको छ, सर्वोच्च अदालतको मिलेमतो छ र उनको ‘मागा’ समर्थकहरूको यस्तो अन्धभक्तपूर्ण समर्थन छ जो उनीसँगै फासीवादतर्फ खुसीसाथ कदम मिलाएर अघि बढ्न तयार छन् ।
अमेरिकी गणतन्त्रले आफ्नो २५० औँ वर्षमा प्रवेश गर्दा सामना गरिरहेको सबैभन्दा ठुलो सङ्कट अति–दक्षिणपन्थीहरूद्वारा अमेरिकी ऐतिहासिक भाष्यमाथि कब्जा जमाउने खतरा मात्र होइन । बरु, यो त हरेक विद्यालयका छात्रछात्रालाई ‘अमेरिकी प्रयोग’ को सबैभन्दा अमूल्य गहनाका रूपमा सिकाइने अवधारणा– ‘शक्तिको पृथकीकरण’ लाई एक यस्तो व्यक्तिद्वारा दृढतापूर्वक कमजोर बनाइनु हो ।
यति हुँदाहुँदै पनि, गणतन्त्र पूर्ण रूपमा आशाविहीन भने छैन । यो आशा न्युयोर्कका मेयर जोहरान माम्दानीजस्ता प्रगतिशीलहरू र जून महिनाको अन्त्यमा भएका प्राथमिक चुनावहरूमा व्यापक जीत हासिल गर्ने युवा आमूल परिवर्तनकारीमा झल्किएको छ । यी यस्ता मानिसहरू हुन् जसले मार्गदर्शनका लागि ‘संस्थापक पिताहरूको बुद्धिमत्ता’ तर्फ फर्किएर हेर्दैनन्, बरु एउटा लोकतान्त्रिक, समाजवादी र साँच्चिकै समतामूलक एवं बहुजातीय भविष्यतर्फ हेर्छन् ।
समाप्त
स्रोत : काउन्टरपन्च/दायित्वबोध डटकमबाट
अनुवाद : केदार सिटौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *