भर्खरै :

किम जङ उनको गोप्य चीन भ्रमण!

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जङ उनले चीन भ्रमण गरेको विभिन्न सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । तर दुवै चीन र प्रजग कोरियाले यो विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् । ब्लुमबर्ग नामको सञ्चारमाध्यमका अनुसार प्योङयाङबाट तीन जना उच्चपदस्थ सरकारी अधिकारीहरु चीनको राजधानी बेइजिङ पुगेका छन् । तर उक्त सञ्चारमाध्यमले उनीहरु को को हुन् र उनीहरुका पद के के हुन्, कुनै कुरा बताएको छैन ।
सन् २०११ मा यसअघिका प्रजग कोरियाका सर्वोच्च नेता किम जङ इल चीनको भ्रमणमा आउँदा प्रयोग गरिएकै रेल बेइजिङमा देखिएपश्चात पर्यवेक्षकहरुले किम जङ उन स्वंय चीन गएको हुन सक्ने अशंका गरेका हुन् । २१ वटा डिब्बा भएको सो रेलको एउटा डिब्बा भने पहेलो रंग भएको हरियो रंगको थियो ।
चीनको तेनआम मेन स्क्वायर जाने बाटोमा पनि चिनियाँ प्रहरीले उच्च सर्तक र सुरक्षा व्यवस्था बलियो बनाएको स्रोतको भनाई छ । गए राति ग्रेटहल बाहिर धेरै संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका थिए ।
रोयटर्स र बीबीसीका समाचारअनुसार पनि गएको साँझ ग्रेटहलबाट ठूलो संख्यामा सवारी डायओयुटाई सरकारी अतिथिगृहमा गएको थियो ।
संरा संघले हालै प्रजग कोरियामाथि लगाएको कडा नाकाबन्दीलाई चीनले पनि समर्थन गरेपश्चात बेइजिङ र प्योङयाङबीचको सम्बन्ध सहज र हार्दिक बनाउन हेतु उनको चीन भ्रमण भएको हुन सक्ने विश्लेषकहरुको भनाई छ ।
हालै प्रजग कोरियासँग दक्षिण कोरिया र संरा अमेरिकाबीच भएको सम्पर्कका बारेमा कुराकानी गर्न पनि उनको चीन भ्रमण भएको हुन सक्ने स्रोतहरुको भनाई छ ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता ह्वा छुयिङले आफूलाई उनको चीन भ्रमणबारे कुनै जानकारी नभएको बताएकी छिन् ।
चिनियाँ सेनासँग सम्बन्धित एक स्रोतका अनुसार उनको चीन भ्रमणको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । तर उक्त स्रोतले पनि उनको चीनमा औपचारिक भ्रमणबारे आफूलाई थप थाहा नभएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *