“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
नीरज
‘नथिया’ उपन्यास पढिसके पछि सबैभन्दा पहिला गर्न मन लागेको कुरा हो–उपन्यासकारको मिहिनेतको प्रशंसा । ‘नथिया’लाई राम्रो उपन्यास बनाउन सरस्वती प्रतीक्षाले गरेको मिहिनेत प्रशंसनीय छ । ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि’ भन्ने भनाईलाई सार्थक बनाउँदै उनले सामान्यतः उपन्यास नै लेख्नुपर्ने गरी ध्यान नजाने विषयमा उपन्यास लेखेकी छिन् ।
अधिकांश उपन्यासकारहरुले आफू जन्मे–हुर्केको पृष्ठभूमिकै परिधिमा बसेर उपन्यास लेख्न सजिलो मान्छन् । जस्तै नारायण ढकालका अधिकांश उपन्यासमा काँठ क्षेत्र कुनै न कुनै रुपमा आउने गरेको छ, कति उपन्यास पूरै काँठ वरपर घुमेको हुन्छ भने कतिपयमा काँठ अंश–अंशमा आउने गरेको पाउँछौं । नयनराज पाण्डेका चर्चित उपन्यास र कथाहरु प्रायशः नेपालगञ्जको पृष्ठभूमिमा लेखिएका छन् । तराईको पृष्ठभूमिमा मात्र उपन्यास लेख्न जानेका भन्ने आरोपबाट थाकेर उनले हिमाली समाजको पृष्ठभूमि बनाएर सल्लीपीर उपन्यास लेखे । तर ‘लू’ र ‘उलार’ जति सल्लीपीर जमेन ।
अधिकांश उपन्यासकार आफूसम्बद्ध क्षेत्रकै वरपर उपन्यास लेख्न सजिलो मान्छन् । जस्तै प्रदीप नेपाल, नारायण ढकाल आदिका उपन्यासमा कहीं न कहींबाट राजनीति आएकै हुन्छ । रामेश कोइरालाको संस्मरणात्मक आलेख ‘आमाको मुटु’ स्वास्थ्य क्षेत्र वरपर घुमेको छ । राजनीतिक टिप्पणीकार तथा पूर्व विद्यार्थी नेता झलक सुवेदीको उपन्यास ‘आधा जुन’ राजनीतिक विषयमा नै आधारित छ । आहुतिका उपन्यासहरु ‘नयाँ घर’ र ‘स्खलन’ दुवै नेपालको वामपन्थी आन्दोलनकै विषयमा लेखिएका छन् । डाइमण्ड शम्शेरले आफ्ना अधिकांश उपन्यास राणाशासन र तात्कालीन समयको विषयमा लेखे ।
तर सरस्वती प्रतीक्षाको ‘नथिया’ उनको आफ्नै पृष्ठभूमि र क्षेत्रभन्दा नितान्त भिन्न छ । ‘नथिया’ बादी महिलाको जीवन र बादी समाजमा आधारित उपन्यास हो । आफ्नो पृष्ठभूमिभन्दा निकै फरक विषयमा उपन्यास लेख्न प्रतीक्षाको मिहिनेतले उपन्यास लेखनमा उदयीमान पुस्ताको उर्जा प्रष्ट बनाउँछ । आफ्नो पहिलो उपन्यासमा नै आफूभन्दा नितान्त भिन्न पृष्ठभूमिको विषय–वस्तु रोज्नु प्रतीक्षाको सहास हो ।
पूरा उपन्यास बादी छोरी सामली वरपर घुमेको छ । अर्का शब्दमा भन्नुपर्दा यो उपन्यासको नायक सामली हुन् । कुनै पनि कृतिमा नायक हावी हुनुलाई स्वाभाविक मान्न सकिन्छ । ‘नथिया’मा सामली हावी छिन् । तर सामलीलाई उपन्यासमा सरस्वती प्रतीक्षाले यति बलियो बनाएकी छिन्,वास्तवमा सामलीलाई ‘स्वाभाविकताभन्दा बृहत्’(लार्जर ड्यान लाइफ) बनाइएको छ ।
कोही पनि व्यक्तिको विकासक्रम धेरै कुराको सम्मिश्रणको परिणाम हुने गर्दछ । कोही पनि व्यक्ति आफू जस्तो छ, त्यस रुपमा विकास हुनु पछाडि ऊ बाँचेको समय, उसको साँस्कृतिक पृष्ठभूमि, ऊ बाँचेको राजनीतिक तथा आर्थिक बन्दोबस्त, भूगोल र ऊ बाँचेको भूगोलको विकास(साँस्कृतिक) अवस्था आदि धेरै कुराले निर्धारण गर्ने गर्दछ । यी सबैको सापेक्षमा सामली पात्रको अध्ययन गर्दा उनको विकासक्रम अस्वाभाविक लाग्छ । उनीप्रति उपन्यासकारले अलि बढी अनुराग राखेर स्वाभाविकभन्दा बलियो र चेतनशील पात्र बनाइदिएको देखापर्दछ ।
सामलीका संवादमा उपन्यासकारको बौद्धिकता र परिमार्जित चिन्तन नै हावी बनेको धेरै ठाउँमा आभास मिल्छ । निसन्देह सामलीको संघर्षपूर्ण जीवनले उनलाई धेरै कुराको अनुभवी बनाएको छ । तर अनुभवले मात्र मानिसलाई बौद्धिक बनाउने कुरा भने सत्य होइन । सामलीले भोगेको समय र त्यसबाट हासिल भएका अनुभवले उनलाई मानसिक रुपमा बलियो भएको स्वीकार्न सकिन्छ । तर उनको सोचाईमा जुन तहको व्यवस्थित र विद्रोही पारा आएको छ, त्यो असामान्य लाग्छ । त्यसलाई उचित ठह¥याउन कुनै त्यस्तै शक्तिको खा ँचोको आवश्यकता रहने गर्दछ । दुःख र संघर्षले मात्र कसैलाई पनि विद्रोही बनाउने गर्दैन, बरु त्यसको निम्ति उसको चिन्तन र चेतनामा विद्रोहको बीऊको खाँचो पर्ने गर्दछ ।
सामलीलाई ज्यादै सुन्दर महिलाको रुपमा उपन्यासमा चर्चा गरिएको छ । यति सुन्दर कि कोही पनि अरु बादी महिलाभन्दा धेरै उच्चाकोटीको सुन्दरता । उपन्यास पढ्दै गर्दा एउटा प्रश्न पाठकको दिमागमा आउने गर्दछ– सुन्दरता भनेको के हो ? कोही मानिस निरपेक्ष रुपमा सुन्दर बन्न सक्छ ? सुन्दर हुनुको अर्थ के हो ? कोही के भए पछि सुन्दर वा असुन्दर हुने गर्दछ ? गोरी भएपछि वा काली भए पछि कोही सुन्दर हुने हो वा होइन ? सामली के भएकीले राम्री ? उपन्यासमा सामलीका विषयमा वर्णित जस्तो कोही निरपेक्ष सुन्दर हुन सक्छ वा सक्दैन ?

निसन्देह सुन्दरता भनेको सापेक्षिक विषय हो । ‘व्युटी लाइज अन द आइज अफ द बिहोल्डर’ भन्ने अंग्रेजी भनाई चर्चित नै छ । सबैलाई एकोहोरो सुन्दर लाग्ने सुन्दरता अस्वाभाविक वर्णन मात्र हो । उपन्यासमा सामलीको सुन्दरताको वर्णन त्यस्तै असामान्य वर्णन जस्तो लाग्छ ।
यदि कोमल शरीर, चहकिलो र हँसिलो गोरो अनुहारलाई नै सुन्दरता मान्ने हो भने सामली जुन सामाजिक वर्गबाट आएकी छिन्, त्यो समुदायबाट त्यस्तो सौन्दर्यको आशा गर्न सकिन्न । श्रम गरेर बाँच्ने बादी समुदायबाट कोमलताको अपेक्षा आफैमा गलत हो । सुन्दरता पनि सामाजिक पृष्ठभूमि र कुनै पनि समुदायको साँस्कृति स्तर अथवा अवस्थासँग जोड्न जरुरी छ । सामली जुन वर्गबाट आएकी बताइएको छ, त्यो वर्गको रुप आजको सामाजले बनाइदिएको सौन्दर्यको मानकसँग मेल खाने गर्दैन । तसर्थ पनि सामलीलाई ‘नथिया’मा लार्जर ड्याण्ड लाइफ पात्र बनाएर देखाइएको छ ।
अर्को समीक्षाको विषय, उपन्यासमा बादी समुदायको सामाजिक, आर्थिक अवस्थालाई राज्यसत्तासँग नजोड्नु हो । ‘नथिया’को प्रशंसनीय पक्ष भनेको बादी महिलाको अवस्थाबारे यसले सपाट वर्णन गरेको छ । बादी संस्कृतिबारे उपन्यासमा अध्ययन–अनुसन्धान गरिएको पनि प्रष्ट प्रतिविम्बित भएको छ । तर बादी महिला र समग्र बादी समुदायले भोग्नुपरेका शोषण र समस्याको समाधानबारे उपन्यास निकै थोरै मात्र बोलेको छ । सामलीकी छोरीलाई स्नातकोत्तर तह उत्तीर्ण गरेकी प्रथम बादी महिलाको रुपमा प्रस्तुत गरेर शिक्षाको बाटो नै बादी महिलाको मुक्तिको बाटो भएको संकेतसम्म गरिएको छ । तर शिक्षा आफै पनि कुनै पनि समुदायको अर्थराजनीतिक अवस्थासँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो । अर्थात् बादी समुदायको आर्थिक र साँस्कृतिक अवस्थामा परिवर्तन नगरुञ्जेल उनीहरुको जीवनमा कुनै महत्वपूर्ण परिवर्तन आउने छैन । त्यो परिवर्तन भनेको राज्यसत्ता र राजनीतिक बन्दोबस्तसँग जोडिएको हुन्छ । राज्यसत्ताको वर्गीय चरित्रसँग त्यो परिवर्तन कुनै न कुनै रुपमा जोडिन्छ । विगतमा सामन्ती राज्यसत्ताले बादी महिलालाई यौन तुष्टि र मनोरञ्जन गराउने माध्यमको रुपमा लिएजस्तै विद्यमान नाफामुखी पूँजीवादी राज्यसत्ताले बादी समुदायको यौन व्यवसायलाई नाफा नोक्सानको व्यापारसँग जोडेर हेर्ने गर्दछ । हिजोको रुप र तरिकाभन्दा आजको बादी समुदायको काममा केही भिन्नता आउला, उनीहरुको आर्थिक अवस्थामा समेत केही सुधार हुन सक्ला । तर उनीहरुको साँस्कृतिक अवस्था र सामाजिक चिन्तनमा भने विद्यमान पूँजीवादी समाजमा धेरै ठूलो अन्तर हुने गर्दैन । उनीहरुमाथिको शोषण फरक तरिकाबाट जारी नै रहनेछ । अनि शिक्षा मात्र उनीहरुको मुक्तिको बाटो हुन सक्दैन । त्यसको निम्ति राज्यको चरित्र र नीति धेरै अर्थमा सम्बन्धित नै हुने गर्दछ ।
‘नाथिया’मा बादी समुदायको अवस्थालाई राज्यसत्तासँग जोडेर हेर्नमा कञ्जुस्याई गरेको देखिन्छ । कुनै पनि समुदायको अवस्था र तिनको सपाट चित्रणमा मात्र लेखकको कलम सीमित हुन नहुने हो । समस्याको समाधानको विषयमा पनि लेख्नु लेखकको कलमलाई कर लाग्छ । ‘नथिया’ यो विषयमा कमजोर देखापर्दछ ।
सरस्वती प्रतीक्षा नेपाली साहित्यमा सम्भावना भएकी लेखक हुन् । बेला–मौकामा विभिन्न अखबारका शनिबारीय अंकमा आउने उनको लेख–रचनामार्फत् धेरैले उनीभित्रको सम्भावना र उर्जालाई आंकलन गरिएकै हो । ‘नथिया’ले धेरैले गरेको यो अपेक्षालाई अझ विश्वासमा बद्लिदिएको छ । आगामी दिनमा सरस्वती प्रतीक्षाबाट विचारोत्तेजक कविताहरु र अखबारी लेखहरुसँगै युग बोल्ने उपन्यासहरुबाट आइरहने आशा छ ।
Leave a Reply