भर्खरै :

दाइजो प्रथाले दिनानुदिन जन्माउँदै विकृतिहरू

दाइजो प्रथाले दिनानुदिन जन्माउँदै विकृतिहरू

तराईका धानबालीले हराभरा भएको गाउँहरू सूर्यास्तको बेला पनि सुनौलो देखिन्छ । त्यहाँ दिनहँु एउटा दाइजो प्रथाको बेथितिहरूले दिनानुदिन डरलाग्दा नया कथा बुनिँदै गएका छन् । दाइजो जसले छोरीको भविष्य बन्छ या बिग्रिन्छ भन्ने निर्धारण गर्ने बेथितिको यन्त्र बनिसकेको छ ।
दशकौँ वर्ष लगाएर पढाएको छोरी जब बिहेको कुरा आउँछ र केटा पक्षले हाम्रो छोरा इन्जिनियर हो २० लाख नगद र बाइक अनिवार्य चाहिन्छ भन्ने माग गरेसँगै पढाइले छोरा बेच्ने लाइसेन्स दिन्छ भन्ने प्रश्न सायद कुनै छोरीहरूले गर्न सक्दैनन् । समाजमा के पैसावालाहरू मात्र मान्छे हुन् !
तराईमा धेरै ठाउँहरूमा दाइजोको दर पढाइसँग जोडिएको छ । केटा बी.ए. पास हो भने १० देखि ११ लाख नगद बाइक फ्रिज अनिवार्य छ र केटा डाक्टर इन्जिनियर हो भने नगद ११ लाख देखि १५ लाखसम्म र कतिपय अवस्थामा त केटा पक्षलाई घर किनेर दिनुपर्ने पनि हुन्छ । यति धेरै आर्थिक भार हुँदा केटीका बुबाआमा सधैँ ऋणको भार बोकेर जीवन बिताउन बाध्य हुन्छन् ।
छोरी लिङ्गको आधारमा चिनिने जैविक अस्तित्व मात्र होइनन्, उनीहरू समाजको सक्रिय, सक्षम र सृजनात्मक पक्ष हुन् । अनि त्यही छोरीलाई समाजले बोझ भनेर व्यवहार गर्नु कतिको निर्दयी हो ? समाजले अझै पनि छोरी जन्मिए दुःख मान्छ । किनभने, एउटा छोरीको बिहे गर्दा खेत बेच्नुपर्ने घर धितो राख्नुपर्ने वा साउको ऋण तिर्न जीवनभर नोकरी गर्नुपर्ने हुन्छ ।
सबैभन्दा दुखद पक्ष के हो भने अत्याचारमा पनि समाज मौन छ । यिनीहरू न त विरोध गर्छन् न त सहनुभूति देखाउँछन् । ससुरा जेठाजु काकाहरूको घमण्ड त्यतिबेला बढ्छ जब उनीहरूले हाम्रो घरको केटा त डाक्टर हो भन्दै पैसाको दर तय गर्छ ।
शिक्षा आफैँमा समाधान होइन तर चेतना भने अवश्य पनि हो । शिक्षा भएर जति दाइजो माग्ने केटा र तिनका परिवारले शिक्षा होइन नाफा सिकेका हुन्छन् । शिक्षाले न त सोच बदल्छ न त संस्कार । हामीले पढ्न त सिक्यौँ तर मानवता बिर्सियौँ । त्यसैले छोरा पढेको छ भने बढी पैसा होइन इमानदारी देखाउनु आवश्यक छ । बिहे सम्बन्ध हो व्यापार होइन ।
दाइजो प्रथा आर्थिक भार मात्र होइन यो एक प्रकारको सामाजिक हिंसा हो । यसको अन्त्य केवल कानुनले होइन चेतनाले गर्न सकिन्छ । समाजका सबै तहका मानिसले आवाज उठाउनुपर्छ । केटी पनि मान्छे हो सम्पत्तिको भागीदार हो र सम्मानको हकदार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *