भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – १२

थोमस मोरको कल्पनालोक (युटोपिया) – १२

बाल्यकाल र युवा दुवै अवस्थामा तिनीहरूलाई सिकाइन्छ । पैसा कमाउनमा भन्दा सदाचार र राम्रो व्यवहारमा बढी जोड दिइन्छ । सानैबेलादेखि तिनीहरूको मनमा राम्रो विचार, राज्यको लागि लाभदायक कामहरू गर्नुपर्ने कुरा सिकाइन्छ । एकपटक बालबालिकाको मनमा यस्तो भावना रह्यो भने जीवनभर त्यस्तै रहने र राज्यको सुव्यवस्थाको लागि लाभदायक हुनेछ जुन कहिल्यै मेटिनेछैन ।
(त्यहाँ महिलाहरू पनि पादरी हुनसक्छन् तर त्यस्तो थोरैमात्र हुन्छ† विधवा र वृद्धाहरूमात्रै पादरी हुन्छन्) पुरुष पादरीहरूले आफ्ना पत्नीहरूलाई देशको प्रमुख महिला बनाउँछन् । त्यसलाई भन्दा बढी सम्मान युटोपियालीहरूमाझ अरू कसैलाई दिइँदैन । यदि तिनीहरूले कुनै अपराध गरे पनि तिनीहरूलाई सजाय दिइँदैन, ईश्वरको न्यायमा छोडिन्छ । कुनै पनि मानिसले तिनीहरूलाई छुन नहुने सोच्छन् । भगवान्का लागि पवित्र भनी चढाएको कुरा अपवित्र नहुने तिनीहरूको विचार छ । तिनीहरूसँग थोरैमात्र पादरीहरू हुन्छन् तथा आफ्नो पादरी होशियारीपूर्वक छान्छन् । सदाचारी, नैतिकवान् र सोही कारणले गर्दा उच्च सम्मान प्राप्त गरेका व्यक्तिहरू त्यति चाँडै दुराचारी हुने सम्भावना थोरै छ । संयोगवश त्यसो भइहाले तापनि पादरीहरू थोरै तथा तिनीहरूलाई शक्ति नभई सम्मानमात्र प्राप्त हुने भएकोले यसबाट राज्यलाई कुनै पनि ठुलो क्षति पुग्नेछैन । तिनीहरूसँग थोरैमात्र पादरीहरू छन् । धेरैलाई सम्मान दिइयो भने सो सम्मानको मूल्य घट्नेछ । (जसलाई युटोपियालीहरू धेरै महत्व दिन्छन्) किनभने, त्यो सम्मानको लागि चाहिने गुणहरू खोज्न धेरै समय लाग्छ ।
यसबाहेक ती पादरीहरूलाई आफ्नो देशमा मात्र नभई विदेशमा पनि सम्मान गरिन्छ । यसको एउटा कारण छ । सेना रणभूमिमा युद्धरत रहँदा रणभूमिभन्दा केही पर ती पादरीहरू आफ्नो पवित्र लुगामा आफ्नो हातमाथि फर्काउँदै शान्तिको लागि, त्यसपछि आफ्नो पक्षको विजयको लागि र दुवै पक्षमा रक्तपातपूर्ण विजय नहोस् भनेर प्रार्थना गर्छन् । यदि आफ्नो पक्षले विजय प्राप्त गर्छ भने तिनीहरू रणभूमिमा आएर आफ्नो सेनालाई शत्रुहरूको पीछा गर्न वा तिनीहरूप्रति क्रूर व्यवहार गर्नबाट रोक्छ । शत्रुहरूले तिनीहरूलाई देखेर तिनीहरूसँग कुरामात्रै गरे भने तिनीहरूको ज्यान बच्छ । तिनीहरूको लुगा छोए शत्रुहरूको सबै सामानहरू लुटिन र नष्ट हुनबाट जोगिन्छ । यही कारणले गर्दा तिनीहरूले सबै राष्ट्रहरूमाझ सम्मान पाएका हुन् तथा धेरैपटक तिनीहरूले आफ्ना नागरिकहरूलाई शत्रुको आक्रोशबाट बचाएका छन् । तिनीहरूको आफ्नो सेना पछाडि हट्दा शत्रु सेनाहरूले तिनीहरूलाई पछाउनु र मारकाट गर्नु सामान्य व्यवहार हो । त्यस्तो बेला ती पादरीहरू बिचमा आउँछन् र दुवै पक्षबिच समान अवस्थामा शान्ति सन्धि गराउँछन् । किनभने, त्यस्तो क्रूर, कठोर र खस्रा राष्ट्र कतै छैन । तिनीहरू पादरीहरूप्रति धेरै सम्मान राख्छन्, तिनीहरूको शरीरलाई पवित्र मान्छन् र हिंसा वा अपमानपूर्वक छुँदैनन् ।
हरेक महिना र वर्षको पहिलो र अन्तिम दिनलाई तिनीहरू पवित्र मान्छन्, महिनालाई तिनीहरू चन्द्रमाको गति तथा वर्षलाई सूर्यको गतिबाट विभाजन गर्छन् । पहिलो दिनलाई तिनीहरू आफ्नो भाषामा सिनेमन्र्स (Cynemernaes) र अन्तिम दिनलाई ट्रापेमन्र्स (Trapemernaers) भन्छन् । तिनीहरूको गिर्जाघर राम्रो, भव्य, कलात्मक र विशाल हुन्छ । त्यहाँ धेरै मानिसहरू अटाउँछन् । ती गिर्जाघरहरू अलि अँध्यारो हुन्छन् तर त्यो निर्माण क्रममा भएको अज्ञानता होइन । पादरीहरूको सल्लाहअनुसार त्यसो गरिएको हो किनभने धेरै प्रकाशले मानिसको ध्यानलाई विचलित गर्छ तर मधुरो उज्यालोले धर्म र समर्पणप्रति ध्यान केन्द्रित गर्न सक्ने तिनीहरूको विचार छ । सबै मानिसहरू एउटै प्रकारको नहुने भए तापनि ईश्वरीय चरित्रलाई सम्मान गर्नुपर्ने तिनीहरू सहमत छन् । तसर्थ, गिर्जाघरमा केही देखिँदैन र सुनिँदैन तर सबैले ईश्वरलाई उत्तिकै मान्छन् । कुनै विशेष सम्प्रदायले कुनै विशिष्ट प्रकारको बलि चढाउने चलन छ भने त्यस्तो काम आ–आफ्नो घरमा गरिन्छ । साझारूपमा चढाइने बलिले कुनै पनि निजी बलि वा धर्मको अपमान वा पक्षपात गर्दैन । तसर्थ, चर्चमा ईश्वरको कुनै प्रतिमा छैन, हरेक व्यक्ति आफ्नो धर्म र आफ्नो चाहनाअनुसार ईश्वरलाई त्यसै रूपमा लिन स्वतन्त्र छन् । तिनीहरू ईश्वरलाई कुनै विशिष्ट नामले होइन, मिथ्रा (Mithra) भनेर बोलाउँछन् किनभने ईश्वर एउटै हुने कुरामा तिनीहरू सहमत छन् । कुनै विशेष प्रार्थना गीत छैन तर अर्को कुनै सम्प्रदायको अपमान नगरी हरेक व्यक्तिले प्रार्थना गर्न सक्छन् । हरेक महिना र वर्षको अन्तिम दिनमा तिनीहरू दिनभरि व्रत बसेर साँझ एक वर्ष राम्ररी बितेकोमा ईश्वरलाई धन्यवाद दिन चर्चमा आउँछन् । अर्को दिन बिहानै फेरि तिनीहरू चर्चमा आउँछन् र सोही पवित्र दिनदेखि सुरु हुने नयाँ महिना वा वर्षमा राम्रो भाग्य र सफलताको लागि प्रार्थना गर्छन् ।
तर, वर्ष र महिनाको अन्तिम पवित्र दिनमा चर्चमा आउनुपूर्व पत्नीहरूले आफ्नो पतिसामु तथा बालबच्चाहरूले आफ्ना अभिभावकको सामु खुट्टामा निहुरेर केही काम बिराएको वा आफ्नो केही कर्तव्य छुटेको स्वीकार्दै माफी माग्छन् । यसबाट घरमा केही विवाद वा मनमुटाव उठेको छ भने त्यो शान्त हुन्छ तथा बलि चढाउने समारोहमा तिनीहरू शुद्ध मनका साथ उपस्थित हुनसक्छन् । तिनीहरू मनमा शङ्का र चिन्ता लिएर धार्मिक समारोहमा आउन डराउँछन् । यदि तिनीहरूको मनमा कुनै मानिसप्रति घृणा वा आक्रोश छ भने आफ्नो मन र चेतनालाई शुद्ध नगरेसम्म बलि समारोहमा तिनीहरू आउँदैनन् । आफ्नो अपराधप्रति ईश्वरले सजाय दिने डर तिनीहरूमाझ रहन्छ । समारोहस्थलमा पुगेपछि पुरुषहरू चर्चको दायाँ र महिलाहरू बायाँतिर जान्छन् । तिनीहरू त्यहाँ बस्ने क्रम व्यवस्थित हुन्छ । हरेक घरका पुरुषहरू घरमूलीको अगाडि तथा हरेक घरका महिलाहरू महिला घरमूलीको अगाडि बस्छन् । घरमा जसरी ईश्वरीय अनुशासनअनुसार सबै व्यवहार चल्छ, चर्चमाथि त्यस्तै व्यवहार देखाइन्छ । यसक्रममा बालबच्चाहरूलाई ठुलाहरूसँग राखिन्छ । बालबच्चाहरूलाई तिनीहरूमाझै राखिए तिनीहरू आफ्नै बाल क्रियाकलापहरूमा मग्न रहन्छन् जबकि तिनीहरूले ईश्वरप्रति समर्पणको भाव राख्नुपर्ने समय हो । यसैबाट नै तिनीहरू सदाचारतर्फ प्रेरित हुन्छन् ।
तिनीहरू जिउँदो जनावरलाई बलि चढाउँदैनन्, सबै जनावरलाई जीवन दिने दयालु ईश्वर रक्तपातबाट खुसी हुन्छन् भने तिनीहरू सोच्दैनन् । तिनीहरू सुगन्ध दिने चीजहरू, मैनबत्तीहरू बाल्छन् किनभने ईश्वरको प्रार्थनाभन्दा बिना कुनै नोक्सानीको प्रार्थनाले ईश्वर बढी खुसी हुने तिनीहरू सोच्छन् । यस्तै सुगन्ध, दीपावली र अन्य समारोहबाट मानिसले आफूलाई पवित्र अनुभव गर्दै तथा स्वेच्छापूर्वक ईश्वरप्रति समर्पित हुनेछन् । चर्चमा मानिसहरू सेतो लुगा लगाउँछन् ।
पादरीले रङ्गीचङ्गी लुगा लगाउँछन् । यसको बनोट एकदम राम्रो हुन्छ तर लुगा धेरै महँगो हुँदैन । तिनीहरूको लुगामा सुन वा मूल्यवान रत्नहरू जडिएको हुँदैन तर विभिन्न चराचुरुङ्गीहरूको प्वाँखले सजिएको हुन्छ र लुगा बनाउन लागेको मेहनतले लुगाको सस्तोपनालाई मात दिन्छ । यसबाहेक ती चराचुरुङ्गीहरूको प्वाँख र तिनीहरूमा केही ईश्वरीय रहस्य लुकेको र सो रहस्यलाई पादरीहरूलाई सिकाउने तिनीहरू सोच्छन् । ईश्वरले तिनीहरूलाई दिएको फाइदा, ईश्वरलाई तिनीहरूले दिने स्नेह र सम्मान तथा एक अर्काप्रतिको कर्तव्य सबैलाई तिनीहरू स्मरण गर्छन् । जब पादरी पहिलोपटक चर्चको वस्त्रघरबाट त्यस्तो वस्त्र पहिरिएर बाहिर आउँछन् तिनीहरू सबै भुइँमा मौनतापूर्वक झुक्छन् । मानौँ, ईश्वर त्यही उपस्थित छ । त्यसरी झुकेको केही क्षणपछि पादरीले तिनीहरूलाई उठ्न सङ्केत गर्छन् । त्यसपछि तिनीहरू विभिन्न वाद्ययन्त्रहरूका साथ ईश्वरको स्तुति गान गाउँछन् । हामीकहाँ भिन्दै रूपमा त्यहाँ वाद्ययन्त्रको प्रयोग हुन्छ । केही यन्त्रहरूभन्दा हाम्रा सुरिला छन् भने केही यन्त्रहरू हाम्रोभन्दा तिनीहरूको सुरिलो छ । तर, एउटा कुरामा तिनीहरू हामीभन्दा अगाडि छन् । त्यो हो, तिनीहरूको सङ्गीत, वाद्ययन्त्रबाट निस्कने वा मानिसले गाउने दुवैले प्राकृतिक सम्बन्धलाई व्यक्त गर्छन् । गीतको ध्वनि र सङ्गीत हरेक कुरालाई उपयुक्त हुन्छ, चाहे त्यो प्रार्थना होस्, खुसीको गीत, धैर्य, पीडा, आक्रोश वा मधुर सङ्गीत होस् सबैले मन र मुटुलाई छुन्छ । अन्तमा, पादरी र जनता सबै मिलेर ठुलो स्वरमा प्रार्थना गर्छन् । ती प्रार्थनाहरूमा हरेक मानिसले ईश्वरलाई आफ्नो पिता, पालक, सबै असल कुराको आधारको रूपमा स्वीर्काछन् तथा ईश्वरबाट प्राप्त धेरै फाइदाहरूको लागि धन्यवाद व्यक्त गर्छन् । ईश्वरको कृपाबाटै सबैभन्दा समृद्ध र सुखी राज्यमा जन्मेको तथा सबैभन्दा सच्चा धर्म रोज्न पाएकोमा धन्यवाद दिन्छन् । यदि उनले केही गल्ती गरेमा वा तिनीहरूको भन्दा राम्रो र भगवान्को लागि स्वीकार्य भएको अरू केही भए त्यसको जानकारी आफूलाई होस् र त्यसो भए त्यसलाई स्वीकार्य तयार भएको अनुरोध गर्छन् । तर, राज्यको वर्तमान स्वरूप र धर्म नै उपयुक्त र सच्चा, पूर्ण भएमा निरन्तर त्यही कायम राख्न, अरूलाई पनि त्यही जीवनधारा र धर्ममा समाहित गराउन अनुरोध गर्छन् । धर्मको विविधतामा ईश्वर खुसी छन् भने तिनीहरू त्यसलाई पनि स्वीकार्छन् । छोटोमा भन्नुपर्दा तिनीहरूले आफू मरेपछि ईश्वरसामु पुग्न पाऊँ भनी प्रार्थना गर्छन् तर कति ढीलो वा चाँडो भन्ने कुराको निर्णय गर्ने आँट तिनीहरूले गर्न सक्दैनन् । ईश्वरबाट टाढा रहेर समृद्ध जीवन बिताउनुभन्दा पीडादायी मृत्यु भोगेर ईश्वरसामु पुग्न तिनीहरू खुसी मान्छन् । यस्ता कुराहरू उल्लेखित प्रार्थना सकिएपछि पुनः तिनीहरू जमिनमा निहुरिन्छन् र केही क्षणपछि उठेर खाना खान जान्छन् । बाँकी दिन तिनीहरू खेलकुद र सैन्य अभ्यासमा बिताउँछन् ।
मैले तपाईँलाई त्यो राज्यको व्यवस्था र स्वरूपको विषयमा सक्दो कुरा बताइसकेँ । मेरो विचारमा त्यहाँको व्यवस्था सबभन्दा राम्रो छ र त्यहाँ हरेक काम राज्यको नाममा हुन्छ । अन्य देशहरूमा साझा राज्यको विषयमा कुरा हुन्छ तर हरेक मानिसले आफ्नो निजी नाफा खोज्छ । कुनै पनि कुरा निजी नभएको ठाउँमा साझा मामिलाप्रति सबै गम्भीर हुन्छन् । अन्य देशहरूमा राज्य धेरै समृद्ध भए तापनि आफूले आफ्नो लागि केही व्यवस्था नगरे भोकै बस्नुपर्ने कुरा सबैलाई थाहा छ र यस्तो व्यक्ति अरू वा जनताको विषयमा भन्दा बढी आफ्नो विषयमा सोच्न बाध्य हुन्छ । यसको विपरीत जहाँ सबै कुरा प्रत्येक मानिससँग हुन्छ त्यहाँ कसैले पनि आफ्नो व्यक्तिगत प्रयोगको लागि आवश्यक कुनै पनि कुराको अभाव भोग्नुपर्दैन । त्यहाँका साझा गोदामघर र हरेक घरमा पर्याप्त मात्रामा सबै चीजको भण्डार हुन्छ । त्यहाँ केही पनि अनिच्छापूर्वक वितरण हुँदैन, त्यहाँ कुनै गरिब वा भिखारी हुँदैन, कसैसँग केही नभए पनि हरेक मानिस धनी हुन्छन् । खुसी र आनन्दपूर्वक बाँच्न, बिना कुनै पीडा, आफ्नो जीविकोपार्जन वा चिन्ता नगरी, आफ्नो पत्नीको गुनासोप्रति आफ्ना छोराका गरिबी वा छोरीको दाइजोप्रति चिन्ता नगरी बाँच्नुभन्दा धनी अरू के हुनसक्छ ? आ–आफ्ना पत्नी, बालबच्चा, नाति र भावी पुस्ताको विषयमा केही चिन्ता लिंदैनन् । अहिले भ्रम गर्नेहरूले भन्दा कम सुविधा पहिले श्रम गर्ने र अहिले कमजोर भइसकेकाहरूले पाउँदैनन् ।
यस्तो समानतालाई अर्को कुनै राष्ट्रको औचित्य र न्यायसँग तुलना गर्नसक्ने साहस यहाँ कोहीसँग छ ? त्यस्तो केही सङ्केत पाए म ईश्वरमा नै छाडिदिन्छु । यो कस्तो न्याय हो जहाँ धनी सुनार वा ऋण दिने व्यक्ति वा केही काम नगर्ने वा राज्यको लागि धेरै आवश्यक नभएको काम गर्नेहरूले समृद्ध जीवन बिताउँछन् जब कि गरिब श्रमिक, भरिया, कामी, सिकर्मी र किसान (किसानहरूले जमीन नजोत्ने, खेतीपाती नगरे राज्य एक वर्ष बाँच्न सक्दैन) ले कठोर जीवनयापन गर्नुपर्छ । तिनीहरूको जीवनस्तरभन्दा पशुहरूको जीवनस्तर नै राम्रो देखिन्छ । किनभने, पशुहरूले निरन्तर श्रम गर्नुपर्दैन न त तिनीहरूको जीवनस्तर नै नराम्रो हुन्छ, त्यसबाहेक तिनीहरूले भविष्यको विषयमा केही सोच्नुपर्दैन । तर, ती गरिबहरू वर्तमान समयमा आफ्नो बाँझो र फलहीन श्रमबाट पीडित छन् तथा आफ्नो गरिबी र अभावले भरिएको वृद्धावस्थालाई सम्झेर तिनीहरू अहिले नै मृत्युको मुखमा पुग्छन् । तिनीहरूको दैनिक ज्याला एकदिन धान्नलाई समेत पुग्दैन, वृद्धावस्थाको लागि भनेर हरेक दिन केही रकम जम्मा गर्ने अवस्था परै जाओस् ।
केही काम नगर्ने, व्यर्थको खुसी लिने व्यक्तिहरू, सुनार र अन्य व्यक्तिहरूलाई धेरै सहुलियत र सम्मान दिने तर राज्यको निरन्तरताका लागि अपरिहार्य गरिब किसान, भरिया, श्रमिक, कामी, सिकर्मीहरूलाई फाइदा हुने प्रावधान नबनाउने राज्य के निर्दयी र अन्याय राज्य होइन ? तिनीहरूको युवावस्थाको श्रमलाई उपयोग गर्ने तर तिनीहरू ढल्कन्दो उमेर र रोगबाट पीडित भएपछि, गरिब, हरेक कुराको अभावले ग्रस्त भएपछि तिनीहरूको पीडाप्रति आँखा चिम्लेर, तिनीहरूले पु¥याएको फाइदा बिर्सेर तिनीहरूलाई दुःखद मृत्युतर्फ धकेल्नु के न्याय हो ? धनी मानिसहरूले निजीरूपमा र राज्यलाई मात्र ठगेर नपुगी गरिबहरूको दैनिक आयको केही भाग पनि खोस्छन् । राज्यको लागि फाइदाजनक भएको तिनीहरूको पीडालाई निर्दयताले चुकाउनु अन्याय हो, तथापि तिनीहरूले आफ्नो यो गलत र अन्यायी कामलाई कानुनको शक्ति प्रयोग गरेर न्यायको नाम दिएका छन् ।
यसकारण, आज म हरेक ठाउँमा फस्टाएको राज्यहरूको विषयमा सोच्छु तब राज्यको नाममा आफूले सम्पत्ति खोस्न षड्यन्त्र गरेको जस्तो लाग्छ । आफूले अन्यायपूर्वक जम्मा गरेको सम्पत्तिलाई सुरक्षित राख्ने तथा थोरै पैसाको लागि गरिबहरूको काम र श्रमलाई भाडामा लिने विभिन्न दाउपेचहरू बनाएका छन् । धनी मानिसहरू ती दाउपेचलाई सामुदायिकताको नाम दिन्छन् । गरिब जनताको पनि भन्छन् तथा कानुन बनाउँछन् । ती दुष्टहरूले आफ्नो अतृप्त चाहनाको चाहनाको कारण भएको सम्पत्ति सबै आफूमाझ बाँडे पनि तिनीहरू युटोपिया राज्यको समृद्धि र खुसीबाट धेरै टाढा छन् । त्यहाँ पैसाको चाहना र प्रयोगलाई रोक लगाइएको छ । दुष्ट्याई र छलकपट, ठग, चोरी, डकैती, होहल्ला, झगडा, भनाभन, भिडन्त, गालीगलौज, कलह, हत्या, राजद्रोह विष प्रयोग आदि पैसाको अन्त्यसँगै अन्त्य हुने कुरा कसलाई थाहा छैन ? पैसा परेको क्षणमै डर, पीडा, चिन्ता, श्रम, निरीक्षण समाप्त हुन्छ । पैसाको अभावबाट हुने गरिबी पनि एकपटक पैसा गएपछि आफै घट्छ र हराउँछ ।
हजारौँ हजार मानिस भोकमरीबाट पीडित भएको कुनै एउटा बाँझो वर्षको कल्पना तपाईँ गर्नुहोस् । सो समयको अन्तमा धनी मानिसको भण्डार घरमा खोजेको भए यति धेरै अन्न भेटिन्थ्यो तथा त्यसलाई भोकमारीबाट पीडिहरूमाझ बाँडिएको भए कसैले पनि त्यो पीडा भोग्नुपर्ने थिएन । यदि पैसाको देवीले हाम्रो र हाम्रो जीविकोपार्जनको बिचको बाटो नरोकेको भए मानिसले जीविकोपार्जन पाउँथ्यो । यस्तो भगवान्को नामलाई प्रयोग गरेर उनैबाट सबै बाटो खोल्ने कुरा बताइन्थ्यो । धनी मानिसहरूले पनि यो कुरा बुझ्छन् होला, हरेक कुराको भण्डार हुनुभन्दा कुनै पनि कुराको अभाव नहुनु तथा धेरै सम्पत्ति हुनुभन्दा चिन्ता र दुःखबाट मुक्त हुनु राम्रो भन्नेबारे तिनीहरू अनभिज्ञ छैनन् होला ।
एउटैमात्र जनावर, सबै दुष्ट्याइँको जननी, घमण्डबिचमा नआएको भए हरेक मानिसको निजी सम्पत्तिप्रतिको सम्मान वा हाम्रो रक्षक क्राइस्टको अधिकारले सबै विश्वमा यो राज्यको कानुन लागु हुने कुरामा मलाई शङ्का छैन । बदमास घमण्ड (Rids) अरूको दुःख र असुविधाबाट आफ्नो लागि सम्पत्ति र समृद्धि कमाउँछन् । उसले जसमाथि शासन वा विजय प्राप्त गरेको छ तिनीहरू पीडित नभएका भए, उसको खुसी कसैको दुःखमा नटिकेको भए, कसैको गरिबी उसको आधार नभएको भए आफ्नो कारणबाट मात्रै उनी देवी बन्ने थिइन् । यही नराम्ररी भावना मानिसको मनमा गाडिन्छ तथा जीवनको सही बाटोमा प्रवेश गर्नबाट रोक्छ । यो मानिसको मनमा कति धेरै गाडिएको छ भने यसलाई निकाल्न सकिँदैन ।
यस्तो व्यवस्था सबै राज्यमा होस् भन्ने म चाहन्छु । युटोपियालीहरूले यसको अनुशरण गरेर आफ्नो राज्यको आधार तयार गरेकोमा तथा सदा कायम रहने गरी निरन्तरमा दिएकोमा म खुसी छु । महत्वाकाङ्क्षा र विद्रोह तथा अन्य अवगुणहरू त्यहाँ जरैदेखि उखेलिएका छन्, त्यहाँ आन्तरिक असन्तुष्टीको कुनै खतरा छैन । यहाँ आन्तरिक असन्तोषको सम्भावना छैन । राम्रोसँग पर्खाले घेरिएको र शक्तिशाली सुरक्षा बन्दोबस्तले सबै जोगिएका छन् । तर, सुव्यवस्था र राम्रो कानुन रहेसम्म कुनै पनि विदेशी राज्यको इष्र्याले केही गर्न सक्दैनन्† तिनीहरू धपाइने छन् ।
राफेलले आफ्नो वृत्तान्त सुनाइसकेपछि मेरो मनमा त्यो देशका कानुन र जीवनशैलीको विषयमा धेरै कुराहरू आए । तिनीहरूको धेरैजसो कानुनहरू राम्रा आधारमा खडा नभएको जस्तो लाग्यो । जस्तैः– तिनीहरूको वीरता, युद्धकाल, बलिदान, धर्म, सामुदायिक जीवन तथा पैसाको प्रयोग बिनाको जीवन आदि अनौठो जस्तो लाथ्यो । तिनीहरूको जीवन भद्रता, गौरव, पूजा, सम्मान र महिला साँचो गहना र प्रतिष्ठा आदि सबैको साझा भावनामा आधारित थियो, पैसामा आधारित सबै मान्यताहरू फालिए र ध्वस्त भए । राफेल धेरै बोलेर थाकिसकेका थिए । उनले सोचेको भन्दा विपरीत केही बोलेको उनले सुनाउन नसक्ने मलाई थाहा थियो । अरू मानिसको आविष्कार वा कुरामा आफूले दोष भेटाउन नसकेसम्म त्यसका आलोचना गर्ने बानी उनले निन्दा गरेका छन् । तसर्थ, तिनीहरूको संस्थान र उनको वार्तालाप दुवैको प्रशंसा गरेर मैले उनलाई खानको लागि बोलाएँ तथा त्यो विषयमा विस्तृतरूपमा पछि चर्चा गर्ने बताएँ । उनले भनेका धेरै कुराहरूप्रति म सहमत हुन नसके पनि उनी धेरै विषयमा अनुभवी र पारङ्गत भएकोमा कुनै शङ्का छैन । युटोपिया टापुमा भएका धेरै कुराहरू हाम्रो सहरमा पनि होस् भने आशा गर्छु ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *