नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ८ एकाइ समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण तथा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अग्रज किसान कार्यकर्ताहरूले मोहियानी हक सुरक्षित राख्न गरेको बाली काट्ने आन्दोलन, भपाई आन्दोलन तथा भ्रष्टाचारविरोधी आन्दोलनले गर्दा किसानहरूको जीवनस्तर उठेको हो भन्नुभयो ।
युवाहरूलाई देशमै रोजगारी दिने वातावरण तयार गरी आत्मनिर्भर बनाउन सके मात्र विदेश पलायन रोक्न सकिने भएकोले यसतर्फ सरकारले योजना बनाउनु जरुरी भएको उहाँले बताउनुभयो ।
उहाँले सहकारी संस्थाका सञ्चालकहरूले सहकारी ऐन, नियम, निर्देशिकाअनुसार काम नगर्दा सहकारीमा विकृति आएको उल्लेख गर्दै आलोचना र आत्मालोचनालाई जीवन पद्धतिको रूपमा लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थामा पुँजीलाई बढी महत्व दिने भएकोले भ्रष्टाचार बढी हुने र समाजवादी व्यवस्थामा समाज र राष्ट्रलाई बढी प्राथमिकतामा राखिने भएकोले देश र जनताको हित हुने बताउनुभयो ।
उहाँले सिट्टैमा आएको पैसाभन्दा मेहनत र परिश्रम गरी कमाएको पैसाको बढी माया र महत्व हुने स्पष्ट पार्दै नेतृत्व राम्रो भए सङ्घ संस्था र देश नै समृद्ध हुने धारणा राख्नुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भ्रष्टाचारको विरोध नगरेमा भ्रष्टाचारीहरूको मनोबल बढ्ने भएकोले भ्रष्टाचारीहरूलाई निरुत्साहित गर्नु जरुरी भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले २०२५ साउन २ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरूले सहकारीको ऐन, नियमविपरीत बचतकर्ताहरूको भावना अनुकूल काम नगरी बचत दुरुपयोग गरेको विरोधमा पीडित बचतकर्ता किसानहरूले भ्रष्टाचारी, सञ्चालकहरूलाई कारबाही गरेको हुनाले साउन २ गतेलाई भ्रष्टाचारविरोधी आन्दोलनको रूपमा स्मरण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष महेन्द्र खायमली र तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply