यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’, ‘साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई चिठी’, ‘जेलका चिठीहरू’ र ‘हजुरबुबाका चिठीहरू’ हरिबहादुर श्रेष्ठ अर्थात् नारायणमान बिजुक्छेँद्वारा लिखित कालजयी पत्र–साहित्यहरू हुन् । यी चार पुस्तकले राजनीतिक कार्यकर्ता तथा साहित्यका पाठकहरूबिच बेग्लै छाप छोडेको हाम्रो साझा अनुभव हो । युवा–विद्यार्थीहरूलाई आन्दोलित तथा सङ्घर्षशील बनाउन अघिल्ला दुई चिठीले खेलेको भूमिका अतुलनीय छ । आन्दोलन र अध्ययनलाई सँगसँगै लान सङ्घर्षरत युवाहरूलाई ती दुई चिठीले एकैसाथ ‘कम्पास’ र झन्डाको काम गरे ।
हजुरबुबाका चिठीहरूले नयाँ पुस्तालाई देश र समाज चिनाउँदै जनताप्रति उत्तरदायी बनाउन सत्प्रयास गरे । जन्मभूमिप्रतिको कर्तव्य चिनाउने र भागेर–झुकेर होइन डटेर सामना गर्ने भावना युवा पुस्तालाई दिने उद्देश्य यो पुस्तकले राखेको प्रस्ट छ । राजनीतिक चेतना, अन्तर्राष्ट्रिय विषयवस्तुको जानकारी, घटना–दुर्घटनाको चिरफार, अमेरिकी युद्धपिपासु नीतिले निम्त्याएको वैश्विक विध्वंश एवम् बर्बादीबारे त्यस पुस्तकले गम्भीर विश्लेषण गरेको छ ।
‘जेलका चिठीहरू’ मा हरेक हिसाबले फरक अनुभूत हुन्छ । यसमा मूलतः जीवन दर्शन छ । आत्मगौरवको आभा छ । गहिरो सामाजिक–सांस्कृतिक चिन्तन छ । कैदी मनभित्र फुट्नै लागेको ज्वालामुखी छ । निर्दोष, स्वच्छ तथा सच्चा नेपालीमाथि आफ्नै राज्यद्वारा युद्धअपराधीतुल्य व्यवहार भइरहँदाको आक्रोश एवम् प्रतिरोध छ । अमानवीय यातनाबिच सभ्यताप्रेम प्रदर्शन गरिएको छ । जेलको पर्खालभित्र बसेर मौलिक कला–संस्कृति–सम्पदाको जयगान गाउन सानो मन – सानो चित्तबाट सम्भव कदापि हुन्न । यस आलोकमा यो कृतिका रचनाकार र रचनालाई बुभ्mने कोसिस गरिएमा स्रष्टा व्यक्तित्व र उहाँको योगदानको फरक वजन अनुभूत हुने निश्चित छ ।
सामान्य अवस्थामा माया दर्शाउनु, प्रेम गर्नु या साथ दिनु कसैलाई पनि असामान्य लाग्न सक्दैन । ७२ सालको भूकम्प, ७७–७८ तिरको कोरोना महामारीमा जीवन रक्षाका निम्ति आफ्नै ज्यान जोखिममा पारेर स्वयम्सेवकहरूले गरेको कार्य माया, प्रेम, साथ तथा सहयोगको उत्कृष्ट नमुना थियो । त्यसमा पूर्ण मानवता अन्तरघुलित थियो । कठोर भूमिगत कालमा आफ्ना नेता–कार्यकर्ताको सुरक्षा र स्वास्थ्यका निम्ति ज्यान हत्केलामा राखेर हिँडेका कुनै अनपढ किसानको मायालाई जोख्ने तराजु कहीँकतै होला र ?
प्रहरी यातनापश्चात् जीउभरि नीलडाम र जीउ सुन्निएर अन्तिम सासको अनुभूति भइरहँदासमेत आत्मसमर्पण नगरी जनता र पार्टीप्रति बफादार बन्ने कार्यकर्ताको प्रेमलाई के शब्दमा परिभाषित गर्न सम्भव होला ?
आफ्नै पति, भाइ, दाइलाई देशको प्रधानमन्त्री, गृहमन्त्रीले नै फाँसीको खुलेआम माग गरिरहँदा एउटा चिठी, एउटा शब्द, एउटा सुसेलीलाई समेत प्राणवायु ठानेर अविचलित भई सङ्घर्षको मैदानमा होमिनु के प्रेमको उत्कृष्ट प्रदर्शन होइन ? योभन्दा ठुलो समर्पणभाव अरू के होला ?
यही प्रकाशमा यी चिठीहरूलाई हेर्ने हो भने यी सफल चिठी हुन् जसले गम्भीर सङ्कटमा ठुलो बुटीको काम ग¥यो । यी चिठीका शब्दहरूका सन्देश त स्पष्ट छन् । चिठीको अर्को आयाम पनि उजागर भए थप स्पष्ट बन्थ्यो । जेलमा चिठी लिँदा र दिँदाको क्षण आज सदृश्य उतार्न सकिएको भए† चिठी लेख्न र दिन गरिएका काइदाबारे पढ्न पाइएको भए यी चिठीको वास्तविक आयतन देख्न पाइने थियो । चिठी हस्तान्तरण गर्दै अत्यन्त चलाखीपूर्ण ढङ्गमा साङ्केतिक या शुत्रबद्ध शैलीमा दिइएका राजनीतिक निर्देशन र त्यसको कुशल कार्यान्वयनबारे सुन्न पाइएको भए शोभा भाउजू केबल पत्र–वाहक, पत्र–प्रापक या पत्र–पाठक नभई प्रतिबद्ध कार्यकर्ता र साहसी महिला हुनुहुन्थ्यो भन्ने थप प्रसङ्गहरू बाहिर आउने थिए । यी चिठीको आदानप्रदानसँगै जनसङ्घर्षका बीउहरू छरिए । विस्तारै टुसाए भन्नु ऐतिहासिकरूपमा वस्तुपरक विश्लेषण हो । यो पृष्ठभूमि या भावभूमिमा ‘जेलका चिठीहरू’ पढ्दा चिठीहरू प्रेमपत्र हुँदाहुँदै प्रमीथसीय साहसको परावर्तन प्रतीत हुन्छ ।
‘जेलका चिठीहरू’ ले अङ्ग्रेजी अनुवादसँगसँगै धरातल फराकिलो पायो । यो अब अन्तर्राष्ट्रिय समुदायको साहित्यिक सम्पत्ति बन्नेछ । फरक भाषाको अर्थ फरक स्वाद पनि हो । ढिलै भए पनि संसारमा धेरैद्वारा बोलिने भाषामा अनुवाद हुनु सुखद पक्ष हो । देशभित्र बोलिने तथा विदेशमा बोलिने अन्य भाषामा पनि प्रस्तुत गर्न पाए महत्वपूर्ण योगदान साबित हुने थियो । यसका निम्ति प्रबुद्ध समुदायले कदम चाल्नुहुने विश्वास छ ।
चिठी लेखिएको झन्डै ४० वर्षमा अङ्ग्रेजीमा अनुवाद भयो । यस कार्यलाई सफलीभूत तुल्याउने अणुराज जोशी, सम्पादनमा सहयोग गर्ने सुवेगजी र साथीहरूलाई धन्यवाद शब्दमात्र अपर्याप्त अनुभव हुन्छ । उहाँहरूसँगको सहयात्राको सुरुआतमात्र ठान्नु र यात्रा निरन्तरताको आशा गर्दा थप आत्मीयता एवम् आनन्द अनुभव हुन्छ । रिडमोर प्रकाशनको गुण अविस्मरणीय लाग्छ । विशेषगरी शोभा मिससँग सम्बन्धित साहित्यको सज्जाकार्यका लागि दामो सरबाहेक दोस्रो अभैm भेटिएको छैन भन्ने महसुस अहिले पनि हुन्छ ।
नेपालीमा ‘जेलका चिठीहरू’ प्रकाशनदेखि Letters from Jail प्रकाशनसम्मको चरणमा आदरणीय अध्यक्षले दिनुभएको मार्गनिर्देशन श्रवण गरिरहँदा विश्वविद्यालयको साहित्यको कक्षामा बसिरहेझैँ र विराट पुस्तकालयको कुनै कक्षमा विचरण गरिरहेभैmँ अनुभव भयो ।
‘जेलका चिठीहरू’ ले अनुभवका थप मिठा–मिठा पत्रहरू प्रदान ग¥यो । यो कृतिले हामीलाई यहाँसम्म ल्याइपु¥यायो । अत्यन्त खुसी छु । अत्यन्त कृतज्ञ छु । सबैसँग यस कृतिको मन्थन कार्यक्रममा पनि भेट हुने विश्वास छ । अर्को संस्करण प्रकाशनपूर्व नै आवश्यक पृष्ठपोषण तथा समीक्षा प्राप्त हुने अपेक्षा छ । बौद्धिक जगतको आजको यो भेटघाट तथा सहभागिताले साहित्यिक–सांस्कृतिक उन्नयनमा थप टेवा पु¥याउने विश्वास छ ।
(नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले गत साउन २ गते सम्पन्न ‘जेलका चिठीहरू’ (अङ्ग्रेजी संस्करण) सार्वजनिकीकरण कार्यक्रममा व्यक्त मन्तव्यको अंश)
Leave a Reply