यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अध्यक्ष माओ भन्नुहुन्छ, “यदि कुनै राजनैतिक पार्टीलाई क्रान्तिकारी सिद्धान्त र इतिहासको ज्ञान छैन र यसलाई व्यावहारिक आन्दोलनबारे गहिरो बोध छैन भने त्यस पार्टीले कुनै पनि राजनैतिक आन्दोलनलाई विजयको बाटोमा लैजान असम्भव छ ।” यहाँ माओले कुनै पनि क्रान्तिकारी पार्टी वा आन्दोलनको जीत हुन्छ वा हुँदैन भन्ने कुराको निधो त्यस पार्टीलाई इतिहासको ज्ञान छ कि छैन भन्ने कुराबाट हुने बताउनुभएको छ । विश्व इतिहासको गहिरो अध्ययनले माक्र्सवाद गम्भीररूपले पढ्ने, अध्ययन गर्ने र यसलाई गहिरिएर बुझ्ने काममा सघाउ पु¥याउँछ । लेनिनले भन्नुभएको छ कि माक्र्सको सिद्धान्त विश्वसम्बन्धी प्रगाढ दार्शनिक धारणा र इतिहासको समृद्ध ज्ञानद्वारा उज्यालिएको अनुभवको निचोड हो । सन् १८४८ मा माक्र्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित गर्नुभयो । कम्युनिस्ट घोषणापत्रले कम्युनिस्ट शासन व्यवस्था कस्तो हुने भन्नेबारेमा विस्तृत खाका प्रस्तुत गरेको थियो । माक्र्स र एङ्गेल्सले सो खाका प्रस्तुत गर्नुपूर्व विश्व इतिहास र समाज व्यवस्थाबारेमा गहिरो अध्ययन गर्नुभएको थियो । माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवाद र साम्यवादको सिद्धान्त प्रतिपादन गर्नुभन्दा अगाडि अरू पनि धेरै दार्शनिक समाज सुधारकहरूले समाजवादको कल्पना गरेका थिए । त्यसमध्ये सेन्ट साइमन (१७६०–१८२५), रोवट ओवेन (१७७१–१८५८) र चाल्स फ्युरियो (१७७२–१८३७) पनि हुन् ।
यी समाज सुधारकहरूको बारेमा धेरै पहिले भक्तपुरबाट प्रकाशित ‘तीन काल्पनिक समाजवादीहरू’ मार्फत जानकारी प्राप्त भएको थियो । त्यस्तै, थोमस मोरको युटोपिया र प्लेटोको ‘गणतन्त्र’ को केही अंश नेपाली अनुवाद ‘मजदुर’ दैनिकमा २९ चैत, २०६२ (सन् ३ अप्रिल, २००६) प्रकाशित भएको थियो । यसबाहेक पनि अन्य धेरै समाज सुधारकहरूले समाजवादको बारेमा चिन्तन मनन गरेको पाइन्छ । ती समाज सुधारकहरूको पुस्तक नेपाली भाषा साहित्यमा अनुवाद भएको पाइँदैन । तीमध्ये केही नाम लिनुपर्दा काम्पानेला, जाँ मेल्ये, मोरेली, बाबेफ आदि आउँछन् ।
काम्पानेलाले ‘घमाइलो सहर’, जाँ मेल्येले ‘मेरो इच्छापत्र’, मोरेलीले ‘प्रकृतिको विधान’ र बाबेफले ‘समान समाज’ नामका पुस्तकहरू लेखेर अमूल्य निधिको रूपमा संसारलाई छोडेर गएका थिए । ती नै समाजसुधारकमध्ये काम्पानेला र उनको ‘घमाइलो सहर’ कृतिबारे छोटो चर्चा गरिएको छ ।
काम्पानेला
टोमाजो काम्पानेला एक काल्पनिक समाजवादी थिए । उनको जन्म सन् १५६८ सेप्टेम्बर ५ मा इटालीको स्तिलो भन्ने ठाउँमा एक गरिब र निरक्षर सार्की परिवारमा भएको थियो । उनी सानैबेलादेखि तीक्ष्ण बुद्धिका थिए । १५ वर्षको उमेरमा उनी धार्मिक पाठशालामा भर्ना भए । त्यहाँ उनले विभिन्न धार्मिक गुरूहरूबाट धर्मशास्त्र र दर्शनसम्बन्धी ज्ञान हासिल गरे ।
सन् १५८८ मा उनले खास विषय ‘On the nature of things according to their own principles – १५८६’ मा लेखिएको पुस्तक पढ्न पुगे । त्यस लगत्तै Philosophy as demonstrated by the senses लेखे । त्यो कृति नयाँ प्रकृतिको दर्शनशास्त्र New philosophy of nature को प्रतिवादमा लेखिएको थियो । सन् १५९० मा उनी नेपल्स र सन् १५९२ मा रोम पुगे । नेपल्स सहरको बसाइँमा काम्पानेलाले आकाश मण्डलको खगोल विज्ञानमा रूचि लिन थाले । त्यसपछि फ्लोरेन्स र पादुआ गए जहाँ उनले ग्यालिलियो ग्यालिलीसँग भेटे । सन् १५९४ मा उनलाई Denounced to the inquisition को आरोपमा गिरफ्तार गरे र अक्टोबरमा उनलाई रोमको Inquisition’s Prison जेल सरुवा गरियो । पछि उनलाई नास्तिकता र धर्म त्यागको आशङ्कामा सन् १५९७ को सुरुतिर क्यल्ब्रिया जन्म स्थान फर्कन आदेश दियो । त्यसबेला उनी २९ वर्षका थिए । सन् १५९८ को वर्षायाममा उनी स्तिलोमै थिए, जहाँ उनी स्पेनियालीविरूद्धको षड्यन्त्रको प्रेरणाको स्रोत बने र स्पेनी राजतन्त्रविरुद्धको षड्यन्त्रमा भाग लिए ।
उनी मेकियावेलीको कुटिल राजनीतिका विरोधी थिए । उनी एक आदर्श समाजको निर्माण गर्न चाहन्थे । सन् १५९९ मा आफ्नै मित्रहरूले विश्वासघात गरेका कारण उनी पक्राउ परे र त्यहीँ वर्ष उनलाई नेपल्स लगियो । उनलाई नास्तिक र विद्रोहीको आरोप लगाइएको थियो । पागलपनको स्वाङ रचेर उनी मृत्युदण्डबाट जोगिए । तर, लामो जेल जीवन बेहोर्नुप¥यो । लामो जेल जीवनमा उनले आफूलाई साहित्यिक गतिविधिमा समर्पण गरे । २७ वर्ष लामो जेल जीवनको क्रममा उनले थुप्रो महत्वपूर्ण कृतिहरूको रचना गरे । ती यसप्रकार छन् –
१. Philosophia sensibus demonstrate १५९१
२. Monarchia Messiae १६०५
३. Prodromus Philosophiae Instraurandae १६१७
४. Apologia pro Galileo १६२२
५. La citta del sole १६२३
६. Atheismus triumphatus १६३६
७. Medicinalium Libri १६३५
८. Metaphysica Vol. I, II & III १६३८
९. Poesie १९१५
तीमध्ये उनको ‘घमाइलो सहर’ (The City of Sun) प्रसिद्ध छ । त्यतिबेला पृथ्वी गोल छ भन्ने मान्ने कपर्निकसलाई र दुर्विनको आविष्कारक ग्यालिलियोलाई समेत नास्तिकको आरोपमा मुद्दा चलाइएको थियो । उनले सन् १६२२ मा ‘ग्यालिलियोको प्रतिरक्षा’ मा पुस्तक लेखे ।
सन १६२६ मा एक पोपको मद्दतले काम्पानेला जेलमुक्त भए । उनलाई रोम लगियो र धार्मिक कार्यालयमा राखियो । त्यसको ३ वर्षपछि उनी पूर्णरूपले मुक्त भए । ५ वर्षसम्म उनी रोममै बसे । त्यहाँ उनी पोपको खगोलीय सल्लाहकार भएर काम गरे । त्यतिञ्जेलसम्म उनी एक विचारकको रूपमा युरोपमा चर्चित भए । सन १६३४ मा काल्ब्रियामा नयाँ षड्यन्त्र सुरु भयो । त्यसको नेतृत्व काम्पानेलाका शिष्यहरूले गरेका थिए । अचानक आइपरेको आपत्बाट बच्न काम्पानेला फ्रान्सतिर भागे । त्यहाँ एक धर्मगुरूको छत्रछाया र सम्राट लुई १३ औँको आर्थिक मद्दत पाएर उनले पेरिसको एक मठमा बाँकी जीवन बिताए ।
घमाइलो सहर
काम्पानेलाको समय राजनीतिक घटनाहरूका लागि चर्चित थियो । मुख्यतया दक्षिणतिर स्पेनिस शासन, दक्षिणी प्रायःद्विप त झन् क्रान्तिकारी प्रयोगशाला नै बन्यो । काम्पानेला सबै किसिमका अत्याचारहरूको कट्टरविरोधी थिए र जीवनभरि नै स्वतन्त्र र स्वशासित गणतन्त्र कलाब्रियनको लागि काम गरे । पहिलो आधुनिक कल्पनालोकको कल्पनाकार थोमस मोरलाई पछ्याएर नेप्ल्सको जेलमा उनले ‘घमाइलो सहर’ रचना गरेका हुन् । घमाइलो सहर योद्धाहरूको आरामगृहका प्रमुख, उनका पाहुना र जहाजी कप्तानबिचको काव्यिक संवादको रूपमा लेखिएको छ । यहाँ प्रमुख प्रश्नकर्ताको रूपमा प्रस्तुत छ । उनको प्रश्न गराईले घमाइलो सहरको अस्तित्वमा रहेको भान हुन्छ । पहिलो एक दुई प्रश्नमा सहरको स्वरूपबारे वर्णन गरिएको छ ।
त्यसपछि कप्तानले त्यहाँको सरकारबारे सुनाउँछ । त्यहाँको ठुलो शासक होह भन्ने एक पुजारी हुन्छ । उनी सबै लौकिक तथा अलौकिक मामिलाका प्रधान हुन् । सबै व्यापारिक र कानुनी मामिला सर्वोच्च अधिकारीको रूपमा उनले नै सल्टाउँछन् । एकनासको शक्ति भएका तीन राजकुमारहरू पोन, सिन र मोरले उनलाई सघाउँछ । ती तीनैजनाले एक एक मामिलाको रेखदेख गर्छन् । यिनीहरू तिनैजना आ–आफ्नो क्षेत्रमा पोख्त छन् ।
त्यो सहरमा कला, स्वाभिमान र आनन्द साझा हुन्छ । तिनलाई कसैले पनि आफ्नो निजी बनाउन नसक्ने गरी व्यवस्थित गरिएको छ । निजी सम्पत्ति राख्ने र बढाउन दिएमा आत्ममोह अङ्कुराउँछ भन्ने उनीहरूको विश्वास छ । त्यो सहरमा कसैले कसैलाई उपहार दिँदैन । जसलाई जेजति चाहियो, उसले त्यो समुदायबाट पाउँछ । कप्तानले फेरि भन्छ कि थोरै सम्पत्ति, तुच्छ शक्ति र लरतरो विरासत भएको व्यक्ति छ भने ऊ लोभी, चाप्लुसे र पाखण्डी हुन पुग्छ तर हामीले आत्ममोह नै उखेल्यौँ भने राज्यप्रतिको मोहमात्र बाँकी रहन्छ ।
घमाइलो सहरमा प्रशासक कसरी चुनिन्छ ? प्रशासकमा चयन नभएमा उनीहरूमा इष्र्या भाव वा निराशा हुन्छ कि हुँदैन ? उनीहरूको सेना, कला, जीवनशैली, विज्ञान र धर्म के हुन्छ भन्नेबारेमा पनि बताइएको छ । घमाइलो सहरमा काउनशील (हाम्रो भाषामा संसद्) पनि हुन्छ । त्यहाँ उनीहरूको निम्ति न्यायाधीश पनि हुन्छ । त्यहाँ गल्ती गर्नेलाई निर्वाचनमा पठाएर, कोर्रा लगाएर, दोष लगाएर, साझा भान्साबाट वञ्चित गरेर दण्ड दिइन्छ । ठुलो नोक्सानी भएको मुद्दामा मृत्युदण्ड दिएर, आँखाको बदलामा आँखा निकालेर, नाकको बदलामा नाक काटेर, दाँतको बदलामा दाँत झारेर प्रतिहिंसाको कानुनअनुरूप सजाय दिइन्छ । त्यहाँ आरोप लागेका व्यक्तिले आफ्नो प्रतिवाद गर्न पनि पाइन्छ ।
सूर्य आकाशका चार मुख्य बिन्दुमा अर्थात् कर्कट, तुला, मकर र मेष राशिमा परेको बेला चाडपर्व मनाइन्छ । सहरको स्थापना दिवस, युद्धमा विजयी भएको दिवस वा यस्तै महान् उपलब्धि हासिल गरेको दिवस उनीहरू प्रत्येक वर्ष मनाउँछन् । घमाइलो सहरमा सूर्य पिता हुन् र पृथ्वी माता हुन् भनिन्छ तर हामी तारा, सूर्य र पृथ्वीको परिवारको भाग होइनौँ बरू ईश्वरको (अंश) हो भन्छौँ । यस अर्थमा उनीहरू धर्ममा विश्वास गर्छन् । अन्धविश्वास उनीहरूमा बाँकी नै थियो ।
Leave a Reply