भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, ५ साउन । नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा ‘भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सोमबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले पार्टीका अग्रजहरूले २०१९ सालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलनलाई अगाडि बढाउनुभएको उल्लेख गर्नुभयो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापना र गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचारका घटनाहरू बढिरहेको हुँदा भ्रष्टाचारविरोधी आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “वाइडबडी जहाज खरिद, ललिता निवासको सरकारी जग्गा बिक्री, बाँसबारीको सरकारी जग्गामा व्यक्तिको कब्जा, टेरामक्स उपकरण खरिद, भारतीय कम्पनी पतञ्जलीको नाममा जग्गा खरिद बिक्री, भिजिट भिसाको नाममा वैदेशिक रोजगारी, भूमि आयोगमा नियुक्तिमा भ्रष्टाचार जोडिएको छ । यसमा सरकारमा गएका पार्टी र तिनका नेताहरू नै जिम्मेवार हुन् ।”
व्यवस्थापिका–संसद्अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा २०७३ सालमा गठित उपसमितिले खाडी मुलुकको स्थलगत भ्रमणपछि तयार गरिएको अध्ययन प्रतिवेदनमा भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा पठाई भ्रष्टाचार गरिएको उल्लेख थियो । सो प्रतिवेदनलाई सरकारले कार्यान्वयन नगरी आजसम्म भ्रष्टाचार चालु राखेको उहाँले औँल्याउनुभयो ।
भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा गएका अधिकांश महिलाहरू शारीरिक शोषणमा परेको प्रतिवेदनमा उल्लेख भएको चर्चा गर्दै सांसद सुवालले नेपालीलाई नेपालभित्रै रोजगारी दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाका अग्रजहरूले २०२५ साउन २ र २०२६ असार १९ गते गरेको भ्रष्टाचारविरोधी आन्दोलनबारे जानकारी दिँदै इतिहास अध्ययन गरी इतिहासबाट सिक्नु जरूरी भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार व्यवस्थाको छायाको रूपमा रहने भएकोले पुँजीवादी व्यवस्था भ्रष्टाचाररहित हुन नसक्ने स्पष्ट पार्दै भ्रष्टाचारविहीन समाजवादी व्यवस्था स्थापना गर्न कर्मचारीहरूले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नु जरूरी भएको बताउनुभयो ।
भ्रष्टाचार मौलाउनुमा शासक पार्टीहरू जिम्मेवार छन्, देश विकास नहुनुको प्रमुख बाधक भ्रष्टाचार हो† जनता सचेत भएमात्र भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय सदस्य दिलकृष्ण माकले कर्मचारीहरूले आर्थिक अनुशासन पालनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका केन्द्रीय सचिव शिवराम धुख्वा र नेपाल कर्मचारी समाज प्रभात सेकेन्डरी स्कूल एकाइ समितिका अध्यक्ष सरोज लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *