भर्खरै :

यस वर्षको नेपालभाषा साहित्य तःमुंज्या नपुखुमा हुने

यस वर्षको नेपालभाषा साहित्य तःमुंज्या नपुखुमा हुने

भक्तपुर, १२ साउन । नेपालभाषा साहित्य तःमुंज्याको सोमबार बसेको भेलाले पैतालीसाँै नेपालभाषा तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. २ स्थित नपुखुमा गर्ने निर्णय गरेको छ ।
नेपालभाषा साहित्य तःमुंज्या मूल समितिको आयोजनामा भएको उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपालभाषा साहित्य तःमुंज्याको डबलीमा प्रस्तुत हुने विधामा कामदारवर्गको हितको विषय स्पष्टसँग उठ्नु जरुरी छ भन्नुभयो ।
आर्थिक विषय र विदेश मामिला एउटै विचार भएका सरकारमा गएका दलहरूको फरक अस्तित्वको औचित्य नभएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “निजीकरणको नाममा सरकारी संस्थान बिक्री गर्ने, विदेशी पुँजी र ऋण ल्याएर देशलाई नवउपनिवेश बनाउने, गोर्खा भर्तीको नाममा नेपाली युवालाई विदेशी सेनामा पठाउने, सन् १९५० को सन्धि खारेज गराउने तागत नराख्ने, एमसीसी सम्झौता गर्ने शासक पार्टीहरू एउटै हुन् ।”
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई सचेत र सङ्गठित गर्ने विषय नेपालभाषा साहित्य तःमुंज्याको डबुलीमा प्रस्तुत हुनु जरूरी भएको सचिव सुवालले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषाका साथसाथै विविध भाषामा जनताका साहित्य रचना गर्न आवश्यक भएको चर्चा गर्नुभयो ।
उहाँले तल्लो तहका जनताबिच नपुगी वास्तविक जनपक्षीय साहित्य लेख्न सम्भव नहुने बताउँदै छलफल तथा अध्ययन–अन्तरक्रिया निरन्तर आवश्यक छ भन्नुभयो । उहाँले जनताको सेवा तथा व्यापक जनताको हितमा समर्पित हुन प्रेरित गर्ने साहित्यको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा आशाकुमार चिकंबञ्जार, हरिप्रसाद बासुकला, लक्ष्मीभक्त लासिवा, लक्ष्मीप्रसाद चवाल, रवीन्द्र ज्याख्व, रत्नकाजी नातरी, गङ्गाराम ज्याख्व, लक्ष्मीनारायण राजलवट, श्यामसुन्दर मातांलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *