अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
निर्जला
देश र समाज झन् झन् पतनशील हुँदै गएकोमा दोष कालो बोका काट्ने नेता, भैंसी पूजा गर्ने ‘कम्युनिष्ट’ र मोटर पूजा गर्ने प्रजातन्त्रवादीहरूमात्रै होइन, मन्त्री हुने, प्रधानमन्त्री हुने र राष्ट्रपति हुनेबारे हात हेर्ने र देखाउने तथा तथाकथित भविष्यवाणी गर्ने ठगहरू वा प्रतिगामी तत्वहरूका चरहरू वा गुप्तचरहरू भेष बद्ली विभिन्न पक्ष वा विपक्षमा शङ्का उपशङ्का र आपसमा द्वेष र घृणा फैलाउने कर्तुतहरू त समाज भँडुवाहरूको काम हो । चाणक्यले आफ्नो विरोधी राजा र राज्यको विरोधमा यस्तै यस्ता क्रियाकलापहरू मार्फत् आफ्नो राजनैतिक उद्देश्य प्राप्त गरेका थिए अर्थात् चन्द्रगुप्तलाई राजा बनाउन उसले आफ्नो बाबुलाई समेत वध गराएका थिए । राजा बिम्बिसारलाई समाप्त गर्न एकजना भिक्षु सल्लाहकारले छोरो अजात शत्रुलाई हातमा लिएर नङ काट्ने नाउलाई हातमा लिएर बाबुको हत्या गराएका थिए ।
बोक्सी, माता वा अन्य पूजापाठ गरी परीक्षामा पास गराउने, मुद्दा जिताउने र बिरामीको रोग निको पार्नेजस्ता क्रियाकलाप अन्धविश्वास र पुरानो अवैज्ञानिक विचारका अवशेष हुन् । यसकारण समाजमा आमुल परिवर्तन गर्ने उद्देश्यले गरेका क्रान्तिहरूमा सबभन्दा पहिले झाक्री र वैद्यहरूलाई स्वास्थ्य शिक्षाको तालिम दिएर रोगी जनताको सेवामा पठाउँछन् । तुनामुना र पूजा पाठक गरी बोक्सी र झाँक्रीको भूमिका खेलेमा र बिरामीको मृत्यु भएमा अन्धविश्वासी पात्रहरू पक्राउ पर्छन् र समाज भाँड्ने र जनतालाई मुर्ख बनाउने अपराधमा सजाय पाउँछन् ।
तर हेड मास्टरको कमजोरीले वा अन्धविश्वासी हेडमाष्टर भएका विद्यालयमै शिक्षक–शिक्षिकाहरूद्वारा अन्धविश्वास फैलाउने गतिविधि गर्दा पनि मौन बसेर छात्र–छात्राहरू समेत पुरानो विचारको शिकार हुन्छन् । केही कार्यालयमा हाकिम स्तरका कर्मचारीहरू आफै घडी नहेरी भाग्य हेरी (छाय् सोयो) कार्यालय जान्छन्, भगवती र नवदुर्गाको टिको लगाई प्रमोशनको कल्पना गर्छन् र माथिल्ला कर्मचारीलाई घुस खुवाउन खोज्छन् । अस्पतालका कर्मचारीहरूसमेत औषधि उपचारमा विश्वास गरी तुनामुना, मन्त्र र जप–तप–होममा विश्वास गरी रोगीको उपचारमा बाधा हाल्ने काम गर्छन् । यसकारण त्यस्ता स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई अस्पताल र स्वास्थ्य सेवाबाट बिदा दिनुपर्छ । त्यस्तै अन्धविश्वास फैलाउने र नवदुर्गाको टीको लगाएमा मनले चिताएको फल पाउँछ भन्नेजस्ता बकमफुसे प्रचारले समाज पछि पर्छ । त्यस्ता शिक्षक र कर्मचारीलाई समेत झारफुक होइन मानसिक डाक्टरसँग उपचार गर्न ढिलो नगर्नु समाजको निम्ति हितकर हुन्छ । विज्ञानविरोधी अन्धविश्वास फैलाउने देशी र विदेशी चर र भडुँवाहरूलाई पत्ता लगाउँदै भण्डाफोर गर्नु जरुरी छ । विज्ञानलाई विश्वास गर्ने र अन्धविश्वासको विरोध गर्ने अभियान आवश्यक छ । ज–जसले आफ्नो अध्ययन र चेतनाको स्तरलाई अगाडि बढाउँदैनन्, तिनीहरू समाजमा पछि पर्छन्, चाहे तिनीहरूले पाइन्ट लगाउन् वा फरिया, टाइ लगाउन् वा टोपी ।
अध्ययनलाई चालु नराख्नेहरू स–साना स्वार्थमा अल्झेर आफ्ना जीवनलाई सीमित घेरामा कैद गर्छन् । समयमै आफ्नो पढाईलाई चालु नराख्ने, विज्ञानको अध्ययन नगर्ने युवा–युवतीहरू पछि निश्चय पनि पछुताउनेछन् ।
पूँजीवादी प्रजातन्त्रको हविगत देखिंदैछ
संसारको सबभन्दा पुरानो भनिने प्रजातन्त्र बेलायतमा आज युरोपेली संघबाट निस्कने निर्णय पछि सुरु भएको अन्योल कायमै छ । त्यस्तै संसारको सबभन्दा ठूलो प्रजातन्त्र भनिने संरा अमेरिकामा विद्यालयका छात्र–छात्राहरूको ज्यानको सुरक्षाको निम्ति ट्रम्प प्रशासनको विरोधमा देशभरि लाखौंको प्रदर्शन १० चैतको दिन भयो ।
संसारलाई बन्दुकले तसाई आएको अमेरिकी साम्राज्यवाद आज आफ्नै देशमा अप्रिय हत्या र हिंसाबाट पीडित छ । आफूले रोपेको बीऊको फल अमेरिकी प्रशासन चाख्दैछ । युरोपको एक महत्वपूर्ण देश स्पेनमा उत्तर–पूर्वको क्याटालोनियाका जनता स्पेनबाट अलग हुन संघर्षरत छन् । क्याटालोनियाका नेताहरूको पक्राउको विरोधमा त्यहाँका सयौं आन्दोलनकारी जनतामाथि स्पेनियाली सरकारले लाठी प्रहार गरी घाइते पारी पक्राउ गरेको छ । संरा अमेरिकाले बारम्बार पक्ष लिने इजरायलको दक्षिणपन्थी सरकारका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको परिवारका सदस्यहरूलाई भ्रष्टाचारको मुद्दामा सोधपुछ गरिंदैछ । भ्रष्टाचारमा जन्मेको र हुर्केको पूँजीवादी व्यवस्था भ्रष्टाचारमै डुब्ने निश्चित छ ।
Leave a Reply