भर्खरै :

स्वाधीनताको लडाइँ लडेको अमेरिकाको साम्राज्यवादी खुनी पञ्जा !

  • श्रावण १३, २०८२
  • रामरतन चौधरी
  • विचार
स्वाधीनताको लडाइँ लडेको अमेरिकाको साम्राज्यवादी खुनी पञ्जा !

सन् १४९२ र १४९६ मा क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिकाको शान्टो डोमिङ्गोमा पहिलो पाइला राखेका थिए । कोलम्बसको आगमनपछि उत्तर अमेरिकी महादेशको दक्षिणी टापुहरूमा स्पेनीयालीहरूले बस्ती बसाल्न सुरु गरे । त्यसपछि युरोपका विभिन्न देशहरूबाट पनि अमेरिकामा आवतजावत बढ्यो । युरोपबाट आएका मान्छेहरूले अमेरिकी आदिवासीहरूको जमिन कब्जा गर्दै बस्ती बसाल्न सुरु गरे । युरोपेलीहरू सुरुमा सुन खोज्न र पैसा कमाउन अमेरिका गएका थिए । पछि उतै बसोबास गर्न थाले ।
सन् १६०७ पछि बेलायतीहरूले पनि अमेरिकाको ठाउँ ठाउँमा जमिन कब्जा गरेर बस्ती बसाउन थाले । आफू पुगेको लगभग डेढसय वर्षमा बेलायतले अमेरिकामा १३ वटा राज्य बनाएर औपनिवेशिकता लादिसकेको थियो । साम्राज्यवादी बेलायतले औपनिवेशिक अमेरिकाको स्रोत साधनमाथि लुट मच्चाउन थाल्यो । आफ्नो उपनिवेशका जनतामाथि बेलायतले चर्को कर लगाउँथ्यो । अमेरिकी जनताले कर तिर्न आनाकानी गरेपछि सेना लगाएर दमन गथ्र्याे । बेलायती शासकहरूको अत्याचारपछि अमेरिकी जनताले त्यसको प्रतिकार गर्ने सङ्कल्प गरे । उनीहरूले बेलायती सेनासँग लड्न स्वतन्त्रता सेना तयार पारे ।
सन् १७७४ मा अमेरिकाका १३ ओटा राज्यका प्रतिनिधिहरूले फिलाडेल्फियामा बैठक गरेर जर्ज वासिङ्टनलाई बेलायती औपनिवेशिक बस्तीहरूको फौजको कमान्डर इन चिफ (महासेनानी) नियुक्त गरेर स्वतन्त्रता सङ्ग्रामलाई अगाडि बढाए । जर्ज वासिङ्टन भर्जिनिया राज्यका धनी खेतीवाल तथा दास मालिक थिए । अमेरिकाको स्वतन्त्रता सङ्ग्राममा अमेरिकी पुँजीपतिवर्गले नेतृत्व गरे पनि मजदुर, किसान, ज्यामी, अश्वेत तथा दासहरूले पनि बेलायती शासनविरुद्ध लडेका थिए ।
सन् १७७६ जुलाई ४ मा अमेरिकाका १३ वटा राज्यका प्रतिनिधिहरूले स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गरे । थोमस जेफरसनले स्वाधीनता घोषणापत्रको खेस्रा गरेका थिए । त्यसपछि जर्ज वासिङ्टन नेतृत्वको अमेरिकी स्वतन्त्र सेनाले बेलायती सेनाविरुद्ध गुरिल्ला युद्ध छेड्यो । सन् १७८१ मा बेलायती सेनाले अमेरिकासामु घुँडा टेक्यो र संयुक्त राज्य अमेरिका स्वतन्त्र भयो । स्वतन्त्रतापछि अमेरिकाको १३ वटै प्रान्तको प्रशासन यन्त्र दास मालिक, ठूल्ठूला भूमिपति तथा पुँजीपति वर्गको हातमा पुग्यो । क्रान्तिकारी जनताले अमेरिकाको स्वतन्त्रताबाट केही पाएनन् । गरिब जनता झन् झन् ऋणमा डुबे ।
बेलायती शासकविरुद्ध स्वाधीनताको लडाइँ लडेको अमेरिकाले बेलायती शासकहरूकै बिरासत बोकेर विश्वमा साम्राज्यवादी खुनी पञ्जा फैलाउन सुरु ग¥यो । उसले वरिपरिका छिमेकी मुलुकहरूलाई थिचोमिचो गरेर आफूमा मिलाउने र नियन्त्रण गर्ने काम सुरु ग¥यो । विश्वका कमजोर देशहरूमाथि आफ्नो हैकम चलाउन थाल्यो । विश्वका कमजोर देशहरूलाई सैन्य धाक देखाएर त्यहाँका स्रोत साधन कब्जा गर्न अगाडि बढ्यो । बेलायतबाट स्वतन्त्र भएको अमेरिकाको शासनमा युरोपबाटै बसाइँ सरेर गएका दासमालिक, जमिनदार तथा शोषक वर्ग पुगेको कारण अमेरिका पनि शोषकहरूकै कित्तामा उभिन पुग्यो । कामदार वर्ग अमेरिकाको शासनमा पुगेको भए सायद त्यसो हुने थिएन ।
सन् १८१७ मा जेम्स मुनरो अमेरिकाको राष्ट्रपति बनेपछि संयुक्त राज्य अमेरिका साम्राज्यवादी बाटोमा स्पष्ट ढङ्गले लागेको मानिन्छ । मुनरो जमिनदार तथा दास मालिक थिए । उनले छिमेकी देशहरूमाथि हैकम चलाउने नीति लिए । दक्षिण अमेरिकालाई उनले आफ्नो करेसावारीजस्तो ठाने । सन् १८२३ डिसेम्बर २ मा अमेरिकी प्रतिनिधिसभाको वार्षिक सभामा बोल्दै मुनरोले भने, “अमेरिका अमेरिकीहरूको हो । युरोपेलीहरूले भविष्यमा दक्षिण अमेरिकामा उपनिवेश स्थापना गर्न पाउँदैनन् । पश्चिमी गोलाद्र्धमा अन्य राजनीतिक बन्दोबस्तले हाम्रो शान्ति र सुरक्षालाई खलल पुग्नेछ ।” उनको आशय दक्षिण अमेरिकालाई हेर्ने जिम्मा अब अमेरिकाको हो । मुनरोको यही नीतिअनुसार दक्षिण अमेरिकामा आफ्नो हैकम चलाउन सुरु ग¥यो । क्युवामाथिको ६० वर्षभन्दा लामो नाकाबन्दी यसैको उदाहरण हो ।
संरा अमेरिकाले आफू स्वतन्त्र भएको २ वर्षभित्रै मेक्सिकोको आधाभाग न्यु मेक्सिको र क्यालिफोर्निया कब्जा ग¥यो । सन् १८४२ मा मेक्सिकोलाई असमान सन्धिको जालमा पारेर नियन्त्रण ग¥यो । सन् १८५३ मा जापानमाथि आक्रमण ग¥यो । सन् १८९३ मा हवाई द्वीप र फिलिपिन्स द्वीपको समुद्र पनि कब्जा ग¥यो । त्यसपछि क्यारेबियाली, मध्यअमेरिका र दक्षिण अमेरिकी देशहरूमा पनि जलसेना पठाउँदै कब्जा गर्न थाल्यो । सन् १८४६ मा कोलम्बियाको एक भाग पानामाको जलडमरुमाथि असमान सन्धि गरी १९९ वर्षको निम्ति कव्जा ग¥यो । (त्यतिबेला पानामा ग्रान्ड कोलम्बियाको एक हिस्सा थियो ।) पानामाका जनताले यसको विरोध गरे । पानामाका जनताको विरोधपछि सन् १९७७ मा अमेरिका र पानामाबिच सन्धि भयो । उक्त सन्धिपछि पानामा नहरको सञ्चालन पानामा सरकारले गरिरहेको छ । अहिले फेरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सुरक्षाको निम्ति पानामा नहर पुनः अमेरिकाले नियन्त्रण गर्नुपर्ने धम्की दिए । यसरी अमेरिकाले अन्य देशको सार्वभौमिकतामाथि धावा बोलेर अशान्तिको बिउ रोप्दै छ ।
अमेरिकाले आफूलाई मानव अधिकारवादी र प्रजातन्त्रवादी भएको दाबी गर्छ । तर, अमेरिकामा मानव अधिकार दिनप्रतिदिन खस्कँदै गएको त्यहाँका जनता महसुस गर्दै छन् । गोरा जातिले काला जातिमाथि गर्ने अत्याचार उस्तै छ । मानव अधिकारवादी दाबी गर्ने अमेरिकाले मध्यपूर्वमा प्यालेस्टिनी जनताको नरसंहार गर्न इजरायललाई उक्सायो । अमेरिकाको हतियार बोकेको इजरायलले करिब ६० हजार प्यालेस्टिनीको हत्या ग¥यो । लाखौँ बेघरबार भए । प्यालेस्टिन मसानघाटमा परिणत भयो । उसले रुसविरुद्ध युक्रेनलाई उक्सायो । ३० अप्रिल २०३० मा युक्रेनको खनिजमाथि नियन्त्रण गर्ने सम्झौता ग¥यो ।
अहिले विश्वका करिब ८० देशका ८०० भन्दा बढी स्थानमा अमेरिकी सेनाको अखडा रहेको मानिन्छ । हिन्द–प्रशान्त क्षेत्रलाई नियन्त्रण गर्न अमेरिकाकै हवाई टापुमा सैन्य मुख्यालय राखी सैन्य कमाण्डरको व्यवस्था गरेको खुलेको छ । अमेरिका आफ्नो हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नेपालमा पनि सैनिक अखडा राखेर चीनलाई घेर्ने कुटिल चाल चल्दै छ । एमसिसी सम्झौता त्यही चालको एउटा गोटी हो ।
२०८२ साउन ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *