पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२

भक्तपुर, १३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरू इमानदार र सक्षम हुनुपर्ने उल्लेख गर्दै कुनै व्यक्तिलाई पदले योग्य बनाउने नभई उसको अध्ययन र लगनशीलताले योग्य र सफल बनाउने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको स्थानीय स्वायत्तता र विकेन्द्रीकरणसम्बन्धी प्रवचन तथा मार्गनिर्देशन कार्यक्रममा उहाँले शासक दलका नेताहरूले व्यापक जनताको हितलाई भन्दा आफू र आफ्ना नाता–गोताको पक्षपोषणतर्फ लागेको बताउनुभयो । देश आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि परिरहेको उल्लेख गर्दै उहाँले जनताको सचेतनाले मात्र देशलाई सही दिशातर्फ मार्गनिर्देश गर्ने बताउनुभयो ।
प्रजातन्त्र र गणतन्त्रको जगको रूपमा रहेको स्थानीय तहलाई बलियो र सक्षम बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक पार्टीले आफ्ना कार्यकर्तालाई प्रशिक्षित नगर्नुको कारण देश जटिल अवस्थामा फस्दै गएको बताउनुभयो ।
२०४६ सालको आन्दोलनपछि पुराना भ्रष्ट कर्मचारीहरूलाई बर्खास्त नगरेको कारण अहिले पनि त्यही व्यवस्थाको सिलसिला रहेको औँल्याउँदै उहाँले राजनीतिक नेता कार्यकर्ताहरूलाई बौद्धिक रूपमा सक्षम र योग्य बनाउनु आवश्यक भएको बताउनुभयो ।
देश र जनताको अहित हुने कार्यमा कर्मचारीहरूले जनविरोधी कानुनको समर्थन गर्न नहुने स्पष्ट गर्दै उहाँले जनप्रतिनिधिलाई ऐन, कानुन र अधिकारबारे प्रस्ट पार्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा सङ्घीयता कार्यान्वयनमा आएको आठ वर्ष भइसक्दा पनि जनताबिच प्रभावकारी काम गर्न नसक्दा सङ्घीयताविरोधी आवाज उठिरहेको बताउनुभयो ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य सबै तहका कर्मचारी स्थायी, अस्थायी, करारमा नियुक्ति गर्ने, बढुवा गर्ने अधिकार दिए पनि अहिले ती सबै अधिकार खोसेर प्रदेश सरकारमा पु¥याइएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपामा स्वायत्तता र विकेन्द्रीकरणको असल अभ्यास गर्दै आएको चर्चा गर्दै देशकै सानो नगरपालिका भए पनि उदाहरणीय काम गर्न सफल भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको विकासमा नेमकिपाका अग्रजहरूको सहयोग र मार्गनिर्देशनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भक्तपुरलाई सभ्य र सुसंस्कृत नगरको रूपमा अगाडि बढाउन प्रयत्नरत रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्थानीय स्रोत साधनको सही सदुपयोग र परिचालनले स्थानीय तहको स्वायत्तता बलियो हुने उल्लेख गर्दै नेपालको संविधानले दिएको अधिकारलाई कानुनले बाधा पु¥याउँदा कार्यसम्पादनमा समस्या निम्तिने गरेको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले स्थानीय तहका कर्मचारीहरूमा स्थानीय स्वायत्तताबारे राम्रो अध्ययन र जानकारी हुनु आवश्यक भएको बताउनुभयो ।
स्थानीय तहमा कार्यरत कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गरी पुरस्कार र दण्ड सजायको अधिकार स्थानीय तहको एकल अधिकार भए पनि प्रदेश सरकारले सङ्घीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको भावनाविपरीत स्थानीय तहलाई आफ्नो मातहतमा राख्ने र स्थानीय तहहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कानुन अधिकृत गणेशलाल फोँजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समितिका सहसचिव विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply