भर्खरै :

बहुआयामिक पर्व गाईजात्रा सांस्कृतिक विधा

  • श्रावण २५, २०८२
  • सत्यराम कासिछ्वा
  • विचार
बहुआयामिक पर्व गाईजात्रा सांस्कृतिक विधा

भक्तपुर सांस्कृतिक थलो हो । यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताको खोजीनीतिको विषय बनेको छ । वर्षभरि आइरहने लाखौँ विदेशी पर्यटकको आगमनले भक्तपुर एक जीवन्त विश्वविद्यालय बन्न पुगेको छ । यसलाई मध्यनजर गरेर भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सापारु तथा गाईजात्राको अवसरमा परम्परागत, आधुनिक तथा ख्याल नाटकतर्फ प्रतियोगितात्मक मूल्याङ्कन गर्दै आइरहेको छ ।
यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।
गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् छ ।
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ ।
नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्व दिँदै आएको छ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्व बढेसँगै चाडको रूपमा गाईजात्राको महत्व पनि बढेको थियो ।
गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको हुँदा ‘सा’ को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा हो भनी इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।
भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतीन्द्र मल्ल राजाको शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको इतिहासमा अध्ययन गर्न सकिन्छ ।
ताहासाँ वा ताहामचा भक्तपुरको गाईजात्राको विशेषता हो । बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको ताहासाँ भनेर बुझिन्छ ।
नेवार बस्तीमा वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाईजात्रा घुमाउने बाटोमा दिनभरि बस्दा प्रामाणिक तथ्याङ्क आउँछ ।
भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शनपछि गाईजात्राको समापन हुन्छ ।
गाईजात्रामा नेवार समुदायले रोपाइँ सकेपछि जनैपूर्णिमाको दिन खेती किसानीमा देखा परेका विभिन्न प्रकारका कीराफट्याङ्ग्रालाई आफ्नो आहारा बनाएर धान उत्पादन तथा वृद्धिमा उल्लेख्य सहयोग गर्ने भ्यागुतालाई विभिन्न गेडागुडीसहित खाना खुवाउने नेवारी संस्कृति रहेको छ । जसलाई नेवारी भाषामा ‘ब्याञ्चा जा नकेगु’ भनिन्छ । त्यहीँ संस्कृतिअनुरूप नेवार समुदायले खेती किसानी तथा रोपाइँको क्रममा क्षति भएको वा प्रयोग भएको शक्ति पुनः पाओस् भन्ने उद्देश्यले विभिन्न प्रकारको गेडागुडीको मिश्रणले भरिपूर्ण तातो झोल खाने परम्परा रहेको छ, जसलाई नेवार समुदायले क्वाटी खाने भनिन्छ । जसमा चना, केराउ, बकुला, बोडी, सिमी, मुगी, गहुँ, मकै, भटमास आदि गेडागुडी प्रयोग भएको हुन्छ ।
गाईजात्रामा मौलिक हास्यव्यङ्ग्य नाचको प्रदर्शनी
नेवार समुदायको बसोबास रहेको देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइन्छ । काठमाडौँ उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन् । त्यसमध्ये एउटा घिन्ताङघिसी नाच हो जुन अन्यत्रको गाईजात्रामा देखिँदैन । उक्त नाच परम्परागत र आधुनिक नृत्त्न्दा फरक रहेको छ । त्यसको लागि कुनै पूर्वाभ्यास चाहिँदैन ।
भक्तपुरमा प्रायः व्यक्ति यो नाचमा सहभागी हुन्छन् । गाईजात्राको क्रममा १८ औँ शताब्दीदेखिका विभिन्न मौलिक नाचहरू देखाउने गरिएका र तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षण गर्नुपर्छ ।
भक्तपुर नगरपालिकाले सापारु गाईजात्राको अवसरमा यहाँका परम्परागत नाचहरू भैल प्याखं, ख्या, लाखे, कवांचा, म्हेखा, जङ्गली, हनुमान, ङा, धुँ, सलाँ, हाँय्, पहलमान, दैत्य, नागाचा, कलाँली, मथु, लुसि, झ्याँ झ्याँ, भौ मैँचा, फाकंदली, किजापूजा, कपाँय् फेनेगु, देवी, भालु, माक, गाइँचा, हुला, लाहुरे, झ्याउरे, साँय् सामिचा, ध्याचु, गरुड, सिंह तथा शेर प्याखंजस्ता सांस्कृतिक विधाहरूको टोलटोलमा प्रतियोगितात्मक मूल्याङ्कन र पुरस्कारसहितको व्यवस्था गरेको छ ।
पछिल्लो केही वर्षदेखि भक्तपुर नगरपालिकाले सापारुको दिन विभिन्न जिल्लाबाट ल्याइने घिन्ताङघिसी, माक प्याखंजस्ता सांस्कृतिक विधाहरूलाई समेत मायाको चिनो प्रदान गरी सांस्कृतिक विधा संरक्षणमा टेवा पु¥याउँदै आएको छ ।
गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने नाच र व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिलाई लक्षित गरिएको पाइन्छ । तर, त्यसमा अश्लील शब्द र अभिनयलाई बञ्चित गरी अनुशासितरूपमा समयसापेक्ष प्रदर्शनलाई प्राथमिकता दिएको पाइन्छ । देश र समाजमा व्याप्त कुरीति,भ्रष्टाचार, अपहरण, अपराध, अन्याय अत्याचारजस्ता अस्तव्यस्त व्यवस्था छ । त्यसले फैलाएको समस्यालाई व्यङ्ग्यात्मक रूपमा जनतासामु प्रस्तुत गर्न गाईजात्रा एक माध्यम बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *