भर्खरै :

गाजामा भएको इजरायली आक्रणममा १० जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रणममा १० जनाको मृत्यु

गाजा स्ट्रिप, प्यालेस्टिनी क्षेत्रहरू, २४ साउन (एएफपी) । गाजामा शनिबार भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ । उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा केयौँको ज्यान गएको बताउनुभएको छ ।
अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौँ गाजाबासीहरू सहायताको लागि भेला हुने गरेको जनाइएको छ । पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरूले ज्यान गुमाइरहेका छन् ।
युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धन लगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ ।
शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो ।
यसले विश्वभर आक्रोशको लहर निम्त्याए पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताउनुभएको छ ।
इजरायलले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दबाबको सामना गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *