विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
 

(यो प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापनाको तीसौँ वार्षेकोत्सव समारोहमा ९ सप्टेम्बर १९७९ मा प्रजग कोरियाका महान् नेता किम इल सङले दिनुभएको प्रतिवेदन हो ।–सं)
 आज अन्तर्राष्ट्रिय रङ्गमञ्चमा स्वाधीनताका शक्ति र प्रभुत्ववादका शक्तिहरूका बिचमा, क्रान्तिका शक्तिहरू र प्रतिक्रान्तिका शक्तिहरूका बिचमा सङ्घर्ष चलिरहेको छ ।
 विश्वका क्रान्तिकारी शक्तिहरू दिनहुँ बढ्दै गएको देखि आतङ्कित भएर पुराना र नयाँ प्रभुत्ववादीहरूले आफ्नो प्रभुत्व कायम राख्न ज्यानतोड प्रयत्न गरिरहेका छन् ।
 विश्वलाई आफ्नो आधिपत्यमा ल्याउने निरन्तर अनियन्त्रित योजनाअनुसार, अमेरिकी साम्राज्यवादीहरूले लडाइँको तयारी बढाइरहेका छन् र ‘शान्ति’ को साइनबोर्ड लगाएर विश्वका जनतालाई छकाइरहेका छन् । उनीहरूले ‘निरस्त्रीकरण’ को साइनबोर्डमुनि शस्त्रीकरणलाई बढाउने काम जारी राखेका छन्, ‘आणविक अस्त्रमा नियन्त्रण’ को साइनबोर्डमुनि आणबिक परीक्षण चलाइरहेका छन् र ‘तनाव काम गर्ने’ साइनबोर्डमुनि सैनिक हस्तक्षेप चालु राखेका छन् । साम्राज्यवादीहरूको आर्थिक सङ्कट जति जति गहिरो हुँदै जान्छ र उनीहरूको स्थिति झन्झन् जटिल हुँदै जान्छ, उनीहरूले आक्रमण र लडाइँको साजिस पनि उति नै चर्काउँछन् ।
 साम्राज्यवादीहरूले आक्रमणको मुख्य लक्ष्य नवोदित शक्तिका देशहरूतर्फ सोझ्याएका छन् । असंलग्न राज्यहरू, तेस्रो विश्वका मुलुकहरूविरुद्ध उनीहरूले आक्रमणमा प्रयोग गर्ने मुख्य तरिका के हो भने ती देशमा फूट ल्याई एक अर्कोबाट अलग्ग पार्ने र अनि एक एक वटा गरी नष्ट पार्ने । साम्राज्यवादीहरूले औपनिवेशिक शासनपछि त्यसको फलस्वरूप रहने सीमा झगडाहरू र अरू विभिन्न जटिल समस्याहरूलाई बडो चलाकीसाथ प्रयोग गरी असंलग्न राज्यहरू, तेस्रो विश्वका मुलुकहरूका बिचमा फाटो ल्याई, वैमनस्य निकाली तथा तिनीहरूका बिचमा झगडा र सङ्घर्ष ल्याएर ती देशहरूलाई एकको विरुद्ध अर्कोलाई लडाएर गोलमालबाट फाइदा उठाउन खोजिरहेका छन् ।
 साम्राज्यवादी र प्रभुत्ववादीहरूले नवोदित देशहरूमाथि आफ्नो राजनैतिक र आर्थिक नियन्त्रण कायम गर्ने दुष्ट प्रयास गरिरहेका छन् । तिनीहरूले डर–त्रास–धम्की दिने, फुल्याउने, ठग्ने, तोडफोड र अन्तरध्वंसका गतिविधि चलाउने जस्ता विभिन्न प्रकारका कुटिल र दुष्ट तरिकाहरूद्वारा नवस्वाधीन राज्यहरूलाई आधिपत्यमा राख्न खोज्दै छन् र तथाकथित ‘सहायता’ र ‘पिछडिएका मुलुकहरूको संयुक्त विकास’ भन्ने नाउँमा विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र नियन्त्रण गर्ने मुख्य ज्यावल हत्याउन खोजिरहेछन् ।
 साम्राज्यवादी र प्रभुत्ववादीहरूले आफ्नो प्रभाव क्षेत्र फैलाउने उद्देश्यले तेस्रो विश्वका मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन जोडतोतले तँछाडमछाड गर्दै छन् । ‘सहायता’ र ‘संरक्षण’ को निहुँमा उनीहरूले तेस्रो विश्वका मुलुकहरूको झगडामा हात हाल्न, त्यसमा खुलमखुला हस्तक्षेप गर्न प्रतिस्पर्धा गर्दै छन् । यी मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन परस्पर झगडा गर्दै छन् ।
 वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति साम्राज्यवादी तथा प्रभुत्ववादीहरूको चालबाजीले गर्दा तनावपूर्ण तथा जटिल भएका छन् । उनीहरूले दिनहुँ चलाइरहेका धाँधली र षड्यन्त्रहरू, तोडफोड, अन्तरध्वस तथा हत्याहरूले गर्दा विश्वका सबै भागमा झगडा उठेको र भ्रातृ देशहरू परस्पर लडेर गोली हानाहान गर्ने जस्ता दुःखद घटना पनि घटिरहेछ । फलस्वरूप तेस्रो विश्वका मुलुकहरूले धेरै कठिनाइहरू भोगिरहेका छन् र असंलग्न आन्दोलन ठुलो अग्नि परीक्षामा परेको छ ।
 वर्तमान परिस्थितिले जरुरी माग के गरेको छ भने समाजवादी मुलुकहरू, असंलग्न राज्यहरू, तेस्रो विश्वका सबै उत्पीडित राष्ट्रहरूले दरोसित एक गठ भएर साम्राज्यवाद र अरू सबै प्रकारका प्रभुत्ववादको विरुद्ध सङ्घर्ष तीव्र पार्नुपर्दछ ।
 प्रभुत्ववाद वर्तमान समयको स्वाधीनतातर्फको प्रवाहविरुद्ध जाने प्रतिक्रान्तिको प्रवाह हो† यो विश्वका क्रान्तिकारी जनताको सङ्घर्षको साझा तारो हो । अरू मुलुकहरूको स्वाधीनता लाई कुल्चनु र अरू राष्ट्रहरू तथा जनतामाथि दमन र नियन्त्रण गर्नु प्रभुत्ववादको स्वभाव हो । प्रभुत्ववादको अर्थ एकातिर अरू मुलुकहरूलाई खुलमखुला उपनिवेश बनाउने र उनीहरूलाई नाङ्गोरूपले दमन र शोषण गर्ने र अर्कोतिर अरू मुलुकहरूमाथि आधिपत्य जमाउने र नियन्त्रण गर्ने विभिन्न कुटिल तरिकाद्वारा तिनीहरूलाई दासत्वको जुवामा जकडने हो । प्रभुत्ववाद ठुला र तुलनात्मक दृष्टिले साना पुँजीवादी र अरू मुलुकहरूले चलाउँछन् । छोटकरीमा, अरू मुलुकहरूलाई नियन्त्रण गर्न खोज्ने सबै देशहरू, तिनीहरूको साइज र सामाजिक व्यवस्था जे सुकै होस्, प्रभुत्ववादी शक्ति हुन् र अरूलाई खुलमखुला वा सूक्ष्मरूपले नियन्त्रण गर्नु प्रभुत्ववाद हो ।
 नवोदित शक्तिका मुलुकका सबै जनताले हमलाको भाला साम्राज्यवाद र प्रभुत्ववादमाथि सोझ्याउनुपर्दछ । साम्राज्यवाद र प्रभुत्ववादविरुद्ध दृढ सङ्घर्ष चलाएमा मात्र नवोदित शक्तिका राष्ट्रहरूले राष्ट्रिय स्वाधीनतालाई सुदृढ पार्न, आफ्ना आफ्ना मुलुकको स्वाधीन विकास निश्चित पार्न र सबै प्रकारको प्रभुत्व र आधिपत्यबाट मुक्त नयाँ संसार निर्माण गर्नसक्नेछन् ।
 साम्राज्यवाद र अरू प्रकारका प्रभुत्ववादको विरुद्ध दरोसँग लड्न नवोदित मुलुकहरूको व्यापक संयुक्त मोर्चा बताउनु जरुरी छ ।
 यो संयुक्त मोर्चा साम्राज्यवाद र प्रभुत्ववादविरुद्ध सङ्घर्षमा विजयको निर्णायक ग्यारेन्टी हो । खासगरी साम्राज्यवादी र अरू प्रभुत्ववादीहरूले नवस्वाधीन राज्यहरूका बिच परस्पर फाटो र वैमनस्य ल्याएर तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने चालबाजी बढाइरहेकोले नै यस्तो संयुक्त मोर्चा बनाउनु अझ महत्वपूर्ण भएको छ ।
 नवोदित मुलुकहरूले प्रभुत्ववादीहरूका विभाजन, फाटो ल्याउने र होडका चालबाजीहरूको सामना एकताको रणनीतिद्वारा गर्नुपर्दछ । असंलग्न मुलुकहरू, तेस्रो विश्वका देशहरूले व्यापक संयुक्त मोर्चा बनाउनुपर्दछ र समन्वित कार्य गरी सबै प्रभुत्ववादीहरूका विभाजन, फाटो ल्याउने र होडका चालबाजीहरूलाई चकनाचुर पार्नुपर्दछ ।
 साझा शत्रुको विरुद्ध लड्नको निम्ति, नवोदित मुलुकहरूले एकतालाई मुख्य महत्व दिएर सबथोकलाई यसकै अन्तर्गत राख्नुपर्दछ र सामाजिक व्यवस्था, राजनैतिक दृष्टिकोण तथा धार्मिक विश्वासको भेदबाट माथि उठेर घनिष्ठरूपले एकगठ हुनुपर्दछ । सामाजिक व्यवस्था, राजनैतिक दृष्टिकोण र धार्मिक विश्वासको भेद कुनै हालतमा पनि नवोदित मुलुकहरूको एकतामा तगारो बन्न सक्दैन । नवोदित मुलुकहरूको साझापन तिनीहरूको भेदभन्दा ठुलो छ र तिनीहरूलाई एक सूत्रमा बाँध्ने शक्ति तिनीहरूलाई परस्पर फुटाउने शक्तिभन्दा बलियो छ ।
 असंलग्न मुलुकहरूले कुन कुन मुलुक प्रगतिशील छन् र कुन कुन छैनन् भन्ने कुरामा लाग्न हुँदैन, बरु साझा आधार पत्ता लगाएर परस्पर एकगठ हुन कोसिस गर्नुपर्दछ । असंलग्न राज्यहरूलाई यो र त्यो पक्षको भनी वर्गीकरण गर्नु असंलग्न आन्दोलनमा मूल प्रकृति र विचारको विपरित छ । यसबाट त आखिरमा आन्दोलनमा नयाँ गुटहरू सिर्जना भई फूट आउँछ । स्वाधीनता कायम राख्ने राष्ट्र नै प्रगतिशील राष्ट्र हो । असंलग्न राज्यहरू सबैले आधिपत्य र प्रभुत्वको विरोध गर्ने र स्वाधीनता चाहने हुनाले तिनीहरू यहीँ साझा रूप स्वाधीनताको आकाङ्क्षाको आधारमा संयुक्त हुनसक्छन् ।
 एक देश र अर्को देशको बिच उठ्ने मतभेद र झगडा छिन्ने कुरामा असंलग्न राज्यहरूले आफूलाई एकताको सिद्धान्तमा आधारित पार्नुपर्दछ । असंलग्न राज्यहरूबिचको मतभेद र झगडा जतिकै गम्भीर भए पनि हातमा हात मिलाई साझा लक्ष्यतिर अगाडि बढिरहेका दाजुभाइबिचको भित्री मामला हो† यी कुरा लडेर वा बाहिरिया शक्तिहरूलाई हात हाल्न लगाएर छिन्ने विषय होइनन् । यी कुराहरू बाहिरी हस्तक्षेप हुन नदिई सम्बन्धित पक्षहरूले नै आ–आफ्नो राष्ट्रिय हित तथा सम्पूर्ण असंलग्न आन्दोलनका हितको अनुकूल कुराकानीद्वारा निर्णय गर्नुपर्दछ । प्रभुत्ववादीहरूको चालबाजीमा छकिएर असंलग्न राज्यहरूले परस्पर वैमनस्य राख्ने वा लड्ने ग¥यो भने उनीहरू प्रभुत्ववादीहरूको हातमा फस्ने छन् ।
 नवोदित मुलुकहरूले साम्राज्यवादविरुद्ध तथा अरू सबै प्रकारका प्रभुत्ववादविरुद्ध एकगठ भई लड्नको निम्ति उनीहरूले स्वाधीनता कायम राख्नुपर्दछ ।
 असंलग्न राज्यहरू, तेस्रो विश्वका मुलुकहरूले सबै प्रकारका विदेशी हस्तक्षेपलाई किटानीसाथ अस्वीकार गर्नुपर्दछ र अरू मुलुकहरूको पछि अन्धोरूपले लाग्ने वा उनीहरूको दलाल बन्ने गर्न हुँदैन । नवोदित मुलुकहरूले एकले अर्काको स्वाधीनताको सम्मान गर्नुपर्दछ र अरू देशहरूको त्रुटि खोजिहिँड्ने वा अर्काको व्यवहारमा हात हाल्ने गर्न हुँदैन । यति भयो भने कुनै पनि प्रभुत्ववादी शक्तिहरूले असंलग्न आन्दोलनभित्र टेक्ने ठाउँ पाउन सक्दैन । कुनै पनि राष्ट्रको हस्तक्षेप शक्तिहीन पार्दछ र नवोदित मुलुकहरू आफ्नो एकता सुदृढ पारेर प्रभुत्ववादको विरूद्ध दृढ सङ्कल्पले सङ्घर्ष चलाउन समर्थ हुन्छन् ।
 राष्ट्रिय स्वाधीनताको ग्यारन्टी स्वाधीन राष्ट्रिय अर्थतन्त्रद्वारा गरिनुपर्दछ । शक्तिशाली स्वाधीन राष्ट्रिय अर्थतन्त्र नभइकन कुनै पनि राष्ट्रले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सक्दैन, आफूलाई लागेजस्तो भन्न वा आफूले चाहेजस्तो गर्न सक्दैन ।
 असंलग्न मुलुकहरू, विकासशील मुलुकहरूले सफलतासाथ स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने हो भने तिनीहरूले हुनसम्म आफ्नै सम्भाव्यतालाई खोजेर प्रयोग गर्नुपर्दछ र साथै अरू नवोदित मुलुकहरूसित आर्थिक र प्राविधिक सहयोग बलियो पार्नुपर्दछ । तेस्रो विश्वका मुलुकहरूको विशाल भूमि तथा प्रशस्त प्राकृतिक स्रोत छन् र नयाँ जीवन सिर्जना गर्ने क्रममा पाएका कैयौँ उत्तम अनुभव र प्रविधिहरू पनि छन् । तिनीहरूले एकले अर्काको आवश्यकता पूति गर्ने सिद्धान्तको आधारमा कच्चा पदार्थ र प्राविधिक सीपहरू आदानप्रदान गर्नुपर्दछ । खासगरी आफ्ना ठाउँका प्राविधिक कार्यकर्ताहरू आदानप्रदान गरी परस्पर मनैदेखि मद्दत गर्नु र सिकाउनुपर्दछ । अनि तिनीहरूले मद्दतको निम्ति साम्राज्यवादी र प्रभुत्ववादीहरूतिर न हेरिकनै आर्थिक र प्राविधिक पछौटेपनलाई फाल्न, स्वाधीन राष्ट्रिय अर्थतन्त्रको दरिलो जग बसाल्न र उन्नत, स्वाधीन, सार्वभौम राज्य निर्माण गर्न सक्नेछन् ।
 पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था उपनिवेशनादी व्यवस्थाको प्रश्न हो र आधिपत्य, नियन्त्रण, शोषण तथा लुटको निम्ति साम्राज्यवादीहरूको ज्यावल हो । पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई यथावत राखेसम्म, विकासशील देशहरू गरिबीबाट उम्कन सक्दैनन्, न त स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण नै सफलतासाथ गर्न सक्छन् । तिनीहरूले साम्राज्यवादी र प्रभुत्ववादीहरूलाई मात्र फाइदा हुने काम नलाग्ने पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था खारेज गरेर नवोदित शक्तिहरूका राष्ट्रहरूको हितलाई सुहाउने नयाँ न्यायपूर्ण अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था स्थापना गर्न कडा मेहनत गर्नुपर्दछ ।
 वर्तमान समयमा साम्राज्यवाद र प्रभुत्ववादको विरुद्ध सङ्घर्षमा सबैभन्दा जरुरी अभिभारा साम्राज्यवादका आक्रमण र युद्धका चालबाजीहरूलाई रोक्नु र विफल पार्नु हो ।
 नवोदित शक्तिका राष्ट्रहरूले साम्राज्यवादका आक्रमण र युद्धका कुटिल चालबाजीको कठोर रूपले भण्डाफोर र निन्दा गर्नुपर्दछ र जहाँ जहाँ साम्राज्यवादीहरूले आक्रामक पञ्जा फैलाउँछन्, ती सबै ठाउँमा उनीहरूमाथि दबाब दिएर प्रहार गर्नुपर्दछ । नवोदित शक्तिका राष्ट्रहरूले साम्राज्यवादीहरूको हतियारको होडबाजीलाई रोक्न, आम निःशस्त्रीकरण सफल पार्न र साम्राज्यवादीहरूलाई विदेशी भूमिबाट तिनीहरूका आक्रामक फौज पूरै फिर्ता लग्न र सैनिक अखडाहरू हटाउन लगाउन जोडतोडले सङ्घर्ष गर्नुपर्दछ ।
 अझै पनि पृथ्वीका विभिन्न महाद्वीपहरूमा उपनिवेशहरू बाँकी छन् र साम्राज्यवादी तथा प्रभुत्ववादीहरूले नवस्वाधीन राज्यहरूलाई फेरि एक पल्ट आफ्नो आधिपत्य र नियन्त्रणमा ल्याउन कुटिल चाल खेल्दै छन् । नवोदित मुलुकका जनता र उत्पीडित जनताले सबै महाद्वीपहरूलाई सदाको लागि उपनिवेशवादबाट मुक्त पार्न र नवउपनिवेशवाद तथा अरू सबै प्रकारका प्रभुत्ववादबाट पूर्णरूपले मुक्त पार्न अझ बढी शक्तिसाथ लडी नै रहनुपर्दछ । एसिया, अफ्रिका र लाटिन अमेरिका उपनिवेशवाद र सबै प्रकारका प्रभुत्ववादबाट मुक्त भए पछि मात्र राष्ट्रहरूको मुक्ति पूर्ण र अन्तिम हुनेछ ।
 प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकार तथा कोरियाली जनताले समाजवादी मुलुकहरू, असंलग्न मुलुकहरू, विकासशील मुलुकहरू र विश्वका अरू सबै नवोदित मुलुकका जनतासित संयुक्त भएर साम्राज्यवाद तथा प्रभुत्ववादको विरुद्ध लड्नुलाई एक जरुरी परराष्ट्र नीति सम्झनुपर्दछ ।
 अहिलेसम्म भविष्यमा पनि, गणतन्त्रको सरकारले समाजवादी शक्तिहरूको एकता र संवद्धतालाई बलियो पार्न र समाजवादी देशहरूका जनतासित मैत्री र सहयोगका सम्बन्ध विकसित पार्न अटुट प्रयत्न गर्नेछ ।
 गणतन्त्रको सरकार र कोरियाली जनताले असंलग्न राज्यहरूका जनता, तेस्रो विश्वका मुलुकका जनतासित एकता र सहयोग बलियो पार्न हरेक प्रयत्न गर्ने छ र साम्राज्यवाद तथा प्रभुत्ववादको विरोधमा सामाजिक प्रगति र राष्ट्रिय समृद्धिको निम्ति साझा सङ्घर्षमा सधँै तिनीहरूकै साथमा आफ्नो भाग्य गाँस्नेछ ।
 कोरियाली जनताले एसिया, अफ्रिका र लाटिन अमेरिकी राष्ट्रका जनताको स्वतन्त्रता र स्वाधीनताको सङ्घर्षलाई सक्रिय समर्थन गर्दछन् र विश्वका सबै उत्पीडित राष्ट्रहरूका जनतासित उनीहरूको मुक्ति सङ्घर्षमा दृढ सम्बद्धता व्यक्त गर्दछन् ।
 गणतन्त्रको सरकार र कोरियाली जनताले स्वाधीनताको हिमायत गर्ने विश्वका सबै क्रान्तिकारी जनतासित एकगठ भई साम्राज्यवाद तथा अरू सबै प्रकारका प्रभुत्ववादको विरुद्ध शान्ति, जनतन्त्र, राष्ट्रिय स्वाधीनता तथा नयाँ समाजको निर्माणको निम्ति मेहनतसाथ सङ्घर्ष गरिरहने छन् ।
Leave a Reply