भर्खरै :

भूगोल र इतिहासको ज्ञानबिना समाज विकासको अध्ययन अपुरो हुने

भूगोल र इतिहासको ज्ञानबिना समाज विकासको अध्ययन अपुरो हुने

भक्तपुर, २६ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम परिमार्जन कार्य दलले साउन २४ गते भेटघाट ग¥यो ।
भेटमा पाठ्यक्रम परिमार्जन कार्य दलका संयोजक योगेन्द्रमान बिजुक्छेँले स्थानीय पाठ्यक्रम परिमार्जनको आवश्यकता र परिमार्जनको क्रममा भएका गतिविधिहरूबारे अध्यक्ष बिजुक्छेँलाई जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले विद्यार्थीलाई ‘ख्वपको पहिचान’ दिलाउने उद्देश्यले निर्माण गरेको स्थानीय पाठ्यक्रम प्रभावकारी हुनुको साथै उपलब्धिमूलक भए पनि समयानुकूल परिमार्जन गर्न विज्ञहरूसँग विभिन्न चरणमा छलफल भई प्राप्त सल्लाह र सुझावलाई समेटेर पाठ्यक्रम परिमार्जन गर्ने तयारी भइरहेको संयोजक बिजुक्छेँले जानकारी गराउनुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूको अनुभवबाट नयाँ पुस्ता लाभान्वित हुने भएकोले त्यस्ता व्यक्तित्वहरूबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पाठ्यक्रममा स्थानीय सीप र कलाको महत्वको विषय समेटी स्थानीय सीपको विशेषताबारे नयाँ पुस्तालाई ज्ञान दिन सके आफ्नो मौलिक पहिचान जोगिनुको साथै मौलिक ज्ञानले नयाँ पुस्ताको सेवा गर्न सकिनेछ ।”
भूगोल र इतिहासको ज्ञानबिना सभ्यताको सिलसिला र समाज विकासको अध्ययन अपुरो हुने भएकोले पुरातात्विक, सांस्कृतिक महत्वबारे बोध गराउन पाठ्यक्रमको परिमार्जनको बेला नेपालभाषा र तामाङ भाषाबारे समेटिनु जरुरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाल वाग्मती प्रदेशसभाले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न पाइने नीति पारित गरेको सन्दर्भमा विद्यालय शिक्षामा यी भाषालाई समेट्न सके राम्रो नै हुनेछ ।”
भक्तपुर नगरका साथै काठमाडौँ र काभ्रेको विभिन्न ऐतिहासिक स्थानमा देखाइने नवदुर्गा नाचमा प्रदर्शन गरिने हाउभाउ र भाषा नेपालभाषाकै भएको र ती भाषाले निर्देशनात्मक तथा नीतिगत व्यवहार दर्शाउने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नवदुर्गा नाचले मातृसत्तात्मक युगबाट पितृसत्तात्मक युगमा प्रवेश गरेको दर्शाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालभाषासँग कतिपय तामाङ, चिनियाँ र तिब्बतीय भाषाका शब्दावली र क्रियापदहरू मिल्दोजुल्दो छ ।”
जर्मनीका नागरिक हाय्गमुलरले भक्तपुरको मन्दिर, शिवालय, देवालयमा नेपालभाषाबाट लेखिएका अभिलेखहरूको अध्ययन अनुसन्धान गरी तिनीहरूको ऐतिहासिक महत्वबारे पुस्तकहरू तयार गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले हाम्रा विद्यार्थीहरूलाई त्यस्ता खोज, अन्वेषण कार्यमा प्रेरित गराउनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नैतिक शिक्षाको नाउँमा देवी देवताको पूजा–आजा, उनीहरूकै कथा कुथुङ्ग्री र किंवदन्तीका कुरा बढी पढाइन्छ । तर, बुद्ध शिक्षामा त्यस्ता कुरालाई मान मर्यादा र आचार व्यवहारको रूपमा सिकाइन्छ । गुरुलाई माता पितातुल्य मान्दै आएको हाम्रो संस्कृतिमा हाल त्यसो नहुनु शिक्षकको कमजोरी मान्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले कतिपय कूटनीतिक नियोगमा नियुक्ति पाएका नेपाली राजदूतलगायतका व्यक्तिहरूको अक्षमताको कारण राष्ट्रहरूबिचको सुमधुर सम्बन्ध कायम हुन नसकेको उदाहरण भएकोले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै आदरार्थी शब्दबारे ज्ञान दिनु जरुरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी समेतको उपस्थितिमा भएको परिमार्जन कार्य दलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले सामाजिक आवश्यकताअनुसार स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्न र यसमा रहेका कमीकमजोरी हटाउन उच्चस्तरीय सुझावको अपेक्षा कार्यदलको रहेकोले भेटघाट कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
समाजमा सनातनदेखि चल्दै आएको संस्कृति, रीतिरिवाज पूजा–पाठलाई अन्धविश्वास र किंवदन्तीको आधारमा नभई उपयुक्तता र भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्नुपर्ने आजको आवश्यकतालाई परिमार्जित पाठ्यक्रमले समेट्ने उहाँले बताउनुभयो ।
कार्यदलले हालको परिमार्जनमा नागरिक र नैतिक तथा व्यावहारिक शिक्षाका सम्बन्धमा एउटा छुट्टै एकाइ समावेश गरेको पनि भेटघाटमा जानकारी गरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *