भर्खरै :

प्यालेस्टिन प्यालेस्टिनीहरूको देश हो

प्यालेस्टिन प्यालेस्टिनीहरूको देश हो

संयुक्त राज्य अमेरिकाको इसारा र सहयोगमा इजरायलले प्यालेस्टिनमाथि गरेको आक्रमण जारी छ । इजरायलले प्यालेस्टिनको विद्यालय, कलेज, सरकारी भवन, अस्पतालमात्र होइन राहत लिन बसिरहेका नागरिकमाथि पनि आक्रमण गरेर हत्या गरिरहेको छ । प्यालेस्टिनलाई विश्वबाटै अलग्ग बनाउन र जातीय नरसंहार गर्ने उद्देश्यले नै इजरायलले आक्रमण गरिरहेको छ । यो आक्रमणको जति निन्दा गरे पनि पुग्दैन । प्यालेस्टिनको गाजालाई ‘स्वतन्त्र’ होइन कब्जा गर्न इजरायल लागिपरेको छ । गाजालाई ध्वस्त बनाएर मानिसविहीन बनाउन भइरहेको इजरायली आक्रमणको संसारका अधिकांश देशले निन्दा गरेका छन्; आक्रमणको विरोध गरेका छन् । संयुक्त राष्ट्र सङ्घले इजरायली आक्रमणलाई कुनै हालतमा रोक्नुपथ्र्याे । हालसम्म प्यालेस्टिनमा जति क्षति भएको हो† सबैको क्षतिपूर्ति गराउन संयुक्त राष्ट्र सङ्घ लाग्नुपथ्र्याे र इजरायली शासकहरूलाई आतङ्ककारी घोषणा गरेर हत्याराको मुद्दा चलाउनुपथ्र्याे ।
इजरायल प्यालेस्टिनलाई स्वतन्त्रताको नाउँमा मानवविहीन बनाउन लागिरहे पनि संयुक्त राष्ट्र सङ्घ यति बेलासम्म किन मौन ! प्यालेस्टिन प्यालेस्टिनीहरूको देश हो भने त्यो देश र त्यहाँको जनताको सुरक्षा गर्न संयुक्त राष्ट्र सङ्घ लाग्नुपर्छ कि पर्दैन ? गाजा सिटीलाई सैन्य नियन्त्रण गर्ने बहाना बनाएर प्यालेस्टिनी जनतामाथिको यो आक्रमण तत्काल रोक्नुपर्छ† तत्काल रोक्न सङ्घ तयार हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घले कुनै विज्ञप्ति जारी गरेर होइन ठोस कार्य गरेर नै प्यालेस्टिनी जनताको हत्या गर्ने काम रोक्नुपर्छ । ‘हाम्रो लक्ष्य गाजालाई कब्जा गर्नु होइन, गाजालाई स्वतन्त्र बनाउनु हो’ भन्ने इजरायली प्रधानमन्त्री नेतन्याहुले एक कुरा गरेर अर्काे काम गर्दैनन् । ‘मुखमा राम राम बगलीमा छुरा’ भनेको यही हो । प्यालेस्टिन स्वतन्त्र देश हो; सार्वभौम देश हो । इजरायली प्रम नेतन्याहुले प्यालेस्टिन देश ध्वस्त भएपछि र त्यहाँका सबै जनताको हत्या भएपछि के प्यालेस्टिन स्वतन्त्र देश बन्छ ?
प्यालेस्टिनमाथिको इजरायली आक्रमण अत्याचारको पनि अत्याचार भइसकेको छ । इजरायली सरकारको अत्याचार सहन नसकेर गाजा नियन्त्रण गर्ने सरकारको घोषणाको विरोधमा आइतबार जेरूसेलममा इजरायली जनताले विरोध प्रदर्शन गरे; आक्रमणको निन्दा गरे । प्यालेस्टिनमा बस्न आएर प्यालेस्टिनी जनताको निर्मम हत्या गर्ने इजरायल र इजरायललाई सहयोग गर्ने अमेरिकी शासकहरूलाई अन्तर्राष्ट्रिय मुद्दा लगाएर जेलमा थुन्नुपर्छ, उनीहरूमाथि हदैसम्मको कारबाही गर्नुपर्छ । अहिले प्यालेस्टिनी जनता भोक, रोग, पीडा र औषधि उपचारको अभावमा छटपटिरहेका छन् र मरिरहेका छन् । बम खसालेर र भोकभोकै मार्ने इजरायल निर्दाेष हुनै सक्दैन । । अन्यायको पनि सहने हद हुन्छ । इजरायली सरकारको अन्यायको हदले सीमा नाघिसकेको छ । इजरायलको ‘आई ट्वान्टीफोर न्युज’ का प्रमुख अली वाक्डले भने, “वास्तवमा यो युद्ध चाहिएको छैन; धेरै युवा पुस्ताले मन पराएका छैनन् । तर, हाम्रो सरकारमा केही यस्ता मानिस छन् जो युद्ध भइरहोस् भन्ने चाहन्छन् ।” इजरायली दूतावासकी नियोग उपप्रमुख जानन बिबरले आक्रमणमा निर्दाेष कोही नपरून् भने । तर, प्यालेस्टिनमा निधन भएका मानिसहरू निर्दाेष नै छन् । अस्पताल, विद्यालय, सरकारी भवन र राहत मागिरहेका सबै के आतङ्ककारी हुन् ? हाल भइरहेको आक्रमणले के प्यालेस्टिनी जनताको सुरक्षा भइरहेको हो ? प्यालेस्टिनी जनताको दिन दहाडै हत्या गरेर, खरानी पारेर कसरी जनताको सुरक्षा हुन्छ ? यो निर्दयी, अत्याचारी शासकहरूको बकबक मात्र हो । इजरायली सुरक्षा बलले प्यालेस्टिनी सहर कब्जा गर्ने फुकेको छ । इजरायली सरकारले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, पत्रकार, शिक्षक, डाक्टर कसैलाई बाँकी राखेको छैन । इजरायली आक्रमण निर्दाेष जनताप्रति लक्षित छैन भन्ने कुरा भ्रम हो । अहिले झन्डै ७० हजार सर्वसाधारण जनताको मृत्यु भइसकेको छ । प्यालेस्टिनी जनताको बाँच्ने, सुरक्षित हुने अधिकार लुटिएको छ । मानव अधिकार उल्लङ्घन गरिएको छ । घर सबै ध्वस्त भएका छन् । जनता टहरामा रात दिन बिताउन बाध्य छन् । टहरामा पनि बम विस्फोट हुन्छ । यो अकर्मण्यताको हदको दोषी संयुक्त राज्य अमेरिकी र इजरायली सरकार नै हुन् । उनीहरू कारबाहीमा पर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *