आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
सन्दर्भ : फिडेल क्यास्ट्रो जन्म दिवस (अगस्ट १३)
सन् १९२६ अगस्ट १३ का दिन क्युवाली जनताका नेता राष्ट्रपति फिडेल क्यास्ट्रोको जन्म क्युवाको पूर्वी क्षेत्रमा अवस्थित मिअरीमा भएको थियो । सान्टियागो (Santiago) बाट मिअरी ५० माइल उत्तरमा पर्छ । मिअरी चिनी र रक्सी उत्पादन हुने प्रमुख क्षेत्र हो । यसैगरी, त्यो क्षेत्र क्युवाली अर्थव्यवस्थाको मेरुदण्डको रूपमा थियो । त्यो क्षेत्र क्युवाली प्रजातन्त्रवादी र क्रान्तिकारीहरूको आधार इलाका पनि थियो ।
२० औँ शताब्दीको प्रारम्भमा फिडेल क्यास्ट्रोका बुबा एन्डोल क्यास्ट्रो स्पेनको गालिसिया (Galisia) बाट क्युवामा बसाइँ सरेका थिए । रित्तो हात क्युवा पुगेर मिअरीमा उनले कठोर परिश्रम गरी उखु खेतीबाट आफ्नो परिवारको गाँसबासको व्यवस्था गरे ।
सन् १९३४ मा आठ वर्षका फिडेल क्यास्ट्रोले सान्टियागोको एउटा क्याथोलिक बोर्डिङ स्कूलमा आफ्नो प्रारम्भिक शिक्षा सुरु गरे । उक्त विद्यालय क्रिश्चियन धर्मावलम्बीहरूले चलाएका थिए । फिडेल क्यास्ट्रो बाल्यकालदेखि नै अति मेहनती, सुरो, अध्ययनशील, संवेदनशील र प्रतिभाशाली थिए । क्युवाली देशभक्त क्रान्तिकारीहरूको स्वतन्त्रता आन्दोलन, विद्रोह र सशस्त्र सङ्घर्षहरूबाट फिडेल क्यास्ट्रोको संवेदनशील मन–मस्तिष्क छिट्टै प्रभावित भयो । २० वर्षको उमेरसम्म सान्टियागोमा युवा क्यास्ट्रोले क्याथोलिक विद्यालय र कलेजमा अध्ययन गरे । विद्यालय र कलेज जीवनमा उनले क्युवालगायत सम्पूर्ण दक्षिण अमेरिकाको भूगोल, इतिहास, विविध पक्षको गहिरो र व्यापक ज्ञान हासिल गरे । यसैबिच उनी गुप्तरूपले क्रान्तिकारी गतिविधिमा सक्रिय भए । उनी महान् क्रान्तिकारी कवि एवम् देशभक्त नेता होसे मार्टिबाट निकै आकर्षित र प्रभावित भए । उनको प्रेरणाको स्रोत होसे मार्टि थिए । स्नातक गर्न उनी हवानास्थित बेलेन कलेज (Belen College) मा भर्ना भए । त्यहाँ उनी आफ्नो विद्यार्थी सङ्गठनका सहयोद्धाहरूको साथमा साङ्गठनिक गतिविधिका साथसाथै गुप्तरूपले ल्याइएका माक्र्स–एङ्गेल्स, लेनिन र स्तालिनका रचना र अन्य प्रगतिशील साहित्यहरूको रातारात अध्ययन गरी त्यस विषयमा गम्भीर छलफलमा लागे । अर्कोतिर उनी कलेजको पढाइमा पनि ध्यान दिन्थे । कलेजका प्राध्यापकहरू रातदिन अध्ययन गर्ने उनको क्षमता र छिटो बुने असाधारण प्रतिभा र तीखो संस्मरण शक्ति, कहिल्यै नडग्ने साहस र विशेषगरी इतिहासमा उनको गहिरो र व्यापक ज्ञानबाट निकै प्रभावित थिए । तर, कति प्राध्यापक त उनको क्रान्तिकारी सङ्गठनात्मक गतिविधि र माक्र्सवाद–लेनिनवाद तथा प्रगतिशील साहित्यको असाधारण अध्ययनको विषयमा अनभिज्ञ थिए । सन् १९४७ मा २१ वर्षको उमेरमा उनी बेलेन कलेजबाट स्नातक भए । त्यसबेला कलेजका प्रिन्सिपल फादर अमान्दो लोभेन्टे (Father Amando Lovente) ले उनलाई भने, “तिमी वीरहरूको माझबाट उदय भएका वीर हौ । तिम्रो एउटा सालिक कुँदिने छ र तिम्रो देशको इतिहासले तिम्रो नाम लिनेछ ।” त्यसपछि उनी हवाना विश्वविद्यालयमा भर्ना भए । त्यहाँ संयुक्त राज्य अमेरिकाको कठपुतली सरकारको चर्को दमन थियो । प्रतिक्रियावादी प्रहरीहरू जो कसैलाई कुनै पनि बेला मार्न सक्थे । फिडेल क्यास्ट्रो र उनका साथीहरूले आफ्नो रक्षाको निम्ति आफ्ना सशस्त्र लडाकु कार्यकर्ताहरूको पहरामा हवाना विश्वविद्यालयमा गुप्त अध्ययन र गतिविधिहरूलाई निरन्तरता दिँदै गए । तिनीहरूको प्रभाव क्युवाको सीमाभन्दा बाहिर क्यारेवियाली क्षेत्र हुँदै दक्षिण अमेरिकातर्फ फैलिरहेको थियो । त्यसबेला हवाना विश्वविद्यालयमा क्रान्तिकारी विद्यार्थीहरूको पहिलो प्राथमिकता भन्नु आत्मसुरक्षा थियो । हवाना विश्वविद्यालयलाई क्रान्तिको केन्द्रबिन्दुको रूपमा उपयोग गरियो । संरा अमेरिकाको उपनिवेशबाट मुक्त हुनु क्युवालगायत सम्पूर्ण क्यारेवियाली क्षेत्र र दक्षिण अमेरिकी देशहरू सबैको साझा लक्ष्य थियो । डोमिनिकन गणतन्त्रको तानाशाही क्यारेवियाली क्षेत्रको सबैभन्दा क्रूर तानाशाह थियो । फिडेल क्यास्ट्रो र साथीहरूले सैनिक गतिविधि डोमिनिकन भूमिमा गर्ने निर्णय गरे । उक्त निर्णयअनुसार सशस्त्र दल डोमिनिकन गणतन्त्रतर्फ लाग्न एउटा जहाजको आवश्यकता थियो । त्यसको लागि अनेकन दुःख गरेर जोगाई राखेको पैसाबाट एउटा जहाज खरिद गरियो । फिडेल क्यास्ट्रोको नेतृत्वमा सशस्त्र दल क्युवाको पूर्वी समुद्री तटबाट त्यस जहाजमा बसी डोमिनिकन गणराज्यतर्फ जाने तयारी गरियो । क्युवाली सरकारका जासुसहरूले यसको खबर सम्बन्धित ठाउँमा पु¥याइदिए । क्यास्ट्रो र क्यारेवियाली क्षेत्रका सशस्त्र क्रान्तिकारीहरू रहेको जहाज सागरलाई चिर्दै अघि बढिरहेको थियो । एकाएक प्रतिक्रियावादी क्युवाली लडाकु जहाजहरूले फिडेल क्यास्ट्रोको जहाजमाथि गोलाबारी सुरु गरेपछि उक्त जहाज डुब्यो । फिडेल क्यास्ट्रो तीन माइलसम्म पौडी खेल्दै किनारामा पुग्न सफल भए । त्यहाँबाट उनी हवाना फर्की हवाना विश्वविद्यालयमा कानुनमा स्नातक गर्न भर्ना भए । केही वर्षपछि उनले कानुनमा स्नातक भई अधिवक्ता बने । उनले क्युवाको जेलमा परेका राजनैतिक कैदीहरूको पक्षमा मुद्दा लड्न सुरु गरे । उनको सशक्त र धाराप्रवाह बहसको प्रशंसा क्युवाभित्र र बाहिर चारैतिर फैलियो ।
सन् १९५२ मार्च १० को दिन अमेरिकी साम्राज्यवादीहरूको इसारामा फुल्जैनसिओ बातिस्ता (Fulgencio Batista) को नेतृत्वमा अर्को सैनिक विद्रोह भयो र क्युवाको सत्ता बातिस्ताको हातमा गयो । बातिस्तालाई सत्तामा ल्याउनुको प्रमुख लक्ष्य सैनिक विद्रोहभन्दा अघिको प्रजातान्त्रिक सरकारको अवशेषलाई जरैदेखि उखेल्नु थियो । क्युवाका नवउदीयमान युवा व्यक्तित्व फिडेल क्यास्ट्रोले बातिस्ताविरुद्ध उम्मेदवारी दिए । बातिस्ताले क्यास्ट्रोको उम्मेदवारीलाई जबरजस्ती खारेज गर्न लगाएर तानाशाही रूप देखाए । कानुनी सङ्घर्षको उपाय नभएपछि सशस्त्र सङ्घर्षलाई चर्काउन हातहतियार खरिद गर्न क्यास्ट्रो र क्यास्ट्रोका भाइ राउल क्यास्ट्रो (Raul Castro) ले आफ्नो सम्पत्ति बेचे । दुई दाजुभाइ मिलेर अनेक कष्ट गर्दै २० हजार डलर जम्मा गरी हातहतियार, सैनिक पोशाक र खरखजानाको बन्दोबस्त गरे । युवा क्रान्तिकारी सैन्य जवानहरूमा तातो रगत उम्लिरहेको थियो । तिनीहरू तानाशाही बातिस्ताविरुद्ध फौजी कारबाही गर्न हतारिएका थिए । १५० जवानको सशस्त्र दल तयार भयो । त्यस सशस्त्र दलको कमान्डर फिडेल क्यास्ट्रो भए । हुन त बातिस्ताको फौजको अगाडि क्यास्ट्रोको त्यो सानो फौज केही पनि थिएन । बातिस्ताको हजारौँ हजार सैन्य जवान त्यसबेलाको अत्याधुनिक शस्त्रअस्त्रबाट सुसज्जित थिए । अर्कोतिर बातिस्ताको सरकारलाई महाशक्ति संरा अमेरिकी सरकारको पूर्ण समर्थन थियो । क्रान्तिकारी सेनाहरूको साहस र जोश तुलना गर्न नसकिने गरी उँचो थियो ।
तानाशाह बातिस्ताको दमन र अत्याचार पराकाष्ठामा पुग्दै थियो । हजारौँ हजार निरीह र निर्दोष नागरिकहरूको निर्मम हत्या भइसकेको थियो । शक्तिशाली बातिस्ताको सैन्य शक्तिसामु क्युवामा चुनौती दिनसक्ने अरू कुनै शक्ति अस्तित्वमा थिएन । तसर्थ, फिडेल क्यास्ट्रोलाई प्रतिक्रियावादी सैन्य शक्तिलाई चुनौती दिनसक्ने क्रान्तिकारी सैनिक शक्ति विद्यमान रहेको यथार्थ देखाउनु थियो र व्यापक जनतामा क्रान्तिकारी जनसेनाको पक्षमा नयाँ जोश र उत्साह सञ्चार गर्नु थियो । १९५३ जुलाई २६ को राति फिडेल क्यास्ट्रोको नेतृत्वमा १६ वटा गाडीमा बसेर १५० जवानको सशस्त्र सैनिक दल सान्टियागोस्थित बातिस्ताको किल्लातर्फ बढ्यो र शत्रु फौजसँग बिच बाटोमै जम्काभेट भयो । फिडेल क्यास्ट्रोले आफ्नो बन्दुक पड्काए । त्यो नै क्युवाको नयाँ क्रान्तिको बन्दुकको पहिलो हाँक र पड्काइ थियो । दुर्भाग्यको कुरो, दोहोरो भिडन्तमा ६० भन्दा बढी क्रान्तिकारी सैन्य जवानहरूले वीरगति प्राप्त गरे भने फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोलगायत बाँकी सबै पक्राउ परे ।
क्यास्ट्रो विजयको बाटोतिर
सन् १९५५ सम्ममा बातिस्ताले १९५२–५३ को तुलनामा आफ्नो सैन्य बललाई धेरै गुणा सुदृढ पायो र संरा अमेरिकाबाट यथेष्ट हातहतियार झिकाइयो । विरोधीहरूलाई दबाइसकेपछि उसले दक्षिण अमेरिकाका विभिन्न देशहरूका कुख्यात तानाशाहहरूसँग राम्रो सम्बन्ध कायम ग¥यो । आफू र आफ्नो सरकारलाई चारैतिरबाट सुरक्षित महसुस भएपछि बातिस्ताले आफूलाई उदार देखाउन सन् १९५५ मा आममाफीको घोषणा ग¥यो । फिडेल क्यास्ट्रो रिहा भए । त्यसपछि उनी बातिस्ताले बनाएको छेकवारलाई निकै कष्ट झेलेर मेक्सिकोतर्फ लागे । त्यसबेला मेक्सिको विभिन्न ल्याटिन अमेरिकी देशहरूका क्रान्तिकारीहरूको जमघट हुने उपयुक्त भूमि थियो । त्यहाँ फिडेल क्यास्ट्रोले दक्षिण अमेरिकी क्रान्तिकारीहरूसँग भेटघाट गरी अमेरिकी साम्राज्यवादविरोधी साझा सङ्घर्ष र रणनीतिको विषयमा गम्भीर छलफल गरे । ती क्रान्तिकारीहरूमा एकजना महान अन्तर्राष्ट्रिवादी क्रान्तिकारी युवा नेता चे ग्वेभारा थिए । राउल क्यास्ट्रोले चे ग्वेभारा र अन्य क्रान्तिकारीहरूलाई आफूहरूको सैन्य दलमा सामेल गराए ।
सन् १९५६ मा फिडेल क्यास्ट्रो टेक्सासको मेकएलेन नजिकको रिओ ग्रान्डे (Rio Grande near Mcallen, Texas) पुगे । त्यहाँ धेरै क्रान्तिकारी क्युवालीहरूसँग उनको भेट भयो । उनले तानाशाह बातिस्ताद्वारा अपदस्थ गरिएका पूर्वराष्ट्रपति कार्लोस प्रिओ सोकारस (Carlos Prio Socarras) सँग पनि आत्मीय भेट गरे । भेटमा भावविह्वल भई पूर्वराष्ट्रपतिले क्यास्ट्रोलाई भने, “अहिले मेरासामु वीरहरूको खम्बा उभिएको छ ।” त्यहाँबाट क्यास्ट्रो मेक्सिको सहर (Mexico City) फर्के । मेक्सिको सहरमा उनको कर्णेल अल्बर्टो बायो (Colonel Alberto Bayo) सँग चिनापर्ची भयो । केही दिनपछि नै उनी र क्यास्ट्रोबिच निकै घनिष्ठता बढ्यो । फ्रान्कोको फासीवादविरुद्ध स्पेनियाली युद्धमा अल्बर्टो बायोले सेनाध्यक्ष भई स्पेनियाली सेनाको नेतृत्व गरेका थिए । त्यस युद्धमा उनी सुविख्यात सेनाध्यक्षका रूपमा परिचित भए । एक महान् सेनाध्यक्ष मेक्सिकोको राजनैतिक निर्वासनमा एक सिकर्मी भई जीवन गुजारा गर्दै थिए । क्यास्ट्रोले उनलाई अमेरिकी साम्राज्यवादविरोधी देशभक्त क्युवाली क्रान्तिकारी मुक्तिसेनालाई सैनिक तालिम प्रदान गर्न अनुरोध गरे ।
स्पेनको फासीवादी तानाशाह फ्रान्कोविरुद्ध स्पेनको गृहयुद्धमा सेनाध्यक्ष भई सहयोग गरेका कर्णेल अल्बर्टो बायोले क्यास्ट्रोको आग्रहलाई सहर्ष स्वीकार गरे । त्यसपछि उनले आफ्नो काठको सामग्री बनाउने कारखाना बेचे र मेक्सिकोको भूमिमा क्युवाली क्रान्तिकारी सेनालाई तालिम दिन थाले । तालिमको सिलसिलामा ‘हान र फर्क’ जस्ता गुरिल्ला लडाइँका तौरतरिका सिकाउँदा आँधीबेहरीभै हुरिँदै सशस्त्र हमला गरी कब्जा जमाउन चाहने क्युवाली विद्रोही सैन्य जवानहरू ‘अधैर्य भई यस्तो लडाइँमा कायरतापूर्ण हमला गर्नुपर्ने र ढिलो हुने’ भनी उनीसँग चर्काचर्की बहस गर्थे । उनी भावुक एवम् जोशिला युवकहरूलाई थोरै सेना र कम हतियारको फौजलाई अत्याधुनिक हातहतियारबाट सुसज्जित र तालिम प्राप्त ठुलो फौजसँग हाकाहाकी आमने–सामने लड्न सकिँदैन भनी सम्झाउने गर्थे । तालिम अत्यन्त कठोर र कष्टप्रद थियो । क्रान्तिकारी क्युवाली जवानहरूले एक दिनमा १५–१६ घण्टासम्म डाँडाकाँडा, भीरपाखा, जङ्गल, मैदानमा हिँड्ने तरिकाहरू सिके । त्यसैगरी, तिनीहरूले खरखजानामा के कसरी मितव्ययिता अपनाउने र थोरै खानाको भरमा कसरी जिउने आदि धेरै कुराहरू सिके । तिनीहरूले नजिकै आफ्नो वरपर सजिलै पाउन सकिने खेर गएका वस्तुहरूबाट गोला, बारुद, बमजस्ता विस्फोटक हतियार निर्माण गर्न सिके । यी रणकौशलबाहेक अन्तिम विजयको निम्ति जनताको माझ गई सुदृढ जनाधार खडा गर्ने जनताको असीम माया र सहयोग प्राप्त गर्नुपर्ने र उनीहरूकै सुरक्षामा बस्नुपर्ने मूलमन्त्र पनि सिके । स्वदेश फर्केपछि सैनिक जवानहरूमा सामाजिक नैतिक मूल्य–मान्यतामा अडिग भएर बस्ने र कठोर अनुशासनमा रहनुपर्ने कुरामा अल्बर्टो बायोले निकै जोड दिए । क्यास्ट्रो र अर्जेन्टिनी क्रान्तिकारी तथा डाक्टर अर्नेस्टो चे ग्वेभाराबिच रातदिन छलफल र वादविवाद हुन्थ्यो । अन्तमा उनीहरू साझा निचोडमा पुग्थे ।
केही महिनाको अत्यन्त कष्टप्रद सैनिक तालिम सकिएपछि फिडेल क्यास्ट्रो र साथीहरू क्युवा प्रस्थानको तयारीमा जुटे । सन् १९५६ नोभेम्बर २६ को दिन ‘ग्रान्मा’ नाम जहाजमा बसी ८० जवान सशस्त्र देशभक्त योद्धाहरूको नेतृत्व गर्दै क्यास्ट्रो मेक्सिकोबाट क्युवातर्फ प्रस्थान गरे । सात दिनपछि डिसेम्बर २ को दिन सशस्त्र क्रान्तिकारी दल क्युवाको पूर्वी इलाकाको समुद्री तटमा पुग्यो । दुर्भाग्यको कुरा, बातिस्ताको पहिलो रेजिमेन्ट लुकेर फिडेल क्यास्ट्रो र साथीहरूलाई प्रहार गर्न पर्खिरहेको थियो । असी जवान क्रान्तिकारी योद्धाहरूले अत्याधुनिक शस्त्र–अस्त्र भिरेका सयौँका सयौँ प्रतिक्रान्तिकारी शत्रु सेनासँग भिड्नुप¥यो । ६८ जना योद्धाहरूले त्यहीँ नै शहादत प्राप्त गरे । १२ जवान बाँच्नेहरूमा फिडेल क्यास्ट्रो, राउल क्यास्ट्रो र चे ग्वेभारा पनि थिए । क्यास्ट्रोको नेतृत्वमा १२ जवानको सशस्त्र दल अनेक कष्ट झेल्दै २० दिनको लामो हिँडाइपछि सिएरा माइस्त्रा (Sierra Maestara) पुगे । सिएरा माइस्त्रा क्युवाको पूर्वी इलाकामा अवस्थित छ । घना जङ्गल, अग्लो भिरालो चट्टान भएको सिएरा माइस्त्रा निकै विकट, निर्जन र दुर्गम स्थान थियो । बातिस्ताको फौजले फिडेल क्यास्ट्रोलाई निकै खोजतलास त गरेको थियो । तर, क्रान्तिकारी सशस्त्र दल कुन बाटोबाट कता गएको थियो, त्यसको सुइँको शत्रु सेनाहरूले पाउन सकेनन् ।
‘फिडेल क्यास्ट्रो, क्युवा र क्युवाली समाजवाद’ बाट
Leave a Reply