भर्खरै :

कम्युनिस्ट पार्टीले वर्गीय राजनीति गर्छ

कम्युनिस्ट पार्टीले वर्गीय राजनीति गर्छ

वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै वर्गको सदस्य भएकै हुन्छ । कुनै सदस्य प्रत्यक्षरूपमै क्रियाशील या सक्रिय हुन्छ भने कुनै अप्रत्यक्ष रूपमा संलग्न रहेको हुन्छ । कुनै सदस्य खुला रूपमा लागेको हुन्छ भने कुनै गोप्य रूपमा कार्यरत रहेको हुन्छ । यसरी हरेक राजनीतिक दलले कुनै न कुनै वर्गको सेवा गरेकै हुन्छ । कुनै दलले सामन्त, जमिनदार, पुँजीपतिवर्गको प्रतिनिधित्व गरेको हुन्छ भने कुनै दलले देशका बहुमत जनता मजदुर, किसानको प्रतिनिधित्व गरेको हुन्छ । कुनै दलले जातीय राजनीति गरिरहेको हुन्छ भने कुनै दलले क्षेत्रीय राजनीति गरिरहेको हुन्छ । कुनै दलले हालको पुँजीवादी व्यवस्थालाई कायम राख्न काम गरिरहेको हुन्छ भने कुनै दलले पुँजीवादी व्यवस्थाले बहुमत जनताको सेवा नगर्ने हुँदा समाजवादी व्यवस्थाको निम्ति जनतालाई सचेत र सङ्गठित गरिरहेको हुन्छ । देशमा मजदुर किसानको मत लिएर मजदुर किसानकै अहितमा काम गरिरहेको हुन्छ । श्रमजीवी जनताको मत लिएर श्रमजीवी वर्गमाथि नै शोषण, दमन, अन्याय, अत्याचार गर्नु निन्दनीय छ । व्यापक जनता राजनीतिकरूपले सचेत र मत लिएर सङ्गठित नहँुदा आफूमाथि थिचोमिचो गर्ने दलका मान्छेलाई नै जनताले जिताइरहेका छन् । अतः जनता सचेत हुनुपर्छ ।
पुँजीवादी व्यवस्था पल्टाउनु छ भने सङ्घर्ष नगरी सम्भव छैन । त्यो भनेको क्रान्ति हो । क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना क्रान्ति सम्भव छैन । यसको लागि राजनीतिक दलहरू जनताबिच भिज्नुपर्छ† जनताको विश्वास जित्नुपर्छ । जनताको विश्वास जित्न जनताको सेवा गर्नुपर्छ । तर, सरकारको नेतृत्व गर्ने राजनीतिक दलले बहुमत जनताको सेवा हुने खालको काम गरेको छैन । सरकारमा पुगेका कम्युनिस्ट भनिने दलले पनि बहुमत जनताको सेवा गरिरहेको छैन । हरेक कम्युनिस्ट पार्टी माक्र्सवाद लेनिनवादको सिद्धान्त र विचारमा आत्मसात गरेर अघि बढ्नुपर्छ । कम्युनिस्ट पार्टीले वर्गसङ्घर्षको बाटो छोड्नु हुँदैन । वर्गसङ्घर्षको बाटो छोड्ने दल कम्युनिस्ट हुनेछैन । देश, काल र परिस्थिति तयार नहुँदै क्रान्ति सफल हुनेछैन । वर्गसङ्घर्षले मात्रै आमूल परिवर्तन गर्नसक्छ । क्रान्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउञ्जेल कुनै राजनीतिक दलले क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजानु सम्भव छैन ।
विडम्बना ! नेपालका सत्ता प्यारो ठान्ने कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाभित्रै रहेर समाजवादी क्रान्ति गर्ने या आमूल परिवर्तन गर्ने सपना बाँड्छन् । पुँजीवादी व्यवस्थाभित्र रहेर, पुँजीवादी व्यवस्थाको ऐन कानुन मानेर देशमा कसरी आमूल परिवर्तन हुन्छ ? ‘कम्युनिस्ट’ पार्टीकै नेतृत्वमा पटक पटक सरकारको नेतृत्व भए पनि कुनै मौलिक परिवर्तन गर्न नसक्नुको कारण पुँजीवादी व्यवस्थालाई आत्मसात गर्नु हो । आफ्नो दलको मार्ग निर्देशक माक्र्सवाद–लेनिनवाद हो भने त्यही सिद्धान्तमा अडिग रहेर राजनीति गर्नुपर्छ । माक्र्सवाद र लेनिनवादलाई बन्धक राखेर या सिद्धान्त छोडेर कुनै दलले राजनीति गर्छ भने त्यो कम्युनिस्ट हुनेछैन । कुनै दल पुँजीवादी व्यवस्थामा अल्झेर, पुँजीवादी बाटोमा लागेर देशमा आमूल परिवर्तन सम्भव छैन । कुनै दलले त्यो आश्वासन बाँड्छ भने त्यो दिवास्वप्न मात्र हुन्छ । मुख्य कुरा सिद्धान्त र विचार हो† सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नु हो । सिद्धान्त र विचार देखाउनको लागि होइन; लागु गर्नको निम्ति हो ।
कुनै दलले काम गर्दा नीतिलाई आधार मानेको हुन्छ । दलको नीतिअनुसार काम गरिएको छैन भने आफ्नो उद्देश्य फत्ते हुनेछैन । नेपालका कति राजनीतिक दलले दलको उद्देश्यअनुसार काम गरिरहेको पाइँदैन । सिद्धान्त र विचारलाई छायामा राखेर सत्तामुखी राजनीतिमा अभ्यस्त भएकैले दलहरूप्रति जनताको असन्तोष बढ्दै गएको हो । वर्गहरू सङ्घर्ष गर्छन् । हजारौँ वर्षको इतिहास यस्तै छ । यस दृष्टिबाट इतिहासको व्याख्या गर्नु ऐतिहासिक भौतिकवाद हो । क्रान्तिकारी पार्टी भनेको जनताको पथ प्रदर्शक हो । क्रान्तिकारी पार्टी नाउँ मात्रको हुनु हुँदैन । क्रान्तिकारी पार्टीले गलत बाटो लियो भने क्रान्ति सफल हुनेछैन । गलत बाटोमा जानु जनतालाई धोका दिनु हो । माओवादी पार्टीले क्रान्तिको बाटो छोड्नु जनतालाई धोका दिनु हो । धोका दिने पार्टीलाई जनताले चिन्नुपर्छ । छिनछिनमा बोली वचन फेर्ने दल र दलका नेताहरूलाई चिन्नुपर्छ । अतः जनता नै चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *