भर्खरै :

के साँच्चै शासक दलहरूले सिक्ने होलान् ?

के साँच्चै शासक दलहरूले सिक्ने होलान् ?

कहिलेकाहीँ जिल्ला जिल्लाबाट राजधानी पुगेका राजनैतिक कार्यकर्ताहरू आपसमा आफ्नै जिल्लाका जालीफटाहा, गुण्डा र नकारात्मक व्यक्तिहरू दुई चार वर्षमै ठुलठुला घर बनाएर आ–आफ्ना छोराछोरीहरूलाई महँगा निजी विद्यालय र कलेजमा पढाइरहेको देख्दा डाहा भएर आफ्ना दलका नेता, प्रम, मन्त्रीहरू र अन्य ठुला ठुला पदका व्यक्तिहरूलाई गुनासा पोख्छन्– “प्रजातन्त्र फक्र्याे, गणतन्त्र स्थापना भयो भनी गाउँ र जिल्लाका जनसभाहरूमा ठुला ठुला स्वरमा शोषकहरू, देशद्रोही र जनताद्रोहीहरू हतकडी र नेल लगाई कारागारमा सड्नेछन् भन्नुहुन्थ्यो । तपाईँहरूको भाषणबाट हामी जनता उत्साहित हुन्थ्यौँ । तर, काठमाडौँको परिस्थिति त पहिलेभन्दा खराब र राजधानी प्रतिक्रियावादीहरूको गढको रूपमा पो देख्दै छौँ । हामीले बुझिरहेका छैनौँ – प्रतिगामीहरूको जुलुसमा पनि हजारौँ सङ्ख्यामा आफ्नै पुरानो व्यवस्थामा झैँ फूर्ति देखाउँदै छन्, यो के हो ?”
प्रजातन्त्र, गणतन्त्र, प्रतिगमन र प्रतिक्रियावाद शब्दको ठीक ठीक अर्थ नबुझेका र निर्वाचनमा गाउँका गरिब जनतालाई खाममा रुपैयाँ, घर घरमा फरिया–चोलो, तराईमा ग्यास सिलिन्डर, माछा र मासुका पोकाहरू उपहार दिएर सङ्घीय सांसद, प्रदेश सांसद र मेयर जितेका नेताहरू कानुनभित्र बसेर निश्चित फारामअनुसार खर्च गर्नुपर्ने हुन्छ । तर, नीति नियम थाहै नपाई ती ‘जनप्रतिनिधि’ हरू मनपरी खर्च गर्छन्; अति भएपछि कर्मचारीहरूको अगाडि लाज मर्नु भइरहेको छ पार्टीलाई !
नेता र मन्त्रीहरूका भनाइको आशय बुझेर विश्वविद्यालय पढेका कार्यकर्ताहरूले तत्काल उत्तर फर्काए, ‘के गरौँ, नेताजी र मन्त्रीले जे सिकाउनुभयो त्यही त्यही ग¥यौँ हामीले । स्कूल, कलेज र विश्वविद्यालयमा नक्कल गराएर पास गराउनु अनि ती सबै छात्रछात्राहरूलाई हाम्रो छात्र सङ्घ र युवा सङ्गठनमा ल्याउनु भन्नुभयो; हामीले त्यसै ग¥यौँ । यसमा हाम्रो के दोष ? स्कूल, कलेज र विश्वविद्यालयमा हडताल गर्नु, ताला लगाउनु, कर्मचारी र पदाधिकारी प्राध्यापकहरू बढ्ता भएमा भवनहरूमा आगो लगाउनु, मेच, टेबुल र दराज अनि जाँचका कापीहरूमा आगो लगाउनु भन्नुभयो, हामीले त्यही ग¥यौँ । यसमा हाम्रो के दोष ?’
मन्त्री र नेताहरूको उत्तरबाट चित्त नबुझ्ने छात्रछात्रा र युवाहरू प्रधानमन्त्रीको मुखारवृन्दबाट शीतल कुरा सुनेर पोलेको छाती आराम हुने सोचेका थिए । तर, प्रधानमन्त्री त के रिस कहाँ पोखौँ भन्ने लागेर होला अचानक पड्के –‘के बढ्ता बोल्दै छौ तिमीहरू, २–४ दिन दुःख भयो भनी के के न बलिदान ग¥र्यौ र त्याग र तपस्या ग¥यौ भनी कराएको कराएकै गर्दै छौ ¤ २–४ दिन प्रहरी हिरासतमा बस्यो, प्रहरीको २–४ लट्ठी र मुक्का खानासाथ ठुलठुला लडाइँ जितेजस्तो गर्छाै बाबा ! प्रहरी अफिसरहरू भन्थे– “हाम्रा छात्रछात्राहरू न राम्रो भाषण दिन सिपालु छन् न त अडान लिन जानेका छन्, प्रहरीले आपसमा लट्ठी जुधाउनासाथै मुसा दुलो पसेजस्तै क्लासमा भागेर ढोका थुन्छन्, तुरुन्तै गृहमन्त्रालय र पार्टी केन्द्रीय कार्यालयमा फोन गरेर फासीवादी प्रहरी अत्याचारको कथा बनाउँछन् ।” तिमीहरूले सम्झेका होला –जाँचमा निरीक्षक सबैले तिमीहरूलाई परीक्षा हलमै प्रश्नको उत्तर लेखाई दिनुपर्ने ? हडतालमा प्रहरीले नै ढुङ्गामुढा
गर्नुपर्ने ?
एक जना आक्रोशित युवाले जुरुक्क उठेर मुड्की उठाएर बिना कुनै उचित सम्बोधन प्रधानमन्त्रीप्रति नै लक्षित गर्दै भने, “सबै हामी युवाहरूले गर्नुपर्ने भए हाम्रो दलको सरकारको के अर्थ भयो ?”
आक्रोशित युवाको आशय र आफ्नो दलको साङ्गठनिक शैली र राजनैतिक प्रशिक्षणको अभाव र दोषको अनुभव गर्दै प्रमले आफ्नो केन्द्रीय स्तरका नेताहरू र मन्त्रीहरूतिर लक्षित गर्दै भने, “आज हामीले हाम्रा युवाहरूबाट जे अभिव्यक्ति सुन्यौँ; त्यसैबाट हाम्रा आफ्ना कमी कमजोरी र गल्तीबाट सिकेनौँ भने अर्काे निर्वाचनमा हाम्रो दलले आजको स्थितिभन्दा ठुलो मूल्य चुकाउनुपर्नेछ र हाम्रा शत्रुहरू र राजनैतिक प्रतिद्वन्द्वीहरूको सामुन्ने लज्जित हुनुपर्नेछ ।”
एक जना शासक दलका माथिल्लो नेताले प्रमलाई सम्बोधन गर्दै भने, “प्रमजीको आशय र हाम्रा युवा साथीहरूको दुवै आशयलाई बुझेर हामीले आजदेखि राज्य सत्ताको घमण्ड र मातबाट पर बसेर देश र जनताको सेवामा लाग्नेछौँ र युवा साथीहरूलाई पनि राम्रोसँग अध्ययन गर्न र आफ्नै खुट्टामा उभिएर विदेशमा सयर गर्ने इच्छालाई थाती राखी आफ्नो स्कूल, कलेज र विश्वविद्यालयमा अध्ययन गर्ने प्रण गरौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *