भर्खरै :

कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ

कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, ६ भदौ । “तकियामुनि सर्प राखेर सुत्दा कुनै पनि समयमा सर्पले डस्छ । ठीक त्यसरी नै कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले श्रमिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रममा शनिबार व्यक्त गर्नुभएको हो ।
“देश र जनताको निःस्वार्थ सेवामा लागेको नेमकिपाविरुद्ध पञ्चायती सरकारले भक्तपुर काण्डको षडयन्त्र ग¥यो । जोताहा किसानहरूको पक्ष लिएकोले पार्टीको प्रभाव बढ्ने डरबाट तर्सेर जनविरोधी पञ्चायती सरकार षड्यन्त्रमा लाग्यो । नेमकिपाका नेता कार्यकर्तालाई फाँसीको समेत माग गरेको पञ्चायती व्यवस्था जनआन्दोलनकै बलमा ढलेको हो । समाजमा दुई थरी मानिस हुन्छन्, एक थरी गुणको बदला गुण तिर्ने र अर्को थरी गुणको बदला बैगुनी बन्ने । भक्तपुरका केही पञ्चहरूले नेमकिपाको गुणलाई बैगुन गरेका थिए,” उहाँले अगाडि भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलका नेता कार्यकर्ताहरू नै सहकारीको बचत हिनामिनामा संलग्न भएका छन् । सहकारी संस्थामा भएको अनियमितताको विरोधमा २०२५–२६ सालमा भक्तपुरमा भएको विरोधको इतिहासबाट पार्टी कार्यकर्ताहरू सचेत हुनु जरुरी छ ।”
“सहकारी संस्थाले स्थानीय जनताको आर्थिक उन्नयनका लागि साना कुटीर उद्योग खोल्नु जरुरी छ । स–साना उद्योग, व्यवसायले स्थानीय जनताको रकम स्थानीयकै हातमा पुग्छ । कृषि उत्पादन बढाउन र पशुपालन व्यवसायमा पनि सहकारी संस्थाले लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले व्यक्तिगतभन्दा सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादी विचारलाई त्याग्नु कम्युनिस्ट कार्यकर्ताहरूको कर्तव्य भएकोले सहकारीका सदस्यहरू पनि सामूहिक स्वार्थमा लाग्नु जरुरी छ भन्नुभयो ।
श्रमिक बचत तथा ऋण सहकारी संस्थाको महिला तथा बालबालिका उत्थान उपसमितिका संयोजक रामलक्ष्मी गोसाईको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवां, संस्थाका अध्यक्ष कृष्णनारायण मचामसी, संस्थाका प्रबन्धक दिनेश ग्वाछा, सदस्य रोशन मचामसी, उपसमितिका सदस्यहरू ललिता गोसाई र गंगा मचामसीले जनताका नेता कार्यकर्ताहरूलाई दुःख दिनको लागि रचिएको भक्तपुर काण्डको विरोध गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *