गठन हुने सरकार देश र जनताप्रति जिम्मेवार हुनुपर्छ
- भाद्र २६, २०८२
कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरू देश र देशवासीको निम्ति लड्छन् । उनीहरू अरू देशमा भएको थिचोमिचो, आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्छन् । आफ्नो मातृभूमि जोगाउन आक्रमणकारीहरूविरूद्ध जुध्नैपर्छ । आफ्नो भूमि मिचे पनि, अतिक्रमण गरे पनि सरकार मौन रह्यो भने अरू देशले फेरि भूमि मिच्नेछ, अतिक्रमण गर्नेछ । नेपाल सरकार मौन रहेकै कारण भारतले नेपाली भूमि मिचेको हो; मिच्ने क्रम चालु रहेको हो । नेपाली भूमि कालापानीमा भारतीय सेना राखिराख्नु पनि नेपाल सरकारको कमजोरी हो । अहिले भारतले कालापानीलाई आफ्नै भूमि ठानेर भारतीय सेना राखेको छ; प्रशासनिक भवन बनाएर भारतीय सेना बस्दै छ । कालापानी नेपाली भूमि हो भन्ने सरकारले नेपाली भूमिमा भारतीय सेना किन भनी किन प्रश्न गर्न सकेन ? सरकारले आफ्नो देशको भूमि नै सुरक्षित गर्न सकेन या चाहेन । हामीले आक्रमण, हस्तक्षेप र दमनको विरोध गर्नुपर्छ ।
अमेरिकी साम्राज्यवादको विरोध गर्न प्रजग कोरिया, क्युवा, चीन, रूस र बोलिभियाको जनतामात्र होइन विश्वका जनता नै एकगठ हुनुपर्छ; विश्वका न्यायप्रेमी र देशभक्त जनताले साम्राज्यवादको विरोध गर्नुपर्छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनता एकगठ हुँदै छन् । अझ विश्वका सबै महादेशका जनता एक हुनुपर्छ । अमेरिकी आक्रमण, हस्तक्षेपविरूद्ध शान्तिप्रिय देशका जनता एकगठ हुनुपर्छ । अमेरिकी साम्राज्यवादको आक्रमण तथा युद्ध नीतिको विरोध नगरिएमा विश्वमा शान्ति कायम हुनेछैन । संसारका धेरै मुलुकमा अमेरिकाले सयौँ सैनिक अड्डा स्थापित गरेको छ† सेना तैनाथ गरेको छ । अमेरिकी साम्राज्यवादले गरेका सबै आक्रमणको विरोध गर्ने र त्यसविरूद्ध लड्ने संसारका जनताको अभिभारा हो । अहिले विश्वमा अमेरिकी साम्राज्यवादविरूद्ध विश्वका जनता एकगठ हुँदै छन् । साम्राज्यवादी अमेरिकाको विश्वभर आवाज उठ्नुको अर्थ अमेरिका एक्लिँदै जानु हो । अहिले संसारमा समाजवादका शक्ति साम्राज्यवादी शक्तिभन्दा बढी शक्तिशाली बन्दै छ । यो सकारात्मक पक्ष हो ।
युद्धकै विषयमा रूसका राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच शनिबार वार्ता भयो । वार्ता सफल नभएको जानकारी प्रकाशमा आयो । रूस र युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भएन । अमेरिकी राष्ट्रपति ट्रम्पलाई युक्रेनको मात्र किन चिन्ता ? प्यालेस्टिनमा युद्ध गर्न हौस्याउने, इजरायललाई सहयोग गर्ने अमेरिकी राष्टपति ट्रम्पलाई के रूस र युक्रेनमाझ मात्र युद्ध नभए हुन्छ ? इजरायल र प्यालेस्टिनको युद्ध रोक्नेबारे, युद्धमा प्यालेस्टिन क्षेत्रमा भएको क्षति आपूर्ति गर्नेतर्फ ट्रम्पले किन चासो राखेनन् ? प्यालेस्टिन कब्जा गर्न, त्यहाँका जनतालाई मार्न र विस्थापित गर्न अमेरिका किन सक्रिय ? अमेरिकी सरकार विश्वमा शान्ति चाहन्छ† विश्वका जनताको सुरक्षा चाहन्छ भने प्यालेस्टिनविरूद्धको आन्दोलन रोक्न अमेरिकाले इजरायललाई आग्रह गर्नुपर्छ । इजरायल सरकारले प्यालेस्टिनलाई ध्वस्त पार्न र प्यालेस्टिनी जनतालाई खरानी पार्न आक्रमणमलाई चालु राखेको छ । प्यालेस्टिनी जनताको सुरक्षा गर्न, प्यालेस्टिन देश कायम गर्न अमेरिकाको पहल खोइ ?
प्यालेस्टिन र इजरायलको युद्धबारे नेपाल सरकारले बोलेको छैन । युद्ध अन्त्य गर्न र क्षतिपूर्ति दिलाउने विषयमा सरकारले आफ्नो धारणा राख्नुपर्छ । नेपाल युद्धको पक्षमा छैन भने नेपाल सरकारले बोल्नुपर्छ । संरा सङ्घको भूमिका त अझ बढी हुन्छ । संरा सङ्घले आक्रामक देश इजरायललाई युद्धविराम गर्न अन्तिमेत्थम् दिनुपर्छ र क्षतिपूर्ति तिराउनुपर्छ । शक्तिसम्पन्न देशले या शक्तिशाली देशको सहयोगले स–साना देशमाथि आक्रमण गरेर ती देशहरूको स्वाधीनता, सार्वभौमिकतामा धावा बोल्नु हस्तक्षेप नै हो । यसरी नै आक्रमण गर्दै गएमा, आक्रमण गरेर ध्वस्त बनाएमा स–साना देशहरू संसारबाट लोप हुनेछन्; शक्तिशाली देशहरूको मात्र रजगज चल्नेछ । त्यसबेला संसारका देशहरूको संरचना के होला ? के यो संसार शक्तिशाली देशहरूको मात्र हो ? के सानो मुलुकको अस्तित्व छैन; साना मुलुकको जनताको जीवन सुरक्षा नभए पनि हुन्छ ? के न्याय, समानता र स्वतन्त्रता भन्ने कुरा ठुला देशको जनताको मात्र हुन्छ ? शक्तिशाली देशले त स–साना देशका जनताको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नुपर्छ, बचाउनुपर्छ । तर, त्यसको उल्टो शक्ति सम्पन्न देशले स–साना देशमा आक्रमण गर्ने, नरसंहार गर्ने, संरचना सबै ध्वस्त बनाएर हाहाकार बनाउने, सङ्कट निम्त्याउने काम गरिरहेको छ; जनताको जीवन सुरक्षित गर्नुको सट्टा ज्यान लिने काम गरिरहेको छ । यस्ता अत्याचारी, अमानवीय र क्रूर कार्यको विश्वले निन्दा गर्नुपर्छ† अत्याचारी र आक्रमणकारी देशको विश्वले एकै स्वरमा विरोध गर्नुपर्छ । आज प्यालेस्टिन र प्यालेस्टिनी जनतालाई खाने बाघले अरू देशमा पनि पसेर खान सक्छ । समयमै विचार गरौँ ।
Leave a Reply