आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
समाजमा प्रचलित ऐन–कानुन कुनै एकजना कर्मचारी, न्यायाधीश वा एकजना कानुन व्यवसायीको खेस्रा वा शासकहरूको घोषणाबाट हुने होइन । ‘हावा नआई पात हल्लिँदैन’ भनेजस्तै तत्कालीन समाजको आवश्यकताअनुसार नै ऐन–कानुन बनेका हुन्छन् । साधारणभन्दा साधारण घटनाले पनि समाजमा प्रभाव पारिरहेको हुन्छ । हरेक जात–जाति, भाषा–भाषी र देश–विदेशका समाज पनि विकासका विभिन्न चरण पार गर्दै सभ्य र सुसंस्कृत बनेका हुन् ।
विवाहको बेला एउटा गाउँ र अर्को गाउँबिच विभिन्न विषयलाई लिएर झगडा भएका उदाहरणहरू छन् । एउटा गाउँका केटाहरूले अर्को गाउँका केटीहरूलाई चोरेर, भगाएर वा बल प्रयोग गरेर लाने चलन अद्यापि छ । समाजको विकाससँगै एउटा गाउँ र अर्को गाउँका दुवै पक्षको सरसल्लाहबाट विवाह गर्ने प्रचलन सुरू भयो । सहमतिमै दुई गाउँ वा टोलको दुलही लिने र दिने प्रचलन पनि विद्यमान छ ।
नेवारहरूको छोरीलाई दुवै पक्षका मान्यजन र भलादमीहरू चौबाटोमा बसेर बातचित गरी बिदाइ गर्ने चलन अझै बाँकी छ । छोरी पक्षले नम्रतापूर्वक र करूणाप्लावित भाषामा भन्ने गर्छन्, “हाम्री छोरी सानै छिन् । मायाले पाले तपाईंहरूलाई धर्म लाग्नेछ, दुःख पाए पाप लाग्नेछ” आदि ।
केटा पक्षले पनि ‘आजदेखि यहाँहरूकी छोरी हाम्रै छोरी भइन् । अब हामी दुई परिवार एउटै भयौँ । यहाँहरूको फूलजस्ती छोरीलाई हामीले पनि फूलजस्तै स्याहार्ने छौँ । स्याहार सुसारमा कुनै किसिमको कमी आउन दिने छैनौँ । यहाँहरूको सुसंस्कृत छोरीको व्यवहारले हाम्रो घरमा पनि थप प्रकाश र सुगन्ध फैलिने छ भन्नेजस्ता शब्दहरू प्रयोग गरेर बिदा माग्छन् । छोरीचेलीलाई बिदाइ गर्दा केही दिन रुवावासी तथा अत्यन्त हृदयविदारक स्थिति माइतीमा रहन्छ । भन्ने चलन छ– ‘छोरी अन्माएको घरजस्तै सुनसान ।’
भारतको मिथिला क्षेत्रमा विवाह हुँदा टोलका सबै महिला भेला भएर जन्ती पक्षलाई गाली गर्ने चलन छ । यो समाज विकासको सिलसिलामा एउटा समूहका सबै केटाहरूले अर्को समूहलाई आक्रमण गर्न आएको परम्पराअनुसार ‘प्रतिकारको संस्कार हो । त्यस्तै एउटा गाउँ वा टोलको सम्धी आउँदा टोलका सबै महिलाले सम्धीलाई गाली गर्ने चलन पनि छ । त्यस्तै ज्वाइँलाई ‘चोर चोर’ भनेर लखेट्ने, ज्वाइँ भागेर ससुरालीमा लुक्न जाने र केही छिनपछि टोलका सबै केटीहरू वा सालीहरू आएर जिस्क्याउँदै धुमधाम रमाइलो गर्ने चलन छ । त्यो पनि एक प्रकारको प्रतिकार नै थियो होला । अहिले त्यही प्रतिकार ‘व्यवहार’ र ‘रीति’ बन्यो । सम्धिनीहरू एकआपसमा नचिन्ने, आफ्नी छोरी ज्वाइँको घर नजाने र ज्वाइँका आमाहरू पनि बुहारीको माइतीमा नजाने प्राचीन समाजको परम्परागत संस्कारहरू हुन् ।
नेपालका केही जाति र जनजातिहरूमा केटा वा केटीको समूहले निश्चित केटा वा केटीलाई तानेर आफ्नो निश्चित खोला वा सीमा वा इलाकासम्म लगी विवाह गर्ने चलन छ । गीत गाएर प्रतिस्पर्धा गरी विवाह गर्ने र केटा पक्ष हारेमा केटी पक्षले केटाको जीउको लुगासमेत फुकालेर लाने चलन पनि छ । माथिल्ला जातका परिवारको जन्ती जाँदा ढाल, तरवार बोक्ने तथा बन्दुक पड्काउने ठाउँ ठाउँको चलन पनि लडाइँ गरेर दुलही जितेर लाने परम्पराकै सिलसिला हुन् ।
भारतमा आज पनि विवाहमा दहेजबारे कुरा नमिल्दा झगडा भई विवाह बिथोलिएका घटनाहरू बरोबर समाचारमा आउँछन् । समाज अगाडि बढ्दै गएपछि यस्ता रीतिलाई नियन्त्रण गर्न देश–देश अनुसारका ऐन–कानुनहरू बन्दै र संशोधन हुँदै जानेछन् । भारतमा आज पनि हिन्दू र मुसलमानहरूका फरक–फरक विवाहका कानुन छन् । समाजवादी देशमा तुलनात्मक रूपले प्रगतिशील विवाह कानुन बनेका हुन्छन् । ऐन, नियम र कानुनहरू देशको आवश्यकताअनुसार नै बन्ने गर्छन् ।
समय परिवतनशील छ । पुँजीपतिवर्गले सामन्तवर्गको विरोधमा पुँजीवादी क्रान्ति ग¥यो । पुँजीवादी क्रान्तिपश्चात् पुँजीपतिवर्गको हितमा ऐन–कानुन बन्यो । पुँजीपति र सामन्तवर्गको विरोधमा सर्वहारावर्गको नेतृत्वमा रूसमा समाजवादी क्रान्ति भयो । एवम्रीतले बेलायतमा सामन्तवर्गको शासन सत्ताले बनाएका ऐन–कानुनको ठाउँमा पुँजीवादी क्रान्तिले पुँजीपतिवर्गको हितमा ऐन–कानुन बनायो । पुँजीवादी क्रान्तिको सफलतापछि उद्योग–व्यापारमा पुँजीपतिवर्गले ठुलो सहुलियत पायो । यसरी बेलायत संसारको सबैभन्दा पहिलो पुँजीवादी देश बन्यो ।
बेलायती साम्राज्यको विरोधमा १३ वटा अमेरिकी राज्यले स्वतन्त्रताको निम्ति सशस्त्र आन्दोलन गरे । सो आन्दोलनले बेलायती ऐन, कानुन र हुकुमलाई समाप्त पार्यो । संसारमा पहिलो चोटि औपनिवेशिक देशका जनताले उपनिवेशवादी देशलाई पराजित गरे ।
पहिले बेलायती उपनिवेशवादी सरकारले अमेरिकामा एउटा चक्कुसमेत बनाउन निषेध गरेको थियो । प्रेस स्वतन्त्रता, वाक्–स्वतन्त्रता, मौलिक एवम् राजनीतिक अधिकारहरू पनि पाएका थिएनन् । अमेरिकाले स्वतन्त्रता पाएपछि उद्योगधन्दाको विकास गर्ने ऐन–कानुन बन्यो । केही वर्षपछि उद्योगधन्दामा अमेरिकाले बेलायतलाई पछा¥यो । यसरी अमेरिका पहिलो औद्योगिक देश र अर्थतन्त्रको विकासको एक विश्व शक्ति बन्यो ।
रुसमा समाजवादको स्थापनापछि सर्वहारावर्गको सरकारले उद्योगधन्दा, कृषि, खानी, जङ्गल र ताल तलैया आदि क्षेत्रमा सामन्त र पुँजीपतिवर्गको स्वामित्व अन्त्य ग¥यो । उत्पादनका साधनहरूलाई राज्यको स्वामित्वमा ल्याएर सारा जनताको सम्पत्ति घोषणा गर्यो । निजी स्वामित्वमा रहेका खेतीपातीलाई सामूहिक र राज्यको सम्पत्ति घोषणा गर्यो । समाजवादी व्यवस्थाले कृषि, उद्योग, खानी, विद्युत्, बाटोघाटो आदिमा बृहत्तर विकास ग¥यो । क्रान्तिको ३०/४० वर्षभित्र सोभियत सङ्घ विश्वको सबैभन्दा ठुलो उत्पादक शक्ति बन्यो । निःशुल्क शिक्षा र उपचार, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्तले सोभियत सङ्घ विज्ञान र प्रविधिमा संसारको सबैभन्दा अगाडि बढेको एक देश बन्यो । क्रान्तिपश्चात् कामदारवर्गको पक्षमा बनेको ऐन–कानुनले सोभियत सङ्घलाई पहिलो सफल समाजवादी देश बनायो ।
यसको अर्थ हो– जनताको आवश्यकताअनुसार क्रान्ति हुन्छ र क्रान्तिले पुरानो ऐन–कानुनको ठाउँमा नयाँ ऐन–कानुन बनाउँछ । त्यसले देशलाई अगाडि बढाउँछ । आज पहिलो आर्थिक शक्ति भएको अमेरिका ह्रासोन्मुख स्थितिमा पुग्दै छ । समाजवादी चीन हरेक क्षेत्रमा अमेरिकालाई पछि पार्दै अगाडि बढ्दै छ । चीनको वर्तमान ऐन–कानुन पनि वर्तमान चीन सुहाउँदो बन्दै छ । संसारका कुनै पनि देशको ऐन–कानुन स्थिर हुँदैन । देशको परिस्थितिमा परिवर्तन आएपछि स्वाभाविक रूपले ऐन–कानुनमा पनि ठुल्ठुला परिवर्तनहरू देखापर्ने छन् ।
स्रोत : ख्वप न्याय दबु, ०८२
Leave a Reply