भर्खरै :

ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनको चुनौती

ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनको चुनौती

विश्वका विभिन्न भागमा कम्युनिस्ट र वामपन्थी आन्दोलनहरू कमजोर हुँदै पछाडि धकेलिएको बेला ल्याटिन अमेरिका वामपन्थी आन्दोलनको उर्वर भूमिको रूपमा देखापरेको थियो । सन् १९८० को अन्तिम र १९९० को सुरुमा पूर्वी युरोप र सोभियत सङ्घमा समाजवादको अस्थायी हार र पुँजीवादको पुनःस्थापनाले विश्वभरकै कम्युनिस्ट र वामपन्थी आन्दोलनमा निराशा ल्याएको थियो । दुई ध्रुवीय विश्व संरा अमेरिकाकेन्द्रित एक धु्रवीय विश्वमा परिणत हुने छनक देखिएको थियो । संसारको कुनै पनि देशमा समाजवादी क्रान्ति त परको कुरा कुनै प्रगतिशील सरकारसम्म पनि चल्न सक्दैन भन्ने भ्रम फैलाइएको थियो ।
साम्राज्यवादी र पुँजीवादीहरूको उक्त भ्रमजाललाई च्यात्ने तथा समाजवाद अजेय छ भन्ने सन्देश त्यतिखेर समाजवादी देशहरू क्युवा र प्रजग कोरियाले दिइरहे । तुलनात्मकरूपमा सानो–सानो भूगोल, सानो अर्थतन्त्र र सीमित स्रोत साधनयुक्त दुवै समाजवादी देशमाथि संरा अमेरिकाको कठोर नाकाबन्दी थियो । जुन अमानवीय नाकाबन्दी आजपर्यन्त छ । त्यति नै बेला ल्याटिन अमेरिकी देशहरूमा भने विभिन्न नाममा वामपन्थी आन्दोलन अघि बढिरहेको थियो । निकारागुआमा सान्डानिस्टा राष्ट्रिय मुक्ति मोर्चाले सन् १९८० को दशकमै समोजा तानाशाहीविरुद्ध क्रान्ति गरेको थियो भने सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपतिमा निर्वाचित भएपछि भनेजुयलामा वामपन्थी, साम्राज्यवाद र नवउदारवादविरोधी सरकार बन्यो र बोलिभारियाली क्रान्ति थालनी भयो । त्यसपछि उरुग्वे, ब्राजिल, अर्जेन्टिना, चिली, बोलिभिया, इक्वेडर, उरुग्वे, एलसाल्भाडोरलगायत दक्षिण र मध्य अमेरिकी देशहरूमा निर्वाचनमार्फत वामपन्थी पार्टीहरू सत्तामा पुगे । ती सरकारहरूले पुँजीवादी व्यवस्थाकै संरचनाभित्रबाट विभिन्न नामले प्रगतिशील र समाजवादउन्मुख प्रक्रिया अगाडि बढाए । झन्डै सिङ्गो ल्याटिन अमेरिका नै साम्राज्यवाद र नवउदारवादविरोधी मोर्चामा परिणत भयो । आफ्नो करेसाबारीको रूपमा रहेको ल्याटिन अमेरिका वामपन्थीहरूको हातमा गएको देखेर अमेरिकी पुँजीपतिवर्ग र प्रतिक्रियावादीहरूको दिनको चैन र रातको निद्रा हरायो । उनीहरूले ती ल्याटिन अमेरिकी देशका आफ्ना परम्परागत मित्रका रूपमा रहेका दक्षिणपन्थी, पुँजीवादी र नवउदारवादी शक्तिहरूलाई अनेक माध्यमले आर्थिक, राजनीतिक र रणनीतिक सहयोग गर्दै प्रगतिशील सरकारविरुद्ध षड्यन्त्र गर्न र आन्दोलनका नाममा उपद्रव मच्चाउन लगाए र आज पर्यन्त जारी छ । ब्राजिलमा मजदुर पार्टीका नेता एवम् लोकप्रिय राष्ट्रपति लुइज इयासियो लुला दा सिल्भाको पुनः निर्वाचानपछि देखि त्यहाँका दक्षिणपन्थीहरूलाई अमेरिकी प्रशासनले निरन्तर सहयोग गर्दै आएको छ । तिनीहरूलाई राष्ट्रपतीय र संसदीय निर्वाचन लड्न तथा जित्नका लागि अरबौँ डलर सहायता गरे । फलस्वरूप हिजो वामपन्थी सरकार रहेका देशहरू अर्जेन्टिना, इक्वेडर र एलसाल्भाडोरमा अहिले दक्षिणपन्थी राष्ट्रपतिहरू छन् । ब्राजिलको संसद्मा दक्षिणपन्थी र नवउदारवादीहरूको दुईतिहाइ बहुमत पुगेपछि सन् २०१६ मा जननिर्वाचित राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लगाई पदबाट अपदस्थ गरी दक्षिणपन्थी सरकार बनाइएको थियो । समाजवादी व्यवस्था रहेको क्युवामाथि मात्र नभई वामपन्थी सरकार रहेका भेनेजुयला, बोलिभिया र निकारागुआमाथि घोषित र अघोषित आर्थिक नाकाबन्दी लगाई आर्थिक विश्रृङ्खलता सिर्जना गर्न खोजिएको छ । एक दुईवटा देशमा कानुनी र गैरकानुनी तरिकाले सत्ता पुनःकब्जा गरेपछि दक्षिणपन्थीहरू र अमेरिकी तथा युरोपेली साम्राज्यवादीहरू ल्याटिन अमेरिकाभर दक्षिणपन्थी लहर ल्याउन उद्यत छन् । तर, ल्याटिन अमेरिका र क्यारिवियाली क्षेत्रका वामपन्थी शक्तिहरूले उक्त दक्षिणपन्थी आक्रमणसित जुझ्न वैचारिक र साङ्गठनिक गतिविधिलाई तीव्रता दिँदै जनपरिचालन गरिरहेका छन् ।
राजनीतिक नेता, सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व र विभिन्न सामाजिक आन्दोलनका प्रतिनिधिहरू विगत केही वर्षमा उत्पन्न भएका प्रतिकूलताहरूले र दक्षिणपन्थी शक्तिहरूको सहसम्बन्ध मूल्याङ्कन गर्दै प्रगतिशील आन्दोलन र उम्मेदवारहरूको विजयका लागि कार्य योजना निर्माण र कार्यान्वयनमा जुटेका छन् ।
भेनेजुयलामा एकीकृत भेनेजुयाली समाजवादी पार्टीका नेता तथा बोलिभारियाली क्रान्तिका नेता ह्युगो चाभेजका उत्तराधिकारी निकोलस माडुरोको पुनर्विजय होन्डुरसमा सियोमारा क्याष्ट्रोको र लोपेज ओब्राडरको उत्तराधिकारीका रुपमा क्लाउडिया सियनवामको विजय वामपन्थी आन्दोलनका लागि सकारात्मक खबर हुन् ।
“त्यो प्रतिगामी आँधी आयो र १९९० को दशकमा खुलेको शान्ति र प्रगतितर्फको ढोका थुनेर गयो । अब पुनः उक्त ढोका कसरी खोल्ने भन्ने प्रश्न ब्राजिलका वामपन्थीहरूका अगाडि खडा छ ।” ब्राजिलको मजदुर पार्टीका सदस्य तथा सङ्घीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिला सङ्कायका प्राध्यापक भाल्टर पोमारले हालै आफ्नो एक लेख ‘कसरी अगाडि बढ्ने ?’ मा लेखेका छन् ।
यसरी वामपन्थी राष्ट्रपतिहरू निर्वाचित भइसकेपछि पनि अमेरिकी साम्राज्यवाद र दक्षिणपन्थीहरूले उपद्रव, हिंसात्मक विद्रोह र विध्वंसको आँधी ल्याउने कुचेष्टा गर्न छाडेका छैनन् । भेनेजुयलाका राष्ट्रपति माडुरोमाथि लागुऔषध कारोबारीहरूको नाइके भएको आधारहिन आरोप लगाइएको छ भने बोलिभियाका वामपन्थी र आदिवासीहरूबिच फुट ल्याउन सफल भएको छ ।
पोमारको विचारमा निर्वाचनमा दक्षिणपन्थीहरूलाई चुनौती दिन वामपन्थीहरूलाई बलियो उम्मेदवारहरू आवश्यक छन् तर त्यतिमात्र पर्याप्त होइन । वामपन्थीहरूको एकता देखावटी नभई वास्तविक तथा प्रतिगामी संसद्द्वारा जननिर्वाचित राष्ट्रपतिहरूको उदय र पतनलाई नियन्त्रण गर्नेविरुद्ध राजनीतिक योजना र सतर्कता पनि आवश्यक छ । वामपन्थी सरकारहरूको शासन गर्ने तरिकामा परिवर्तन ल्याउन जरुरी छ र कामदारवर्गको बिचमा गुमाएको विश्वासलाई पुनः स्थापित गर्न आवश्यक छ ।
ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनको चुनौती विश्लेषण गर्दै टेलिसुरको ब्लगमा राजनीतिक विश्लेषक कातु अर्काेनाडा लेख्छन्, “ल्याटिन अमेरिकी वामपन्थीहरूका अगाडि रहेको सबभन्दा ठुलो चुनौती भनेको आर्थिक क्षेत्रमा पुँजीवादको विकल्प निर्माण गर्नु हो । अहिले आवश्यक योजना भनेको अर्थतन्त्रको जनतान्त्रीकरण हो, पूर्णतया आर्थिक स्वतन्त्रता सिर्जना गरिनुपर्छ, जहाँ देश र जनताको प्रगतिशील हितलाई नोक्सान पु¥याउन खोजेमात्र राज्यले नियन्त्रण गर्ने व्यवस्था होस् । त्यसभन्दा बढी सांस्कृतिक क्षेत्रमा वैकल्पिक शक्ति निर्माण गर्नु महत्वपूर्ण छ, सांस्कृतिक क्षेत्रमा रहेको पुँजीवादी प्रभुत्वलाई चुनौती दिन जरुरी छ । ताकि नयाँ समाजवादी मानिसको जन्म होस्, न कि झूटो मध्यमवर्गीय आशा बोकेका भ्रमित उपभोक्ता नागरिकहरू ।”
त्यसैगरी, निबन्धकार, पत्रकार, समाजशास्त्री, विश्वविद्यालयका प्राध्यापक एवं राजनीतिक विश्लेषक ओल्मेडो बेलुचे ‘रेबेलियन’ अनलाइनमा प्रकाशित आफ्नो एक निबन्धमा लेख्छन्, “राष्ट्रिय बैङ्किङ र आर्थिक प्रणालीको राष्ट्रियकरणविना, वैदेशिक व्यापारमा राज्यको नियन्त्रणबिना र ठुलठुला उद्योग प्रतिष्ठानको राष्ट्रियकरणबिना वा भनौँ वास्तविक समाजवादी कदमबिना ल्याटिन अमेरिकाका वामपन्थी सरकारहरू यथार्थमा पुँजीवादी र साम्राज्यवादीहरूको दयामा मात्र टिक्नेछन् र तिनीहरूले नचाहेपछि आर्थिक आक्रमण व्यहोर्नुपर्नेछ । जस्तो बोलिभिया, निकारागुवा भेनेजुयलामाथि निरन्तर आक्रमण भइरहेको छ ।”
बेलुचे निर्वाचनबाट आएका वामपन्थी सरकारहरूको सीमितताबारे चर्चा गर्दै अगाडि भन्छन्, “वामपन्थी सरकारहरूले अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित राष्ट्रिय दक्षिणपन्थी शक्तिहरूद्वारा सिर्जित समस्याको सामना गर्नुपरेको त छँदै छ, त्यसमाथि पुँजीवादी संस्थाहरूको औपचारिकता र तिनले थोपरेको निर्णय मान्नुपर्छ भन्ने नेताहरूको संशोधनवादी धारणा पनि वामपन्थी सरकारका चुनौती हुन् ।”
बहुसङ्ख्यक राजनीतिक विश्लेषकहरू दक्षिण अमेरिका र क्यारिवियाली देशहरूको वामपन्थी आन्दोलन र प्रगतिशील प्रक्रिया सङ्कटमा रहेको मान्छन् तर सङ्कटले आन्दोलनको अन्त्य हुनेछैन बरु नयाँ र सुद्धृढ उपायका साथ अगाडि बढ्नेछ । केही देशहरूमा निर्वाचनमा पराजित भएर र केही देशमा न्यायपालिकाको अवाञ्छित हस्तक्षेपका कारण वामपन्थी सरकार हारे तापनि प्रगतिशील युगको सुरुआतको आधारका रूपमा रहेका क्रान्तिकारी सरकारहरू अझै अडिग छन् । क्युवाली क्रान्ति र भेनेजुयाली बोलिभारियाली क्रान्ति र निकारागुआको सान्डानिस्टा समाजवादी प्रक्रियाले निरन्तर जनताको सेवा गर्दै छ । दुई वर्षअघि क्युवाको राजधानी हवानामा सम्पन्न ल्याटिन अमेरिकी र क्यारिवियाली देशका १ सत्न्दा बढी वामपन्थी पार्टीहरूको सम्मेलन ‘साउपाउलो फोरम’ को २४ औँ सम्मेलनको घोषणामा निष्कर्षस्वरूप भनिएको थियो, “यस क्षेत्रका राजनीतिक शक्तिहरूको यस भेलामा वामपन्थीहरूले सरकारको स्थान जितेको देशमा आफ्नो वैध प्रभुत्व पुनः कायम गर्न र जनताको शक्ति निर्माण गर्न दिगो कदम चाल्नुपर्ने प्रस्ताव गर्दछ । राजनीतिकरूपमा सचेत र सङ्गठित जनता नै सधैँ अमेरिकामा दक्षिणपन्थीहरूको पुनरागमनलाई रोक्ने जुझारु लडाकु रहँदै आएका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *