महाअधिवेशन भद्रगोल, अव्यवस्थित र नेतृत्वको होडबाजी
- असार १२, २०८३
वर्गहरू भएको कुनै पनि समाजमा वर्गसङ्घर्षको अन्त्य हुनेछैन; वर्गविहीन समाजमा नौला र पुराना, सत्य र असत्यबिचको सङ्घर्षको कहिल्यै अन्त्य हुनेछैन । द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी दर्शनका दुई प्रमुख विशेषता छन् – एक, यसको वर्गीय स्वभाव हो । यसले द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको पक्षमा रहेको स्वीकार्छ । दोस्रो, यसको व्यवहारिकता । यसले व्यवहारमा सिद्धान्तको निर्भरतामाथि बल दिन्छ; सिद्धान्त व्यवहारमा आधारित हुन्छ । सिद्धान्त र विचारको आधारमा नै कुन दलले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने थाहा हुन्छ । पुँजीवादी बन्दोबस्तमा अल्पमतवर्गले बहुमतवर्गमाथि शासन गर्छ । बहुमत जनतामाथि शोषण र अन्याय गरेर नै पुँजीपतिवर्गले शासन गरेको हुन्छ । अहिले नेपालमा पुँजीवादी बन्दोबस्त छ । पुँजीवादी बन्दोबस्तअनुसार नै देशमा शासन चलाइरहेको हो । कम्युनिस्टको खोल ओढेर पुँजीवादी बन्दोबस्तअनुसार शासन गर्नु आफ्नो दलको सिद्धान्त र विचारविपरीत छ; यो बेइमानी राजनीति हो । यसले एमाले भाइकाङ्ग्रेस साबित भएको छ । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलको समर्थनमा बनेको सरकारले नेकाको पछि नलागी सुखै छैन । प्रमुख प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्नुपर्ने एमाले सरकारको नेतृत्वमा जानु भनेको संसदीय मूल्य र मान्यताविपरीत पनि हो । यसअघि तेस्रो ठुलो दल माओवादी केन्द्रले सरकारको नेतृत्व ग¥यो । अहिले दोस्रो ठुलो दल एमाले सरकारमा छ । के यो सत्तामुखी राजनीति होइन ? सरकारको नेतृत्व नगरी या सरकारमा नगई उनीहरूको मनमा चैन हुँदैन ।
सत्तासीन राजनीतिक दलले वास्तविक अवस्थाको वास्तविक वर्ग विश्लेषण नै गरेन या गर्न चाहेन । तल्लो वर्गका जनताको मत लिएर तल्लोवर्गका जनतामाथि शासन गर्ने, शोषण गर्ने दललाई वर्ग विश्लेषणको आवश्यकता किन हुन्छ र ? पुँजीवादी पार्टीलाई शासन गर्नुबाहेक अर्को चिन्ता हुँदैन । अतः जनताले आफ्नो सोचाइलाई परिवर्तन गर्नुपर्ने बेला आइसकेको छ । दलको सिद्धान्त र विचारै नबुझी कुनै दलको पछि दगुर्नु हुँदैन । आज त्यही नबुझेर कति श्रमजीवी जनता पुँजीपतिवर्ग र सामन्तवर्गको पक्षमा लागेका छन् । यो सर्वसाधारण जनताको राजनीतिक अपरिपक्वताको सङ्केत हो । श्रमजीवी जनताले श्रमजीवी जनतामाथि शोषण गरिरहेको दल या दलका उम्मेदवारीलाई किन मतदान गर्ने ? चिनियाँ जनताका नेता माओ त्सेतुङले भन्नुभएको थियो, “हामीले प्रत्येक कुरामा होसियारीपूर्वक सधैँ आफ्नो मगज खियाउनुपर्छ र विचार गर्नुपर्छ ।” भन्ने चलन नै छ, निधार खुम्च्याऊ† तिमीले जुक्ति फेला पार्नेछौ । यसको अर्थ धेरै विचार गर्नुपर्छ; सोच्नुपर्छ अनि मात्र बुद्धि खुल्छ । वर्ग विश्लेषण गर्नुपर्छ त्यसै भनिएको होइन । क्रान्तिकारी विचारबारे बाटो स्पष्ट पारिएन भने समाज अन्धकारमय हुन्छ या व्यवहार अन्धकारमय हुन्छ । चिनियाँ नेताहरूले अध्ययन गर र जाँचबुझ गर भनी त्यसै भन्नुभएको होइन । तथ्यहरूबाट सत्य खोज्नु भनेको यही हो । खोज्नुको अर्थ अध्ययन गर्नु हो । अध्ययन गर्नुको अर्थ सत्य तथ्य या वस्तुगत स्थिति बुझ्नु हो । वस्तुगत स्थिति बुझेपछि मात्र समस्याको निकास या उपाय खोज्न सकिन्छ ।
अतः माक्र्सवाद–लेनिनवादका सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्नुपर्छ र सही निष्कर्ष निकाल्नुपर्छ । आँखामा पट्टी बाँधेर भँगेरा समात्ने वा माछा समात्न खोज्ने अन्धोले झैँ व्यवहार गर्नु अधकल्चो हो† अल्पज्ञान हो । यो प्रणाली माक्र्सवाद–लेनिनवादको आधारभूत भावनाविपरीत छ । हामीले आँखा चिम्लेर गुण दोष छुट्याउने होइन† सही गलत छुट्याउने होइन या लहैलहैमा लागेर समर्थन र विरोध गर्ने होइन ।
नेपाली जनताले समाजवाद र पुँजीवादको भेदबारे थाहा पाउनैपर्छ । समाजवादी पक्षधरहरू पुँजीवादी पक्षमा लागेर बहुमत जनताको सेवा हुनेछैन; बहुमत जनताको पक्षमा ऐन कानुन बन्ने छैन । विगतमा नेकाको समर्थनमा माओवादीले सरकारको नेतृत्व ग¥यो । हाल नेकाकै समर्थनमा एमालेले सरकारको नेतृत्व ग¥यो । यस अर्थमा कम्युनिस्ट भनिने माओवादी र एमालेको कम्युनिस्टको चरित्र कहाँ गयो ? नेकाको समर्थनमा माओवादी र एमालेले पालैपालो शासन ग¥यो । हिजो एमाओवादी र माओवादी मिले र आज एकले अर्कोलाई हिलो छ्याप्दै छन् । उनीहरूको सिद्धान्त र विचार खोइ ? अडान खोइ ? सत्ता पाएपछि द्वैधचरित्र अँगाल्ने ? सत्ता पाएपछि दलको उद्देश्य भुल्ने ? दलको उद्देश्य नै फालेर जो कोही दलसँग गठबन्धन गर्ने के न्यायोचित हो ? यो प्रश्न गाउँ बस्तीमा उठ्दै छ ।
Leave a Reply