आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
पहिलो विश्व युद्धको अन्त्य सन् १९१७ सम्म अटोमन साम्राज्यअन्तर्गत रहेको अरबी भूमि बेलायतले कब्जा गर्यो । बेलायतको विजयसँगै अरबी भूमिमा रहेको प्यालेस्टिनमा प्रथम विश्वयुद्धमा आफूलाई सहयोग गर्ने यहुदीहरूलाई छुट्टै राष्ट्र बनाई दिने बाल्फोर घोषणा (Balfoor Declaration) अन्तर्गत यहुदीहरूलाई प्यालेस्टिनमा बसोबास गर्न दियो । युरोपमा रहेका यहुदीहरूको आप्रवासन उल्लेख्य सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्यालेस्टिनी जनताले विभिन्न प्रतिरोध आन्दोलन सुरु गरे । तर, बेलायत र यहुदी दुई सङ्गठित शक्तिले प्यालेस्टिनी आन्दोलन १९३६ मै धेरै युवाहरूको हत्या गरी दबाइयो । भनिन्छ, त्यसबेला १० प्रतिशत प्यालेस्टिनी युवाहरूको हत्या गरिएको थियो । जातिवादी यहुदी र अरबी आदिवासी प्यालेस्टिनीबिच द्वन्द्व शान्त हुन सकेन । सन् १९४१–१९४५ सम्मको दोस्रो विश्वयुद्ध नाजीवादी फासिस्ट जर्मन नेता हिटलरले यहुदीहरूको जातीय संहार गरेपछि यहुदी आप्रवासी प्यालेस्टिनमा ठुलो सङ्ख्यामा पुग्यो । यहुदी आप्रवासनले थप यहुदी र प्यालेस्टिनबिचको सङ्घर्ष चुलिएको अवस्थामा संयुक्त राष्ट्रसङ्घमार्फत सन् १९४८ मे १४ मा बेलायत अमेरिकाको अगुवाइमा प्यालेस्टिनी भूमिमा स्वतन्त्र राष्ट्र इजरायलको स्थापना गरियो र प्यालेस्टिन र इजरायल गरी दुई टुक्रामा विभाजित भयो । बलपूर्वक जबरजस्ती लादिएको प्यालेस्टिन भूमिमा इजरायलको स्थापनाले अरबी जनताले ठाडै अस्वीकार गरे ।
सन् १९४८ मा इजरायल राष्ट्रको घोषणासँगै अरब जनताको संयुक्त प्रतिरोध सङ्घर्ष सुरु भयो । तर, अरब जनताको त्यो युद्धमा हार भयो । सन् १९४९ अन्त्यसम्मको लडाइँमा सात लाख जनता प्यालेस्टिन छाड्न बाध्य बनायो । बेलायती साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको सहयोग र समर्थनमा इजरायलले प्यालेस्टिनमा हमला गरिरहेको छ । आफ्नो देशको स्वाधीनता तथा अस्तित्वको निम्ति प्यालेस्टिनी जनताको इजरायलविरुद्ध सङ्घर्ष निरन्तर अगाडि बढ्दै छ ।
आज अमेरिकी साम्राज्यवादको सहयोगमा प्यालेस्टिनी जनताको जातीय नरसंहार गर्दै छ । इजरायलले हमासको पूर्ण नष्ट गर्ने नाउँमा गाजाका सर्वसाधारण, बालबच्चा, आईमाई, बुढा–बुढीमाथि समेत तीव्र आक्रमण गरिरहेको छ । इजरायलले अस्पताल, विद्यालय, व्यापारिक स्थल, आवासीय बस्तीहरूमा बमबारी गरी ध्वस्त गरिरहेको छ । जातीयरूपमा सफाया गर्न दैनिक अत्यावश्क खाद्य सामग्री, औषधि, पानीसमेत गाजापट्टीमा नाकाबन्दी गरी क्रूर अमानवीय आपराधिक कार्य गर्दै आएको छ ।
अक्टोबर ७, १९२३ को हमासको प्रत्याक्रमणपछि इजरायली बमबारी, नाकाबन्दीमा ७० हजारभन्दा बढी सर्वसाधारणको हत्या गरिसकेको छ ।
यहुदीवादी इजरायलले एकल जातीय राज्यको विस्तार गाजामा रहेका २० लाख प्यालेस्टिनलाई त्यहाँबाट हटाउने वा समूल नष्ट गर्ने हालैमात्र प्रधानमन्त्री नेतन्याहुले घोषणा गरिसकेको छ । तर, आज विश्वमा अमेरिकाबाहेक इजरायललाई साथ दिइआएका युरोपियन युनियनका प्रमुख राष्ट्रहरू फ्रान्स, इटाली, स्पेन, नेडरल्यान्ड, पोल्यान्डलगायतका राष्ट्रहरूले इजरायलद्वारा गरिएको जातीय नरसंहार, खाद्य सामग्रीसमेत रोकेर मानवीय सङ्कट निम्त्याएकोमा विरोध जनाएका छन् । आफ्ना मित्रहरूको समेत विरोध र विश्वका जनताको इजरायलविरुद्धको आक्रोशबाट तर्सेर इजरायल अत्यावश्यक सामानको सहयोग सामग्री गाजामा प्रवेश गराउन बाध्य भयो । चीनले हवाई प्यारासुटबाट खाद्य सामग्री गाजामा पु¥यायो । तर, पनि थोरै खाद्य सामग्री सहयोगले गाजावासी बालबच्चाहरू कुपोषणबाट दैनिक मृत्यु भइरहेको समाचार आइरहेका छन् । खाद्य सामग्री लिन गएका निहत्था जनतामाथि इजरायली फौजले गोली हानेर कैयौँ प्यालेस्टिनीहरूको हत्या गरेको छ ।
अर्गनाइजेसन अफ इस्लामिक करपोरेसन (ओआईसी) ५६ सदस्य राष्ट्रहरूको जारी संयुक्त वक्तव्यमा संयुक्त सुरक्षा परिषद्बाट ठोस कदम चालेर युद्धविराम गर्न, पर्याप्त मानवीय जरुरी सामान आपूर्ति सुनिश्चित गर्न, सार्वभौमसम्पन्न स्वतन्त्र राष्ट्रको मान्यता दिन पहल गर्नुपर्ने उल्लेख गरिएको छ । मध्यपूर्व खाडी राष्ट्रहरूमध्ये शक्तिशाली राष्ट्र साउदी अरब, तुर्किएसमेत गाजापट्टीको सीमा मार्ग तुरुन्त खोल्न भोकमरी रोक्न पर्याप्त सामानको सहयोगलाई गाजामा प्रवेश सुनिश्चित गर्न, प्यालेस्टिनी जनताको अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न संयुक्त सुरक्षा परिषद्ले कदम चाल्न आह्वान गरेको छ ।
विश्वका सबै देशमा स्वतन्त्र प्यालेस्टिनको पक्षमा इजरायलको जातीय नरसंहारविरुद्ध विशाल प्रदर्शनहरू भइरहेको तथ्य आज सामाजिक सञ्जालमा हेर्न पाइएको छ । अमेरिका र इजरायलविरुद्धको व्यापक जनदबाबको कारण आउँदो सेप्टेम्बर २०२५ को संयुक्त राष्ट्र सङ्घको महासभामा इजरायललाई हतियार आपूर्ति गरी सहयोग गर्दै आएका राष्ट्र फ्रान्स, बेलायत, क्यानाडा, अस्ट्रेलियासमेतले स्वतन्त्र प्यालेस्टिन घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको समाचार बाहिर आएको छ । यो प्यालेस्टिनी जनताको जीत हो । यदि अमेरिकाले भिटो नल्याउने हो भने १९३ संयुक्त राष्ट्रको महासभा अत्यधिक दुईतिहाइ राष्ट्रले स्वतन्त्र प्यालेस्टिनको पक्षमा मत खसाल्ने सुनिश्चित छ । जर्मनले स्वतन्त्र प्यालेस्टिनको पक्षमा नदेखिए पनि इजरायललाई हतियार आपूर्ति बन्द गर्ने घोषणा गरिसकेको छ ।
२० औँ शताब्दीका फासिस्ट जातीय नरसंहारकारी तानाशाही हिटलर र मुसोलिनीको अन्त्य दोस्रो विश्व युद्धमा समाप्त भयो । अबको हिटलरको अर्काे रूप इजरायली यहुदी जातिवादी नरसंहारकारी प्रधानमन्त्री नेतन्याहुको अन्त्य नजिकिँदै छ । २० लाख गाजामा रहेका प्यालेस्टिनलाई विस्थापित गर्दै पुनः इजरायलको कब्जामा लिने उद्घोषले इरान र इजरायलबिच ठुलो युद्ध हुने सम्भावना बलियो देखिएको छ । इरान पूर्णरूपमा स्वतन्त्र प्यालेस्टिनको पक्षमा इजरायलविरुद्ध चट्टानजस्तै उभिएको देश हो । गत १३ जूनमा भएको १२ दिनको इरान–इजरायल युद्धबाट नै इरानको शक्ति अजय छ भन्ने देखाइसकेको छ । अब इजरायलले अमेरिकाको साथबिना आँखासमेत जुधाउन सक्नेछैन । अबको हुनसक्ने इरान–इजरायलको युद्धले इजरायलको अस्तित्वसमेत समाप्त हुनसक्ने अवस्था आउन सक्नेछ । विश्वमा ठुलो युद्धको सम्भावना देखिएको छ ।
Leave a Reply