क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
पूर्वप्रसङ्ग
लिच्छविकालपछि देशमा राजनैतिक स्थिरता आएन । लामो समयदेखि चलेर आएको द्वैराज्यपद्धति र त्यसले उब्जाएको राजनैतिक अस्थिरताले न्याय प्रशासन र कानुन एवम् दण्ड व्यवस्था कमजोर बन्न पुगेको थियो । यसो हुँदा समाज अस्तव्यस्त र अराजक हुन पुगेको थियो भने अर्थ व्यवस्था उस्तै जर्जर र अव्यवस्थित हुन पुगेको थियो । शासकवर्गको ध्यान सत्ता सँभाल्नतिर मात्र गएकोले देश सुशासनतर्फ जानसकेको थिएन । यसको नराम्रो असर देश र देशवासीले भोग्दै आउनु परेको थियो । बा¥हौँ शताब्दीको मध्यतिर आइपुग्दा यो देश तीन टुक्रा (खस राज्य, तिरहुत राज्य र नेपालमण्डलको पुरानो केन्द्र राज्य) विभाजित हुनपुग्यो । अनेक कारणले अनेक थरिका मानिसहरू बाहिरबाट आएर बस्न थालेकाले, कुनै ठोस व्यवस्था हुन नसकेका कारण पनि नयाँ पुराना सबैथरिका मानिस दुःखी र निराश थिए । उनीहरूले जे पायो त्यही काम गर्न थालेकाले परम्परागत पेसा सङ्कटमा पर्न थालेको थियो । सर्वत्र अव्यवस्था व्याप्त थियो । यसप्रकार हरेक पक्ष नाजुक र अस्तव्यस्त रहेको प्रतिकूल परिस्थितिमा देशले पुनः एकपल्ट एक योग्य शासक पायो । उनी थिए सुधारक राजाका रूपमा प्रसिद्ध जयस्थिति मल्ल (ने.सं.४७४–५१५) । यिनले द्वैराज्य शासन पद्धतिको अन्त्य गरी एक राजतन्त्र पद्धतिअनुसार शासन आरम्भ गरे । राजनैतिक स्थिरता आयो । यसो हुँदा देश मजबुत र समृद्ध बन्नपुग्यो । चारैतिर व्याप्त सामाजिक–सांस्कृतिक, आर्थिक आदि अव्यवस्थालाई सुधार गरी व्यवस्थित तुल्याउन लिखित रूपमै नयाँ कानुन ल्याउन अपरिहार्य भइसकेको महसुस गरी उनले कानुन आयोगको गठन गरे । सो आयोगको सिफारिसमा उनले सुधार गरे । नयाँ कानुनकै आधारमा समाजलाई व्यवस्थित तुल्याए । नयाँ कानुनकै आधारमा अर्थ व्यवस्थामा सुधार ल्याए । नयाँ कानुनकै आधारमा न्याय प्रशासन, कानुन र दण्ड व्यवस्थामा सुधार ल्याए । सामाजिक, आर्थिक, न्यायिक व्यवस्थाका लागि, दण्डसजायमा समेत एकरूपता कायम गर्न उनले ल्याएको त्यही नयाँ कानुन थियो ‘न्यायविकासिनी’ । नेपाल संवत् ५०० फाल्गुन शुक्ल तृतीयाको दिनमा यो नयाँ कानुन जारी गरिएको थियो । यो मात्र एक ग्रन्थ थिएन, एक शासकको रहर मात्र पनि थिएन, लामो समयदेखि समाजमा व्याप्त कहरको निदानका लागि जनइच्छा र भावनाअनुरूप व्यवहारमा ल्याइएको नितान्त ऐतिहासिक कदम थियो । नेपालको कानुनी इतिहासमा देशवासीले प्रथमपल्ट पाएको संहिताबद्ध लिखित कानुन न्यायविकासिनी थियो । स्थिति मल्लको पालादेखि सुरु भएको नयाँ मल्लवंशको सिङ्गो युग यसैको पदचापमा चलेको थियो । कानुनी परम्पराका दृष्टिले शाहकालीन राणाकालीन न्याय, कानुन र दण्ड व्यवस्थाको आदर्शसमेत न्यायविकासिनी रहिआएको दृष्टिगोचर हुन्छ ।
जस्तो अपराधको प्रकृति, उस्तै नियम, ऐन कानुन र उस्तै दण्डव्यवस्था हुनुपर्छ । यसो भएमा अपराध हुन पाउँदैन वा नगण्य हुन्छ । देवसम्पत्ति चोर्ने चोरलाई मृत्युदण्डको सजाय व्यवहारमा ल्याउँदा जयस्थिति मल्लको शासनकालमा चोरी नै भएन । यो उक्त कुराको पुष्टिका लागि एक उल्लेख्य उदाहरण हो । यसो हुँदा उनको सो सुकृत्यलाई सगौरव गोपाल राजवंशावलीका रचयिताले ‘श्रीश्रीजयस्थितिराजमल्लदेवको विजय राज्त्रि दिनरात चोरी भन्ने नै भएन’ (गो.वं.५७ पत्र) भनी उनको प्रशंसा गरेका छन् ।
माथिको प्रसङ्गले पनि यहाँनेर न्यायविकासिनीको स्मरण गराएको छ । जयस्थिति मल्लको पालामा, जसरी उनले विगत र वर्तमानको इतिहास जान्न गोपाल राजवंशावली (इतिहास विषयको नेपालको प्रथम प्रामाणिक ग्रन्थ) लेखाउन लगाए, उसैगरी उनले स्मृति ग्रन्थहरूका आधारमा न्याय प्रशासनलाई व्यवस्थित तुल्याई कार्यान्वयन गर्न, अपराधीहरूलाई दण्डसजाय दिन न्यायविकासिनी (मानवन्यायशास्त्र) मणिक नामका विद्वान्लाई लेखाउन लगाए । सो ग्रन्थ ने.सं. ५०० (ई.सं.१३७९) मा मन्त्री जयत वर्माका निमित्त, श्रीकीर्तिपुण्य महाविहारका लुन्तभद्र बज्राचार्यद्वारा सार्ने काम भएको थियो ।
न्यायविकासिनीका १९ विधान/प्रकरण
न्यायविकासिनीमा राजकाज, सुक्रीबिक्री, दानदातव्य, मानहानि, चोरी, स्त्रीपुरुष सम्बन्ध लगायत अनेक विषयका १९ विधान÷प्रकरण (दफा (खण्ड विशेष) छन् । सङ्क्षेपमा ती यसप्रकार छन् :
१. ऋणदान – ऋण दिनु र लिनु/लेनदेन ।
२. उपनिधि – नासो–जग्गाजमिन, सम्पत्ति आदि राख्न दिने, फिर्ता गर्ने ।
३. संभूयसमुत्थान – वाणिज्य व्यापार ।
४. दत्ताप्रदानिक – दान, ज्यालादारी ।
५. अभ्भुपेत्याशुश्रूषा – दास, ज्याला, श्रम ।
६. वेतनस्यानपाकर्म – वेतन/पारिश्रमिक ।
७. विक्रीयासंप्रदान – किनबेच ।
८. कीत्वानुशय – ठगी ।
९. सयमस्यानपाकर्म – करार ।
१०. क्षेत्रसीमाविवादपद – साँध, सिमाना ।
११. स्त्रीपुंसयोगविवाद – विवाह, सम्बन्ध ।
१२. दायविभागविवादपद – अंशबन्डा ।
१३. साहसविवादपद – दण्ड जरिवाना ।
१४. वाक्पारुष्य दण्डपारुष्य – मानहानि, गालीबेइज्जती ।
१५. द्यूतसमा वविवादपद – जुवा, बाजी ।
१६. प्रकीर्णक – राजकाज ।
१७. चौरप्रकीर्णक – चोरी ।
१८. व्यवहार प्रकरण – सजाय, दिव्यपरीक्षा, कार्यविधि ।
१९. तप्तमाषकरण – दिव्यपरीक्षा थप ।
ऋणधन, लिखत र भोगाधिकार, साक्षी, साविती, नासो धरौट, सामूहिक उद्योग र व्यापार, शिक्षा, दास, श्रम, वेश्यावृति, चोरी, गाढधन, व्यापार व्यवसाय, सीमा, बाँध, कुलो, खेत, जमिन, बाली, विवाह र करणी, अंश, स्त्रीधन र अपुताली, अपराध र दण्ड सजाय, प्रमाण र दिव्य परीक्षा (तुलो परीक्षा, अग्नि परीक्षा, जल परीक्षा, विष परीक्षा, कोश परीक्षा) आदि विधिहरू न्यायविकासिनीका मुख्य कानुनी व्यवस्था थिए (वस्ती, २०७९, ९८–१०६)।
जस्तो समाज उस्तै कानुन
देश र समाजलाई हेर्ने असली ऐना कानुन हो । लिच्छविकालका राजाज्ञा सनद शिलालेखहरूतिर दृष्टि दिँदा त्यसकालका न्याय, कानुन र दण्ड व्यवस्थाजस्तो थियो उस्तै विधिको शासनले चलेको सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश र आदर्श समाज थियो भन्ने कुरा निश्चित रूपले थाहा पाइन्छ । लिच्छविकालीन कानुनी व्यवस्था र न्यायप्रशासनको स्रोत धर्मशास्त्रहरू (शुक्रस्मृति, मनुस्मृति, यमस्मृति, वृहस्पतिस्मृति आदि), पहिलेदेखि चलिआएका परम्परालगायत राजाज्ञा सनद रहिआएको कुरा त्यसकालका अभिलेखबाट ज्ञात हुन्छ । लिच्छविकालीन कानुनी एवम् न्याय व्यवस्थातिर विचार गर्दा तिनमा धर्मशास्त्रको प्रभाव परेको कुरामा सन्देह छैन तर ती धर्मशास्त्रकै मात्र उपज थिएनन्, तात्कालिक समाज, देशकाल परिस्थितिलाई विचार गरी तद्नुरूप व्यवहारमा ल्याइएका नुतन कानुनी विधिविधान थिए भनी मान्न सकिन्छ । न्यायविकासिनी पनि यस कुराको अपवाद थिएन । न्यायविकासिनी कुन परिस्थितिमा किन त्याउनु परेको थियो भन्ने कुराको विवेचना माथि भइसकेको छ । परिवर्तन कालको अपरिहार्य नियम र नियति हो । तुलनात्मक दृष्टिले लिच्छविकालको समाजभन्दा मध्यकालको समाजमा निकै अन्तर आइसकेको थियो । यसकारण, लिच्छविकाल र मध्यकालमा चलेको न्याय व्यवस्थामा अन्तर आउनु स्वाभाविक थियो । न्यायविकासिनीमा धर्मशास्त्रहरूको प्रभाव अपरिहार्यरूपमा परेको कुरामा दुईमत नहोला । तर, धर्मशास्त्रकै मात्र उपज यो थिएन । धर्मशास्त्रहरूलाई आधार मानी त्यसबखतको समाज, देशकाल परिस्थितिलाई हेरेर ल्याउनु परेको नयाँ कानुन न्यायविकासिनी थियो ।
प्रभावका दृष्टिले न्यायविकासिनी ‘नारदस्मृति’, ‘मानवन्यायशास्त्र’, ‘नारदसंहिता’ नामले पनि विख्यात रहिआएको विदित हुन्छ । तर, प्रतिपादनको दृष्टिले यो नारदस्मृति, नारदसंहिता होइन भन्ने विदित हुन्छ । ‘श्रुति’ ले वेद र‘ स्मृति’ ले धर्मशास्त्र भन्ने बुझिन्छ । स्मृति÷धर्मशास्त्र न्यायसित सम्बद्ध छ । नारदस्मृति मनुस्मृतिमाथि आधारित मानिन्छ (जोशी, उही, पृष्ठ ५०१) । असलमा धर्म कानुन हो । धर्म न्याय हो । असलमा ‘धर्म’ न्यायको साझा नाम हो । न्यायविकासिनी पनि एक यस्तै नुतन धर्मशास्त्र थियो – त्यसबखतको पाप (सामाजिक अन्याय, अव्यवस्था) नाश पार्न ल्याइएको नुतन कानुन, नुतन न्याय । यसको मौलिक नाम ‘न्यायविकासिनी’ स्वयं उक्त कुराको पुष्टिका लागि उदाहरणस्वरूप छ । नेपाल संवत् ५०० मा मन्त्री जयत वर्माका निमित्त श्रीकीर्तिपुण्य महाविहारका लुन्तभद्र बज्राचार्यद्वारा न्यायविकासिनी सार्ने काम भएको थियो । उनले सारेको सो ग्रन्थको अन्त्य वाक्यमा पनि यसलाई अन्य कुनै नाम नभएर यसको मौलिक नाम न्यायविकासिनी नै सम्बोधन गरेका छन् । सो अन्त्य वाक्य यसप्रकार छ (वज्राचार्य, ११०७, ११७) :
श्री नेपालिक वत्सरे खखसरे पक्षशिते फाल्गुणे ।
मासे चाग्नितिथौ गिरा प्रतिदिन भक्तापुरी पट्टने ।।
राज्ये श्री स्थिति राजमल्ल नृपते राजल्लदेवी पतेः ।
श्रीमन्याय विकाशिनी सुविदिता सम्पूर्तिमागादियं ।।
लिखिता लुंतभद्रेण वज्राचार्येण धीमता ।
मन्त्रींद्र जयतस्यार्थे स्पष्टेयं न्यायटिप्पणी ।।
स्वस्ति श्री नेपालिक संवत् सरे ५०० फाल्गुन शुक्ल तृतीयायां गुरूवासरे श्रीश्री जयस्थिति राज मल्ल देवस्य विजयराज्ये भक्तपुरे अमात्य जयतवर्मणः पुष्टकमिदमलेखि श्री कीर्तिपुण्य महाविहाराधिवासिना साक्यभिक्षु वज्राचार्य श्री लुन्तभद्रेनेति ।। शुभमस्तु सर्व जगताम् । श्रीमान्मात्य जयतोरिपु मंत्रि प्रौढा वुद प्रसर विस्फुरणो वायुः ।।
न्यायविकासिनीलाई ‘पूर्ण कानुन’ मान्ने कानुनविद् वस्ती (२०७९,९६) को विचार यहाँनिर प्रासङ्गिक छ ः
नेपालमा प्रचलित नारदस्मृतिलाई आधार मानेर न्यायविकासिनी बनाइए पनि यो सामाजिक आवश्यकतालाई पूरा गर्ने उद्देश्यले बनाइएको कानुन हो । मानव न्यायशास्त्रमा नारद ऋषिले बताएको संहिता भनिदिँदा त्यतिबेलाको धर्मभीरू समाजलाई अझ बढी बन्धनकारी र अनुलङ्घनीय मानिएको हुनुपर्छ । न्यायविकासिनी भन्ने मौलिक नाम दिनुका पछाडि यो नारदसंहिता होइन, बौद्धिक कृतिमात्र यो होइन र मन्त्री (न्यायकर्ता) का लागि मनोरञ्जन वा बुद्धि विलासका लागि मात्र यो बनाइएको होइन भन्ने प्रमाणित हुन्छ ।
खोज र महत्व
जयस्थिति मल्ल भक्तपुरबाट शासन गर्दथे । त्यसबखत नेपालको राजधानीनगर भक्तपुर थियो । यसो हुँदा गो.वं. जस्तै न्यायविकासिनी पनि यसका रचयिता मणिकले भक्तपुरमै बसी सम्पादन गरेका थिए भन्ने कुरा ज्ञात हुन्छ । ईस्वीको बा¥हौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दी र केही काल बढ्ता समयसम्म भक्तपुर नेपालमण्डलको राजधानीनगरको रूपमा रहंदा यो राजनैतिक प्रशासनिक दृष्टिले मात्र नभएर सांस्कृतिक दृष्टिले समेत केन्द्रको रूपमा रहेको थियो र यो विद्याको केन्द्रको रूपमा समेत देखापरेको थियो (श्रेष्ठ, २०८१, ६२४–६२५) । उन्नानसय चोक भएको राजदरबारको रूपमा प्रख्याति पाएको भक्तपुर राजदरबारको एउटा चोक पुस्तकालयको रूपमा रहेको थियो । पुस्तकालय भएको चोक हुँदा सो चोक सफुथुछेँ÷सफुकुथि कहलिएको विदित हुन्छ । यही पुस्तकालयमा वेद, पुराण, तन्त्र, ज्योतिषशास्त्र, धर्मशास्त्रलगायतका अनेक बहुमूल्य ग्रन्थहरू सङ्ग्रहित रहेको देखिन्छ । मल्लकालीन यही सफुकुथिमा गोपाल राजवंशावली र त्यसैगरी न्यायविकासिनी ग्रन्थ पनि सङ्ग्रहित रहेको कुरा निश्चितप्रायः छ । मल्ल राज्यको पतनसँगै यो पुस्तकालय रहेको चोक ‘साकोथा’ नामको टोलमा परिणत हुन पुगेको दृष्टिगोचर हुन्छ । राणा प्रधानमन्त्री वीरशमशेरले वीर पुस्तकालय स्थापना गरेसँगै यहाँका बचेखुचेका बहुमूल्य ग्रन्थहरू सो पुस्तकालयमा लगेर राख्न लगाएका थिए । तीमध्येका दुई महत्वपूर्ण ग्रन्थहरू गोपाल राजवंशावली र न्यायविकासिनी पनि रहेको कुरामा सन्देह छैन । यसको श्रेय वीरशमशेरलाई जान्छ । यति महत्वका अमूल्य सम्पदा संरक्षण गरी बचाइदिने वीरशमशेर धन्यवादका विशिष्ट पात्र हुन् । किनकि त्यही वीर पुस्तकालय हालको राष्ट्रिय अभिलेखालय हो । राष्ट्रिय अभिलेखालयको शोभा र गौरव बढाइरहेको एक अमूल्य ग्रन्थ हाम्रो अभीष्ट रहेको यही न्यायविकासिनी पनि हो । ओझेलमा परेर अज्ञात अवस्थामा रहेको यो अतुल्य ग्रन्थको आधिकारिक जानकारी २०२२ सालमा कानुन तथा न्याय मन्त्रालयले १९१० को मुलुकी ऐनलाई पुनमुद्रण गरी पुनः प्रकाशमा ल्याउने सिलसिलामा यसको भूमिकामा उल्लेख भएको थियो (वस्ती, २०७९, ९२) । त्यसपछि यसबारेमा खोज अनुसन्धान हुनथाल्यो । यसको विशिष्ट, बेग्लै महत्वलाई विद्वत्वर्गले बुझे । फलस्वरूप यसबारेमा प्रकाश पार्ने अनेक कृतिहरू प्रकाशमा आउन थाले, अद्यापि आइरहेका छन् ।
निष्कर्ष
नेपालको राज्य व्यवस्था, धर्म, संस्कृति र समाजको जगमा बनेको न्यायविकासिनीले मल्लकालीन न्याय प्रशासनलाई मात्र व्यवस्थित तुल्याएन । प्रत्यक्ष, प्रकारान्तरमा आधुनिककालको न्याय प्रशासनलाई समेत प्रभावित पार्दै, नयाँ–नयाँ संहिता/ऐन/कानुन बनाउन परम्परागत रूपमै पनि प्रेरित गर्दै लगेको थियो भन्ने कुरा दृष्टिगोचर हुन्छ । राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित नारदधर्मशास्त्र (ने.सं.६७०), मानव धर्मशास्त्र (ने.सं.७२१) लगायत वि.सं. १९१० को मुलुकी ऐन आदि यस कुराको पुष्टिका लागि उदाहरणस्वरूप छन् ।
न्यायविकासिनी अनेक दृष्टिले अनुपम छ । नेपालको कानुनी इतिहासको दृष्टिले यो नेपालको पहिलो संहिताबद्ध लिखित कानुन हो, पहिलो मुलुकी ऐन हो, पूर्ण कानुन हो । विश्व इतिहासको दृष्टिले मेसोपोटामिया सभ्यताकालीन, शिलाफलकमा उत्कीर्ण उर–नम्मू संहिता (Code of Ur–Nammu, ई.पू.२१००–२०५०) लाई विश्वकै सबभन्दा पुरानो संहिता मानिएको छ (Wikipedia, Code of Ur-Nammu) । विचारणीय कुरा के छ भने हाम्रो न्यायविकासिनी भुजिँमोल लिपिमा, ताडपत्रमा लेखिएको हस्तलिखित ग्रन्थ हो । यस दृष्टिले यसलाई यस विषयको विश्वकै सर्वप्राचीन संहिता हो भने मान्न सकिन्छ । यसबारेमा बेग्लै अध्ययन हुनु जरूरी छ । यसमा नेपालले मात्र नभएर सारा विश्वले गौरव मान्नुपर्छ । लुकेर रहेको, ६ दशकअघि मात्र थाहा हुन आएको यो ग्रन्ध र यसबारेमा विश्वव्यापी प्रचारप्रसार हुनु जरुरी छ । उल्लेख्य कुरा के छ भने न्यायविकासिनी ‘फाल्गुनशुक्ल तृतीया’ को दिनमा जारी भएको थियो र केही समय यतादेखि यसको महत्वलाई ध्यानमा राख्दै नेपालका कानुनविद्हरूले सोही दिनलाई कानुन दिवसको रूपमा मान्नुपर्छ भन्ने आवाज उठाइरहेको म पनि सुन्दैछ । यसो भएमा यसले पनि अन्तर्राष्ट्रिय जगत्मा नेपालको बेग्लै विशिष्ट पहिचान, इज्जत र गरिमा बढ्नेछ । कानुनविद्हरूको स्वरमा स्वर मिलाउंँदै म पनि विनम्र निवेदन गर्छु : न्यायविकासिनी नेपालको न्यायिक गौरव हो । फाल्गुन शुक्ल तृतीयालाई कानुन दिवसको रूपमा मनाऔँ ।
सन्दर्भ सूची
खनाल, रेवतीरमण (२०८१), नेपाली कानुनी इतिहासको रूपरेखा, काठमाडौँ : पैरवी बुक हाउस प्रा.लि. ।
जोशी, हरिराम (२०३०), नेपालको प्राचीन अभिलेख, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
जोशी, हरिराम (२०७०), प्रदीप अभिनव संस्कृति विश्वकोष, भक्तपुर : वर्कर्स पब्लिकेसन्स् ।
नेपाल कानुन आयोग राजा स्थितिराज मल्लद्वारा वि.सं.१४३६ (ने.सं.५००) मा बनाउन लगाइएको कानुन (मानवन्यायशास्त्र) न्यायविकासिनी www.lawcommis–sion.gov.np
बज्राचार्य, धनबज्र (२०३०), लिच्छविकालका अभिलेख, कीर्तिपुर : नेपाल र एसियाली अनुसन्धान केन्द्र ।
बज्राचार्य, धनबज्र र कमलप्रकाश मल्ल (१९८५) गोपाल राजवंशावली, काठमाडौँः नेपाल रिसर्च सेन्टर ।
बज्राचार्य, धनबज्र, टेकबहादुर श्रेष्ठ (२०३५), पाञ्चाली शासन–पद्धतिको ऐतिहासिक विवेचना, कीर्तिपुर : नेपाल र एसियाली अनुसन्धान केन्द्र ।
वस्ती, प्रकाश (२०७९), हाम्रो कानुनी इतिहासको नालीबेली, काठमाडौँ : पैरवी प्रकाशन ।
बज्राचार्य, शान्तहर्ष (सं.) (११०७), न्यायविकासिनी (मानव न्यायशास्त्र), न्यतः तुन्छे : नेपालभाषा परिषद् ।
श्रेष्ठ, पुरुषोत्तमलोचन (२०८१), अन्तरङ्गका तरङ्गहरू, भक्तपुर : सञ्चित बचत तथा ऋण सहकारी संस्था लि. ।
(२०८१) ‘पाप र धर्मका कुरा’, ख्वप न्याय दबुः १/१/२०८१ । (Wikipedia, Code of Ur-Nammu)
स्रोत – ख्वप न्याय दबु : २०८२
Leave a Reply