विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

प्योङयाङ, ३ भदौ (केसीएनए÷एपी) । कोरियाली मजदुर पार्टीका महासचिव, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबिच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गर्नुभएको छ ।
उहाँले यस्तो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आफ्नो देशको आणविक शक्ति विस्तारलाई अझै छिटो अघि बढाउने घोषणा गर्नुभयो ।
कठपुतली देश दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने युद्ध अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । यस अभ्यासमा कम्प्युटर–सिमुलेटेड युद्ध योजनादेखि फिल्ड प्रशिक्षणसम्म समावेश गरिएको छ । प्रजग कोरियाले भने यसलाई आफूमाथिको आक्रमणको तयारी भन्दै आएको छ ।
अमेरिका–दक्षिण अमेरिका संयुक्त युद्ध अभ्यास थालनीसँगै कोरियाली जनसेना पनि कुनै पनि बेला आक्रमणको प्रतिकारका लागि तम्तयार अवस्थामा रहेको छ ।
नेता किमले पाँच हजार टन क्षमताको विध्वंसक ‘चो ह्योन’ लाई कोरियाली जनसेनाको नौसेना ब्रिगेडको आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गर्नुभएको छ । यो युद्धपोत विभिन्न एन्टी–एयर, एन्टी–नेभल हतियारसहित ब्यालेस्टिक र क्रुज मिसाइलजस्ता आणविक सक्षम प्रणालीले सुसज्जित छ । यसलाई अर्को वर्षदेखि अझ सक्रिय बनाउने तयारी भइरहेको छ । प्रजग कोरियाले यसै वर्ष दोस्रो र तेस्रो विध्वंसक निर्माणमा समेत काम गरिरहेको जनाएको छ ।
नेता किमले अभ्यासलाई ‘पहिलेभन्दा बढी उत्तेजक’ भन्दै सक्रिय र भारी प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । उहाँले सुरक्षा वातावरण दिनप्रतिदिन गम्भीर बन्दै गएको र यसका लागि सैन्य सिद्धान्त तथा अभ्यासमा द्रुत परिवर्तन आवश्यक भएको बताउनुभयो ।
यसैबिच दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले भने युद्धअभ्यासबारे कुनै उल्लेख नगरी वार्ता र विश्वास पुनःस्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौता पुनर्जीवित गर्न चाहेको बताउनुभएको छ । तर, प्रजग कोरियाले दक्षिण कोरियाबाट भइरहेको निरन्तरको शत्रुतापूर्ण गतिविधिलाई मध्यनजर गरी दुई देशबिचको उक्त सम्झौता पालना नगर्ने घोषणा गरिसकेकाले भविष्यको संवाद अझै अनिश्चित देखिन्छ ।
Leave a Reply