स्थानीय स्काउटको शुभकामना आदानप्रदान
- कार्तिक ६, २०८२
आजको तीव्र प्रतिस्पर्धात्मक युगमा धेरै कामकाजी युवा आफ्नो करियरमा सफलता हासिल गर्नका लागि लामो समयसम्म निरन्तर परिश्रम गरिरहेका हुन्छन् । निरन्तर कामको दबाब, लामो समय निरन्तर खटन, व्यक्तिगत जीवनका लागि समयको कमी र पर्याप्त विश्राम नपाउँदा उनीहरू मानसिक, शारीरिक र भावनात्मक रूपमा थकित हुने अवस्था आउँछ, जसलाई ‘बर्नआउट (Burnout)’ भनिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१९ मा ‘बर्नआउट’ लाई आधिकारिक रूपमा व्यवसायजन्य अवस्था
(Occupational Phenomenon) भनेर मान्यता दिएको छ । यसको मुख्य कारण दीर्घकालीन कार्यस्थलसम्बन्धी तनाव
(Chronic Workplace Stress) हो ।
बर्नआउट भनेको के हो ?
अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य–दबाब र मानसिक तनावका कारण हुने एक प्रकारको गहिरो थकान हो, जसले व्यक्ति आफ्नो कामप्रति रुचि, ऊर्जा र प्रेरणा गुमाउँछ र दीर्घकालमा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
प्रारम्भिक लक्षणहरू
१. निरन्तर शारीरिक र मानसिक थकान – पर्याप्त निद्रा भए पनि शरीर भारी लाग्नु र ऊर्जाहीन महसुस हुनु ।
२. ध्यानकेन्द्रित गर्न कठिनाइ – सामान्य वा सजिलो काममा पनि ध्यान भङ्ग हुनु ।
३. कामप्रति उत्साहको कमी – पहिले मन पर्ने काममा पनि रुचि नहुनु ।
४. मूड स्विङ र चिडचिडापन – सानो कुरामा रिस उठ्नु वा अचानक दुःखी महसुस हुनु ।
५. शारीरिक स्वास्थ्य समस्या – बारम्बार टाउको दुखाइ, पेटको समस्या, मांसपेशी दुखाइ वा निद्राको समस्या हुनु ।
बर्नआउट हुने प्रमुख कारणहरू
– लामो कार्य समय र विश्रामको कमी ।
– अत्यधिक कार्य–दबाब र अपूर्ण लक्ष्य ।
– काम र व्यक्तिगत जीवनबिचको असन्तुलन ।
– सामाजिक वा भावनात्मक समर्थनको कमी ।
– निरन्तर प्रतिस्पर्धात्मक वातावरण र कामको असुरक्षा ।
सन् २०२२ मा हावार्ड विजनेस रिभ्युमा प्रकाशित एउटा अध्ययनका अनुसार, बर्नआउट विशेषगरी २५–३५ वर्ष उमेर समूहका पेशेवरहरूमा बढी देखापर्छ, जसको मुख्य कारण करियरमा छिटो प्रगति गर्ने दबाब र व्यक्तिगत जीवनमा असन्तुलन हो ।
समाधानका उपाय
१. नियमित विश्राम र समय व्यवस्थापन
Journal of Applied Psychology (२०१७) मा प्रकाशित अनुसन्धान अनुसार, कार्यबिचमा सानो ‘ब्रेक’ लिनु वा हल्का गतिविधि गर्नु कार्यक्षमता बढाउने र मानसिक थकान घटाउने प्रमाणित भएको छ ।
२. शारीरिक व्यायाम र सक्रिय जीवनशैली
Lancet Psychiatry (२०१८) को एउटा मेटा–विश्लेषणले हप्तामा ३–५ दिन कम्तीमा ३० मिनेट मध्यम स्तरको व्यायाम (जस्तै छिटो हिँड्ने, दौडने, साइकल चलाउने) गर्दा मानसिक स्वास्थ्यमा सुधार आउने देखाएको छ ।
३. पर्याप्त र गुणस्तरीय निद्रा
Sleep जर्नलका अनुसार, वयस्कले दैनिक ७–९ घण्टा गुणस्तरीय निद्रा लिनु बर्नआउट रोकथाममा महत्वपूर्ण हुन्छ ।
४. माइन्डफुलनेस र ध्यान
JAMA Internal Medicine (२०१४) ले माइन्डफुलनेस मेडिटेसनले तनाव, चिन्ता र भावनात्मक थकान घटाउने प्रमाण प्रस्तुत गरेको छ ।
५. सामाजिक समर्थन र संवाद
American Journal of Psychiatry (२०२०) का अनुसार, सहकर्मी, परिवार वा साथीहरूसँग नियमित संवाद गर्नु, अनुभव साटासाट गर्नु र भावनात्मक समर्थन पाउनु बर्नआउटको असर कम गर्न सहयोगी हुन्छ ।
बर्नआउट कुनै व्यक्तिगत कमजोरी होइन, यो दीर्घकालीन कार्य–दबाबको परिणाम हो । समयमै यसको लक्षण चिन्नु, कारण बुझ्नु र वैज्ञानिक रूपमा प्रमाणित उपायहरू अपनाउनु आवश्यक छ । कामकाजी युवाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखी काम र जीवनको सन्तुलन कायम गर्न सके, उनीहरूको कार्यक्षमता मात्र होइन, दीर्घकालीन मानसिक तथा शारीरिक स्वास्थ्य पनि जोगाउन सकिन्छ ।
Leave a Reply