भर्खरै :

हरेक ऐतिहासिक घटनाको संस्मरणले नयाँ पुस्तालाई सत्य तथ्य बुझ्न र बुझाउन सहयोग गर्ने

हरेक ऐतिहासिक घटनाको संस्मरणले नयाँ पुस्तालाई सत्य तथ्य बुझ्न र बुझाउन सहयोग गर्ने

भक्तपुर, ९ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक ऐतिहासिक घटनाको संस्मरणले नयाँ पुस्तालाई सत्य तथ्य बुझ्न र बुझाउन सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा व्यक्तिवादी र स्वार्थ हाबी भएकाहरूको बहुमत छ । स्वार्थको लागि जुनसुकै काम गर्न पछि नपर्नेहरू कसरी सज्जन र सही हुन्छन् ?”
भक्तपुर काण्डको इतिहास अध्ययन गर्दा तत्कालीन सरकारको योजनाबद्ध षड्यन्त्र भएको स्पष्ट हुन्छ । राजनीतिक चेतनाको अभावको कारण शिक्षितले धोका दिन सक्छ उहाँले भन्नुभयो ।
बेइमानी र स्वार्थीहरू सत्य, तथ्य र इमानदारसँग डराउने भएकाले इमानदारिताका साथ सत्यको मार्गमा लाग्न अध्यक्ष रोहितले सुझाव दिनुभयो ।
उहाँले जेलमा रहँदा खाना पु¥याउँदा भक्तपुरको अवस्थाबारे जानकारी दिन खानाभित्र चिठी पत्रहरू आदानप्रदान गरेको कारण थप सङ्गठित हुन सहज बनाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तत्कालीन पञ्चहरू हाल विभिन्न पार्टी र सङ्गठनको नाममा शासक दलहरूमा रहेको हुँदा सचेत हुनु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इतिहासबाट पाठ सिकी नयाँ पुस्तालाई अवगत गराउनु जरुरी छ । षड्यन्त्र फरक ढङ्गबाट दोहरिन सक्छ । नयाँ पुस्तालाई भक्तपुर काण्डबारे स्पष्ट पारी फेरि हुनसक्ने षड्यन्त्रबारे सङ्गठित गर्दै जानुपर्ने आजको आवश्यकता हो ।”
नयाँ पुस्तालाई कुलतमा फसाउनु, गलत मार्गमा दोहो¥याउन भ्रम फैलाउनु, झूटको खेती गर्नु, विकृति, विसङ्गतिमा लगाउनु पनि नयाँ ढङ्गको षड्यन्त्र भएकोले सचेत हुनु जरूरी छ, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
कार्यकर्ताहरू जो जहाँ रहे पनि निःस्वार्थरूपमा सेवा गर्न र सङघर्षको पाठ सिकी अगाडि बढ्नु जरुरी छ, उहाँले भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले भक्तपुर काण्डको विरोधमा भक्तपुरका महिलाहरूले गरेको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनु अत्यावश्यक भएको उल्लेख गर्दै सत्यलाई डबाउन जस्तोसुकै कुकृत्य गरे पनि एक दिन वास्तविकता छर्लङ्ग हुनेछ भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले भक्तपुर काण्डले जनतालाई एकताको पाठ सिकाएको र सिद्धान्तनिष्ठ बनाएको उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कमलमैयाँ सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वराम प्रजापतिले जेल जीवनमा भोग्नुपरेको यातनाबारे बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ‘भक्तपुर काण्ड’ का संस्मरणहरू – २’ विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका गङ्गा वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *