भर्खरै :

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको पुनःसंरचना चीनको परिपक्व नीति, ट्रम्पको चाल उल्टिँदै

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको पुनःसंरचना चीनको परिपक्व नीति, ट्रम्पको चाल उल्टिँदै

हालका वर्षहरूमा अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका घटनाक्रमहरूले विश्व शक्ति सन्तुलन तीव्रगतिमा रूपान्तरित भइरहेको स्पष्ट प्रमाण दिएका छन् । यस्तै परिप्रेक्ष्यमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका कूटनीतिक रणनीतिहरू क्रमशः उल्टो दिशामा मोडिन थालेका देखिन्छन् । ती परिस्थितिलाई सबैभन्दा प्रभावकारी ढङ्गले व्यवस्थापन गर्ने क्षमता भने चीनले प्रदर्शन गरेको आभास हुन्छ ।
सन्दर्भ हो, चीनमा अगस्ट ३१ बाट सुरु हुँदै गरेको शाङ्घाई सहकार्य सङ्गठन (SCO) को शीर्ष सम्मेलनमा हुने सि चिनफिङ, पुटिन र मोदीको भेट । शाङ्घाई सहकार्य सङ्गठन सन् २००१ मा शाङ्घाईमा स्थापना भएको क्षेत्रीय राजनीतिक, आर्थिक र सुरक्षा सङ्गठन हो जसमा चीन, रूस, भारत र केन्द्रीय एसियाका विभिन्न मुलुकहरू सदस्य छन् । यसले आतङ्कवादविरुद्ध संयुक्त सुरक्षामा सहकार्य गर्ने, आर्थिक आदानप्रदान बढाउने तथा सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय वस्तुमा ५० प्रतिशत अतिरिक्त शुल्क लगाएपछि ठुलो दबाब परेको परिस्थितिमा परम्परागत प्रतिद्वन्द्वी भए पनि भारत र चीनले अमेरिकी संरक्षणवादी नीतिको सामना गर्न एससीओ वा ब्रिक्स जस्ता क्षेत्रीय तथा बहुपक्षीय संस्थाहरूमा आपसी सहकार्य बढाएको र आपसमा नजिकिएको देखिन्छ ।
अमेरिकाको व्यवहारप्रति असन्तुष्टि बढ्दै गएपछि भारतले पनि आफ्नो कूटनीतिक विकल्पहरू खोल्न थालेको छ । रुसी राष्ट्रपति पुटिनसमेत उपस्थित हुने एससीओ मा सहभागिताको निम्ति हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यही रणनीतिक सन्देश हो । उक्त सम्मेलनमा यो भ्रमण केवल सामान्य कूटनीतिक परम्परा होइन, अमेरिकी व्यवहारबाट निराश भारतले विकल्प खोजेको सङ्केत पनि हो । यसलाई चीनले शालीनता र संयमताका साथ लिएको छ । तर, यस्तो भारतीय कदम अमेरिकालाई घुर्की देखाउने रणनीतिमात्र भयो भने भारतको निम्ति प्रत्युत्पादक ठहरिने छ ।
अमेरिकाजस्ता प्राणघातक मित्रतर्फ भारतको झुकाव
भारतीय प्रधानमन्त्री मोदी सत्तामा आएपछि नेहरुकालदेखिको विदेश नीतिमा परिवर्तन गरी विगत केही वर्षयता चीनको उदय, रूससँगको तनावपूर्ण अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक सुरक्षाजन्य चिन्ता भन्दै अमेरिकी चकाचौढमा आकर्षित भएर भारतले अमेरिकासँग नजिकिने नीति अपनायो । QUAD (Quadrilateral Security Dialogue), BECA (Basic Exchange and Cooperation Agreement) जस्तासैन्य सम्झौता र रणनीतिक वार्तामार्फत अमेरिका–भारत सम्बन्धलाई रणनीतिक साझेदारीको रूपमा अगाडि बढाइएको थियो ।
अमेरिकी नीति सदैव स्थिर हुँदैन । समयक्रममा शक्ति, स्वार्थ र रणनीति बदलिँदै जान्छन् । यस्तो बदलिँदो परिवेशमा भारतले पछिल्ला दशकमा अमेरिकासँग नजिकिने नीति अपनायो, तर अब त्यसको गम्भीर परिणाम भोगिरहेको देखिन्छ । अमेरिकासँगको मित्रता यति एकतर्फी र आदेशमुखी बन्दै गइरहेको छ कि भारतको स्वतन्त्र निर्णय क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।
अमेरिकी कूटनीतिक रणनीतिबारे टिप्पणी गर्दै हेनरी किसिन्जरले भनेका थिए, “अमेरिकासँग शत्रु हुनु खतरनाक हो, तर मित्र हुनु प्राणघातक ।” आज भारतको अवस्थाले यस भनाइलाई सजीव रूपमा पुष्टि गरिरहेको छ ।
युक्रेन युद्धपछि भारतले रूससँग तेल आयात बढाएको छ । भारतले रूससँग कच्चा तेल आयात गरी प्रशोधन गरेपछि विश्व बजारमा निर्यात गर्न थाल्दा अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको हो । यो कार्य निकै विरोधाभासी छ किनभने युरोपका धेरै देशहरू अझै रूससँग व्यापार गरिरहेका छन् । तर, भारतलाई मात्र टोक्ने र धम्क्याउने प्रयासले देखाउँछ, अमेरिकासँग मित्रता गर्दा सम्मान होइन, आदेश पालना गरिनुपर्ने स्थिति आउने रहेछ । यस्तो अवस्थामा भारतमाथि मात्र कठोर चेतावनी दिने कार्यले अमेरिकाको व्यवहारलाई ‘दोहोरो मापदण्ड’ को रूपमा देखाएको छ । नाटो र पश्चिमी मुलुकहरूको दबाबले भारतलाई कूटनीतिकरूपमा फेरि सन्तुलन खोज्न बाध्य बनाएको छ । यदि नैतिकताका आधारमा प्रतिबन्ध लाग्नुपर्ने हो भने, त्यसमा अमेरिका स्वयम्ले प्रतिबन्ध पालना गर्नुपर्ने थियो । तर, आर्थिक स्वार्थका कारण अमेरिकाले आफ्ना नियम आफै तोडिरहेको छ । यदि भारतले आफ्नो रणनीतिक स्वायत्तता जोगाउन चाहन्छ भने, केवल एक ध्रुवमा आश्रित हुनुभन्दा बहुध्रुवीय शक्ति केन्द्रहरूसँग सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । चीनसँग संवाद, रूससँग ऊर्जा सहकार्य र अमेरिकासँग बराबरीको सम्बन्धजस्ता सन्तुलनका सूत्र भारतको वास्तविक हितमा छन् ।
रुसलाई चीनसँग अलग्याउने ट्रम्पको प्रयास
ट्रम्पको रणनीति रुसलाई अमेरिका नजिक ल्याउने प्रयास थियो । रूसलाई अमेरिका नजिक ल्याएर चीनसँग अलग्याउने डोनाल्ड ट्रम्पको कार्यकालमा देखिएको एउटा मुख्य रणनीति थियो । ट्रम्पको सोचअनुसार, यदि रूस र अमेरिकाबिच मैत्रीपूर्ण सम्बन्ध बन्न सक्यो भने रूस–चीन गठबन्धन कमजोर हुनेछ र विश्वको दुईध्रुवीय (Bipolar) संरचना अमेरिका पक्षमा फाइदाजनक बन्न सक्थ्यो ।
यसकारण नै ट्रम्प युक्रेन युद्धको सवालमा स्पष्ट रूपमा रूसको समर्थनतर्फ झुकेका देखिन्थे । उनले अमेरिका–युक्रेन सम्बन्धलाई कमजोर पार्न चाहेका थिए ताकि रूसलाई अलग्गै राख्न सकियोस् । यस रणनीतिमा चीनलाई मुख्य चुनौतीका रूपमा चित्रण गरियो ।
अस्ट्रेलियाः ट्रम्पको अपेक्षाविपरीत चीनसँग सुमधुर सम्बन्ध
ट्रम्पको रणनीतिअनुसार अमेरिका–अस्ट्रेलिया–भारत गठबन्धनले चीनलाई रणनीतिकरूपमा घेराबन्दी गर्ने लक्ष्य थियो । तर, हालै अस्ट्रेलियाले चीनसँग व्यापारिक सम्बन्ध पुनः सामान्य पार्ने कार्य गरेको छ, जुन ट्रम्पको योजनाविपरीत हो । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले चीन भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याएका छन् । वाइन, कोइला, खाद्यान्नजस्ता थुप्रै अस्ट्रेलियाली वस्तुहरूको निर्यातमा रोक हटाइएको छ । यो चीनको आर्थिक कूटनीतिको सफल उदाहरण हो ।
चीनको परिपक्वता
यी सबै कदमहरू चीनले चुपचाप तर प्रभावकारी ढङ्गले चालिरहेको छ । उसले आर्थिक व्यापार, कूटनीति, सुरक्षा र प्राविधिक विकासलगायत सबै क्षेत्रमा आफ्ना कदमहरू सन्तुलनमा राखेको छ ।
डोनाल्ड ट्रम्पले कल्पना गरेको ‘रुसलाई अमेरिका नजिक ल्याउने, भारत–अस्ट्रेलियालाई चीनविरोधी गठबन्धनमा राख्ने’ रणनीति अहिले उल्टिँदै गएको छ । अस्ट्रेलिया चीनसँग घुलमिल भइरहेको छ, भारत पनि चीनसँग संवादमा उत्रिएको छ र रूस–चीन सम्बन्ध अझै बलियो हुँदै गएको छ । पश्चिमी मुलुकहरूको दोहोरो व्यवहारले भारतजस्ता मुलुकहरूलाई पश्चिमको नियतप्रति आशङ्का गर्न बाध्य बनाइरहेको छ । यस्तो परिप्रेक्ष्यमा चीन अत्यन्त परिपक्व र दीर्घदृष्टिवान कदम चालेर शक्ति सन्तुलनमा आफूलाई अगाडि बढाइरहेको छ । अन्ततः, अहिलेको विश्व राजनीतिमा “जो धैर्य राख्छ, अन्त्यमा उही जित्छ” भन्ने कुराको उत्कृष्ट उदाहरण चीन बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *