क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
हालका वर्षहरूमा अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका घटनाक्रमहरूले विश्व शक्ति सन्तुलन तीव्रगतिमा रूपान्तरित भइरहेको स्पष्ट प्रमाण दिएका छन् । यस्तै परिप्रेक्ष्यमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका कूटनीतिक रणनीतिहरू क्रमशः उल्टो दिशामा मोडिन थालेका देखिन्छन् । ती परिस्थितिलाई सबैभन्दा प्रभावकारी ढङ्गले व्यवस्थापन गर्ने क्षमता भने चीनले प्रदर्शन गरेको आभास हुन्छ ।
सन्दर्भ हो, चीनमा अगस्ट ३१ बाट सुरु हुँदै गरेको शाङ्घाई सहकार्य सङ्गठन (SCO) को शीर्ष सम्मेलनमा हुने सि चिनफिङ, पुटिन र मोदीको भेट । शाङ्घाई सहकार्य सङ्गठन सन् २००१ मा शाङ्घाईमा स्थापना भएको क्षेत्रीय राजनीतिक, आर्थिक र सुरक्षा सङ्गठन हो जसमा चीन, रूस, भारत र केन्द्रीय एसियाका विभिन्न मुलुकहरू सदस्य छन् । यसले आतङ्कवादविरुद्ध संयुक्त सुरक्षामा सहकार्य गर्ने, आर्थिक आदानप्रदान बढाउने तथा सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय वस्तुमा ५० प्रतिशत अतिरिक्त शुल्क लगाएपछि ठुलो दबाब परेको परिस्थितिमा परम्परागत प्रतिद्वन्द्वी भए पनि भारत र चीनले अमेरिकी संरक्षणवादी नीतिको सामना गर्न एससीओ वा ब्रिक्स जस्ता क्षेत्रीय तथा बहुपक्षीय संस्थाहरूमा आपसी सहकार्य बढाएको र आपसमा नजिकिएको देखिन्छ ।
अमेरिकाको व्यवहारप्रति असन्तुष्टि बढ्दै गएपछि भारतले पनि आफ्नो कूटनीतिक विकल्पहरू खोल्न थालेको छ । रुसी राष्ट्रपति पुटिनसमेत उपस्थित हुने एससीओ मा सहभागिताको निम्ति हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यही रणनीतिक सन्देश हो । उक्त सम्मेलनमा यो भ्रमण केवल सामान्य कूटनीतिक परम्परा होइन, अमेरिकी व्यवहारबाट निराश भारतले विकल्प खोजेको सङ्केत पनि हो । यसलाई चीनले शालीनता र संयमताका साथ लिएको छ । तर, यस्तो भारतीय कदम अमेरिकालाई घुर्की देखाउने रणनीतिमात्र भयो भने भारतको निम्ति प्रत्युत्पादक ठहरिने छ ।
अमेरिकाजस्ता प्राणघातक मित्रतर्फ भारतको झुकाव
भारतीय प्रधानमन्त्री मोदी सत्तामा आएपछि नेहरुकालदेखिको विदेश नीतिमा परिवर्तन गरी विगत केही वर्षयता चीनको उदय, रूससँगको तनावपूर्ण अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक सुरक्षाजन्य चिन्ता भन्दै अमेरिकी चकाचौढमा आकर्षित भएर भारतले अमेरिकासँग नजिकिने नीति अपनायो । QUAD (Quadrilateral Security Dialogue), BECA (Basic Exchange and Cooperation Agreement) जस्तासैन्य सम्झौता र रणनीतिक वार्तामार्फत अमेरिका–भारत सम्बन्धलाई रणनीतिक साझेदारीको रूपमा अगाडि बढाइएको थियो ।
अमेरिकी नीति सदैव स्थिर हुँदैन । समयक्रममा शक्ति, स्वार्थ र रणनीति बदलिँदै जान्छन् । यस्तो बदलिँदो परिवेशमा भारतले पछिल्ला दशकमा अमेरिकासँग नजिकिने नीति अपनायो, तर अब त्यसको गम्भीर परिणाम भोगिरहेको देखिन्छ । अमेरिकासँगको मित्रता यति एकतर्फी र आदेशमुखी बन्दै गइरहेको छ कि भारतको स्वतन्त्र निर्णय क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।
अमेरिकी कूटनीतिक रणनीतिबारे टिप्पणी गर्दै हेनरी किसिन्जरले भनेका थिए, “अमेरिकासँग शत्रु हुनु खतरनाक हो, तर मित्र हुनु प्राणघातक ।” आज भारतको अवस्थाले यस भनाइलाई सजीव रूपमा पुष्टि गरिरहेको छ ।
युक्रेन युद्धपछि भारतले रूससँग तेल आयात बढाएको छ । भारतले रूससँग कच्चा तेल आयात गरी प्रशोधन गरेपछि विश्व बजारमा निर्यात गर्न थाल्दा अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको हो । यो कार्य निकै विरोधाभासी छ किनभने युरोपका धेरै देशहरू अझै रूससँग व्यापार गरिरहेका छन् । तर, भारतलाई मात्र टोक्ने र धम्क्याउने प्रयासले देखाउँछ, अमेरिकासँग मित्रता गर्दा सम्मान होइन, आदेश पालना गरिनुपर्ने स्थिति आउने रहेछ । यस्तो अवस्थामा भारतमाथि मात्र कठोर चेतावनी दिने कार्यले अमेरिकाको व्यवहारलाई ‘दोहोरो मापदण्ड’ को रूपमा देखाएको छ । नाटो र पश्चिमी मुलुकहरूको दबाबले भारतलाई कूटनीतिकरूपमा फेरि सन्तुलन खोज्न बाध्य बनाएको छ । यदि नैतिकताका आधारमा प्रतिबन्ध लाग्नुपर्ने हो भने, त्यसमा अमेरिका स्वयम्ले प्रतिबन्ध पालना गर्नुपर्ने थियो । तर, आर्थिक स्वार्थका कारण अमेरिकाले आफ्ना नियम आफै तोडिरहेको छ । यदि भारतले आफ्नो रणनीतिक स्वायत्तता जोगाउन चाहन्छ भने, केवल एक ध्रुवमा आश्रित हुनुभन्दा बहुध्रुवीय शक्ति केन्द्रहरूसँग सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । चीनसँग संवाद, रूससँग ऊर्जा सहकार्य र अमेरिकासँग बराबरीको सम्बन्धजस्ता सन्तुलनका सूत्र भारतको वास्तविक हितमा छन् ।
रुसलाई चीनसँग अलग्याउने ट्रम्पको प्रयास
ट्रम्पको रणनीति रुसलाई अमेरिका नजिक ल्याउने प्रयास थियो । रूसलाई अमेरिका नजिक ल्याएर चीनसँग अलग्याउने डोनाल्ड ट्रम्पको कार्यकालमा देखिएको एउटा मुख्य रणनीति थियो । ट्रम्पको सोचअनुसार, यदि रूस र अमेरिकाबिच मैत्रीपूर्ण सम्बन्ध बन्न सक्यो भने रूस–चीन गठबन्धन कमजोर हुनेछ र विश्वको दुईध्रुवीय (Bipolar) संरचना अमेरिका पक्षमा फाइदाजनक बन्न सक्थ्यो ।
यसकारण नै ट्रम्प युक्रेन युद्धको सवालमा स्पष्ट रूपमा रूसको समर्थनतर्फ झुकेका देखिन्थे । उनले अमेरिका–युक्रेन सम्बन्धलाई कमजोर पार्न चाहेका थिए ताकि रूसलाई अलग्गै राख्न सकियोस् । यस रणनीतिमा चीनलाई मुख्य चुनौतीका रूपमा चित्रण गरियो ।
अस्ट्रेलियाः ट्रम्पको अपेक्षाविपरीत चीनसँग सुमधुर सम्बन्ध
ट्रम्पको रणनीतिअनुसार अमेरिका–अस्ट्रेलिया–भारत गठबन्धनले चीनलाई रणनीतिकरूपमा घेराबन्दी गर्ने लक्ष्य थियो । तर, हालै अस्ट्रेलियाले चीनसँग व्यापारिक सम्बन्ध पुनः सामान्य पार्ने कार्य गरेको छ, जुन ट्रम्पको योजनाविपरीत हो । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले चीन भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याएका छन् । वाइन, कोइला, खाद्यान्नजस्ता थुप्रै अस्ट्रेलियाली वस्तुहरूको निर्यातमा रोक हटाइएको छ । यो चीनको आर्थिक कूटनीतिको सफल उदाहरण हो ।
चीनको परिपक्वता
यी सबै कदमहरू चीनले चुपचाप तर प्रभावकारी ढङ्गले चालिरहेको छ । उसले आर्थिक व्यापार, कूटनीति, सुरक्षा र प्राविधिक विकासलगायत सबै क्षेत्रमा आफ्ना कदमहरू सन्तुलनमा राखेको छ ।
डोनाल्ड ट्रम्पले कल्पना गरेको ‘रुसलाई अमेरिका नजिक ल्याउने, भारत–अस्ट्रेलियालाई चीनविरोधी गठबन्धनमा राख्ने’ रणनीति अहिले उल्टिँदै गएको छ । अस्ट्रेलिया चीनसँग घुलमिल भइरहेको छ, भारत पनि चीनसँग संवादमा उत्रिएको छ र रूस–चीन सम्बन्ध अझै बलियो हुँदै गएको छ । पश्चिमी मुलुकहरूको दोहोरो व्यवहारले भारतजस्ता मुलुकहरूलाई पश्चिमको नियतप्रति आशङ्का गर्न बाध्य बनाइरहेको छ । यस्तो परिप्रेक्ष्यमा चीन अत्यन्त परिपक्व र दीर्घदृष्टिवान कदम चालेर शक्ति सन्तुलनमा आफूलाई अगाडि बढाइरहेको छ । अन्ततः, अहिलेको विश्व राजनीतिमा “जो धैर्य राख्छ, अन्त्यमा उही जित्छ” भन्ने कुराको उत्कृष्ट उदाहरण चीन बन्दै गएको छ ।
Leave a Reply