भर्खरै :

भियतनामी जनताका नेता हो चि मिन्ह

  • भाद्र १६, २०८२
  • प्रज्ज्वल शर्मा
  • Uncategorized
भियतनामी जनताका नेता हो चि मिन्ह

सन्दर्भ : हो चि मिन्ह स्मृति दिवस (सेप्टेम्बर–२)
भियतनाम एसिया महादेशको पूर्वमा अवस्थित भौगोलिकरूपमा सानो देश हो । चीन, कम्बोडिया, लाओसलगायतका देशहरूसँग यसको सिमाना जोडिएको छ । क्षेत्रफलमा भियतनाम त्यति विशाल नभए तापनि यो देशले उपनिवेशवाद र साम्राज्यवादविरोधी गौरवशाली इतिहास कोरेको छ । फ्रान्सेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादलाई भियतनामी जनताको अथक सङ्घर्षले चखाएको हार आज पनि साम्राज्यवादविरोधी जो कसैका लागि गौरवको विषय बन्ने गरेको छ । त्यही महान् क्रान्तिकारी विगत बोकेको भियतनाम र भियतनामी जनताले कसैगरी पनि नभुल्ने नाम हो ‘काका हो’ ।
‘काका हो’ अर्थात् हो चि मिन्हको जन्म सन् १८९० मे १९ का दिन नग्ही एन प्रान्तअन्तर्गत पर्नेनामदान जिल्लाको किम लियन गाउँमा भएको थियो । उहाँ आफ्नो देशलाई अत्यधिक माया गर्नुहुन्थ्यो ।
हो चि मिन्ह जन्मेको गाउँका गाउँलेहरू विदेशी आक्रमणविरूद्ध लडेका वीर योद्धाहरू थिए । त्यो गाउँ राष्ट्र मुक्ति आन्दोलनको क्रममा विदेशी थिचोमिचो र दमनविरूद्ध गौरवशाली प्रतिरक्षाको इतिहास बोकेको गाउँ थियो । सानै उमेरदेखि हो चि मिन्हमाथि यसको प्रत्यक्ष प्रभाव परेको थियो ।
सन् १९११ को अन्त्यतिर उहाँ विभिन्न देशहरूका अनुभव र क्रान्तिकारी सिद्धान्तहरू अध्ययन गर्न चाहनुहुन्थ्यो । विदेशमा उहाँ मजदुर बन्नुभयो र ती देशहरूमा हुने क्रान्तिकारी आन्दोलन र सङ्घर्षमा भाग लिनुभयो । ती आन्दोलन र सङ्घर्ष उहाँका निम्ति एक विश्वविद्यालयसरि थियो । विश्वका जुनसुकै क्षेत्रका कामदार जनता एक भई पुँजीपति, साम्राज्यवादी शक्तिविरूद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रवादी भावनाको विचार उहाँभित्र भइसकेको थियो । यसरी अनेक देशहरूका आन्दोलन र सङ्घर्षबाट सिक्दै उहाँले आफ्नो देशको स्वतन्त्रता र स्वाधीनताको लागि अथक सङ्घर्ष अगाडि बढाउनुभयो ।

जनगणतन्त्र भियतनाम स्थापना समारोह

सन् १९१७ मा रूसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भयो । यो महान् क्रान्तिले हो चि मिन्हलाई ज्यादै सकारात्मक प्रभाव पा¥यो । उहाँले त्यो क्रान्तिप्रति ऐक्यबद्धता जनाउनुभयो । त्यसपछिका दिनहरूमा उहाँले माक्र्सवाद र लेनिनवादको अध्ययनमा आफ्नो समय बिताउनुभयो । सम्पूर्ण उपनिवेशवादबाट सताइएका जनताको मुक्तिको दर्शन माक्र्सवाद र लेनिनवाद हुनसक्छ भन्ने ठम्याइमा उहाँ पुग्नुभयो । उहाँ असल माक्र्सवादी–लेनिनवादी बन्नुभयो ।
सन् १९२० मा उहाँ फ्रान्समा हुनुहुन्थ्यो । त्यो वर्ष फ्रान्सका क्रान्तिकारी र कम्युनिस्टहरूको सम्मेलन भएको थियो । सो सम्मेलन टुर सम्मेलनको नामले चिनिन्छ । सो सम्मेलनबाट फ्रान्सेली कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो । हो चि मिन्ह त्यो सम्मेलनमा सहभागी बन्नुभएको थियो । यसरी उहाँ एक देशभक्त योद्धाबाट अन्तर्राष्ट्रवादी कम्युनिस्ट क्रान्तिकारी योद्धा बन्नुभयो । उहाँले भन्नुभएको छ, “कुनै देशको रक्षा गर्न र कुनै राष्ट्रका मुक्तिका लागि सर्वहारा क्रान्तिबाहेक हामीसँग अरू कुनै बाटो छैन ।”
सन् १९२१ मा फ्रान्सले उपनिवेशवाद बनाएका विभिन्न देशहरू क्रान्तिकारी र देशभक्तहरू सम्मिलित उपनिवेशका जनताको लिग गठन भयो । यसको स्थापना गर्न हो चि मिन्हले नेतृत्वदायी भूमिका निभाउनुभयो । भियतनामी जनताको सङ्घर्षलाई अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनसँग जोड्न यो लिगले उल्लेखनीय सहयोग ग¥यो । सन् १९२२ मा त्यस लिगले ीभ एबचष्ब नामको पत्रिका प्रकाशन ग¥यो । सन् १९२३ मा उहाँले किसानहरूको अन्तर्राष्ट्रिय सङ्गठनको कार्य समितिमा भाग लिनुभयो । सन् १९२४ मा उहाँले कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचौँ सम्मेलनमा भाग लिनुभयो । सो सम्मेलनबाट उहाँलाई पूर्वी विभागको दक्षिणी क्षेत्रको इञ्चार्जमा मनोनयन गरियो । सन् १९२५ मा उहाँ दबिएका एसियाली देशहरूको लिग स्थापना गर्नतिर लाग्नुभयो । त्यसै समयावधिमा उहाँले लेखेका दुई प्रसिद्ध पुस्तकहरू ‘परीक्षाको घडीमा फ्रान्सेली उपनिवेशवाद’ (१९२५) र ‘क्रान्तिको मार्ग’ (१९२७) प्रकाशित भए ।
भियतनाममा पनि कम्युनिस्ट पार्टी स्थापना गर्न सहज हुने हिसाबले सन् १९२५ मा चीनको क्यान्टन भन्ने सहरमा भियतनामका युवा क्रान्तिकारीहरूको सङ्गठन स्थापना गर्नुभयो । त्यो सङ्गठन परिचालन गर्न कम्युनिस्ट लिग भनेर अर्को एउटा समिति पनि गठन गर्नुभयो । ती सङ्गठनहरूमार्फत उहाँले कम्युनिस्ट कार्यकर्ताहरूको प्रशिक्षण चलाउनुभयो र भियतनाममा माक्र्सवाद लेनिनवादको प्रचारप्रसारमा जुट्नुभयो । फलतः सन् १९२९ तिरबाटै भियतनामभित्र कम्युनिस्ट सङ्गठनहरू गठन हुन थाले । तर, ती सङ्गठनहरू विभाजित अवस्थामा रहनु फ्रान्सेली उपनिवेशवादलाई फाइदाजनक नै थियो । यसै कुरालाई मनन गरेर सन् १९३० फेब्रुअरी ३ का दिन भियतनामका सम्पूर्ण कम्युनिस्ट सङ्गठनहरूको एकता सम्मेलन भयो । त्यस सम्मेलनबाट भियतनाम कम्युनिस्ट पार्टी स्थापना भयो । पछि त्यसै पार्टीलाई इन्डो–चिनियाँ कम्युनिस्ट पार्टी भनी पुनः नामकरण गरियो । आजभोलि यो पार्टी भियतनाममा मजदुर पार्टीको नामले चिनिन्छ । हो चि मिन्हले सो सम्मेलनमा भियतनामी क्रान्तिको बाटो पहिला राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तितर्फ अग्रसर हुने कुरामा जोड दिनुभयो ।
सन् १९४१ मा उहाँ भियतनाम फर्किनुभयो । उहाँको उपस्थितिमा इन्डोचाइना कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौँ बैठक बस्यो । बैठकले भियतनाम मुक्तिको कार्यदिशा तय ग¥यो । त्यसैबेला भियतनामको स्वाधीनताको लागि लिग गठन भयो । भियतनामी मुक्ति सेनाको गठन भयो । क्रान्तिका आधारहरू निर्माण गरिए । भियतनामी जनतालाई आफ्नो ठाउँमा उपनिवेशवादविरूद्ध सङ्घर्ष छेड्न आह्वान गरियो । त्यो सङ्घर्ष देशव्यापी बन्यो । उपनिवेशवादीहरू एकपछि अर्को हार खान बाध्य भए । अन्ततः जीत भियतनामी जनताकै भयो । सन् १९४५ को अगस्ट महिनामा क्रान्ति सफल भयो । २ सेप्टेम्बर, १९४५ का दिन हो चि मिन्हले प्रजातान्त्रिक गणतन्त्र भियतनामको घोषणा गर्नुभयो । त्यसपछि राष्ट्रिय सभाको लागि निर्वाचन भयो । निर्वाचनबाट निर्वाचित सभाले नै भियतनामको पहिलो प्रजातान्त्रिक संविधान बनायो । सो व्यवस्थापिकाबाट हो चि मिन्ह भियतनामको राष्ट्रपति पदमा चुनिनुभयो ।
तर, अझै पनि भियतनामको आकाशमा खतरा र षड्यन्त्रका बादल मडारिन छोडेको थिएन । भियतनामी जनताभित्रको साम्राज्यवाद र उपनिवेशवादप्रतिको घृणा र देशको स्वाधीनता र स्वतन्त्रताका लागि देखाएको क्रान्तिकारी भावनामा अलिकति पनि क्षति आउनुले कहाली लाग्दो परिणाम आउनेप्रति हो चि मिन्ह सचेत हुनुहुन्थ्यो । उहाँको कुशल र दूरदर्शी नेतृत्वले एकातिर साम्राज्यवादी षड्यन्त्र धुजाधुजा बन्दै थियो भने अर्कोतिर भियतनामी क्रान्तिकारी शक्ति अविछिन्न अवस्थामा थियो । नभन्दै अगस्ट महिनामा भएको क्रान्तिको केही समयपछाडि नै फ्रान्सेली उपनिवेशवादीहरूले भियतनामविरुद्ध अर्को आक्रमण सुरु गरे । त्यसको जवाफमा राष्ट्रपति हो चि मिन्हले सम्पूर्ण देशलाई जन्मभूमिको स्वाधीनता र स्वतन्त्रताको लागि अगस्ट क्रान्तिका उपलब्धिहरूको रक्षाका लागि प्रतिरोधमा उत्रन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो देश गुमाउनु वा दासता स्वीकार्नुभन्दा हामी जुनसुकै कुरा गुमाउन पनि तयार छौँ ।”
सन् १९५१ मा भएको पार्टीको दोस्रो सम्मेलनले हो चि मिन्ह पार्टीको केन्द्रीय अध्यक्षमा चुनिनुभयो । उहाँको नेतृत्वमा भियतनामी जनताले फ्रान्सेली उपनिवेशवादीहरूविरुद्ध एकपछि अर्को सफलता हात पार्न सफल भए । अन्ततः सन् १९५४ मा उपनिवेशवादीहरू कुलेलम ठोक्न बाध्य भए । भियतनामी जनताको यो विजयलाई महान् गिनवियन फु विजय भनिन्छ ।
तर, दुःखको कुरा भियतनामको दक्षिणी भाग भने अझै मुक्त भइसकेको थिएन । त्यस परिस्थितिको दक्षिणी भाग अझै केन्द्रीय समितिले भियतनामी क्रान्तिका दुई कार्यनीति तय ग¥यो । मुक्त उत्तरी भियतनाममा समाजवादी क्रान्ति र समाजवादी निर्माणलाई तीव्रता दिने एकातिर भने अर्कोतिर दक्षिणी भियतनामको मुक्तिका लागि सङ्घर्ष गर्ने र अन्ततः भियतनाम पुनःएकीकरण गरी सम्पूर्ण भियतनाममा जनताको प्रजातान्त्रिक क्रान्ति सम्पन्न गर्ने काममा हो चि मिन्ह तल्लीन भएर लाग्नुभयो ।
सन् १९६० मा पार्टीको तेस्रो सम्मेलनले झन्डै उही कार्यनीतिलाई निरन्तरता दियो । भियतनामको शान्तिपूर्ण एकीकरणको मुद्दालाई प्राथमिकता राखी उत्तरी भियतनाममा समाजवादी व्यवस्था थप सुदृढ पार्दै लाने र दक्षिणी भियतनाममा सङ्घर्षलाई अगाडि लाने कुरामा जोड दिइयो ।

भियतनामी जनताको माझमा अङ्कल हो

सम्मेलनले हो चि मिन्हलाई नै पार्टी अध्यक्षको जिम्मेवारी सुम्प्यो ।
साम्राज्यवादीहरू आफ्नो दुनो सोझ्याउन स–साना, गरिब र उत्पीडित देशहरूमा आफ्ना हिंस्रक नङ्ग्रा गाड्न सधैँभरि व्यग्र रहन्छन् । गरिब देशका प्राकृतिक स्रोतसाधन र जनतालाई चुसेर आफ्नो मुनाफा बढाउनेबाहेक उनीहरूको ध्येय हुँदैन । प्रजातन्त्र, मानव अधिकार र शान्तिको उनीहरूले जतिसुकै आवाज उठाए पनि त्योमात्र ढोङ हो भन्ने कुरा हामी भियतनामको इतिहासबाट सिक्न सक्छौँ । साम्राज्यवादीहरू तेस्रो विश्वका देशका जनतालाई आफ्नो देशमा आफ्नो रोजाइअनुसार शासन व्यवस्था लागु गर्नसमेत दिँदैनन् । फ्रान्सेली उपनिवेशवादले दशकौँसम्म आक्रान्त पारेको भियतनामी जनताले मुक्तिको श्वास राम्ररी फेर्न नपाउँदै संरा अमेरिकी साम्राज्यवादको सामना गर्नुप¥यो । तर, सन् १९६६ जुलाई १७ का दिन प्रकाशित एक अपिलमा हो चि मिन्हले भन्नुभयो, “स्वाधीनता र स्वतन्त्रताभन्दा बहुमूल्य हाम्रो लागि केही पनि छैन । यही भावनाबाट अभिप्रेरित भई भियतनामी जनता अमेरिकी साम्राज्यवादविरुद्ध रतिभर नझुकी सङ्घर्षमा अथक जुटिरहे । हो चि मिन्हका क्रान्तिकारी, देशभक्त, समर्पित अविचलित र परिपक्व नेतृत्वले उनीहरूलाई जस्तै चुनौतीको सहजै सामना गर्नसक्ने ऊर्जा प्रदान गथ्र्याे ।” हामीले हजार वर्ष लड्यौँ, आवश्यक परे अझ हजारौँ वर्ष लड्न तयार छौँ । हो चि मिन्हको यो क्रान्तिकारी अभिव्यक्तिले भियतनामी जनताको अपराजयतालाई इङ्गित गरेको छ ।
प्रतिक्रियावादीहरूको षड्यन्त्रका कारण भियतनाम एउटै भएर पनि भियतनामी जनताको एउटै साझा भावना भएर पनि त्यो विखण्डित अवस्थामा थियो र कोही पनि देशभक्त र क्रान्तिकारी भियतनामीका निम्ति यो कुरा सह्य थिएन । तसर्थ, पुनः एकीकरणको काममा हो चि मिन्ह निरन्तर जुटिरहनुभयो । उहाँले भन्नुभएको थियो, “दक्षिण र उत्तर एउटै परिवारका सदस्य हुन् । उनीहरू एउटै रगतका दाजुभाइ हुन्, कुनै कुराले पनि उनीहरूलाई छुटाउन सक्दैन ।”
हो चि मिन्ह सधैँ जनतामा विश्वास गर्नुहुन्थ्यो । व्यापक कामदार जनता नै परिवर्तनका संवाहक हुन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । भियतनामी क्रान्ति आफै विश्व सर्वहारा क्रान्तिको एक भाग हो । तसर्थ, विश्वका विभिन्न भागहरूमा भइरहेका क्रान्तिकारी सङ्घर्ष र न्यायोचित आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुपर्ने कुरामा उहाँ जोड दिनुहुन्थ्यो । माक्र्सवाद र लेनिनवादको गहनतम अध्ययनले मात्र भियतनामी क्रान्तिलाई पूर्णतातिर लान सकिने विचार उहाँको थियो ।
समाजवादी व्यवस्थाले मात्र बहुमत काम गरी खाने जनताको हित हुनसक्ने यथार्थप्रति उहाँ सचेत हुनुहुन्थ्यो । उहाँ उपनिवेशवाद र साम्राज्यवादको विकल्प पुँजीवादी प्रजातन्त्र हुने कुरामा सहमत हुनुहुन्नथ्यो । त्यसो गर्नु मुक्तिको नाममा नयाँ सिक्रीले जनतालाई बाँध्नुजस्तो हुने थियो । उहाँले समाजवादी क्रान्ति र निर्माणलाई जोड दिनुभयो ।
परिणामतः उपनिवेशवाद र साम्राज्यवादले क्षतविक्षत गरी चुसिसकेको भियतनामी जनताको सृदृढ एकता एवम् क्रान्तिकारी भावनाका कारण थोरै समयमा प्रगतिको बाटोमा अघि बढ्यो ।
हो चि मिन्ह सच्चा कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँ सादा जीवन र उच्च विचारका नमुना हुनुहुन्थ्यो । राष्ट्रपतिजस्तो उँचो पदमा बसेर पनि उहाँमा कहिल्यै सुख, सुविधा र आरामको प्यास रहेन । उहाँ साधारण पहिरनमै हिँड्नुहुन्थ्यो । आफ्नो देशलाई उँभो गतितर्फ दोहो¥याउन उहाँ राष्ट्रपति पदमा बसिसकेर पनि राति अबेरसम्म काममा व्यस्त रहनुहुन्थ्यो । उहाँलाई काम गर्न कुनै शानदार र सुविधासम्पन्न भवन वा कार्यालयको आवश्यकता थिएन । यी कुराबाट उहाँ जनता र जनभावनासँग कति निकट हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।
भियतनामी क्रान्तिकारी नेता एवम् राष्ट्रपतिको रूपमा उहाँले सोभियत सङ्घ, चीन, भारतलगायत विश्वका विभिन्न देशहरूको भ्रमण गर्नुभयो । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान उल्लेखनीय थियो । एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी गरिब देशहरूमा क्रान्तिकारी मुक्ति आन्दोलन चर्काउनुपछाडि उहाँको योगदान थियो । राजनीतिका अलावा उहाँको साहित्यमा पनि विशेष रुचि थियो ।
यस्ता क्रान्तिकारी दृढ नेता एवम् शिक्षक हो चि मिन्हको निधन ३ सेप्टेम्बर १९६९ का दिन भियतनामको राजधानी हनोइमा भयो । उहाँको निधनले सारा भियतनामी जनता त शोकाकुल भए । त्यसले विश्वका तमाम क्रान्तिकारी, प्रगतिशील जनतालाई समेत मर्माहित बनायो । उहाँको भौतिक शरीर नरहे पनि आज विश्वभर उहाँका विचारहरूबाट सिकी गरिब, उत्पीडित देशहरू साम्राज्यवादविरुद्ध सम्झौताहीन सङ्घर्ष गरिरहेका छन् ।
फिलिङ्गो द्वैमासिक
वर्ष २, अङ्क ९, २०६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *