ज्ञान नै नभएका व्यक्तिले हचुवाको भरमा टिप्पणी गर्नु खेदजनक
- भाद्र २६, २०८२
भक्तपुर नगर प्रवेश गर्ने पूर्वी क्षेत्र च्याम्हासिंह एक ऐतिहासिक एवं साँस्कृतिक ठाउँ नै, आजभोलि ख्वप अस्पताल र वागीश्वरी मावि रहेको ठाउँको हिसाबले पनि देशभरि नै प्रचार भएको महत्वपूर्ण ठाउँ हो । यस्तो ठाउँको बासिन्दा हुन पाउनुमा विशेष गर्व छ । तथापि यहाँ आउने स्वदेशी तथा विदेशी पाहुनाहरूले तीन वटा कुरामा आलोचना गर्दा मन अमिलो बन्छ । पहिलो, ख्वप अस्पतालको दक्षिणको मूल बाटोमै ट्याक्टर तथा पिक अप गाडीको पार्किङ गरिएको, दोस्रो, ऐतिहासिक च्याम्हासिंह ध्वाकासँगै उत्तरमा खुला मासु पसल रहेको र तेस्रो, चोकैको सडकमा खाल्डाखुल्डी भएको ।
भक्तपुर नगरपालिकाले जनताको अस्पतालको रूपमा अत्यन्त भव्य भवनसहितको आधुनिक उपचार प्रदान गर्ने ख्वप अस्पताल बनाएको छ । अहिले यो अस्पताल विभिन्न जिल्लाका बिरामीहरूको स्वास्थ्य उपचारको गन्तव्य बनिरहेको छ । दैनिक हजारौँको सङ्ख्यामा बिरामीहरूको चाप छ । बिहानदेखि बेलुकीसम्म विभिन्न रोगहरूको उपचार तथा निदान हुन्छ तथा बिरामीहरूको भर्ना हुने चाप पनि उत्तिकै बढेको छ । यस्तो संवेदनशील अस्पतालको दक्षिणी पर्खालसँगै मूल सडकको एउटा लेन ढाकिनेगरी ट्रयाक्टर, गाडी र अन्य निजी सवारी साधनहरूको पार्किङ्ग गरिनु अशोभनीय मात्र नभई कुनै पनि बखत दुर्घटना हुनसक्ने खतरा देखिन्छ । तिनीहरूलाई सवारी साधनको हर्न सुन्न सजिलो होला त ? पार्किङमा राखिएका सवारी साधन स्टार्ट गर्दाको धुवाँ बिरामीको लागि सह्य बन्ला ? एम्बुलेन्स आउने बाटोसमेत बन्द हुने गरी जथाभावी सवारी साधन पार्किङ गरेर राख्नु भक्तपुरवासीहरूको सभ्यतालाई सुहाउँछ होला त ? सडक फराकिलो पार्नु पार्किङको लागि पक्कै होइन । सँगै दिनहुँ बस्ने प्रहरी, चेकिङमा बस्ने ट्राफिक प्रहरी र स्थानीय सरकार किन मौन ? त्यसमाथि सडकको अर्को छेउमा ‘पठाओ’ का मोटरसाइकलहरू जथाभावि पार्किङ गरिन्छ । साँझतिर तरकारी पसलहरू पनि त्यही नै बसेका हुन्छन् । दैनिक हजारौँको सङ्ख्यामा आवतजावत गर्ने विद्यार्थी, बिरामी र खेत जान हिँडेका बटुवाहरूको भयानक दुर्घटना पर्खिरहेका त होइनन् ? धेरैले गुनासो गरिरहेका छन् ।
दोस्रो, च्याम्हासिंह ध्वाका आकर्षक र प्राचीन शैलीमा बनाइएको छ । ध्वाकाबाट भित्रको मूल सडक ढुङ्गाले छापिएको आकर्षक छ, दुवै छेउमा लहरै मिलेका घरहरू, ऐतिहासिक मन्दिर र हिटीहरू छन् । भक्तपुर घुम्न आउने विदेशी पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा यसै ध्वाकाबाट प्रवेश गर्छन् । तर ध्वाकासँगै उत्तरतिर खुला मासु बिक्री गरिएको, फलफूल पसलेले पेटी अतिक्रमण गरेको दृश्य देखेर पर्यटकहरूका मनमा भक्तपुरको कस्तो छाप पर्ला ? सुकुमवासी बस्तीजस्तै बाँसको टहरा, पुरानोजस्ता र पुराना प्लास्टिकले बेरेका छाप्राहरूले भक्तपुरको सौन्दर्यतालाई जिस्क्याइरहेको भान हुन्छ । यस्तो गर्न किन दिइएको ? पैसा कमाउने नाउँमा जे गरे पनि छुट हुन्छ र ? नगरकै बेइज्जत भएन र ?
तेस्रो, चोकैमा पिच सडकमा खाल्डाहरू प्रशस्त छन् । वर्षात्को समयमा पानी भरेर बटुवाहरूको लुगा फोहर मात्र भइरहेका छैनन्, सवारी साधन दुर्घटना पनि भइरहेका छन् । कमलविनायकदेखि जगाती जाने तथा नाला जाने मूल सडकको दुरवस्था हेरिनसक्नुको छ । समयमै सडक मर्मत गर्नुपर्ने होइन र ? कि भयानक दुर्घटना पर्खिरहेको ?
– राकेश तथा च्याम्हासिंहका स्थानीय बासिन्दाहरू
Leave a Reply