भर्खरै :

चे, फिडेलको संस्मरणमा – ७

चे, फिडेलको संस्मरणमा – ७

यही कारणले गर्दा उनले भावी पुस्तालाई एक विशिष्ट सैनिकको रूपमा आफ्नो अनुभव, आफ्नो ज्ञानमात्र नभई उनको बुद्धिमत्ताका फलहरू पनि छोडेर गएका छन् । हाम्रो भाषा मर्मज्ञ भई उनले लेखे । युद्धप्रति उनको वर्णन अतुलनीय छ । उनको सोचको गहिराइ प्रभावशाली छ । असाधारण गम्भीरता, असाधारण समझदारी प्रस्तुत नगरी उनले केही लेखेनन्, उनका केही लेखहरू क्रान्तिकारी विचारधाराको महत्वपूर्ण दस्ताबेज हुने कुरामा हामीलाई कुनै शङ्का छैन ।
यसरी उत्साही र अनुभवी बुद्धिमत्ताको फलको रूपमा उनले हामीलाई अनगिन्ती स्मरणहरू, उनका रचनाहरू, उनको प्रयासबिना सदाको लागि गुम्न सक्ने अनगिन्ती वर्णनहरू छाडेर गएका छन् ।
हाम्रो देशको सेवा गरेका वर्षहरूमा एक अथक कामदारको रूपमा उनले एकदिन पनि आराम गरेनन् । राष्ट्रिय बैङ्कको सभापति, केन्द्रीय योजना आयोगका निर्देशक, उद्योगमन्त्री, सैन्य क्षेत्रका कमान्डर, राजनीतिक र आर्थिक वा भ्रातृ प्रतिनिधिमण्डलहरूका प्रमुखको रूपमा उनलाई धेरै जिम्मेवारीहरू सुम्पिएको थियो ।
उनको बहु–आयामिक बौद्धिक क्षमताको कारण कुनै पनि काम अधिकत्तम विश्वासका साथ गर्न उनी सक्षम थिए । लडाइँमा बुद्धिमत्तापूर्वक आफ्ना सैनिकहरूलाई नेतृत्व गरेजस्तै, उनलाई जिम्मेवारी दिइएका हरेक संस्थाका एक आदर्श कामदारको रूपमा काम गरे । धेरैपटक अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उनले हाम्रो देशको राम्रो प्रतिनिधित्व गरे । उनको लागि आरामका कुनै दिनहरू, आरामका कुनै घण्टाहरू थिएनन् ।
हामीले उनको कार्यालयको झ्यालहरू हे¥यौँ भने रातभर पनि उनको कोठाको बत्ती बलेको पाउँथ्यो । उनी या त पढिरहन्थे या काम गरिरहन्थे । उनी सबै समस्याका विद्यार्थी थिए र उनी एक अथक पाठक थिए । उनको सिक्ने प्यास कहिल्यै मेटिएन तथा निदाउनुपर्ने समय घटाएर उनी केही घण्टा मात्र सुत्थे ।
उनी आफ्ना नियोजित दिनहरू स्वयम्सेवी कामहरूमा लगाउँथे । उनी एक प्रेरणा थिए तथा आज देशभरका सयौँ हजार जनताले गरेको कामको लागि उनले प्रोत्साहन दिएका थिए । उनको त्यो सक्रियतावाद उत्साहित भएर हाम्रा जनता ठुल्ठुला प्रयत्नहरू गरिरहेका छन् ।
एक क्रान्तिकारी, एक सच्चा कम्यु

संयुक्त राष्ट्र सङ्घीय महासभा (१९६४) लाई क्युवाको तर्फबाट सम्बोधन गर्दै चे

निस्टका रूपमा उनी नैतिक मूल्यहरूमा असीम विश्वास राख्थे । मानव जातिको चेतनामा उनको असीम विश्वास थियो । मानव समाजमा साम्यवादको निर्माणमा मद्दत गर्ने मुख्य भाग नैतिक ऊर्जा रहेको कुरा उनले पूर्ण रूपले स्पष्ट पारेको हामीले भन्नैपर्छ ।
उनले धेरै कुराहरू सोचे, विकास गरे र लेखे । आज चेका लेखहरू, चेका राजनैतिक र क्रान्तिकारी विचारहरू, क्युवाली क्रान्तिकारी प्रक्रिया र ल्याटिन अमेरिकी क्रान्तिकारी प्रक्रियामा स्थायी रूपमा मूल्य स्थापना हुनेछ । एक कर्मठ व्यक्ति, एक विचारशील व्यक्तिको रूपमा कहिल्यै धुमिल नहुने नैतिक गुणहरूले युक्त व्यक्तिको रूपमा, मानवीय संवेदनाले युक्त व्यक्ति, बेदाग आचरणयुक्त व्यक्तिको रूपमा उनको विचारको विश्वव्यापी मूल्य हुने कुरामा हामीलाई कुनै शङ्का छैन ।
यी छापामार नेतालाई कारबाहीमा मारेर साम्राज्यवादीहरूले आफ्नो विजयको बढाइँचढाइ गरेका छन् । यस्ता प्रभावशाली कर्मठ व्यक्तिलाई मारेको साम्राज्यवादी आफूलाई भाग्यशाली ठान्छन् । तर, कर्मठ व्यक्तित्व त्यो योद्धाको व्यक्तित्वको धेरै रूपहरूमध्ये एउटामा भएको कुरा या त साम्राज्यवादीहरूलाई थाहा छैन वा थाहा नभएको बहाना बनाउँदै छन् । दुःखको कुरा गर्ने हो भने हामी एक कर्मठ व्यक्ति गुमाएकोमा मात्रै दुःखी छैनौँ ।
गुणी व्यक्ति, अपार मानवीय संवेदनायुक्त व्यक्ति गुमाएकोमा हामी दुःखी छौँ । यस्तो विचार गुमाएकोमा हामी दुःखी छौँ । उनको मृत्यु हुँदा उनी ३९ वर्षका मात्रै थिए भन्ने कुरा सोचेर हामी दुःखी छौँ । उनको बुद्धिमत्ता तथा उनको समृद्ध अनुभवबाट प्राप्त गर्नसकिने अतिरिक्त फलहरू गुमाउनुपरेकोमा हामी दुःखी छौँ ।
क्रान्तिकारी अभियानलाई यसले कति क्षति पुगेको छ भन्ने कुराप्रति हामी सचेत छौँ । तथापि यहाँ साम्राज्यवादी शत्रुको कमजोर पक्ष छ भौतिक रूपमा एक व्यक्तिलाई हत्या गरेर उनको विचार पनि उन्मूलन गरेको तिनीहरू सोच्छन् । भौतिक रूपमा उनको समाप्तिसँगै उनको विचार, उनको गुण, उनका उदाहरण सबै नास भएको तिनीहरूको सोचाइ छ ।
आफ्नो सोचाइप्रति विश्वास गर्ने क्रममा तिनीहरू यति निर्लज्ज भइसकेका छन् कि लडाइँमा उनी घाइते भएपछि उनको हत्या गरिएको परिस्थितिलाई प्रकाशित गर्न पनि तिनीहरूलाई कुनै हिच्किच्याइ छैन । यस कार्यले निर्लज्जतामाथि घृणा जन्माउने कुराबारे पनि तिनीहरू सचेत देखिदैनन् । ठग अल्पतन्त्रका शासकहरू तथा भरौटेहरूलाई गम्भीर रूपमा घाइते एक क्रान्तिकारी योद्धालाई मार्ने अधिकार भएको ठानी तिनीहरू यो कुरालाई प्रकाशित गरिरहेका छन् ।
सबैभन्दा खराब कुरा तिनीहरूले किन त्यसो गरे भन्ने कुरा पनि बताएका छन् । चेमाथि मुद्दा चलाउनु भनेको पृथ्वी हल्लाउनुसरह हुने र ती क्रान्तिकारीलाई कठघरामा उभ्याउनु वा अपराधी साबित गर्नु असम्भव भएको कुरा तिनीहरूले स्वीकारेका छन् ।
त्यसबाहेक उनका अवशेषहरूलाई पनि गोप्य रूपमा एक ठाउँबाट अर्को ठाउँमा लान पनि तिनीहरू हिच्किचाएनन् । साँचो वा झूटो जे भए तापनि तिनीहरूले उनको शव जलाएको घोषणा गरे तथा शारीरिक रूपमा ती योद्धाको अन्त्य गरेर पनि उनको विचार र उदाहरण उन्मूलन गर्न सकेको कुराप्रति निश्चिन्त भएनन् र डराउन थाले ।
चे अरु कुनै उद्देश्य वा हितको लागि नभई यो महादेशका शोषित पीडितको हितको रक्षा गर्दै बिते । गरिबहरूको उद्देश्य तथा पृथ्वीको महत्वको रक्षा गर्दै उनले आफ्नो ज्यान गुमाए । उनले उदाहरणीय तथा निःस्वार्थ रूपमा आफ्नो ज्यान गुमाए । उनले जुन उदाहरणीय तथा निःस्वार्य रूपमा आफ्नो उद्देश्यको रक्षा गरे त्यसमाथि उनका कट्टर शत्रुहरूले पनि विवाद गर्न सक्दैनन् ।
इतिहासमा उनले जस्तै काम गरेका व्यक्तिहरू, गरिबहरूको उद्देश्यको लागि हरेक कुरा गर्ने व्यक्तिहरू, प्रत्येक बितेको दिनसँगै समान महत्व बढ्दै जान्छ तथा हरेक बितेको दिनसँगै जनताको मनमा गहिरो स्थान पाउँदै जान्छ । साम्राज्यवादी शत्रुहरूले यो कुरालाई देख्न थालिसकेका छन् । उनको मृत्युले दीर्घकालीन रूपमा उनको सिको गर्न दृढ व्यक्तिहरू र उनको उदाहरण पछ्याउन चाहने धेरै जनता जन्माउने बीउको काम गर्नेछ ।
यो महादेशको क्रान्तिकारी अभियान यो प्रहारको पीडाबाट मुक्त हुनेछ । यो महादेशको क्रान्तिकारी आन्दोलन यो प्रहारले नदब्ने कुरामा हामी विश्वस्त छौँ ।
क्रान्तिकारी दृष्टिकोणबाट, हाम्रा जनताको दृष्टिकोणबाट हामी चेको उदाहरणलाई कसरी हेर्नेछौँ ? के हामीले उनलाई गुमाएको अनुभव गर्नेछौँ ? अब हामी उनका नयाँ नयाँ लेखहरू देख्न सक्नेछैनौँ, यो कुरा साँचो हो । हामीले उनको आवाज अब कहिल्यै सुन्न सक्नेछैनौँ । यो कुरा पनि साँचो हो । तर, चेले विश्वलाई एउटा सम्पदा छोडेका छन्, एउटा महान् सम्पदा, तथा उनलाई राम्ररी चिन्ने हामीबाट यसबाट फाइदा उठाउन सक्छौँ ।

लडाइँको मोर्चामा चे

उनले हामीलाई आफ्ना क्रान्तिकारी विचार, आफ्ना क्रान्तिकारी गुणहरू छाडेका छन् । उनले हामीलाई आफ्नो चरित्र, उनका इच्छा, उनका दृढटा तथा उनको कामको भावना छाडेर गए । एक शब्दमा भन्नुपर्दा उनले हामीलाई आफ्नो उदाहरण छोडेर गए । चेको उदाहरण हाम्रो जनताको लागि एक आदर्श उदाहरण बन्नेछ ।
यदि हामी हाम्रा क्रान्तिकारी योद्धाहरू, लडाकुहरू, हाम्रा जनताबाट केही अपेक्षा गर्न चाहन्छौँ भने बिना कुनै हिच्किचाहट हामीले तिनीहरू चे जस्तै बनून् भन्ने व्यक्त गर्न चाहन्छौँ । यदि हामी हाम्रा भावी पुस्ता कस्तो होस् भन्ने विचार व्यक्त गर्न चाहन्छौँ भने चेजस्तै बनून् भन्नुपर्दछ । हामी आफ्ना बालबालिकाहरूलाई कुन रूपमा शिक्षित गर्न चाहन्छौँ भनी सोच्ने हो भने चेको भावनामा शिक्षित गर्न चाहन्छौँ भनी निर्धक्क भन्नुपर्दछ । हाम्रो समयको नभई भविष्यसँग सम्बन्धित मानवको आदर्श, व्यक्तिको आदर्श हामी चाहन्छौँ भने यस्तो आदर्श, निष्कलङ्क आचरण, दाग नभएको काम, निश्चल व्यवहार भएको चे हो भन्नेबारे म हृदयदेखि नै भन्न चाहन्छु । यदि हामी हाम्रा बालबालिका केही बनून् भन्ने चाहन्छौँ भन्ने क्रान्तिकारीहरूले जस्तै हामीले पनि मनैदेखि तिनीहरू चेजस्तै बनून् भन्ने चाहनुपर्दछ ।
हाम्रो जनताको लागि मात्र नभई ल्याटिन अमेरिकाका सबै जनताको लागि भविष्यको मानव कस्तो हुनुपर्दछ भन्ने कुराको आदर्श बनेका छन् । चेले पीडा व्यक्त नगर्ने क्रान्तिकारी भावना, बलिदानको क्रान्तिकारी भावना, क्रान्तिकारी लडाकुपना र क्रान्तिकारी कामको भावनालाई उच्च तहमा पु¥याए । चेले माक्र्सवाद–लेनिनवादका विचारहरूलाई सबभन्दा स्वच्छ, शुद्ध र क्रान्तिकारी अभिव्यक्ति दिए । हाम्रो समयका अरु कुनै पनि व्यक्तिले चेलेजस्तै सर्वहारा अन्तर्राष्ट्रवादको भावनालाई उच्च तहमा पु¥याएका छैनन् ।
कसैले सर्वहारा अन्तर्राष्ट्रवादको कुरा गर्छ भने, सर्वहारा अन्तर्राष्ट्रवादीको उदाहरण खोजिन्छ भन्ने त्यो उदाहरण चेको हुनेछ । राष्ट्रिय झन्डा, पूर्वाग्रह, ठुलो राष्ट्र अहङ्कारवाद र व्यक्तिगत अहङ्कारजस्ता कुराहरू उनको मन र मस्तिष्कबाट हराइसकेको थियो । उनी जुनसुकै जनताको लागि, कुनै पनि व्यक्तिको उद्देश्य पूर्तिको लागि तत्काल तथा स्वाभाविक रूपले आफ्नो रगत बगाउन सरलतापूर्वक तयार रहन्थे ।
धेरैपटक सङ्घर्षहरूमा घाइते हुँदा उनको रगत हाम्रो भूमिमा बग्यो । शोषित र पीडितहरूको मुक्तिको लागि, गरिबहरूको लागि बोलिभियामा उनले आफ्नो रगत बगाए । सबै शोषित र पीडित जनताको लागि त्यो रगत बगेको छ । त्यो रगत अमेरिकाका सम्पूर्ण जनता तथा भियतनामका जनताको लागि बगेको थियो किनभने बोलिभियाका अल्पतन्त्रका पक्षपातीहरू र साम्राज्यवादविरुद्ध लडिरहँदा उनले भियतनामलाई पनि आफ्नो ऐक्यबद्धताको यथासम्भव सर्वोच्च अभिव्यक्ति प्रदान गरिरहेको कुरा उनलाई थाहा थियो ।
यही कारणले गर्दा क्रान्तिका कामरेडहरूले, हामीले दृढतापूर्वक तथा निश्चयता र आशाका साथ भविष्यको सामना गर्नुपर्दछ । चेको उदाहरणमा हामी सबै प्रेरणा, सङ्घर्षको उत्साह, दृढताको प्रोत्साहन, शत्रुप्रति घृणा गर्ने जोश र अन्तर्राष्ट्रवादी भावनाको प्रेरणाको आशा गर्नेछौँ ।
आजको मर्मस्पर्शी समारोह, अपार जनताको सहभागिताको अविश्वसनीय प्रदर्शन, विश्वासै गर्न नसकिने यसको भव्यता, अनुशासन र समर्पणको भावनामा अविश्वसनीय छ । यसले हाम्रा जनता संवेदनशील र गुण सम्झने जनता हुन्, लडाइँमा मारिने बहादुरको स्मरणलाई सम्मान गर्न जान्ने जनता हुन्, आफ्नो सेवा गर्ने व्यक्तिहरूलाई सम्मान दिनसक्ने जनता हुन् भन्ने कुरा प्रमाणित गरेको छ । क्रान्तिकारी सङ्घर्षसँग हाम्रा जनताको ऐक्यबद्धता तथा क्रान्तिकारी झण्डाहरू र क्रान्तिकारी सिद्धान्तलाई सदा उँचो उठाउन सक्ने हाम्रो जनताको क्षमतालाई यसले प्रस्ट गरेको छ । सम्झनाका लागि आज, यी क्षणहरूमा भविष्यप्रति आशावादी बनेर, जनताको अन्तिम विजयप्रति आशावादी बनेर हामी आफ्नो भावनालाई उँचो उठाऔँ चे तथा उनीसँगै सङ्घर्ष गर्ने तथा सहिद हुने वीरहरूको लागि भनौँ, ‘विजयको निम्ति सदा अगाडि बढ्दै जाऔँ ।’
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *