भर्खरै :

‘फूलजस्तै भक्तपुर’ बोलको गीत सार्वजनिक

‘फूलजस्तै भक्तपुर’ बोलको गीत सार्वजनिक

भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालविकास इङ्गलिश स्कूलको ‘फूलजस्तै भक्तपुर’ बोलको गीत शुक्रबार एक कार्यक्रमबिच सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको विषयमा लेखिएको ‘फूलजस्तै भक्तपुर’ बोलको गीत रचनाको लागि बालविकास स्कूलप्रति आभार व्यक्त गर्दै देशको लागि यस्ता रचनात्मक गीतहरूको अझ खाँचो रहेको बताउनुभयो ।
प्रस्तुत गीत भक्तपुरको विषयवस्तुलाई प्रतिकात्मक विषय बनाएर रचना गरिएको र यस गीतमार्फत भक्तपुरलाई संसारसामु चिनाउने सुनौलो अवसर बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खेलकुदलगायतका क्षेत्रमा भक्तपुरले हासिल गरेको प्रगतिमा भक्तपुरका धेरै अग्रजहरूको भूमिका स्मरणीय रहेको बताउँदै प्रमुख प्रजापतिले प्रस्तुत गीतले भक्तपुरलाई ‘हिलोमा फुलेको सुन्दर फूल’ को रूपमा चित्रण गरिएको समय–सान्दर्भिक छ भन्नुभयोे ।
भक्तपुरका जनप्रतिनिधिले भक्तपुरको विकासमा जनताको साथ र सहयोगलाई सँगसँगै अगाडि बढाएर काम गर्दै आएको बताउँदै उहाँले शिक्षा र स्वास्थ्यमात्र नभई भक्तपुरको समग्र क्षेत्र नमुना बनाउन निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
गीतका लेखक एवम् बालविकास इङ्गलिश स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले ‘फूलजस्तै भक्तपुर’ गीतले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको बताउँदै भक्तपुरवासी हुनु आफैमा गौरवको विषय हो र देशका अन्य ठाउँलाई पनि भक्तपुरजस्तै बनाउन सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बाल विकास इङ्गलिश स्कूलले विद्यार्थीहरूलाई किताबी ज्ञान सँगसँगै नैतिकता, विचार र सङ्घर्षको भावनाबाट पनि अभिप्रेरित गर्ने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कवि एवम् गीतकार हरिहर तिमिल्सिनाले भक्तपुरको बारेमा बनेको ‘फूलजस्तै भक्तपुर’ गीत कर्णप्रिय छ भन्दै यसको शब्द, सङ्गीत, लय र स्वर पनि उत्कृष्ट रहेको बताउनुभयो । गीतबारे टिप्पणी गर्दै गीतकार तिमिल्सिनाले गीतले भक्तपुरलाई फूलको रूपमा व्याख्या गरेको स्पष्ट पार्नुभयो ।
बाल विकास स्कूलले अभिभावक र विद्यार्थीहरूको विश्वास जितेर आफ्ना शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू अगाडि बढाउनु सकारात्मक भएको बताउँदै उहाँले विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा गीतका सङ्गीतकार सुमन गैंडाले गीतमा सङ्गीत निर्माण गर्दाको आफ्नो अनुभव सुनाउँदै यो गीत भक्तपुर चिनाउने एउटा सुन्दर गीतको रूपमा प्रस्तुत भएको बताउनुभयो ।
‘फूलजस्तै भक्तपुर’ गीतको शब्द बालविकास इङ्गलिस स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले कोर्नुभएको हो भने गीतमा दिपा कुसी र रियाज बासुकलाको स्वर तथा सङ्गीत सुमन गैंडाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *