चिकित्सा शिक्षामा कोटा बढाउने नाउँमा सरकार निजी मेडिकल कलेजका मालिकहरूलाई पोस्दै
- भाद्र २३, २०८२
भक्तपुर, २० भदौ । देवी माध्यमिक विद्यालय ताथलीले स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३ औँ स्मृति सभा गरेको छ । २०४९ साल भदौ २० गते विद्यालय भवन निर्माणको लागि पाङ्गो माटोको ढिस्को पन्छाउँदा पुरिएर ज्यान गुमाएका यी शिक्षक र छात्रको सम्झनामा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।
देवी मा.वि. को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले शिक्षा भनेको नोकरी र पेशामा मात्र सीमित नभई समाजप्रतिको समर्पण हो भन्ने सन्देश दिने उद्देश्यले नयाँ पुस्तालाई प्रशिक्षित बनाउन जरुरी छ भन्नुभयो ।
अहिलेको आवश्यकता भनेको समाजप्रतिको जिम्मेवारी बहन गर्ने नागरिक तयार गर्नु भएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष गणेश त्यातले स्वर्गीय बासुकलाद्वयको योगदानलाई स्थानीय पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीहरूले आफ्नै गाउँको योगदानकर्ताको कथा पढेर हुर्कन पाउनु नै वास्तविक सम्मान हो ।”
नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले विद्यालय निर्माणमा बासुकलाहरूले पु¥याएको योगदानलाई स्मरण गर्दै शिक्षा सुधारका लागि सर्वपक्षीय सहकार्य आवश्यक भएको बताउनुभयो ।
विद्यालयका पूर्वप्रधानाध्यापक राजाराम छुकांले सखी डाँडामा विद्यालय बनाउन स्थानीय गुठियार, विद्यार्थी, शिक्षक र अभिभावकले सहयोग गरेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यालय निर्माणका लागि योगदान दिएका व्यक्तिहरूको सम्झना गर्दै उदाहरणीय कामलाई नयाँ पुस्तामा फैलाउन विद्यालयले विभिन्न क्रियाकलाप गरिरहेको बताउनुभयो ।
सो अवसरमा विद्यालले एक हजार मिटर छात्र दौड प्रतियोगिता, ५०० मिटर छात्रा दौड र आधारभूत तहको हाजिरीजवाफ प्रतियोगिता गरेको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रकुमार साखकर्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्गीय सङ्घर्ष बासुकलाका बुबा कृष्णराम बासुकलाले विद्यालय निर्माणका लागि भूमिका खेलेका समाजसेवी बुद्धिकुमार गोसाईँ, कृष्णलाल दर्शनधारी, जयराम बासुकलाका साथै स्थानीयहरूको योगदानको स्मरण गर्नुभयो ।
शिक्षक घनश्याम खड्काले विद्यालयको इतिहासबारे चर्चा गर्नुभयो ।
Leave a Reply