भर्खरै :

बहुदलीय व्यवस्था स्थापनामा वाम शक्तिहरूको योगदान महत्वपूर्ण

बहुदलीय व्यवस्था स्थापनामा वाम शक्तिहरूको योगदान महत्वपूर्ण

विक्रम संवत् २०३६ जेठ १० गते घोषित जनमतसङ्ग्रहलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन देशका वामपन्थी दल र समूहहरू मिलेर आन्दोलन छेडेका थिए । उक्त आन्दोलन छेड्न ४ भदौ २०३६ मा तत्कालीन नेमकिसका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), अनेकिसका अध्यक्ष जयगोविन्द साह, चौथो महाधिवेशनका प्रतिनिधि निर्मल लामा, कोसी अञ्चलका भरतमोहन अधिकारी र बनारस गुटका सहना प्रधान र चित्रहादुर गुरूङको बैठकले भदौ २४ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । जनमतसङ्ग्रह निष्पक्ष बनाउन देशका वामशक्तिहरू एकै ठाउँमा बसेर गरिएको उक्त आन्दोलन २०१७ सालपछिको ठुलो आन्दोलनको रूपमा लिइएको थियो । यसरी वामपन्थीहरू एकै ठाउँमा बसेको भेलालाई वामपन्थी एकता दिवसको रूपमा मनाइँदै आएको हो ।
जनमतसङ्ग्रह निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र बनाउन वामपन्थी शक्तिहरूले पाँच माग अघि सारेका थिए । सबै प्रकारका राजबन्दीहरू रिहा गर्नुपर्ने, स्वदेश र विदेशमा भूमिगत र निर्वासित भूमिगत व्यक्तिहरूको मुद्दा फिर्ता लिनुपर्ने, पञ्चायत सरकारको विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने, मौलिक हक बन्देज हुने सबै काला कानुनहरू खारेज गर्नुपर्ने र १८ वर्षका सबै नेपाली नागरिकहरूले मतदान गर्न पाउनुपर्ने माग राखी ती वामशक्तिहरू आन्दोलनमा लागेका थिए । यसअघि २९ साउन २०३६ मा नेमकिसका अध्यक्ष रोहितसँग नेकपा (चौम) र नेकपा (कोसी अञ्चल) का प्रतिनिधिहरूबिच दरभङ्गामा जनमतसङ्ग्रहबारे छलफल भएको थियो ।
भदौ २४ गतेको आन्दोलन सफल पार्न यसअघिका दिनहरूमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानमा पर्चा टाँसिएको थियो, पर्चा वितरण भएको थियो । भदौ २३ गते बनेपामा जनसभा भएको थियो । भदौ २४ गते बिहान भक्तपुरमा र दिउँसो काठमाडौँमा जुलुस तथा सभा भएको थियो । यसरी नै पोखरा, विराटनगर, जनकपुरमा जुलुस प्रदर्शनको साथै हडताल भएको थियो । आन्दोलन दबाउन देशका विभिन्न स्थानमा प्रहरी तैनाथ गरिए पनि आन्दोलन अघि बढाइएको थियो । एकै दिन भए पनि त्यो आन्दोलन वामपन्थीहरूको एक प्रकारको शक्ति प्रदर्शन थियो ।
वामपन्थी शक्तिहरूको त्यो आन्दोलन सिद्धान्त एक भएर भएको नभए पनि आन्दोलनबाट बहुदलको पक्षमा व्यापक प्रचार भयो । तर, नेपाली जनता बहुदलको पक्षमा कि निर्दलको पक्षमा छन् भने परीक्षण गर्न गरिएको जनमतसङ्ग्रहमा केही वाम शक्तिहरूले बहिष्कार गरेर पञ्चायतलाई सघाए । केही वाम शक्तिहरूले पहिले बहिष्कार गरे पनि पछि भाग लिए । बहुदल या निर्दल रोज्न जनमतसङ्ग्रह घोषणा गर्नेबित्तिकै देशका वामशक्ति र प्रजातान्त्रिक शक्तिहरू सक्रियतापूर्वक लागेका भए २०३७ मै निर्दलीय व्यवस्था अन्त्य हुन्थ्यो या बहुदलीय व्यवस्था स्थापना हुन्थ्यो । तर, वामपन्थी शक्तिहरूकै अदूरदर्शिताको कारण दस वर्ष पञ्चायती व्यवस्था कायम रह्यो । उक्त व्यवस्था २०४६ मा भएको वाममोर्चा र नेकाको संयुक्त आन्दोलनले फाल्यो । फागुन ७ देखि सुरु भएको सो आन्दोलन दुई महिना नपुग्दै उत्कर्षमा पुग्यो र चैत २६ गते राति बहुदलीय व्यवस्था स्थापना भयो । यसरी देशमा बहुदलीय व्यवस्था स्थापना हुनुमा वामपन्थी शक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *