देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने
- कार्तिक २३, २०८२

भक्तपुर, २२ कार्तिक । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजना तथा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा संस्थाका असल बचतकर्ता, असल ऋणी तथा उत्कृष्ट विद्यार्थीहरूलाई बधाई ज्ञापन एवं प्रशंसा–पत्र वितरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरू बैङ्क सरह हुँदै गएको कारण गरिब किसान र जनताको लागि कृषि सहकारी संस्था स्थापना गरी कृषि क्षेत्र विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले युवाहरू रोजगारीको लागि बिदेसिरहेकोमा चिन्ता व्यक्त गर्दै राम्रो सरकारले शिक्षा र कृषि विकास गरी स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाको बचत रकम उत्पादनमूलक क्षेत्रमा लगानी नभई बैङ्कमा जम्मा गर्दा सो रकम देशका पुँजीवादीहरूको हातबाट बिदेसिन उल्लेख गर्दै सोको कारण देशमा महँगी बढी गरिब जनतालाई आर्थिक भार हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सामाजिक भेटघाट र बैठकमार्फत राजनीतिक चेतना प्रदान गर्दै जानुपर्ने भन्दै सहकारी संस्थाहरूले आर्थिक कारोबारमा सीमित नरही शिक्षा क्षेत्रमा विकास गर्न विभिन्न तालिम, अन्तरक्रिया एवं गोष्ठीहरू आयोजना गर्न सुझाव दिनुभयो ।
उहाँले संस्थाका असल बचतकर्ताहरू ज्ञानमाया लाखा, लक्ष्मीसुन्दर दुमरू र कृष्णचरण पलँकर्मी, असल ऋणीहरू कृष्णराम गोसाई, राधेश्याम दथेपुथे र राजकुमार मचामसी, सार्वजनिक विद्यालयको एसईई उत्तीर्णतर्फ उत्कृष्ट विद्यार्थीहरू अनुश्का पक्का, शुभेच्छा सुवाल, रशिक मुस्याख्व, निजी विद्यालयको एसईई उत्तीर्णतर्फ उत्कृष्ट विद्यार्थीहरू प्रतिमा तचामो, अनुप बोहजु, प्राची कर्माचार्य तथा प्लस टुतर्फ व्यवस्थापन सङ्कायबाट मनिला ग्वाछा, विज्ञान सङ्कायबाट सेफिना लागे र शिक्षाशास्त्रबाट श्रीया गाईजुलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले सिद्धि गणेश साकोस स्थापनाकालदेखि समुदायमा आधारित भई समाजको आर्थिक समृद्धिको लागि कार्य गर्दै आएको बताउनुभयो । उहाँले संस्थाको सामाजिक दायित्व पूरा गर्न संस्थाबाट नियमित सीपमूलक तथा आयमूलक तालिमहरू एवं सदस्यहरूको स्वास्थ्यको लागि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले सहकारी संस्थाहरूलाई आवश्यक तालिमहरू प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरूले नेमकिपाका अग्रजहरूको सुझावलाई स्वीकार गरी इमानदारीका साथ पारदर्शी भई संस्था सञ्चालन गर्दै आएको कारण संस्था सफल भएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले असोज मसान्तसम्ममा संस्थाको शेयर पुँजी २५ करोड ८९ लाख ९५ हजार, जगेडा कोष २७ करोड ५८ लाख ८२ हजार, विभिन्न कोषहरूको १ करोड ८ लाख ९३ हजार, कुुल बचत रकम २ अर्ब ६९ करोड ७७ लाख ९६ हजार, ऋण लगानी १ अर्ब ८८ करोड ७६ लाख २७ हजार, तरल लगानी १ अर्ब ६ करोड, तरलता ४६ करोड ८८ लाख ३८ हजार र कुल सम्पत्ति ३ अर्ब ३४ करोड २८ लाख ८६ हजार रहेको वित्तीय विवरणको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply