भर्खरै :

आजबाट बिस्का जात्रा शुरु

भक्तपुर, २७ चैत्र । भक्तपुरमा आजबाट परम्परागत बिस्का जात्रा शुरु हुँदैछ ।
आज टौमढीमा राखिएको भैरवनाथको काठे रथ नगरका पूर्वी र पश्चिम दिशातर्फ तान्ने चलन रहेको छ ।
जात्रालाई व्यवस्थित बनाउन यो वर्ष स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले विशेष तयारी गरेको छ । समयमै जात्रा शुरु गरी शान्तिपूर्वक र व्यवस्थित बनाउन सम्बन्धित निकायहरुबीच धेरै पटक बैठकहरु बसिएको छ ।
भक्तपुर नगरपालिकाले जारी गरेको सार्वजनिक सूचना अनुसार जात्रा २ बजे शुरु भई साँझ ५ बजेसम्म सम्पन्न गर्ने कार्यक्रम छ । गुठी संस्थानले पनि सार्वजनिक रुपमै जात्राको समय तालिका निकालेको छ । शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनले जात्रा क्षेत्रमा सीसीटीभी क्यामरा जडान गरेको छ । विगतमा उच्छृंखल र हुल्याहाहरुका कारण जात्रामा हुलदंगा र ईट्टा हानाहान गर्दा धेरै मानिस घाइते हुने गरेकाले त्यसो हुन नदिन प्रशासन र स्थानीय सरकारले यो वर्ष विशेष तयारी गरेको हो ।
यसैबीच मंगलबार भक्तपुर नगरमा विभिन्न समूह र विद्यालयहरुले नयाँ वर्षको शुभकामना तथा जात्रा शान्तिपूर्वक बनाउन आह्वान गर्दै प्रभातफेरी गरेका छन् ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आज जात्रा शुरु हुने गःहिटी क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ ।
बिस्का जात्राअन्तर्गत वर्षको अन्तिम दिन भक्तपुरको योसिंख्योमा काठको लिंगो उठाउने र नयाँ वर्षको दिन दिनभरि मेला भरी सोही साँझ उक्त लिंगो ढालिने परम्परा छ । बिस्कालाई सात दिन सात रात चल्ने जात्राको रुपमा लिने गरिन्छ । भक्तपुरमा मनाइने सबै जात्रा चन्द्रमासको आधारमा मनाइने चलन छ भने बिस्का जात्रा नै मात्र सूर्यमासमा मनाइने परम्परा हो ।
भक्तपुरको मौलिक बिस्का जात्रा हेर्न देश र विदेशबाट पर्यटकहरु भक्तपुरमा ओइरिने गर्दछ ।
भक्तपुरकै थिमिमा पनि नयाँ वर्षको दोस्रो दिन सिन्दुर जात्रा गरी नयाँ वर्षलाई स्वागत गर्ने चलन रहेको छ । बोडेमा भने नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने जात्रा हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *