भर्खरै :

सुसंस्कृत विद्यार्थी र युवा आजको आवश्यकता

सुसंस्कृत विद्यार्थी र युवा आजको आवश्यकता

बहुदलीय व्यवस्था पुनःस्थापनायता पैँतीस वर्ष सरकारमा गएका नेताहरूले भ्रष्टाचार, नातावाद, पक्षपात र अन्य अनियमितता गरेको हुँदा व्यापक जनतामा असन्तुष्टि बढ्यो । पुँजीवादी शासकहरू भ्रष्टाचार र कमिसनकै लागि खराब मानिसहरूलाई काखी च्याप्छन् । नेपालमा पनि नेका, एमाले र माओवादीको सरकारले त्यस्तै गरे । नेपालमा भूकम्प, नाकाबन्दी, कोभिडलगायत सङ्कटको बेला शासक दलका नेताहरूको संरक्षणमा भ्रष्टाचार झन् बढ्यो ।
शिक्षकहरूले नयाँ पुस्तालाई पाठ्यपुस्तकसँगसँगै देश र विदेशबारे अध्ययन गराउनु जरुरी छ । शिक्षक राम्रो भए नयाँ पुस्ता राम्रो हुनेछ । अहिले नेपालमा गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकहरू अभाव भएको सार्वजनिक भयो । नयाँ पुस्तालाई राम्रो शिक्षक भएर सेवा गर्न नेपाल क्रान्तिकारी शिक्षक सङ्घले उत्साहित गर्नु आवश्यक छ । यो सङ्घका शिक्षकहरूले आ–आफ्ना विद्यालयका विद्यार्थीहरूलाई सुसंस्कृत बनाउनु जरुरी छ । शिक्षकहरूले संसारका राम्रा राम्रा दार्शनिक, नेता र अगुवाहरूको जीवनीबारे विद्यार्थीहरूलाई बताउनु उपयुक्त हुनेछ । सुसंस्कृत विद्यार्थी र नयाँ पुस्ता तोडफोड र आगजनीमा लाग्ने छैनन् ।
नेकाको समर्थनमा बनेको एमालेका केपी शर्मा ओलीको असक्षमताले भदौ २३ र २४ गते देशमा धेरै जनधनको क्षति भयो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाए । विचारले कार्की नेका समर्थक नै हुन् । एमालेका प्रधानमन्त्री ओलीको कार्यकालपछि नेकाका देउवा प्रधानमन्त्री हुने सहमतिलाई राष्ट्रपति पौडेलले नेकाका कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेर मिलाएको देखिन्छ । यतिधेरै जनधनको क्षति हुनु अगाडि नै राष्ट्रपति पौडेलले आफूमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी देश र जनताको समस्या समाधानको लागि संविधानको पालना र संरक्षण गर्नुपर्ने थियो ।
संविधानको व्यवस्थाविपरीत कसैलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र उही प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटन र नयाँ चुनावको घोषणा गराउन सक्ने राष्ट्रपति पौडेलले भदौ २३ गते र सोभन्दा धेरै अगाडि नै आफूमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरेर देश र जनताको हितमा काम गरेको भए ७२ जना नेपालीको मृत्यु र १९१ जना नेपाली घाइते तथा खर्बौँ रुपियाँको ऐतिहासिक सरकारी एवम् निजी भवनहरूमा आगलागी हुने थिएन ।
नेमकिपाले व्यक्तिहत्या, सरकारी दमन र अन्य तोडफोडबाट शान्ति कायम नहुने विषय धेरै अगाडिदेखि उठाउँदै आएको हो । नेपाली जनतालाई उठ्नै नदिने देशी र विदेशी प्रतिक्रियावादीहरूको उद्देश्यसहित भदौ २३ र २४ गतेको घटना घटाएको हुनसक्ने अनुमान सार्वजनिक भइरहेको छ । अहिलेको यो क्षतिमा ३५ वर्षयता सरकारमा गएका शासक पार्टीहरू इतिहासमा दोषी साबित हुनेछन् ।
एक डेढ वर्षअघि बङ्गलादेशमा पनि यस्तै तोडफोड र आगजनीपछि सरकार परिवर्तन गराइयो । त्यसबेला बङ्गलादेशको एउटा टापु अमेरिकी सरकारले मागेको र सो अस्वीकार हुँदा सरकार फालिएको सार्वजनिक भयो । नेपालमा नयाँ पुस्ताको नाममा केही समूहले शान्तिपूर्ण रूपमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोध आन्दोलन सुरु गरेको सार्वजनिक भयो तर परिणाम देश खरानीजस्तै भयो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत सरकारी भवन नियतपूर्वक खरानी बनाइएको हुनुपर्दछ ।
राष्ट्रपतिले संसद्लाई नाघेर गठन गरेको अन्तरिम सरकारले खरानी भएको सरकारी भवन तङ्ग्रन्छ कि छ महिनामा चुनाव गर्छ जनताले कसरी विश्वास गर्ने ? ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, उत्पादनका साधन र सेवा सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर हुने कानुनी व्यवस्थाको लागि राष्ट्रपति पौडेलले समयमै अन्तरिम सरकार गठन गर्नुअघि नै कदम उठाएका भए अहिलेको जनधनको क्षति हुने थिएन ।
पुँजीवादी पार्टी र नेताहरूको पछि लाग्ने बुद्धिजीवीहरू मूर्ख हुन्छन् । यो यथार्थलाई पनि आमूल परिवर्तन चाहने बुद्धिजीवीहरूले आत्मसात गर्नु आवश्यक छ । वर्गीय समाजको अन्त्य नभएसम्म शान्ति कायम नहुने यथार्थबारे शिक्षकहरूले नयाँ पुस्तालाई बताउनु जरुरी छ । निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटरमात्र हो । यो यथार्थबारे शिक्षकहरूले नयाँ पुस्तालाई सचेत गराउनु आवश्यक छ ।
साम्राज्यवादीहरूले सर्विया, जर्जिया, ट्युनिशिया, इजिप्ट, सिरिया, यमनमा विद्रोहको नाममा तख्ता पल्टाएका थिए । लिविया र इराकमा पनि यस्तै विद्रोहमार्फत त्यहाँका नेता गद्दाफी र सद्दाम हुसेनको हत्या गरिएको थियो ।
अमेरिकी साम्राज्यवादले युक्रेनलाई नाटो सदस्य बनाउन हतियार पठाएर रुसविरुद्ध युद्ध गरायो । केही समयअघि अमेरिकी सरकारका रक्षा मन्त्रीले युक्रेन, इजरायललगायत देशमा हतियार बेचेका अमेरिकी हतियार उद्योगीहरूले अर्बौँ डलर नाफा उठाएको बताए । अमेरिकी हतियार पाएको इजरायलले प्यालेस्टिनी जनताको संहार र भूमि कब्जा चालु राखेको छ । अमेरिकाको वर्तमान ट्रम्प सरकारले मन्त्रालयको नाम नै युद्ध मन्त्रालय राख्दै छ । यसकारण, संसारका न्यायप्रेमी जनताले युद्ध र साम्राज्यवादको विरोध गर्नु जरुरी छ ।
भ्रष्टाचारविरुद्ध आन्दोलन उठाएको दाबी गर्ने नयाँ पुस्ताले संविधानविपरीत अन्तरिम सरकार बनाउन र नबनाए राष्ट्रपतिलाई थुतेर सडकमा ल्याउने धम्की कसरी दिन सक्ला ? त्यसरी धम्की दिनेहरू राष्ट्रपति पौडेल नजिकका हुन सक्छन् । पुँजीवादी सरकारले पुरुषको ठाउँमा महिला वा महिलाको ठाउँमा पुरुष प्रधानमन्त्री बनाउँदैमा देश र जनताको हित हुनेछैन । यसअघि पनि राष्ट्रपति, सभामुख र मन्त्रीमा महिला भएकै हुन् ।
(नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २०८२ भदौ २९ गते आइतबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सम्पन्न शिक्षक भेलामा व्यक्त गर्नुभएको मन्तव्यको सारःसं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *