भर्खरै :

औषधि सानो होला तर त्यसले उपचार गर्छ

औषधि सानो होला तर त्यसले उपचार गर्छ

३० भदौ २०८२ को ‘कान्तिपुर’ ले अग्रपृष्ठमै लेख्यो – “गोलीले युवा ढलिसकेपछि मात्र गृहमन्त्रीले बोलाएका थिए सुरक्षा बैठक, सुरक्षा परिषद्मा मध्यरातसम्म जगिँदै थिए प्रधानमन्त्री ओली ।”
सामान्य जीवनमा पनि भन्ने गरिन्छ – राजमत्ता, धनमत्ता र यौवनको मत्ताबाट जोगिनुपर्दछ । तर, सरकारमा पुगेका प्रधानमन्त्री र गृहमन्त्रीको हातमा बन्दुक हुने भएकोले अझ बढी संवेदनशील हुनुपर्ने हो । यो संवेदनशीलता र सहनशीलता प्रजातन्त्रमा अझ बढी महत्व हुन्छ किनभने जनताको मतबाट र जनताको निम्ति काम गर्छौं भनी वचन दिएर सत्तामा पुगेका हुन्छन् – शासक दलहरू र मन्त्रीहरू । राजतन्त्र, अल्पतन्त्र र निरङ्कुशतन्त्रमा नागरिक वा जनतालाई शासकहरू आफू सरह मान्दैनन्, तिनीहरू आफूलाई ‘देवदूत’ मान्छन्† हामीले जितेका रैतीहरू जनता भनी सोच्छन् र उठिसकेका नागरिकहरूप्रति आफूहरू उत्तरदायी मान्दैनन् । यसकारण, फ्रेडरिक एङ्गेल्सले भनेका थिए, “म त्यो राजा (शासक) लाई मान्दिनँ जसको दरबार जनताको आक्रमणले पत्रपत्र उडेको नहोस् ।”
तर, एक जना राष्ट्रपति बनेका व्यक्तिले एङ्गेल्सलाई बेलायती भनेका थिए । युवाहरूले उनलाई सामान्य ज्ञानको धरातलमा तौलेका थिए । यसकारण, ‘सिंहदरबारमा बस्न र शीतल निवासमा बस्न यो घर होइन जनताको सभाभवन र चौबाटोको पाटी वा चौतारी सम्झनु उचित हुन्छ’ ‘डेमोकल्सको तरबार’ जस्तै ।
मेरो उमेरमा मैले धर्मप्रसाद ढकाल जस्तालाई त ढालेँ, अब म बालुवाटारमा छु अर्थात् राजधानीमा छु भन्ने धाक र रवाफ देखाउने हो भने माथि उक्लने सिँढी उल्टो हुन्छ । ज्ञान दुई किसिमको हुन्छ, आफूले भोगेको अनुभव र अरूको, सुनेको र पुस्तकहरूको अनुभव । पहिलो ज्ञान प्रत्यक्ष ज्ञान हो र दोस्रो अप्रत्यक्ष ज्ञान । मानिसको आयु र परिवेश साँगुरो हुनाले प्रत्यक्ष ज्ञानभन्दा अप्रत्यक्ष ज्ञान बढी व्यापक हुन्छ । यसकारण, उमेर, समय र परिस्थितिअनुसार ‘फल फलेको बोट ननुहेको कहाँ हुन्छ र’ भन्ने वाक्यांशले काम गर्ने थियो ।
नेपाली उखानअनुसार ‘आफ्नो टोल र गाउँमा कुकुर पनि बाघ हुन्छ’ । तर, बालुवाटार र बालकोटको निवासको हमलामा किसानहरू ट्याक्टरहरूमा आएका थिएनन् नरसिंह अवतारको कथा त आफ्नै घरमा घटेका हुन् ।
राज्ययन्त्रका गुप्तचर विभाग अत्यन्त महत्वपूर्ण हुन्छ र इराकको सद्दाम हुसेनले आफ्नो अन्तिम दिनतिर सम्झे कि आफ्ना सेना, प्रशासन, प्रहरी, गुप्तचर आफ्ना रहेनछ । तर, त्यसबेला समय धेरै ढिलो भइसकेको थियो । दुई चारवटा ब्यारेकको केही हजार हतियारले मात्रै बलियो शत्रु पराजित गर्न नसक्ने भइसकेको थियो । आफ्नै मानिसले उनलाई लठ्याएर साँगुरो ठाउँमा बन्द गराइसकेको थियो, स्तालिनलाई कम्युनिस्ट भनिने त्रोत्स्कीहरूका विदेशी मालिकहरूले ‘ढिलो लाग्ने विष’ प्रयोग गरिसकेका थिए । देशभक्तिको औषधि इराक र लिबियामा पनि ढिलो भइसकेको थियो ।
संसारको हरेक ठुल्ठुला लडाइँका कथाहरूभित्र विभीषणलाई चिन्न सकेनन् भने सबै सम्राट र बलशाली शासकहरूको दरबार तासको घर नै साबित हुनेछन् र हुँदै छन् ।
गैरसरकारी संस्थाका डलरहरूले नेपाली शासक र दलहरू मोटाउँदै र ठुला हुँदै गए† तिनीहरूका उम्मेदवार र नेताहरू सबै काठमाडौँतिरै लागे । उनीहरूले बाग्मती, विष्णुमती र मनहराका किनारा र खाली ठाउँ आफ्ना क्रीडास्थल बनाए । भानुभक्तको कान्तिपुर नगरी, ढलपुर र फोहोरपुर भए, सलहजस्तै शासक दलका नेताहरू र मन्त्रीका आवासहरू बनी आ–आफ्ना गाउँ–घर सुनसान बनाए । युवाहरूलाई घरखेत बेच्न लगाए । जालीफटाहा र चुसाहाहरू झन्झन् मोटाए नेपाली युवाहरूको रगत र पसिनाले ।
विदेशीले दिएको समृद्धिको सुन्दर सपना फुटेको माटाको भाँडाका टुक्राहरूजस्तै देशका जिल्लाहरूमा आगाका लप्काहरूमा यत्रतत्र खरानीको रूपमा छरिए । शक्ति र धनको मात धेरै बेर रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *